”लालुपाते फुलेर लाल् भयो, आज मेरो ......।”
झमक्क साँझ परेर घर–घरमा खाना पकाउने र खाने सुरसार भइरहेको सुनसान वातावरणमा गाउँको चौतारोतिर आएको उक्त स्वर कति जनाको कानमा ठोक्कियो कुन्नि आमाको कानमा भने कति छिटै ठोक्किन पुगेछ । खाना पस्कँदै गरेकी आमाले कान चनाखो पार्दै भन्नुभयो—“उऽऽ जिबेले आज पनि खाएर आएछ । किन होला खाएपछि बौलाइहाल्ने !” थोरै भिरालो जस्तो परेको गाउँको बीचतिर स्कूल थियो र त्यही स्कूलकै नजिक अग्लो पारेर बनाइएको समीको चौतारो थियो । केही वर्ष अघिसम्म गाउँमा कटुवाल घोकाउने चलन थियो । गाउँमा कुनै भेला डाकिएमा, खेत रोप्ने बेलामा गाईवस्तु छाडा नछोड्ने उर्दी जारी गर्न र धान काटेर थन्क्याएपछि गाईवस्तु चराउन फुकुवा भएको जानकारी गराउन वा गाउँमा सामूहिक पूजा परेमा तथा अन्य त्यस्तै काममा सूचना प्रवाह गर्नुपरेमा बेलुकी पख कटुवालले त्यसै चौतारोमा उभिएर चर्को स्वरमा गाउँलेलाई सम्बोधन गरी जानकारी गराउँथ्यो । त्यस वापत उसलाई सबै गाउँलेहरूले केही माना वा पाथी अन्न दिने गर्थे । बर्षौ भयो त्यो चलन हराएको । यातायात र सञ्चारका साधनहरूले त्यस्ता पुराना सञ्चार माध्यमलाई विस्थापित गरिदिएको छ ।
कटुवालले बेलुका सम्बोधन गर्ने उक्त चौतारोमा अहिले डेढ–दुई वर्षदेखि जीवलाल बराकोटीले सम्बोधन गर्ने गरेको छ । कहिले दिनदिनै, कहिले दुई–चारदिन बिराएर र कहिले एक–दुई हप्तै बिराएर उसले सम्बोधन गर्ने गर्छ । बेलुकाको निस्तब्ध समय छोपी कटुवालले सूचना प्रवाह गरेझैं ऊ पनि करिव करिव त्यही बेला छोप्छ । उसको सम्बोधन घरी रोएर, घरी हाँसेर, घरी थर्काएर, घरी गम्भीर भएर र घरी साङ्गीतिक रूपले भएको हुन्छ । उसले सम्बोधन गर्ने विषय पनि प्रायः गाउँको विकृति, राजनीतिक अवस्था, नेताहरूको घृणित व्यवहारका साथै आफूलाई ठग्ने र धोकादिनेहरूका विरुद्ध पाँडे गाली र धम्की समेत हुने गर्छ । ऊ रक्सीले मातेपछि नै विभिन्न विषयमा सम्बोधन गर्ने भएपनि कहिल्यै पनि अश्लिल लाग्ने खालका शब्दहरू प्रयोग गरेको भने थाहा भएन । कसैले सीधै भन्न नसक्ने लुकेर रहेका कुराहरूलाई पनि उसले जोड–जोडले भनिदिने हुनाले पनि होकि किन–किन मलाई उसको सम्बोधन नछुटाई सुन्न मन लाग्छ । उसको सम्बोधन सुन्दा–सुन्दा मेरा कान पनि यति धेरै अभ्यस्त भएछन् कि आजकल त लामो समयसम्म उसको स्वर सुन्न पाइन भने के के गुमाए जस्तो लाग्न थालेको छ ।
