नेपाली वाङ्मयका शुक्रतारा भानुभक्त आचार्य [वि.सं. १८७१ - वि. सं. १९२६ (सन् १८१४ - सन् १८६९) ] नेपाली भाषा साहित्यका निर्माता हुन् । जातीय जीवनमा अत्यधिक ख्यातिप्राप्त कवि भानुभक्तको रचनात्मक योगदानले नेपाली साहित्यको भँड़ार रसिलो, स्वादिलो र खँदिलो हुनुपुगेको कुरो निर्विवाद सत्य र अकाट्य छ।प्राचीन संस्कृत वाङमयमा आदिकवि बाल्मिकीको जुन उच्च स्थान छ, हिन्दी साहित्यमा सन्त तुलसीदासको जुन शिखर स्थान छ अनि बङ्ला साहित्यमा कविगुरू रवीन्द्रनाथ ठाकुरको जुन स्थान र गरिमा छ सोही अनुरूप नेपाली भाषा साहित्य संस्कृतिका विकासमा भानुभक्तेली योगदानको पनि गौरवशाली स्थान रहेको छ। यसैकारण भानुभक्तलाई हामी जातीयताका प्रतीक मान्छौं ।
नेपाली काव्यमा सरलता, सरसता र कोमलताको त्रिवेणी प्रवाहित गर्ने कवि भानुभक्त आचार्यका काव्यमा समकालीन युग र सभिजको सजिव चित्रण पाइन्छ। भानुभक्तेली चेतनाको विकास ठिटौले उमेरदेखि धार्मिक आस्था र नैतिक मर्यादाभित्र विकसित हुँदै आएकोले भानुभक्त धार्मिक प्रवृतिका मानिस थिए भन्न सकिन्छ। "एक् दिन् नारद् सत्यलोक पुगि गया लोकको गरूँ हित भनि" तथा "अमरावती कान्तिपुरी नगरी" भन्ने कविता पङ्क्तिबाट कवि भानुभक्त आचार्य राष्ट्रिय भावनाले उत्प्रेरित देखिन्छ भने उनका फुटकर उनका फुटकर कवितामाथि घोत्लिँदा उनलाई सामाजिक सुधारकका आसनमा ढुक्कैले राख्न सकिन्छ। कवि भानुभक्त आचार्यका कृतिहरूको साङ्गोपाङ्ग अध्ययन-मनन गर्दा उनलाई सशक्त व्यङ्ग्यकार र अब्बल क्रान्तिकारी व्यक्तित्वका कवि पनि मान्न सकिन्छ ।
विचित्र व्यक्तित्वका भानुभक्त आचार्य तर मानिसको झोंकी स्वभावका थिए, रिसाहा थिए भन्ने तथ्य उनकै विविध रचनाबाट छ्याङै हुन्छ। नेपाली भाषाप्रग हुरूक्कै र भुतुक्कै मरिमेट्ने कवि भानुभक्तले हरेक चुनौतिको सामना गर्नुपरेको र विकट समस्यासित पौंठाजोरी खेप्नुपरेकोले उनको स्वभाव वा व्यक्तित्व झोंकी, रिसाहा, क्रोधी र सन्के भएको हुनसक्छ। यस्तो स्वभावका उदहारण भानुभक्त स्वयमले उनका छोरा रमानाथलाई लेखेका निम्न चिठीबाट छ्याङै हुन्छ -
"स्वस्तिश्री चिरंजीवि श्री नानि रमानाथ शर्माणि श्री भानुभक्त शर्मण: शुभाशीर्वादा: सन्तु उप्रान्त पढ़्दैनस् भन्दा सुन्दछु, मेरा कंदा परि जति उमलंछस्, यहाँबाट मक्यागरूँ, म ताँहा आयापछि तैँले नपह्र्याएको ठहराना भन्या, बाबै तेरा ज्यानको आसा नराखि लात मार्न्याछु, कि तैँले मर्नु पर्ला कि मरि पाउन्याछस् , कि पह्रि सुख पाउन्याछस्, यो