साहित्य आलेख—एक
१. विषय प्रवेश
मानिसको आनुभाविक चेतनाबाट प्रस्फुटन हुने भावुकतामय विचार साहित्यको रूपमा गनिने गरिन्छ । साहित्यमा लय विधान, नाटकीयता र आख्यात तत्व भएको विविध विषयहरूलाई साहित्यिक प्रमुख विधाको रूपका साथै तिनका अन्य विविध उपविधा एवं प्रविधाहरूमा समेत परिभाषित गरिएको पाइन्छ । यसै परिप्रेक्षमा आख्यानको पनि विश्व साहित्यमा आफ्नै भूमिका रहेको छ । विश्व साहित्यमा आख्यायिक चेतनाको विस्तारित स्वरुप विषय, घटना वा स्वभावको प्रस्तुती उपन्यास र कथाहरूको आयामिक संरचनामा प्रस्तुत भएको पाइन्छ भने एसियाको भारत वर्ष, अरब भूमि र मङ्गोलियन मूलका समुदायमा आफ्ना धर्म, संस्कार, पद्दति, राजकीय परम्परा, मूल्य मान्यता, रहनसहन, विधि परम्परा, आदर्श, साहस, वीरता, यौनिकता, स्वच्छन्दतालगायत अन्य थुप्रै विषयहरूमा साना छोटा आकारका उपाख्यानहरूको प्रयोग विशेषत्ः हँसी मजाक र छेडपेचको भावमय सन्देशमा केन्द्रीय आसयको सङ्गति एवं विसङ्गतिका उपाख्यान बनाएर लोक प्रचलनमा प्रस्तुत गरिएको पाइन्छ । यसैलाई एसियाली देशहरूमध्ये केही देशहरूमा यसै उपाख्यान परम्पराको निरन्तरताको रूपमा रहेको छोटो सानो कथालाई लघुकथा भन्ने गरेको समेत देखिन्छ । यस्तै अन्य महादेशका कतिपय यस्ता प्रकारका साना छोटा कथाहरूलाई कथाकै रूपमा पुकारेको समेत देखिन्छ । यस्तै नेपाली साहित्यमा पनि लोक परम्पराको सानो छोटो कथाबाट छुट्टिएर सिर्जनात्मक सानो छोटो कथा लेख्ने परम्परालाई पछिल्लो कालमा लघुकथाको नामले परिभाषित गरिएको समेत देखिन्छ ।
२. उपाख्यानको रूपमा कुथुङ्ग्री
यिनै श्रृङ्खलाको धरामा जोडिएर आएको नेपाली परम्परामा सानो छोटो कथा प्रस्तुती प्रथालाई “कुथुङ्ग्री” भन्ने प्रचलन रहेको छ । नेपाली साहित्यमा कुथुङ्ग्री भन्ने परम्पराको निकै लामो इतिहास लोक प्रचलनमा रहेको समेत पाइन्छ । यसै सन्दर्भमा मध्यकालीन समयको वि. सं. १६३५ को भान शाहीको अभिलेखमा तत्कालीन समाजको सानो छोटो विषय वा घटनामा आधारित रहेर कथाको कथन गर्ने वा भन्ने परम्परालाई सङ्केत गर्नसक्ने एउटा उखानको प्रयोग “पुरानो कथा नवा ताना 'पुरानो कुरामा नयाँ विचार' भएको देखिन्छ (अधिकारी, २०४३, पृष्ठ ः ३७) । अभिलेखमा उल्लेख भएको यो लिखित उखानले नेपाली साहित्यको आख्यान परम्परामा निकै महत्व राख्नुपर्दछ भन्ने मलाई लागेको छ । यसले कथा परम्पराको नयाँ ढाँचालाई सङ्केत गरेको छ । पूर्वीय एवं पाश्चात्य परम्परामा प्रचलित आख्यानका भेदको रूपमा रहेको उपन्यास र कथाको मान्यतामध्ये कथा परम्परामा देखिने नयाँ चिन्तन र प्रस्तुती परम्परालाई यसले सङ्केत गरेको देखिन्छ । यसर्थ सैध्दान्तिक रूपमा आख्यानका भेदका रूपमा उपन्यास र कथा भनी भेद गरेर छुट्याइए पनि पश्चिमका तुलनामा पूर्वमा समृध्द हिन्दु, मुस्लीम तथा मङ्गोलियन मूलका मानिसहरूको वीरगाथा, रहनसहन, संस्कृति, परम्परा र सामाजिक मूल्य मान्यता उन्नत रहेको पाइन्छ । यस्तै धरोहरहरूका माध्यमबाट समुन्नतहुँदै आएको उपाख्यानहरूको कथ्यताहरू छोटो, सानो एवं खिरिलो संरचना र उपहासपूर्ण व्यङ्ग्य र मजाक शैलीका माध्यमले सामाजिक विकृति र विसङ्गतिप्रति छोटो रूपमा सुधारको घुमाउँरो उपदेश वा सन्देश दिनका लागि यस्ता प्रकारका कथ्यता पद्दतिको लोक एवं सिर्जन परम्परामा ट्वाक्क, सानो एवं छोट्टो कथा प्रस्तुतीको नयाँ ढाँचा प्रस्तुत भएको देखिन्छ । अभिलेखमा प्रस्तुत उखानले पनि यस्तै आसयलाई आत्मसात् गरेको समेत भेटिन्छ ।
