17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

राजेन्द्र पासाको तीनहरफे मुक्तकसङ्ग्रह

कृति/समीक्षा नवीन पौड्याल April 20, 2021, 6:20 am
नवीन पौड्याल
नवीन पौड्याल

क. कविता –
कविता एउटा समृद्ध र सम्पूर्ण विधा हो। यसका विविध स्वरूप हुन्छन्। कविले सिर्जना गरेको कविता हो। यो स्वयं एउटा संरचना हो। संस्कृत र पाश्चात्य साहित्यमा कवि र कविताको ठुलो महत्त्व र महिमाको वर्णन गरिएको पाइन्छ। यो एउटा अधिरचना हो। कविता एकविताको शीर्षकदेखि लिएर टुङ्ग्याउऩीसम्म सुगठित हुन्छ। शीर्षक ले नै कविताको मूल कथ्य, भाव र वस्तुलाई सङ्केत गरेको हुन्छ। यो एक हरफेदेखि लिएर लाखौं हरफेसम्मको आयतनको हुनसक्छ। कविताको सबैभन्दा बढी वर्गीकरण भएको पाइन्छ। सामान्य रूपमा कवितालाई प्रबन्धकाव्य, कोशकाव्य र फूटकर काव्य भनेर वर्गीकरण गरिएको छ। महाकाव्य, खण्डकाव्य, कोशकाव्य, फुटकर काव्य आदि पर्दछन्। फूटकर कविताका आयतन पनि लामा छोटा हुन्छन्। युग्मक, मुक्तक, गीत, गजल, रूबाइ, हाइकु आदि पनि कविताकै परिधिमा पर्दछन्। सामान्य फुटकर कविता प्रगीतात्मक, कथावस्तु भएका महाकाव्य खण्डकाव्य आख्यानात्मक कविता अनि संवादपरक र अभिनयात्मक प्रस्तुति भएको नाटकीय कविता हो।
ख. सोनादाका राजेन्द्र पासा-
नेपाली साहित्यमा राजेन्द्र पासाको नाम पनि अङ्कित छ। उनी कविताको मुक्तकीय सिर्जनाको एकनिष्ठ समर्पित देखिन्छन्। उनी निरन्तर रूपमा मुक्तक लेखनमा लागिपरेका छन्, सिर्जनामा उद्यत छन्। उनका सङ्ग्रहका सङ्ग्रह मुक्तकका पुस्तक प्रकाशित छन्। सोनादाका राजेन्द्र एक सचेत, साहित्यप्रेमी, जातिप्रमी सज्जन पुरूष हुन्। आफ्नो काम, लेखन र कर्तव्यमा इमानदार समर्पित र लगनशील छन्। उनी विज्ञापनदेखि परै रहेर काम गरिरहन्छन्। उनले सोनादा साहित्य संस्थानका संस्थापक सचिव रही यसको उत्तरोतर विकासमा दिलोज्यानले खटिरहेका छन्। यस सम्थानको विकासका निम्ति मासिक भेला गराउँछन्, मन्थन भन्ने पत्रिकाका निम्ति रचनादि सम्पादन र सङ्कलन गर्दछन्। रातदिन साहित्य सेवामा समर्पित छन्। उनी अत्यन्त मिलनसार व्यक्तित्व हुन्। साहित्यकारहरूसँग सुसम्पर्क, समन्वयन र सहकार्यमा आदिमा विश्वास राख्ने पासा लोकप्रिय छन्।
ग. मुक्तक –
कविताको एउटा लघुतम रूप मुक्तक हो। कविताको एउटा उपविधाका रूपमा मुक्तक प्रचलित छ। यो मूलतः चार पङ्क्तिको हुन्छ। यसका विभिन्न परिभाषा, स्वरूप, ढाँचा र प्रकार रहेका छन्। विभिन्न साहित्य चिन्तकहरूले आ-आफ्ना बुझाइ, चिन्तन र अध्ययनबाट मुक्तकलाई परिभाषित गरेका छन्। यो मानवीय अनुभूति र भावावेगको तीब्र प्रवाह हो। वस्तुनिष्ठता, आत्माभिव्यञ्जना, सूक्ष्मता, स्पष्टता, थोरैमा धेरै व्यक्त आदि गुण पाइन्छन्। कुनै कुनै मुक्तकमा आख्यानतत्व सूक्ष्म रूपमा