आमाले त्यसो भन्नासाथ म छिटो–छिटो खाना खाएर उसको सम्बोधन सुन्न माथि कौसीतिर उक्लिएँ । उसले आज कुन विषयमा प्रवचन दिने हो भन्ने जिज्ञासासाथ उसको आवाज आएतिर कान ठाडो पारेर बसें । अघि भर्खरै त्यति मीठो गीत गाएको ऊ अहिले रुँदै भट्याइरहेको थियो—“मलाई सबैले जँड्याहा भन्ने ! अझ बौलाहा पनि भन्ने ! हो, म जँड्याहा हो ! कल्ले बनायो मलाई जँड्याहा ? कल्ले बनायो मलाई बौलाहा, थाहा छ ?.. म केही नभएको कङ्गाल हुँ ? म पढ्दै नपढेको लठ्ठू हुँ ? कल्ले सकिदियो मेरो सम्पति ? कल्ले छुटायो मेरो जागिर ? उँऽऽ... ।” मैले पूर्वानुमान गरें, आज उसको सम्बोधन कुनै राजनीति र गाउँको अवस्था बारे नभएर उसलाई दुःख दिनेहरूको विरुद्धमा केन्द्रित हुनेछ । एकैछिनमा उसको स्वर चर्किँदै गयो—“मलाई त्यो दामेले जँड्याहा भन्ने ? मैले जाँड खाएर कस्को के बिगारें ? म तँ जस्तो पातकी हैन बुझिस् ? दुनियालाई ठगेर, चुसेर, हुँदो–नहुँदो मुद्दा लगाएर, गाउँका छोरीबेटीलाई भुँडी बोकाएर ठालु बनेर हिँड्ने ! अझै उसैको फूर्ति ! उही गाडी चढेर हिँड्ने ! उही नेता पल्टिएर हिँड्ने ! हाम्लाई था’छैन त्यसको हैसियत ! चोर ! फटाहा !” एकछिन भट्याएपछि ऊ जोडले हाँस्यो र फेरि भाषणको शैलीमा भन्यो—“जाँड खाएर पनि कसैका छोरीबेटी नछुने, कसैको एक पैसा नखाने म बौलाहा कि अर्कालाई ठग्ने, चुस्ने, धुत्ने, दुःख दिने, छोरीबेटीमाथि हातपात गर्दै हिँड्ने तँ बौलाहा हँ ?”
उसको भाषण के कतिले सुने कुन्नि मैले भने कौसीमा बसेर कान ठाडा पार्दै सकभर एक शब्द पनि नछुट्ने गरी सुनिरहेको थिएँ । उसले प्रत्येक पटक गाउँका कुनै न कुनै व्यक्तिको, राजनीतिको, समाजको बारेमा बोल्दा यस्तो लाग्थ्यो ऊ कुनै यथार्थवादी कलाकार हो र गाउँका विद्रुप चरित्रको यथार्थ चित्रण गरिरहेछ । उसले अघिल्लो पटक यसै गरी गणेशदत्तको चरित्र भण्डाफोर गरिदिएको थियो । पार्टीको मिटिङबाट सहयोगी सहित आउँदै गरेको गणेशले उसलाई त्यसरी भट्याएको भेटेकोे थियो । आफैं असन्तुलित भएर आएको हुँदा उसले हात हाल्ने स्थिति थिएन र सँगै आएका मान्छेलाई लगाएर पिटेको थियो । अस्ति गणेशको सातो लिएको ऊ आजचाहिँ दामोदरतिर बढी खनिएको थियो ।
“गणेसे चोर ! अर्काको पैसा खाएर खुव समाजसेवी हुन खोज्छस् ! खुव नेता बनेर हिँड्छस् ! जग्गा बेचेकै दिन घर आएर— एक हप्ताभित्र दिन्छु भाइ, अप्ठेरो प¥यो भनेर पाँच लाख लगेको...अहिले चार–चार वर्ष भइसक्यो । माग्न जाँदा उल्टै धम्क्याउने ! मा स्याला !... अव यी ठग र भ्रष्टहरूलाई, समाजसेवा भन्दै समाजलाई दुःख दिनेहरूलाई, राजनीति गर्छु भन्दै सोझासाझालाई ठग्नेहरूलाई फाँसीमा झुण्ड्याउनु पर्छ । नाङ्गै बनाएर, पछाडि हात बाँधेर लाइनमा उभ्याउनुपर्छ अनि सबैले पछाडिबाट लात्तै लात्ताले ठोक्नुपर्छ ...हाऽहाऽ !”
