हाम्रा पूर्वज पिता-पुर्खाहरूले
के एक पेट खान
र एक सरो लाउनकै निम्ति
यी पहाड-पर्वत र समतलका अनकण्टार बन-जङ्गलहरू फाँड़ेर
यहाँको बन्जर भूमिलाई
आफ्ना पौरख, परिश्रम, रगत र पसिनाले
सिँचेर यति सुन्दर र मनोरम बनाएका हुन् त ?
यी दुर्गम पहाड-पखेराका उकाली ओह्राली
भीर-पहराहरूमा निकास खोज्दै
छिनी, मार्तोल र गैँतीहरू चलाउँदै,
कठोर चट्टान र पत्थरहरूलाई एकएक गरी
ब्लास्टिङले उडाउँदै
तिनले यी घुमाउरो नागबेली सडक,
घुम्ति र बाटोहरूको निर्माण
के अर्काकै निम्ति गरेका हुन् त ?
युगौं अघि हाम्रा पुर्खाहरुले आवाद गरेको यो भूमि
तिनले निर्माण गरेको इतिहास र
भोगेका सत्य कथाहरू
आज हामी सहजै कहाँ भुल्न सक्छौं र ?
तिनले नै यहाँका अटब्बे जङ्गलहरू फाँडेर
गाउँ बस्ती र शहरहरू बसाएका हुन्
रेल लाइन, पुल र घिर्लिङहरू बसाएका हुन्।
विशाल भवन र कोठीहरू, चिया कमान र
सिन्कोना बगानहरूको स्थापना गरेर
तिनले जुन एउटा इतिहासको
स्थापत्य खडा गरे
त्यो आज हामी सहजै कहाँ भुल्न सक्छौं र ?
तर पनि यस धरतीको एक मुठी माटो उठाएर
आफ्नो हों भन्ने अधिकार
तिनले कहिले पाउन सकेनन्।
न आजपर्यन्त हामीले नै त्यो पाउन सक्यौं ।
पुर्खाले अर्जेको यस भूमिमा उभिएर
म यही धरतीको मान्छे हुँ
यही माटोको सपुत हुँ
भनी स्वीकार गर्न
हामीलाई कति गौरव र गर्व हुन्थ्यो ?
शायद अर्काकै निम्ति लड़ेछौं हामीले
अनेकौं युद्धहरू पनि
अर्काकै निम्ति भएछौं शहिद,
बगाएछौं रगतहरु
र गाउँदै हिँड़ेछौं
वीरताका गाथाहरू।
यो देशको स्वतन्त्रताको निम्ति
गान्धीका अहिंसात्मक आन्दोलनहरूदेखि
सुभाषका आजाद हिन्द फौजसम्म
हामी समान रुपले भागीदार थियौं
हामीले पनि यो देशको सुरक्षा र
राष्ट्र निर्माणका अभियानहरूमा
आफ्नो जीवन उत्सर्ग गर्दै आएका हौँ।
तर खोई इतिहासले हामीलाई
न्याय दिएको ?
इतिहासकै कुरा गर्नु हो भने
सुगौली सन्धिमा अङ्ग्रेजहरूले हड्पेको
त्यो भूमि सहित हामी यहाँ छौं
आज त्यो इतिहासको पीडा
हाम्रों मुटुभित्र पटक पटक बल्झिरहेको छ।
हाम्रो कर्मभूमि हो यो देश ।
हाम्रो जन्मभूमि हो यो देश ।
यही देशलाई साक्षी राख्दै
ती गौरवका इतिहासहरू बोकेर
आफ्नो अस्तित्व र चिन्हारीको निम्ति
सङ्घर्ष गर्दै आएको पनि
आज शताब्दिऔँ बितिसकेछ।
तर पनि पाउन सकेनौं हामीले
हाम्रो आत्म निर्णयको अधिकार,
पाउन सकेनौं हामीले
गर्वले उभिन सक्ने एउटा ठाउँ
एक मुठी माटोको अधिकार।
बाग्राकोट (डुवर्स)