आख्यान र उपाख्यानको बीचको भेदलाई रेखित गरेर नेपाली साहित्यमा छुट्याउन नेपाली लोक मान्यताका लागि नेपाली समाजमा प्राचीनकालदेखि नै प्रचलित एउटा अर्काे उखानले पनि आख्यान र उपाख्यानको बीचको भेदलाई स्पष्ट पार्ने गरी कथ्यता पद्दतिका लागि “कथा” र “कुथुङ्ग्री” को भेद “कथा न कुथुङ्ग्री कन्डापरि गाँड” गरी समाजमा प्रयोग गर्ने प्रचलन रहेको छ । लोक प्रचलनमा रहेको यो उखानले त “कथा” भन्नाले ठूलो आकारको योजनाबध्द र व्यवस्थित कथन पद्दति रहेको साहित्यिक संरचना स्वरूप र “कुथुङ्ग्री” ले चाहिँ आवश्यकताअनुसार तत्कालै भन्न सकिने छोट्टो संरचना भएको एकप्रकारको सानो आकारको कथाकै स्वरूपको, कथाकै सबै अंशको लघुत्तम धर्म बोकेको आयाम नै यसको सैध्दान्तिक संरचना हो भन्ने सन्देश दिएको छ । त्यसर्थ “कथा” र “कुथुङ्ग्री” का बारेमा प्राचीन लोक मान्यतादेखि नै नेपाली कथ्यता परम्परामा फरक ढाँचा, फरक शैली र फरक कथन पद्दतिमा थियो र अहिले पनि छ । अनि यो आख्यान कै न्यून आयतनको सूक्ष्म कथातत्व बोकेको कथा हो भन्ने स्पष्ट भएको छ ।
३. कुथुङ्ग्री शब्दको व्युत्पत्ती
संस्कृतको “कथ्” आख्यात धातुमा “उङ्ग्री” प्रत्यय लागेर “कुथुङ्ग्री” नाम शब्दको व्युत्पत्ती भएको देखिन्छ (२०४०, पोखरेल, पृष्ठ ः २३३) । यस्तै थारू भाषाको शब्दकोशमा पनि “कुथुङ्ग्री” शब्दको प्रयोग भएको पाइन्छ । यसको व्युत्पत्ती पनि संस्कृतको “कथ्” आख्यात धातुमा प्राकृतको “उँग्(नाम)+री(प्रत्यय)” को योगबाट “कुथुङ्ग्री” बनेको भेटिन्छ । उँग्को अर्थ प्राकृतमा “उङ्घेर बस्दाबस्दै निद्राको जोडले आँखा लट्ठिने स्थिति; निद्रा लाग्नेलाग्ने बेलाको पूर्वरूप; झकाइः तन्द्रा; उँघाइ” भन्ने अर्थ लाग्दछ । यस्तै समग्र रूपमा थारू भाषामा “कुथुङ्ग्री” भन्ने शब्दलाई नै चाहिँ यसरी परिभाषित समेत गरेको देखिन्छ : “कुथुङ्ग्री— ना. सं. कथ्+उङ्ग्री तत्काल आवश्यकता पूर्तिका निम्ति कथिएको “सानो कथांश कथा” भन्ने गरेको पाइन्छ ।” यसर्थ छोटो एवं मसिनो आकारले बनेको, तत्कालै भन्न सकिने छोटो सानो कथाको स्वरूपमा कुथुङ्ग्रीलाई थारू भाषामा पनि प्रस्तुत गरेको देखिन्छ । त्यसैले नेपाली भाषामा छोटो सानो आकारको विशेषता बोकेको नवीन कथा ढाँचाको विकसित नयाँ आख्यायिका समेत भएको विधा नै “कुथुङ्ग्री” हो भनेर मान्नु पर्दछ । यसले नेपाली कथन पद्दतिको मौलिकता समेत बोकेको छ । आख्यान विधाको विधागत स्वरूपको छोटो आयाममा स्वतः विकसित रहेको पाइएकोले यस्तो कथन पद्दतिको माध्यम भएको संरचना स्वरूपलाई लघुकथाका सट्टामा लघुकथाको पूर्वपीठिका “कुथुङ्ग्री” भनेर मान्नुपर्दछ ।
४.कुथुङ्ग्रीको व्याकरणिक अर्थ
मूलतः यो शब्द कथाकै द्विरूक्त शब्दको रूपमा आएको देखिन्छ । किनभने “कथा” र “कुथुङ्ग्री” शब्दमा प्रयोग भएको आख्यात धातुको “कथ्” यसको मूलआधार हो । कथाको “कथ्” मा “—आ” प्रत्यय र कुथुङ्ग्रीको “कथ्” मा “—उङ्ग्री” प्रत्यय लाग्नुले यो दुवै शब्द द्विरूक्तको स्वरूपमा प्रयोग भएको देखिन्छ र “कथाकुथुङ्ग्री” भन्ने पनि गरिन्छ । बरू व्याकरणमा रहेको लिङ्गीय व्यवस्थालाई हेर्दा “कथा” नाम शब्द पुलिङ्गी एवं “कुथुङ्ग्री” नाम शब्दचाहिँ स्त्रीलिङ्गीको रूपमा प्रयोग भएको समेत भन्न सकिने आधार रहेको देखिन्छ । मूलत ः द्विरूक्तले व्याकरणका साथै विषयवस्तुको कथन गतिको सन्दर्भगत अर्थमा पुनर्कथन पद्दतिलाई विशेष जोड दिएको हुन्छ । त्यसैले लघुकथाको तुलनामा कथाको निजी सूक्ष्म कथातत्व बोकेको स्वरुप नै “कुथुङ्ग्री” हो र द्रष्टाहरुको नवीन चेतनाबाट विकसित भएर उदाएको नेपाली छोट्टो सूक्ष्म कथातत्व बोकेको सोही स्वरुप मात्रै लघुकथाको रुपमा बुझिनु पर्दछ भन्ने मान्यता रहनुपर्दछ भन्ने देखिन्छ ।
५. कथ्यताको आयतन