आमा मेरो सोझोपनप्रति चिन्ता व्यक्त गर्दै बासँग भन्दै हुनुहुन्थ्यो — “यो जमानामा धेरै सोझो र इमानदार हुन पनि नहुने रैछ । हाम्रो केटो पनि जिबे जस्तै सोझो छ, यसलाई पनि गरेर खान दिँदैनन् । मान्छे यस्तै हुन्, समाज यही हो ।” अनि एकछिन अडिएर बालाई सोध्नुभयो— “जिबेले त पहिला जागिर पनि गरेको थियो, किन छोडेको होला त्यस्तो राम्रो जागिर ! त्यस्ता सोझाले त खुरु खुरु जागिर गरेर बसेको भए हुन्थ्यो, किन घरी व्यापार, घरी राजनीति, घरी विदेश जाने चक्करमा लागेको होला ?”
बाले भन्नुभयो—“थियो नि, पहिला ओभरसियरको राम्रो जागिर थियो । त्यै दामे, हर्के, गणेसे भएर उसको जागिर छोडाएका हुन् । त्यस्तो जागिरले केही हुँदैन, व्यापार गर्नुपर्छ भनेर उचाले । पार्टनरमा होटल चलाऊँ भनेर उसलाई भात खाने खेत बेच्न लगाए । पार्टनर भनेपनि लगानी सबै उसैको मात्रै भनेपनि हुने, अरुको त नाम मात्रैको थियो । होटल पनि निकै राम्रो चलेको थियो भन्थे । त्यहीँबाट उसलाई राजनीतिमा पनि जोडे । आम्दानी जति तिनीहरूले लुकाउँदै जान थाले । पार्टीका नेताहरूलाई सित्तैमा राख्ने, खुवाउने गर्न थाले । पार्टीमा चन्दा र सहयोग दिन थाले । यसो गर्दागर्दै दामे र गणेशले राजनीतिमा आफ्नो पहुँच बढाए । उता होटल चाहिँ नाफा कमाउनु त कता पाँच–छ वर्षमै ऋणमा डुब्न पुग्यो । गणेसे र दामे उम्किइहाले, ऋण जति जिबेकै थाप्लामा प¥यो । त्यति राम्रो चलेको होटल यसरी ऋणमा डुब्दा जिबे आश्चर्यमा प¥यो । धूर्त साथीहरूले उसलाई विदेश जान सल्लाह दिए । ऋण तिर्न र विदेश जान पनि फेरि जग्गा बेच्नु बाहेक अर्को उपाए थिएन । टारी खेत बेचेर ऋण ति¥यो र बचेको पैसामध्ये दशलाख क्यानडा जान भन्दै गणेसे मार्फत् दलालकोे हातमा थमाइदियो । पाँच लाख त्यै गणेसेले एक हप्तामा दिन्छु भन्दै लगेछ । एक हप्तामा दिन्छु भनेको त्यसै हल्लाइदियो । उता क्यानडाको भिसा कुर्दा कुर्दा ऊ निराश भइसकेको थियो । फेरि घरमा चाहिँ स्वास्नीले संपत्ति सक्यो, छोरालाई सुकुम्बासी बनाउने भयो भनेर रातदिन कराउन थालेपछि उसको मनोबल कमजोर हुँदै जान थालेको थियो । जागिर छोडेर होटल चलाउन खोज्दादेखि नै आमा पनि छोरासँग असन्तुष्ट थिइन् । आफ्नो मानसिक तनाव घटाउन उसले विस्तारै रक्सीको सहारा लिन पुग्यो । जग्गा बेचेर खायो भन्दै सधैं कचकच गरिरहने स्वास्नी र जागिर नछोड भन्दाभन्दै छोडेकोमा गुनासो गरिरहने आमालाई जति सम्झाए पनि केही लाग्दैनथ्यो । उसले कुनै बदमासी गरेको थिएन । रक्सी खाएर, केटीतिर लागेर र जूवा खेलेर पैसा फालेको पनि थिएन । राम्रो गर्छु भन्दा भन्दै बदमासहरूले ठगेर र धोका दिएर उसको व्यवहार बिगारिदिएका थिए ।”