बुझि कि तैँले मर्नु कि पर्न्हु तेरी आमाले पनि यो चिट्ठि हेरी साझ बेहान तलाई लात मारी घोकन लावोस् आज तेरि आमाको चेत आएनन् र तलाई बेलन दियी भन्या मैले लात मारी मार्नन्त पार्याको तमासा हेर्लि, हेर्बाबै पह्रिनस् भन्या तेरो जिउ खंज गराई छोडुला रति जति तेरा मामा मान्न्या छैन सो जानी तेरी आमाले तलाई अदमा राषि घोकाउनु तैँले घोकनु आजसम्म कति पह्रि ञाहाँ सम्म पाठ पुर्यायाको छु भनि लेषि पठा अघि पह्र्याको पनि बिर्सिस् कि आउँछ तेरा हातले लेषि पठा नहि भन्या तेरो ज्यान साबुद राखन्या छैन, धेरै क्या लेखुँ किम लिंक मिति मार्ग शुदि १ रोज ३ मुकाम महाबौद्ध टोल शुभम् ।"
[नेपाली गद्य सङ्ग्रह, तेसो भाग : बालकृष्ण सम]
उपरोल्लिखित चिठीबाट कवि भानुभक्तको झोंकी व्यक्तित्व छर्लङ्गै बुझ्न सकिन्छ। उपरोक्त चिठीले छोरो रमानाथले पढ़्नमा ध्यान नदिएका बुझिन्छ। पढ़्नमा ध्यान नदिने अटेरी छोरोलाई पिता भानुभक्त घर आएपछि ज्यानको वास्तै नगरी लात हान्ने र शरीरसमेत खँजाहा पारिदिने घुर्की देखाएको पाइन्छ । त्यति मात्र होइन, आमा चाहिँले समेत लात हानी पाठ घोंक्न लाउने कुरा पाइन्छ उक्त चिठीमा ।
कवि-लेखकको व्यक्तित्व उनको रचनामा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा समाविष्ट भएको पाइन्छ। भानुभक्तका उनै झोंकी, रिसाहा, क्रोधी र सन्के व्यक्तित्व वा स्वाभाव विशेष रामायणका दुइ चरित्र लक्ष्मण र हनुमानमा प्रतिपादित भएको पाइन्छ ।
रामायणमा लक्ष्मणलाई रिसाहा तथा झोंकी स्वाभावका मात्र होइन आफ्नो हक र अधिकारको निम्ति कसैलाई नटेर्ने ढीट स्वाभावका देखाइएको छ। मन्थरा कैकेयीको छलले रामलाई चौध वर्ष बनबासको आदेश भएपछि आफ्ना प्राणभन्दा प्यारा पिता दशरथको वचन नकाटी रामले भरतलाई राज्य सम्हाल्ने भार सुम्पन्छन्। तर यस्तो पक्षपातित्व एवम् षड़यन्त्रपूर्ण आदेश पितृभक्त रामले सहर्ष स्वीकार गरे पनि लक्ष्मण भने अग्निशर्मा हुन्छन्। पितृतुल्य दाजु रामको अधिकार वञ्चित भएकोमा भाइ लक्ष्मण हुइँकिन्छन्-
"हजुरको राज हर्न्या जति जति त छन् मार्छु सबलाई ।
पिता बाँध्छु पैल्है भनि कन भन्या क्या छ अरूलाई। ।"
(श्रीअयोध्याकाण्ड !२८)
नाकको टुप्पोमै रिस बोकेका लक्ष्मणको घुर्की लरतरो थिएन -
"चढ़्या जावस् गादी सकल रिपुको नाश म गरूँला ।
यसै कामले माइका सकल मनको शोक हरूँला ।।"
(श्रीअयोध्याकाण्ड २८)