कथा भन्नाले “प्रबन्धात्मक रूपमा योजना बध्द र व्यवस्थित गद्यमा लेखिएको रचना वा कहानी” भन्ने अर्थमा आख्यानको सानो स्वरूपको अर्थमा प्रयोग भएको संरचनालाई नै मानेको देखिन्छ (२०४०, पोखरेल, पृष्ठ ः १८१) भने कुथुङ्ग्री भन्नाले तत्काल आवश्यकतापूर्ति निम्ति कथिएको सानो आख्यायिका, कथाः छोटो कथा (२०४०, पोखरेल, पृष्ठ ः २३३) भनेर मानेको देखिन्छ । त्यसैले आयतनका हिसाबले “कथा” ठूलो र “कुथुङ्ग्री” सानो र छोटो आकारको आयतनमा रचना गरिने आख्यानको विधा हो ।
६. शब्दकोशमा “कुथुङ्ग्री” शब्द
प्राचीन वेदका हस्तलिखित ग्रन्थहरुको पाठहरुलाई अध्ययन गर्दा संस्कृत भाषामा प्रयोग भएको “कथानक” भन्ने शब्दले “छोटो सानो कथा” को रुपमा कथानकलाई परिभाषा गरेको पाइन्छ । यसै सन्दर्भमा सर मोनियर मोनियर विलियमको संस्कृत अङ्ग्रेजी शब्दकोशमा “Kathanaka"( सं. कथानक, a little tale(Williams, 1899, P.247) भनेर छोटो सानो कथाको रुपमा उल्लेख गरेको देखिन्छ । पहिल्लो समयमा साहित्यिक रचनाको कालमा संस्कृतको “कथानक” शब्दले आख्यानको बृहत्तर आख्यानको स्वरुपमा प्रयोग हुने छोटा सन्दर्भगत अर्थका उपाख्यानहरुलाई अङ्ग्रेजीमा “एयित” र नेपालीमा “कथानक” नै भन्न थालिएको देखिन्छ । तर नेपाली साहित्यको आख्यानको परम्परामा यसो घोरिएर हेर्दा संस्कृतको कथानकको भावार्थ कथ्यता प्रणालीमा जमेको सानो छोटो कथाको आयामको संरचना निर्माणका लागि नेपाली लोक परम्परामा “कुथुङ्ग्री” शब्दले प्रचलित समाजमा उठबस गरेर नयाँ छोटो सानो कथा ढाँचामा आफुलाई विकसित गरेको भने अवश्य देखिन्छ । यसै आधारबाट हेर्दा प्रचलित नेपाली समाजको विविध भाषा, जाती, परम्परा, मान्यता मान्ने र जटिल भौगोलिक भेदले छोटो कथा कथ्ने र भन्ने परम्परामा संस्कृतको कथानक शब्दका लागि “कुथुङ्ग्री” शब्द प्रयोगशीलहुँदै अग्रशरण भएर आएको र संस्कृतको कथानक शब्दकै मान्यताको छोटो सानो कथा कथ्ने ढाँचामा यसको प्रयोग भएको देखिन्छ । तसर्थ “कुथुङ्ग्री” को मुल साइनो सन्दर्भगत अर्थ र कथ्थताको ढाँचा संस्कृतको कथानक र अङ्ग्रेजीको “ब ष्तितभि तबभि” को अन्तर्य बोकेर नेपालीमा “कुथुङ्ग्री” शब्दले आख्यानको छोटो आयाममा प्रस्तुत हुने मौका पाएको स्पष्ट देखिन्छ । यस्तै “कुथुङ्ग्री” शब्दलाई शाब्दिक प्रविष्टिका माध्यमबाट आख्यानको छोटो विधाको रुपमा परिभाषित गर्ने काम बृहत् नेपाली शब्दकोश(पोखरेल, २०४०, पृष्ठ ः २३३) ले पहिलो पटक गरेको देखिन्छ । यसर्थ पनि नेपाली लोक प्रचलन र साहित्यमा यसको महत्व गम्भीर ढङ्गले जमेको छ भन्ने आधार स्पष्ट छ ।
७. नेपाली अभिलेखमा छोटो कथात्मकता
नेपाली भाषाको प्राचीन तथा मध्यकालीन ऐतिहासिक रूपमा सिंजाली, खस, मल्ल तथा पर्वते भाषामा कुनै सिर्जनात्मक साहित्यिक लेखन वा अन्य भाषाबाट, सिंजाली, खस, मल्ल वा पर्वते भाषामा आख्यानका अनुवादहरू भएको पाइँदैन । थियो त केवल गैह्रसाहित्यिक रूपका अभिलेख एवं संस्कृत, अवधि वा फारसीबाट अनुवाद गरिएका वाङमय ग्रन्थहरू मात्रै रहेको आजसम्मको नेपाली साहित्यको खोजले पत्ता लगाएको विषय हो । यद्यपी इतिहासका अभिलेखीय पन्नाहरूमा सूक्ष्म रूपमा साहित्यिक विभिन्न विधाहरूलाई कुनै सङ्केत गर्नसक्ने आधारहरू सिर्जनात्मक साहित्यको बिजविन्दुहरू कतै न कतै गर्भमा बसेका पाइन्छन् । यसै सन्दर्भमा नेपाली साहित्यको मौखिक परम्परामा रहेको कुथुङ्ग्री भन्ने वा कथ्ने परम्पराको खोजीका क्रममा प्राप्त भएको आधारहरूलाई केलाउने क्रममा अर्जन्या पुडाको वि.सं. १६४८ को “पुर्सो कथुरो” शीर्षकको अभिलेख आख्यानको सबैभन्दा सानो तथा लोकप्रचलन र व्यवहारमा प्रचलित मौखिक परम्पराको कथाको छोटो ढाँचाको आयाममा संरचित हुने कुथुङ्ग्री स्वरुपमा देखिन सक्छ । यसै मान्यतालाई आत्मसात् गरेर सूक्ष्म कथातत्व बोकेको कथा साहित्यिक विधालाई पहिचान गर्ने उद्देश्यले योगी नरहरिनाथले इतिहास प्रकाश, अङ्क– २, भाग– १ म प्रकाशित गर्नुभएको एउटा अभिलेखीय आलेखलाई नमूनाका रुपमा तल उद्धृत गर्ने प्रयत्न गरिएको छ (योगी: २०१३, पृ. १२६) :