बा–आमाको सम्बादलाई पनि मैले प्रष्टै सुनिरहेको थिएँ । बाले भन्दै हुनुहुन्थ्यो—“विदेश जाने कुरा टरेपछि जिबेले ऋण लिएर कुखुरा र गाई पाल्छु भनेर आमालाई निकै कर लगायो । तर आमाले घरबारी धितो राखेर ऋण झिक्न दिइनन् । लालपुर्जा आमाकै नाउँमा थियो । लालपुर्जा राखेर ऋण झिक्ने हो भने यही पनि सक्छ भन्दै आमा र श्रीमतीले उसको योजना रोकिदिए ।” छविप्रति बाको पनि सहानुभूति रहेछ भन्ने मैले उनका कुराबाट बुझें । मेरा कान घरी जीवलालको भाषण र घरी बाआमाको सम्बाद सुन्न चनाखा हुन्थे । “उसलाई बाहिरका फटाहाले त बिगारे बिगार,े घरभित्रै पनि आमा र स्वास्नीले समेत नजानी– नजानी बिगारेका हुन् । उतिखेर जागिर छोडेर होटल चलाउन स्वास्नीले उक्साई । होटल लिएपछि मालिक्नी भएर बसूँला भन्ने सोची । तीन–चार वर्ष त निकै चुरीफुरी पनि देखाई । बसमा कहिल्यै चढिन, सधैं ट्याक्सीमा हिँड्थी । उसको लवाइ–खवाइ, बोलीचाली सबै फेरिसकेको थियो । बरु, आमाले जागिर छोड्न दिएकी थिइनन् त्यतिखेर ।” आमाले भाँडा माझ्दै भन्नुभयो ।
कराइ–कराइ थाकेर होकि हिँडेर हो अहिले जीवलालको आवाज सुनिएको थिएन । तल झरेपछि मैले आमालाई भनें—“ऋण लिँदैमा डुबिहाल्छ भन्ने हुँदैन । धेरैले ऋण लिएरै व्यापार–व्यवसाय गरेका हुन्छन् । उसलाई व्यवसाय गर्न दिनुपथ्र्यो, एक–दुई पटक बिग्¥यो भन्दैमा सधैं बिग्रन्छ नै भन्ने हुँदैन ।” यसपटक बाले पनि सकारात्मक हुँदै भन्नुभयो—“मान्छे मिहिनेती थियो, बदमासी गर्दैनथ्यो, कुखुरा पाल्न दिएको भए हुन्थ्यो । परिवारलाई पनि काम हुने र आम्दानी पनि राम्रै हुन्थ्यो । ५०० कुखुरा र २ वटा विकासे गाई पाल्दा एकातिरबाट नभए पनि अर्कातिरबाट फाइदा हुन्थ्यो ।”
“होटलबाट पनि घाटा भएको कहाँ हो र ? निकै राम्रो चलेको थियो भन्थे । दामेले आफ्नो सालोलाई एकाउन्टेन्ट राखेको थियो । जिवेको आँखा छलेर नाफा जति खुरुखुरु दिदीकहाँ ओसार्ने, पार्टीका नेता–कार्यकर्तालाई पाल्ने अनि होटलकै आम्दानीबाट सबैले मस्ती गर्ने भएपछि कहाँबाट होस् !”—बाले मलाई सुनाउँदै आमासँग भन्नुभयो । “त्यही होटलको पैसाबाट त हो नि दामेले गाडी चढेर हिँडेको, नत्र के उपाय थियो त्यस्को ! जिवेको जग्गा बेच्दाको पाँचलाख गणेशले खाइदियो पनि भन्छन् । जिबेले पनि त्यसरी जग्गा बेचेको पैसा जथाभावी दिन हुने थिएन । त्यति भएपनि केही न केही हुन्थ्यो ।”