भानुभक्त काँचो काठले डढ़्ने खालका व्यक्ति पटक्कैथिएनन् । आफूमाथि आइपरेका विघ्नवाधालाई घुर्की देखाएरै पन्छाउन भानुभक्तलाई खप्पिस देखिन्छ। गिरिधारी भाटले भानुभक्तलाई मुद्दा हालेर तिरिखिरि पार्नु मात्र होइन हत्तुहैरानसमेत पारेका र सो मुद्दा छिनाफाना गरिदिन अदालतका डिट्ठा-विचारीहरूलाई बारम्बार अनुनय-विनय गर्दा पनि सधैं 'भोलिभोलि' मात्र भनेर टारिदिएको दु:खमा उक्त अदालतमा डिट्ठा-विचारीभन्दा पनि माथिका हाकिमसमक्ष घुर्कीसाथ भानुभक्त आफ्नो झोंक देखाउँछन्-
" विन्ति डिट्ठा विचारीसित म कति गरूँ
चुप रहन्छन् नबोली।
बोल्छन् ता ख्याल गर्या झैं अनि पछि दिनदिन्
भन्दछन् भोलि भोली। ।
की ता सक्दिन भन्नु की सब किनिदिने
क्यान भन्छन् भोली।
भोली भोली हुँदैमा सब घर बितिगोर्खाल्याण्ड
बक्सिरोस्ट्रम आज झोली ।।"
काव्यात्मक शैलीमा कथिएको यस मुक्तकमा व्यङ्ग्यको बर्को ओढ़ाएर भानुभक्तले ढीट स्वाभावको परिचय दिएका छन् ।
रामभक्त हनुमान ता झन् चितायो कि बितायो भन्ने ढीट स्वाभावका सन्काहा थिए। लक्ष्मणको घुर्की मात्र थियो भने हनुमानमा खाँटी गोर्खा झोंक। सीताजीलाई भेट्न क्षार समुद्र तरिरहेका बेला हनुमानले किसिम बाधा-अड़्चनहरूको सामना गर्नुपर्छ। समुद्रमा सिंहिका नाउँ गरेकी राक्षसीले समुद्रभित्रैबाट पानीमा बसी-बसी छाया समाती खान्थी। हनुमानको शरीरको छाया पनि त्यसले आफूतिर तान्दा हनुमानको गति बन्द हुन्छ। हनुमान आत्तिएर दशै दिशा हेर्दा सिंहिकाले नै त्यस्तो उपद्रो गरेकी हो भन्ने थाहा पाएपछि दुइ लात हिर्काएर राक्षसी सिंहिकालाई हनुमान ठहरै पार्छन् -
"देख्या तल्लो तिर दृष्टि दी कन तहाँ जस्सै नजरमा परी ।
एकै चोट् दुइ लात् दिया र सहजै घुस्रुक ताहीं मरी ।।"
(श्रीसुन्दरकाण्ड १५)
पढ़्न पटक्कै मन नगर्ने आफ्नै छोरो रमानाथलाई लातले हानी खँजाहा बनाउँछौ भनी छोरोलाई तर्साउने भानुभक्तका रिसाहा पात्र हनुमानले दुइ लात हानेर सिंहिकालाई ठहरै पारेका दृश्यमा जुन स्वाद पाइन्छ त्यो साँच्चै रमाइलो छ । हनुमान लक्ष्मणजस्ता डङ्का पिट्न जान्दैनन्। आफू बिनासित्ति जाइ लाग्दैनन्; आइ लाग्नेलाई छोड़्न पनि पटक्कै जान्दैनन्। अरूको पछि लाग्दैनन् तर आफूपछि वा श्रीरामका सन्तानमाथि कोही पनि पछि लागे उनलाई ठहरै नपारी श्वाश बिसाउँदैनन् हनुमान। शान्त स्वाभावका हनुमानलाई कसैले चलायो कि उनी पानीखेदो गर्छन्। रणभूमिमा हनुमानको एकै मुड़्कीले रावण दुइ घड़ी मूर्छा परेका घटनाले पनि भानुभक्तको झोंकी व्यक्तित्व छर्लङ्गै हुन्छ -
"त्यो रावण रणभूमिमा जब पुग्यो सामने हनुमान गया।
मूर्छा पारि गरिपाउँ यस्तो कन भनी एक मुड़्की क
