सानै पत्रहरु पवित्र वनमा सौन्दर्य चर्काउँछन्
वास्नाका लहरी फिँजाइ धरती माधूर्य बर्साउँछन् ।
मान्छेका घरमा सजाइ गमला पिँढी र चारैकुना
शोभायुक्त भई सु—सज्जित बनि लर्कन्छ हाँगामुना ।।
बारी—टारी र खेत जङ्गल सबै सौन्दर्यताकी धनी
देखिन्छे मनमोह रञ्जित सरी संसारकी मोहिनी ।
लोभ्याई कतिका पवित्र दिलको मायासँगै जिन्दगी
चुडिन्छन् कलिला टुसा रहरका बढ्दोछ उसकै छवी ।।
मृत्यु, जन्म अनि सभा, गृहपूजा पुष्पाञ्जली अर्पण
सद्भाव व्यक्त हुँदा र हर्षपनको प्रतीक या दर्पण ।
सुजन जो उसका गला र शिरमा त्यही फूलको हार छ
साँचो जीवन फूलझैं रहनु हो, यो जिन्दगी भार छ ।।
दमक, झापा