“विचरा, पढाइ पनि निकै राम्रो हो त्यसको । फस्ट डिभिजनमै एस.एल.सि. ग¥यो र एकै पटकमा ओभरसियरमा नाम निकाल्यो । सहयोगी पनि उत्तिकै थियो । साना बच्चाहरूलाई कस्तरी सम्झाउँथ्यो । चित्रहरू पनि कस्ता राम्रा बनाउँथ्यो । रक्सी नखाएको बेलामा त अहिले पनि आँखामा राखे पनि नबिझाउने छ । बोलिवचन उस्तै मिठो । मलाई देख्ने वित्तिकै परैबाट नमस्कार गर्छ ।” बाले फेरि थप्नुभयो ।
जिबे हिँडेको रहेनछ । फेरि कराउन थाल्यो । अहिले उसको स्वर अलि आक्रोशित देखिन्थ्यो—“अर्काको पैसा खाएर बडो गाडी चढेर हिँड्ने भएको म्या स्याले ! तँलाई त्यै गाडीमा एक्सिडेन्ट भएर मर्नुपर्छ बुझिस् ? पार्टनरमा होटल चलाउने भनेर जागिर छोड्न लगायो, भएन जग्गा बेच्न लगायो । आफूले एक पैसा लगानी गरेन । नाफा जति आफूले राखेर मलाई घाटा देखाउने चोर ! बदमास !” एकैछिनमा फेरि स्वर सानो बनाउँदै गयो र पुनः रुन थाल्यो । उसको रुवाई साँच्चै दर्दनाक लाग्थ्यो—बुझ्नेहरूका लागि । रोएको एकैछिनमा उसको स्वर फेरि चर्किन थाल्यो—“मलाई जस्ले पनि ठग्ने ! सोझो मान्छे देख्नै नहुने ठगिहाल्ने ! सोझो मान्छेले यो समाजमा बाँच्नै नपाउने ? केही गर्नै नपाउने ! क्यानडा लगिदिन्छु भनेर हर्के डाँकाले दशलाख खाइदियो । टारी खेत बेचेर तिनै डाँकाहरूलाई पोस्नु मात्र भयो ! अर्काको पैसा खाएर, अर्कालाई ठगेर बडो नेता भएर हिँड्छ, थुक्क स्याला ! भोलि तेरो पार्टी–अफिसमै गएर मुखमा थुकिदिइन भने त के ! अरु कति जनाको खायो होला स्याले ! गणतन्त्र त यिनै स्यालेहरूलाई पो आएछ ! हामी गणतन्त्र ल्याउने, तिमीहरू नेता बनेर जनता ठग्दै र लुट्दै हिँड्ने ? कठै ! केटकेटीले भात खाने खेत ! उँऽऽ......।”