पनि पार्न सकिन्छ। यो भावावेगको एक झोक्का, एक भुल्को हो । सम्प्रेषणीयता, लघु आयाम, सूत्रात्मक, संरचना एवम् सूक्तिमयता जस्ता स्वरूप हुन्छन्। यसले थोरैमा धेरै आशय व्यक्ति गर्न सक्छ। नेपालीमा चोइटा, कनिका, छेस्का आदि नामले मुक्तक लेखिएको पनि पाइन्छ। यो लघुरूपको कविता ‘गगरमा सागरभने’ झैं आफैंमा पूर्ण, संश्लिष्ट हुन्छ, गहन चिन्तन, अनुभव र ज्ञानको सार पाइन्छ। डा नरेन्द्र चापागाइँका अनुसार “संक्षिप्ततामा विस्तृतता अँटाएको गेयात्मक तथा अलङ्कारयुक्त स्वतञ्त्र तथा स्वयंमा परिपूर्ण सुगठित, सुसंरचित, गम्भीर सूत्रात्मक, श्रुतिमधुर, सुरूचिपूर्ण,शालीन अनुभूतिजन्य सम्प्रेषणीय तथा प्रभावशाली काव्यात्मक विधालाई मुक्तक भन्न सकिन्छ। चमत्कारपर्ण कथ्य, मनोमस्तिष्कलाई शीघ्रातिशीघ्र प्रभाव पार्ने धारिलो तथा तीक्ष्ण व्यङ्ग्य रहेको कविताको लघुतम रूपलाई मुक्तक भन्दछन्।” नेपाली साहित्यमा मुक्तक निकै झाँगिएको पाइन्छ। धेरैजना कविहरूको मुक्तकसङ्ग्रह प्रकाशित छन्। नेपाली मुक्तक एउटा सिङ्गो उपविधा बनेर अझै रूबाइ, हाइकु, तान्का, युग्मक आदि पनि समेटिएका छन्।
घ. मुक्तकमा राजेन्द्र -
साना साना पंक्तिगुच्छाका तीन हरफे कविता लिएर फेरि देखा परेका छन् राजेन्द्र पासा। यसमा दार्शनिक चिन्तन छ, जीवनका रहस्य छन्। मानिसको क्षणभङ्गुर चोलाको चिन्ता छ। उनको तीनहरफे कवितामा कविले आफ्नो ज्ञान र अनुभवलाई पाठकसामु अभिव्यक्त गरेका छन्। यहाँभित्र अध्यात्म चेतना, नैतिक सन्देश, धर्मसार राजनैतिक सन्देश पाइन्छ। यहाँभित्रका एकेकवटा पदहरूमा जीवनसार, नैतिकसार, धर्मसार, अध्यात्म सार पाइन्छन्। सौन्दर्य चेतना, रोमान्सेली भावधारा, व्यङग्य चेतनाले भरिएका छन्। कविको जीवनानुभाव र हासिल ज्ञानलाई अभिव्यक्ति दिएका छन्। सङग्रह पाठकका निम्ति अत्यन्तै उपयोगी छ। एकेक पदका एकेक शब्द, वाक्य र पद जम्मै खँदिला, गहिरा र बहुअर्थी छन्। समयका विभिन्न पाटाहरूको अनुभव सार पाइन्छन्। थोरैमा धेरै भन्न खोजिएको छ। एकेक पदहरू गागरमा सागर छन्। एकेक पदहरू सूक्तिमय छन्, रोचक लाग्छन्।
कसैको जीत कसैको हार
यही हो राजनैतिक ,सार
जनतालाई चैं महङ्गीको मार।
---------------------------
आउँदैन है फर्केर बितेको समय घरीघरी
कसैलाई यहाँ मरी मरी त कसैलाई परीपरी
मान्छे संसारको एउटै तर विचार भने थरीथरी।
भाँडाको भात पाक्यो कि पाकेन भन्ेर जान्नका निम्ति एक सितो भातलाई छामेर हेर्दा भाँडाको भात पाकेछ भन्ने ज्ञान भए जस्तै यहाँ यी एकेक नमुना पढ्दैा नै पाठकलाई यसभित्रका निगूढ़ रहस्य, ज्ञान अनुभाव आदि कुरा थाहा पाउन सकिन्छ।
यहाँको कलम अगि बढोस्, यहाँका मन मष्तिष्कमा कविताका भाव भरिरहुन्, भनी कामना गर्दछु।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।