“स्वस्ति श्रीशाके १५१३ श्रीसंवत् (१६४८ साल मिति चैत्र सुदी १४ रोज सनिवारे ७ म श्री श्री माहाराजा मुक्तिसाहि सिलिम साहि माहाराजाको मया भयाको जगा अर्जन्याले पुर्सोकथुरो सेवा लायाका साटो पायाको क्षेकाः भेडि गोरू राषन्या जगा डिक्याका षरक पाछ १ । ५ मा तोलो सुम सिलाहालि डिक्यामा श्रीमाहाराज मुक्तिसाहि सिलिमसाहि माहाराङा समर्जि भयाको रेषा क्षेकाको सहि सुधा डिक्या षरकमध्ये क्षेकाः अर्जन्याले पायाकी तप डिक्या पारिका ढुस्का वडो राता दाड वडोपर नागितालि वडोः भूजरूष उवोः गोव्रि रूष वडोः तलि जौला षर्सु उवोः सेता दाउतक्ः यिति क्षेका माहाराजाले मह्याभैछः पछि चरन् मंरन् पाया पछि तोलो सुन गोठ दषाई सपात समेत्ः माहाराजाले मया भैछ ः अर्जन्याले पारा(या) भैछः पछि फेरि विन्ति गर्दा माः श्रीमुक्तिसाहि सिलिम्साहि माहाराजाले मह्या भयाको जगाः अर्जन्या वुढाले पायाकोः चादिमेला वडो कालादाड वडोः पारि घोरिषल्ना तक् घोरिषल्ना पोरिका ज्युर वडो लोटिषेल्ना तकृ तामंधेको दाउरा काटन्ः स्याउलो षेडन्ः वाछि चरन्ः गाइ चरन्ः भेडि चरन्ः दाउरा काटन्ः फाला कुड गाडन्ः सुको दाउरो षेडन्ः रस्तिवस्ति समेत् ताको उप्र क्षेकाः रांधा उनि षाला वडो वा¥याकाद वडोः उपल्ला वाट तक् इति क्षेकाः श्रीमाहाराजा मुक्तिसाहि सिलिम्साहि माहाराजाले मया भैछः अर्जन्याले पाया भैछः वटक् १ ता देषि निसालि जग्गाको निसान् प्रवेस ग¥या भैछः मथेड्या ढुंगाः तक् पुडो दिलौरि चोड वडोः देवार्रूपः दिलौरिकाद उदो तल पिपलषोला उवोः ताहिमा भेडा चरन्ः गाई भैसी चरन्ः साग आठो उमा थुगोः ल्याई षानु भेडि चंन् वदिलोः भेडि ल्याउनुः तालन् पुग्या चलन् गर्नुन पुग्या कसैले ता वसि षानछन् भन्याः वंदालो ल्याउनु मर्जि श्रीमाहाराजा वाट मर्जि मुक्तिसाहि सिलिम्साहि माहाराजवाट मया भैछः अर्जन्या रानावुढाले पाया भैछः चाक्रिले पानरोतले पायाको जगा पोरि कोठा ढुस्का उदो वडो तल माच्ला कादउवोः ताकोचाहाडि वाहाडि समाकैले पासोसोलो षेल्यो भन्या सिसार दस्तुर वुझि ल्याउनु कसैले थलो षेल्यो भन्या साहि ५ जुर्राका २।। पांछ मोहोर्वुझि ल्यायंनु श्रीमुक्तिसाहि माहाराजावाट मया भैछः अर्जन्या वुढाले पाया भैछ ।”
शीर्षक : कथुरो (भाले कस्तुरी) को मोल
मुक्ति शाही र सिलिम शाही नाम गरेका दुईजना राजाले अर्जुन बुढालाई जग्गा इनाम दिएका थिए । अर्जुन बुढाले राजाको सेवाका लागि ल्याएको पुर्सो कथुरो(भाले कस्तुरी)को सट्टामा भेडा र गाई राख्ने डिक्या खर्कसम्मको साँध सीमाना पायो । डिक्यामा पाँचभागको एकभाग सुनले शिलाथापी दुईजना राजाले मर्जी गरी साँध सीमा भयो ।
––“वास्तविक डिक्या खर्कमध्ये डिक्या तल पारिपट्टिको ढिस्कोको वर रातादाड, वरिपरिको नागितालि, वरको भूर्जपत्रको रूख, माथि गोब्रेसल्लाको रूख, अलिओरको माथि खस्रु रूख, माथि सेता डाडसल्लाको रूख समेत साँध सीमा राजाहरूबाट निगाह भएको छ । पछिको लागि चरन गर्न हुने र मरन नहुने गरी तोला सुन गोठमा राखी पाप समेत मुक्त गरी निगाह भएको छ ।”
अर्जुन बुढाले राजाहरूलाई फेरि बिन्ति गरे । उनीहरूबाट फेरि थप निगाह भएर अर्जुन बुढाले जग्गा पायो ।