बा–आमाले उसको अवस्था राम्ररी बुझेका र बारम्बार उसको भाषण पनि सुनिसकेकाले तिनका लागि उसको भाषण उत्सुकताको विषय बनेको थिएन । यसैले आमा भाँडा माझेर भित्र जानुभयो भने बा पनि एउटा चुरोट सल्काएर आफ्नो कोठातिर लाग्नुभयो । मैले कहिलेकाहीँ उसको भाषण सुन्ने गरे पनि पूरै अवस्था बुझेको थिइन । उसको गर्जनले भन्दा रुवाइले मेरो मनलाई द्रबिभूत पारिरहेको थियो । यसैले उसको भाषण र त्यसभित्र अन्तरनिहित पीडालाई बुझ्ने चाहनाले म माथि कौसीमा गएर उतैतिर कान ठड्याइरहेको थिएँ । एकैछिनको विश्रामपछि ऊ पुनः रुन्चे स्वरमा प्रस्तुत हुन थाल्यो—“हैन, गाउँमा फटाहा पनि कति हुन् । त्यो अम्बरे डाँकाले काकाकी छोरीलाई......। डाँकाले पैसा खुवाएछ । पार्टीको मान्छेपनि उसैको पक्ष लिएर बोल्ने ! धिक्कार ! तिमीहरूलाई ।” त्यो हर्के डाँकाले क्यानडा लगिदिन्छु भनेर दशलाख लिएको आज चार–चार वर्ष भयो ! त्यै गणेसेले म जिम्मा भएँ भाइ, फरक पर्दैन भर्पाइ गरेर दिए हुन्छ भन्यो, अहिले... । ओ गणेसे ! यहाँ आइज स्याले फटाहा ! खुव भलाद्मी भएर हिँड्छ डाँका ! भोलि दिउँसो टिल्ल जाँड खाएर खुकुरी लिएर जान्छु र तिमीहरू सबलाई छप्काएर आउँछु । फेरि मारिहाल्नचाहिँ सक्दिन है ! तिम्रा स्वास्नी छोराछोरीको के गल्ती छ र तिनलाई टुहुरा बनादिने हँ ? हात खुट्टा छप्काएर जीवनभरलाई अपाङ्ग बनाएर छोड्छु । यसै जँड्याहा उसै जँड्याहा, यसै बौलाहा उसै बौलाहा ! हाऽ हाऽ हाऽ !”
ऊ चौतारामा आएर बोल्न थालेको एक घण्टा जति भएको थियो । बोल्दा–बोल्दा थाकेर हो वा के भएर हो त्यसपछि ऊ बोल्न छाड्यो । तर एकैछिनमा उक्त चौतारामा दुई–तीन जना मान्छे रुखो स्वरमा बोलेको जस्तो सुनियो । झगडा गरेजस्तो, पिटे जस्तो आवाज सुनियो । पछि उसको चिरिए जस्तो आवाज पनि सुनियो र एकैछिनमा पूरै आवाज रोकियो । त्यसरी रक्सी खाएर बोलेको थाहा पाएर उसकै परिवार आएर समाएर लगे होलान् भन्ने पनि लाग्यो । त्यसपछि म तल झरें । भाइ–बहिनीहरू सुते पनि बा–आमाचाहिँ कोठामा कुराकानी गरेर बसिरहनुभएको थियो । कुराकानीको केही अंश मैले पनि सुनें । आमा भन्दै हुनुहुन्थ्यो—“यै केटाको पीर लाग्छ मलाई त । पन्ध्र–सोह्रको भइसक्यो, जसले जे भनेपनि विश्वास गर्ने, साह्रै सोझो छ । यो जमानामा सोझाको कामै छैन । स्वास्नी पनि त्यै जस्ती सोझी परी र बजार बढ्दै गयो भने कसरी गरेर खान देलान् यसलाई !” बाको प्रतिक्रिया थियो—“त्यसो भनेर छोरालाई फट्याइँ र दुष्ट्याइँ गर्न सिकाउनु पनि त भएन । व्यवहार बुझ्दै गएपछि र मान्छे चिन्दै गएपछि बाठो हुँदै जाला । यस्तै सोझै भइरह्यो भने पनि हाम्रो के लाग्छ ? समाजमा र संसारमा पनि सबै फटाहा, लुटाहा, दुष्ट