हान्दा भया ।
छातीमा जब मुड़्कि बज्रन गयो वज्र तुल्यै गरी।
घूँड़ा टेकी गिर्यो पनि दुइ घड़ी मूर्छा तुरुन्तै परी ।।"
(श्रीयुद्धकाण्ड २४५)
हनुमान शान्त भए पनि अच्चाकाली रिसाहा स्वाभावका। रणभूमिमा हनुमानको एक मुड़्कीले मूर्छा परेका रावण मूर्छाबाट उठी हनुमानलाई खूब सह्राउँछन्। फोस्रो प्रशंसाका कट्टर विरोधी हनुमान रावणलाई फेरि चुनौति दिँदै गर्जन्छन् यसरी -
"हे रावण! किन गर्दछस् सह्रनी यो धिक्कार म मान्छू बरू।
मेरो मुड़्की पर्या पछी पनि वचिस् बोल्छस् यहाँ क्या गरू ।।
एक चोट हान् तँ पनी मलाइ म पनी फेरि हान्छु छाती महाँ ।
एक मुड़्कि अब हानुला तँ न मरी उम्केर जालास् कहाँ ।।
(श्रीयुद्धकाण्ड २४७)
लाप्पा खेल्नमा सिपालु हनुमानमा गोर्खा झोंक आरोपित गराउने श्रेय भानुभक्तलाई नै छ। लङ्केश्वर रावणले आफ्नो लाज ढाक्न तथा लङ्केश्वरको शान देखाउन हनुमानलाई फेरि प्रहार ता गर्छन् नि तर टिस्टाजस्ता रावणको चोटले हनुमानलाई बाह्र हातको टाङोले पनि भेट्दैन। बरू हनुमान फेरि मुड़्की उज्याएर अघि सर्दा लङ्केश्वर रावण हनुमानको मुड़्कीको डरले आफ्नो लाज र प्राण जोगाउन अन्यत्र लाग्छन् -
"ई बात श्रीहनुमानले जब गर्या बेसै भन्यो हो भनी।
एक् चोट् श्रीहनुमानका हृदयमा ताकेर हान्यो पनी।।
फेरी श्रीहनुमान सर्यो अघि तहाँ मुड़्कि उठाई जसै।
रावण टिक्न सकेन एक् क्षण पनी अन्यत्र भाग्यो तसै ।।
(श्रीयुद्धकाण्ड २४८)
ढीट स्वाभावका भानुभक्तलाई कसैको फोस्रो प्रशंसा , चाप्लुसी पटक्कै मनपर्दैन्थ्यो। रिस उनको नाकको टुप्पोमै। प्याच्चै भन्न सिपालु। यही व्यक्तित्व हनुमानमा आरोपित भएको पाइन्छ। गजाधर सोतीकी पत्नीले घरपिँढ़ीमा बास बस्न नदिँदा भानुभक्तलाई झोंक चल्छ र उनी झोंक्किन्छन् यसरी -
"गजाधर सोतीकी घरबुढ़ि अलछिनकी रहिछन्
नरक् जानलाई सबसित विदावादि भइछन् ।"
आफ्नो सिर्जनाद्वारा अमरत्व प्रदान गर्ने नेपाली भाषा र समग्र जातीय एकताका प्रतीक आदिकवि भानुभक्त आचार्य विविध प्रतिभाका धनी सँगसँगै उनका व्यक्तित्वमा विविध वैशिष्ट्य र विशेषता रहेको पाइन्छ । यसैकारण उनले सिर्जना गरेका पात्रहरूमा उनैका विविध व्यक्तित्व आरोपित भएको पाइन्छ ।
पुछारमा, निर्क्यौलस्वरूप के भन्न सकिन्छ भने, भानुभक्त घुर्की देखाउनमा जति सिपालु र खप्पिस थिए, रामदूत हनुमान कसैमाथि मुड़्की बजार्नमा दोब्बर-तेब्बर जण्डा र पोख्त थिए ।
भानुभक्तको घुर्की र हनुमानको मुड़्कीलाई कसै गरी पनि भुल्न सकिँदैन ।
सिलिगुड़ी (उत्तर बङ्गाल) भारत