––“सो जग्गा चादिमेला वर, पारि ठाडो उकालोसम्म, पारिको ज्यूर(वनस्पतिको नाम) वरको ओरालोसम्म, त्यसमध्येको दाउरा काट्न, स्याउला फाँड्न, गाई बाछा, भेडा चर्न, काटेका दाउरा राख्न, फालेका कुरा गाड्न, सुकेको दाउरा तह लगाउने रस्तीबस्ती समेत त्यसै उपरका लागि फेरि निगाह भयो । त्यहाँको सीमा रान्धा उता, खोला वर, वारेको काल्हो वर उतापट्टिसम्म ।”
मुक्ति शाही र सिलिम शाहीले आदेश गरेपछि अर्जुन बुढालाई पनि फेरि जग्गा इनाम प्राप्त भयो । वटुकलाई अगाडि लगाई जग्गाको निसाना राखी प्रवेश गरेर निगाह दिए ।
––“मथेडाको ढुंगासम्म पुरै दिलौरी चोक वर देवरको रुख, दिलौरी काँधको उता तल पीपल खोलामाथि, भेडा, गाई, भैसी चराउनु । सागपात फलफूल उमार्नु । थुमो भेडो ल्याएर राख्नु र बँदेललाई आउन नदिनु । पुगेसम्म चलनमा चलेको गर्नु । नपुगी बसेर खाए भने बँदेल भए पनि ल्याउनु ।“
महाराजाहरुबाट फेरि निगाहा भयो । अर्जुने बुढाले अझै अर्को उपहारको रुपमा थप आदेश पनि पाए ।
––“चाकरले पानीपोतमा पाएको जग्गा पारि कोठा ढिस्को माथिको वर तल माथिल्लो काँधसम्म त्यहाँका पहाडिया कसैले प्रयोग गर्यो भने सिसार दस्तुर(कर) जरिवाना लगाएर बुझिल्याउनु । कसैले सो स्थानमा भोग गर्यो भने महाराजका बुझाउन ल्याउनेले पाँच जुर्रा(रुपैया)को साढे दुई जुर्रा पाउँछ । पाँच मोहोर बुझि ल्याउनु ।”
(मध्यकालीन नेपालीबाट आधुनिक नेपालीमा सरलीकृत: लेखक स्वयम्)
सारांशमा हेर्दा, यो पाठ मुलत अभिलेखको ढाँचामा प्रस्तुत भएको भए छ । तरपनि यसमा प्रयोग भएको विषय र घटनाले छोटो कथाको सामान्य संरक्षण गरेको देखिन्छ । स्वभावैले अभिलेख भए तापनि यसलाई नेपाली साहित्यको सानो छोटो तत्कालै आवश्यकता पूर्ति गर्नका लागि, तत्कालै कथिएको एक कथ्य व्यहोराको रुपमा संवाद, घटना, कथ्यता र पात्रको चयन गरेर लेखिएको छ । कथ्यता पूर्णत् अभिलेखको बान्कीमा भए तापनि छोटो सानो कथाको आयाममा यसको संरचना अत्यन्त खिरिलो देखिन्छ । यस्तै अभिलेखीय ढाँचामा श्रीबेहोरा, मध्यबेहोरा(पेटबोली) र पुछार बेहोरा(साक्षी एवं लेखक) अनिवार्य हुनु जरूरी हुन्छ तर यस अभिलेखमा पुछार बेहोरामा राखिने साक्षी, धर्म भाका एवं लेखकको नामसमेत उल्लेख छैन । यो एक छोटो कथाको रूपमा संरचित भएको अभिलेखको बेहोरा मिश्रित “कुथुङ्ग्री” ढाँचाको पाठ हो भनेर मान्न सकिन्छ । यसका साथै “कथुरो” भन्ने शब्द नामिक भएपनि यसले कस्तुरी मृगको सुगन्धित सानो आकारको जनावर समेतलाई जनाउँछ । तसर्थ दान, दातव्य, वीरता, यात्रा, उपहार, इनाम वा आदेश आदि विविध विषयमा तत्क्षणमा नै तत्कालको आवश्यकता पूर्तिका लागि लेखिने अभिलेखीय संरचना ढाँचाको गर्भमा “कुथुङ्ग्री–कैरन”को उद्घोषको संकेत लेख्य आयाममा कथ्य भाषाको प्रयोग मार्फत यसले अवश्य नै गरेको छ भन्ने आधार स्पष्ट रुपमा मान्न सकिन्छ ।
८) नेपाली भाषामा कुथुङ्ग्रीको पहिलो अनुवाद
नेपाली साहित्यको प्राचीनकाल अगाडि व्यावहारिक जीवनमा कामलाग्ने केही संस्कृत, ब्रज तथा फारसी भाषाबाट केही वागमय ग्रन्थहरूको मात्रै अनुवाद गरिएको पाइएता पनि लघुकथाको रूपमा “मुन्सीका तीन आहान” भनेर फारसी भाषाबाट नेपाली भाषामा अनुवाद गरी नेपाली व्याकरणको उदाहरण स्वरूप प्रस्तुत गरिएका छोटोकथाहरू ‘खत’, ‘जुक्ति’ र ‘नाफा’ हुन् । जे. एन एटनले वि.सं. १८७६ मा अनुवाद गरेको यो छोटोकथालाई समालोचक ईश्वर बरालले कुथुङ्ग्रीको रूपमा प्रस्तुत गरेको पाइन्छ । जे. एन. एटनले “मुन्सीका तीन आहान” भनेर फारसीबाट अनुवाद गरेको छोटोकथालाई समालोचक ईश्वर बरालले सोही पाठलाई “तीन कुथुङ्ग्री” भनेर छोटो आकारको नेपाली कथाको शिलान्यास गरेको भेटिन्छ । लोक प्रचलनमा रहेको नेपाली छोटो आकारको कथन परम्पराले विजारोपण गरेको आयामिक सन्दर्भ ‘कुथुङ्ग्री’ भन्ने शब्दको मर्मबाट नै आधुनिक ‘लघुकथा’ को प्रतिबिम्ब उभिएको देखिन्छ ।
८.१) तीन कुथुङ्ग्री
नेपाली भाषाको लिखित व्याकरणको उदाहरण दिनका लागि लेखिएको लप्टन जेम्स इलेक्जेण्डर ऐटन(जे. एन. एटन) ले फारसी भाषाबाट नेपाली भाषामा अनुवाद गरेको वि.सं. १८७६ को पहिलो नेपाली अनुवादित छोटोकथालाई ऐटनले “ग्रामर अफ द नेपालीज्, ल्या ङ्वेज्(कलकत्ता, १८२० क्रा. पृ. ५८–६०)” मा “तीन आहान(सं. आख्यान)” लाई उल्लेख गरेको भेटिन्छ । यसैलाई बरालले “तीन कुथुङ्ग्री” को रूपमा प्रस्तुत गरेका छन् (बराल, २०४६ ः १३५¬) । सूक्ष्म कथातत्व भएको छोट्टो कथालाई एटनले फारसीबाट अनुवाद गरेको यसप्रकारको संरचनालाई जस्ताको तस्तै तलउल्लेख गरिएको छ । लोक प्रचलनमा रहेको कुथुङ्ग्रीको सूक्ष्म कथातत्व बोध र आधुनिक नेपाली लघुकथालाई परिभाषित गरेर निर्माण गरिएको सूक्ष्म कथातत्व बोधको आधारलाई मध्यनजर गर्दा एउटै देखिन्छ । तसर्थ लिखित रूपमा रहेका उक्त विशिष्ट तीनवटा छोटाकथा(तीन कुथुङ्ग्री)हरूलाई समालोचक ईश्वर बरालले भने झैं लघुकथाको ऐतिहासिक धरोहरको एक अग्रणी पाइलाका रूपमा कुथुङ्ग्रीलाई नै लिनुपर्दछ । साथै भ्रमबस भएका कतिपय लघुकथा शब्द चयनको समीक्षाहरुलाई मूल्यांकन गर्दै कुथुङ्ग्री र लघुकथाको सन्दर्भका विशेष तत्व र नेपाली लघुकथाको इतिहासमा छानिएर लेखिनुपर्ने सूक्ष्म कथातत्वको विधागत शाब्दिक चयनको पूर्नमूल्यांकनको आवश्यकता समेत देखिन्छ । यसका साथै सरल नेपाली भाषामा उक्त तीन कुथुङ्ग्रीलाई आधुनिक नेपालीमा पुनर्लेखन समेत गरी ‘खत’, ‘जुक्ति’ र ‘नाफा’ शीर्षक पनि दिई तल उल्लेख गरिएको छ ।
कुथुङ्ग्री– १
एउटा मानिस् राजाछेउँ फरयाद गरनु गयो । यस्तो फरयाद गरयो भन्यादेषि मेरो घरमा मानिस् सधै आइकन् मेरो सुवास्सिनिसित प्रति गरछ तर मँ तेस्लाइ कहिले देखनु पाउँदइनुँ । कुन् हो ः तंपाईका् न्याव्को आस्रा ः राखिकन तेस्लाई समाजतु खोज्छुँ ः
तव राजाले उस्लाइ एउटा अतर भ्याको सिसि दिइकन आग्याङ् गरे यो सिसि तेरो सुवास्सिनिलाइ पोन्पिकन कसैलाइ नदेउ भन्या भनी देउ । मन्छेले उसतै गरयो । राजाले चिवाहेरूलाई खतायो र अह्रायो जस्सँग वास्ना आउलाया यो भनि उस्लाइ समाइ ल्याउनु हइ ।
परन्तु जारले वेला पाइकन सुवास्सिनिछेउ गयो : तेउ सुवास्सिनिले लुगामा अतर लाइदियो र भन्न लाग्यो मेरो लाग्न्याले कसइलाइ नदेउ भनि भन्याको छ ः तर तिमि मेरने प्रानिजहिन् रहेछौ तिमरो काम नआयादेखि कस्को काम आउला : भनि ।
परन्तु जार घरबाटो निस्कन्दाखेर चिवाहेरूले वास्नाको थाहा पाकन तेस्लाइ समाइकन : राजालाई पु¥याइ दिया । तव राजाले सुवास्सिनिको लोग्न्यालाइ दाकिकन भनयो लौ तेरोजारलाइ लिएर जा मन् प¥या भनि हान् मन् भनि छारिदेउ । ।। १८७६ ।।
खत
एउटा मानिस राजाछेउ फिराद गर्न गयो र उसले यस्तो फिराद गर्यो ।
––“मेरो घरमा एउटा मानिस सधै आएर मेरो स्वास्नीसित प्रेम गर्छ तर मैले त्यसलाई कहिले पनि देख्न पाएको छैन । त्यो मान्छे कुन हो ? तपाईको न्यायको आशा राखेर त्यसलाई समाजले तुरून्त खोजि पाउँ ।”
तब राजाले उस्लाई एउटा अत्तर भएको सिसि दिएर आदेश गरे ।
––“यो सिसि तेरो स्वास्नीलाई सुम्पेर कसैलाई नदेखाउनु भन् ।”
त्यो मान्छेले पनि त्यस्तै गर्यो अनि राजाले पनि आफ्ना जासुसहरूलाई खटाएर अह्राए ।
––“जसबाट अत्तरको वास्ना आउनेछ जार यही हो भनि उसलाई समाएर ल्याउनु है ?”
परन्तु जारले पनि समय मिलाएर त्यो मानिसको स्वास्नीछेउ गयो । उसकी स्वास्नीले पनि जारको लुगामा अत्तर लगाइदिंदै भन्न लागी ।
––“मेरो लोग्नेले कसैलाई नदिनु भनि भनेको छ तर तिमी मेरो प्राण प्यारा हौ । यो अत्तर तिमीलाई काम नलागेदेखि कसका लागि काम आउला र ?”
परन्तु जार घर बाटो निस्कन लाग्दा चियो चर्चो गर्ने जासुसहरूले अत्तरको वास्ना थाहा पाइहाले । त्यसपछि उसलाई समाएर राजा भए ठाउँमा पु¥याइदिए । तब राजाले नाठो खेलाउने बेस्या स्वास्नीको लोग्नेलाई डाकेर भने ।
––“लौ ! तेरो जारलाई लिएर जा ! मन लाग्यो भने मारिदेऊ । मन नलागे छाडिदेऊ ।”
(मध्यकालीन नेपालीबाट आधुनिक नेपालीमा सरलीकृत ः लेखक स्वयम्)
कुथुङ्ग्री– २
कोइ सहरमा कपासको भन्सारिको पसल्वाटो ढेरि कपास चोरि गयो ः भन्सारिहेरू राजाछेउ फरयाद गरनुगयो चोर समातनु अनेक जुग्ति गरयो र तर फेला पारेन ः एउटा भारादारले विनति ग¥यो तपाइको आग्या भया भनेर तेउ चोरलाइ झिकुला । लौ भनि राजाले अह्रायो ः भारादार विदा भयो र घर आयो र निमन्त्रको निहुन्ले सहरको ठुलो सानुचाहिँलाइ दाक्यो । सबै जना बाटुलो भयो र ः एकाठाउँमा बस्यापछि भारादार साभामा आइकन सबैको मुख हेरिकन भन लाग्यो कुन् अभाग्ये राण्डाका छोराले कपास चोरिकन थुन्का थन्का दाह्रिमा चेप्त्याइकन मेरो निउता खानुआयो भनि । यो कुरा सुन्यादेखि कति मन्छेले आफ्नु दा¥िहमा हाथ लाउनु लाग्यो । उसैइ वेलामा ः भारादारले तिनिहेरूलाई चोर ठहराइकन राजालाइ पु¥याइदियो । राजाले उस्को जुग्ति हेरिकन धँन् धँन् भनि स्यावास भनि रिझ्यो ।। १८७६ ।।
जुक्ति
कुनै मानिसले सहरमा कपास भन्सारको पसलको बाटोबाट कपासको भारी चोरी गर्यो । पसलेहरू राजाको छेउ फिराद गर्न गए । चोर समात्न अनेक जुक्ति गरे तर फेला पारेनन् । एउटा भारादारले विन्ति गरे ।
––“तपाईंको आज्ञा भयो भने त्यो चोरलाई झिकाउँला ।”
––“लौ !”
राजाले अह्राएपछि भारादार विदा भयो र घर आयो । उसले निमन्त्रणाको निहुँले सहरका ठुलो सानो सबैलाई डाक्यो । सबैजना बाटुलो भएर एका ठाउँमा बसेपछि भारदार सभामा आएर सबैको मुख हेरेर भन्न लाग्यो ।
––“कुन अभागी रण्डाको छोराले कपास चोरेर थन्क्याइथुन्क्याइ गरी दाह्री मुसार्दै मेरो निम्ता खान आयो ?”
यो कुरा सुनेदेखि कति मान्छेले आफ्नो दाह्रीमा हात लगाउन लागे । ठीक त्यसैबेलामा भारदारले तिनीहरूलाई चोर ठहराएर राजालाई पु¥याई दियो । राजाले भारदारको जुक्ति देखेर धन्य धन्य भनि स्यावासी दिए ।
(मध्यकालीन नेपालीबाट आधुनिक नेपालीमा सरलीकृत: लेखक स्वयम्)
कुथुङ्ग्री– ३
दुइ जनाले एउटा वु¥िहछेउ माल् सोन्पिकन भन्यो हामि दुइ जना विदेशबाट सनगइ फक्र्याइकन लिउँला भनिभनेर गयो । कति दिन वित्यापछि एउटाले वु¥िहछेउँ आइकन भन्नु लाग्यो हाम्रो साझि भन्या म¥यो हाम्रो सोन्प्याको माल् मँलाइ फरकाइदेउ ः सुवासनिले असको भइकन दिहाल्यो । अलिखेरपछि अरको साझि आइकन आफ्न माल् मान्गनु लाग्यो । सुवासिनिले भन्यो तिम्रा साझि आइकन तिमि म¥याको समाचार मँलाइ सुनायो । तेस्ले भन्याको कुरा फर्काउनुलाइ मैँले ढेरि धिपि गयुँ ः तर नास्ति नमानिकन माल् भन्या स्वातै लेगयो । तेउ मन्छेले सुवास्निलाई द्रिठ्ठाको मुख्यान्जि लेजायो र न्याउ मान्ग्यो ः द्रिठ्ठाले अलिखेर घुरिकन सुवासनिको विराउँ छैन भनि चितमा थानेर मन्छेलाई भन्नु लाग्यो तैँले विदेस जान्दाषेर सुवासिनिसित भनिस् हामि दुइ जना साझि सँगि फर्कि आयापछि माल् लिउँला अहिले तिम्रो साझिलाइदाकिकन तिम्रो माल् लेजाउ तँ येक्लइ कसो गरि पाउलास् । मन्छेले केहि भन्नु सकन्या घरमा फरकि आयो ।। १८७६ ।।
नाफा
दुईजनाले एउटाको बुढी स्वास्नीछेउ मालसामान सुम्पेर भने ।
––“हामी दुईजना विदेशबाट सँगै फर्केपछि लिउँला ।”
यति भनेर दुईजना गए । केही दिन बितेपछि एउटाले बुढी स्वास्नीछेउ आएर भन्न लाग्यो ।
––“मेरो साथी म¥यो हामीले तिमीलाई सुम्पिएको मालसामान मलाई फर्काइदेऊ ।”
बुढी स्वास्नीले उसको भएको माल दिई । अलिबेरपछि अर्को साथी आएर आफ्नो मालसामान माग्न लाग्यो । बुढी स्वास्नीले भनी ।
––“तिम्रो साथी आएर तिमी मरेको समाचार मलाई सुनायो । उसले भनेको कुरा नमानेर मैले ढिपी गरेँ तरपनि मान्दैनमानी उसले मालसामान स्वाट्टै लग्यो ।”
त्यो मान्छेले बुढी स्वास्नीलाई डिठ्ठाको मुखिन्जेल लग्यो र न्याय माग्यो । डिठ्ठाले अलिखेर घुरेर भन्यो ।
––“बुढी स्वास्नीको विराम छैन ।”
डिठ्ठाले मन थामेर त्यो मान्छेलाई फेरि भन्न लाग्यो ।
––“तैंले विदेस जाँदाखेरि बुढी स्वास्नीसित के भनेको थिइस् ? हामी दुईजना साथीसँगै फर्किआएपछि मालसामान लिउँला भनेको होइन ? तेरो साथीलाई डाकेर ल्याउनु अनि मालसामान लिएर जानू । एक्लै कसरी पाउँछन् ? भन ।”
त्यसपछि त्यो मान्छेले केही भन्न नसकेर घरमा फर्केर आयो ।
(मध्यकालीन नेपालीबाट आधुनिक नेपालीमा सरलीकृत ः लेखक स्वयम्)
९. कुथुङ्ग्री र लघुकथाको भेद ः
कुथुङ्ग्री र लघुकथा जस्ता दुईवटा छोटो, सानो आख्यानको संरचनाका बारेमा निम्नअनुसारको शाब्दिक अर्थ प्रस्तुत गरेको पाइन्छ ः
९.१ कुथुङ्ग्री
नेपाली बृहत् शब्दकोशले कुथुङ्ग्री शब्दको अर्थ माथिनै उल्लेख गरिएझैं “तत्कालको आवश्यकता पूर्तिका निम्ति कथिएको सानो ‘कथांश कथा’ (२०४०, पोखरेल, पृष्ठ ः २३३)” भनेर उल्लेख गरेको पाइन्छ भने नेपाली शब्दसागरले “समय बिताउने उद्देश्य लिएर जोडजाड गरिएको सानो तिनो कथा, किस्सा कहानी (नेपाल, २०५८, पृष्ठ ः २७२)” भनेर उल्लेख गरेको भेटिन्छ । यस्तै प्रज्ञा अङ्ग्रेजी नेपाली शब्दकोशमा पनि “कुथुङ्ग्री(Kuthungri) भन्नाले ‘Small tale, situational tale, antecode illsutrative story' (Upreti, 2013, page: 213) भनेर उल्लेख गरिएको समेत पाइन्छ । यसर्थ कुथुङ्ग्री भन्नाले तत्काल आवश्यकता पूर्ति गर्नका लागि कथिएको छोट्टो सानो कथा आकारको सूक्ष्म कथातत्व भएको एक विधागत संरचना हो भन्ने बुझिन्छ ।
९.२ लघुकथा
नेपाली बृहत् शब्दकोशले नै लघुकथा शब्दको अर्थ “कथातत्वले पूर्ण भएका ससाना कथांश, सानो कथांश नै छोटो कथा (२०४०, पोखरेल, पृष्ठ ः १०९३)” भनेर उल्लेख गरेको भेटिन्छ भने प्रयोगात्मक नेपाली शब्दकोशले पनि लघुकथा शब्दको अर्थ समेत कथातत्वले पूर्ण भएका ससाना कथांश, सानो कथा (अधिकारी, २०६१, पृष्ठ ः ८७२)” कै अर्थमा लघुकथालाई प्रस्तुत गरेको पाइन्छ । यसर्थ कुथुङ्ग्री र लघुकथामा कथातत्वको आरोप अवश्य नै भएको हुनुपर्ने खास मान्यता रहेको देखिन्छ ।
१०. सारांश
यसरी हेर्दा “कुथुङ्ग्री” र “लघुकथा” आकारका दृष्टिले सानो छोटो एउटै प्रकारको कथांश कथा नै भए पनि यसको मूल तत्वका रूपमा प्रयोग हुने अन्तरवस्तु र त्यसमा देखिने समानता नै यसका आधारभूत तहका मान्यता हुन भन्ने कुरा स्पष्ट हुन जान्छ । कुथुङ्ग्री “तत्काल आवश्यकता पूर्तिका लागि लेखिने र कथातत्वको झलक देख्न सकिने” संरचना स्वरूप हो भने “कथातत्वकै संक्षिप्त आयामको समेत प्रयोग भएको संरचना स्वरूप पनि खास हदसम्म लघुकथाको रूपमा बुझ्न सकिने कुरा स्पष्ट देखिन्छ । त्यसैले कथातत्व प्रष्ट रहेका कुथुङ्ग्री र लघुकथाका आकार र आयाम एउटै सिक्काका दुई ध्रुवजस्ता देखिएका हुन् । यथार्थमा दुवै एकै हुन् । तर स्रष्टा र द्रष्टाहरुको हेराइमा देखिएको फरक मात्रै कम बेसी हो भन्ने देखिन्छ । प्रदत्त नेपाली लोक मान्यतामा रमाएको “कुथुङ्ग्री” र आधुनिक साहित्यिक फाँटमा उदाएको लघुकथा शब्दले ग्रहण गर्ने विधागत आयामको अर्थबोधका बारेमा भविश्यमा आफूलाई यिनले कसरी नेपाली साहित्यिक सन्दर्भमा तथ्यपरक आधिकारिकता पुष्टी गर्लान् ? यस प्रश्नलाई शोधकर्ताहरुले अझै टुंगोमा पुर्याउने नै छन् भन्ने विश्वास गर्नैपर्ने देखिन्छ ।
सन्दर्भ सूची:
अधिकारी, सूर्यमणि.(२०४३). पश्चिम नेपालको ऐतिहासिक अन्वेषण. काठमाडौं ः नेपाल र एशियाली अध्ययन सस्थान, त्रि.वि. । अधिकारी, हेमांगराज र बद्रीबिशाल भट्टराई. (२०६१). नेपाली प्रायोगिक शब्दकोश. काठमाडौं : नेपाल प्रज्ञा पतिष्ठान ।
नेपाल, वसन्तकुमार शर्मा. (२०५८). नेपाली शब्द सागर. काठमाडौं शब्दार्थ प्रकाशन ।
बराल, ईश्वर.(२०४६). सयपत्री. ललितपुर ः साझा प्रकाशन ।
पोखरेल, बालकृष्ण.(२०४०). नेपाली बृहत् शब्दकोश. काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
योगी, नरहरिनाथ. (२०१३). इतिहास प्रकाश, अङ्क–२, भाग–१. मृगस्थली ः इतिहास प्रकाशक संघ ।
https://ne.m.wiktionary. org.wiki.
Uprety, Ganga. (2013). Pragya English- Nepali Dictionary. Kathmandu : Nepal Academy
Williams, M.Monier. (1899). A Sanskrit-English Dictionary. New Delhi : Byjainendra Prakesh at Shree Jainendra press,