र बदमास मात्रै हुँदैनन् रमा ! असल पनि हुन्छन् । यिनै असल मानिसहरूले संसारलाई पूरै भ्रष्ट र नष्ट हुनबाट जोगाएका हुन् ।” आमाले जवाफ फर्काउनु भयो—“छन त सोझा, सज्जन र इमानदार पनि छन् नि तर के गर्नुहुन्छ समाजमा तिनै फटाहा र दुष्टहरूकै हैकम र प्रभाव चलेको हुन्छ । मान्छेलाई छिटै पैसा कमाउन र धनी हुन परेको छ । छिटो कमाउन दुष्ट्याइँ, फट्याइँ र ठगी नगरी हुँदैन । समाजले पनि तिनैलाई ठुलो र आदर्श मान्छ । गाउँभन्दा अझ सहर बजारतिर सिधा–साधा र गरिवहरूलाई अप्ठेरो पर्दोरहेछ व्यवहार चलाउन । गाउँमा त बरु अप्ठेरो पर्दा सर–सहयोग गर्ने चलन छ, बजारमा त त्यस्तो हुँदैन । हाम्रो गाउँलाई पनि नगरपालिका बनाउने कुरा छ अरे । मलाई त किन किन गाउँ नै ठीक लाग्छ ।”
मैले बाको कोठामा नपसी ढोकैबाट भनें—“जीवलाल हिँडे जस्तो छ ।” आमाले भन्नुभयो—“हिँड्यो होला नि कति बसोस् ! मनमा ला’को कुरो ओकल्यो अनि हिँड्यो । के गरोस् त नि नखाएको बेलाँ भन्न सक्तैन ।” बाले थप्नुभयो—“रक्सीले पनि त छोड्यो होला नि ।” मैले बाआमासँग सुस्तरी भनें—“को को मान्छे चर्केर बोले जस्तो अनि पिटे जस्तो पनि सुनिन्थ्यो ।” बाले उसको प्रसङ्गलाई त्यति बढाउन खोज्नुभएन र भन्नुभयो—“छोड्दे, त्यस्ता कुरामा धेरै चासो राख्ने पनि होइन । मनपरी बोलेपछि पिटे पनि होलान्, कसैले समातेर घरतिर पु¥याइदिए पनि होलान् । तँ पनि धेरै सोझो छस्, अलि फूर्ति–फार्ति पनि झिक्नुपर्छ । मनको बाठो भएर मात्रै हुन्न, बाहिरतिर पनि चलाख हुनुपर्छ । जा, जा जाँच आउन ला’छ , गएर पढ् ।” म केही नबोली कोठातिर लागें ।
भोलिपल्ट बिहानै गाउँभरि हल्ला फैलियो— ‘स्कुलनेरको चौतारामनि मान्छे मरेको छ अरे ! टाउको फुटेर रगतै रगत भएको छ अरे ! ढुङ्गा र लठ्ठीले हानेर मारेजस्तो छ ! मर्ने मान्छे जीवलाल हो अरे ! कोही रक्सी खाएर लडेर मरेको भन्छन्, कोही मारेको पनि भन्छन् !’ हल्ला सुनेर म खङ्ग्रङ्ङ भएँ । बालाई भन्न गएँ । बा–आमा बीचमा पनि सुस्तरी कुरा भइरहेको थियो । बाले मलाई भन्नुभयो—“मैले राती कराएको र पिटेको सुनेको थिएँ भनी कसैलाई नभनेस् नि, अप्ठेरो पर्छ । सोधे भनेपनि केही थाहा पाइन भन्नुपर्छ बुझिस् ?” बा आमाको पछिपछि म पनि चौतारातिर हिँडें । जीवलाललाई देख्नेवित्तिकै म स्तब्ध भएँ । उफ् ! मलाई त्यति माया गर्ने जीवलाल ! केही समय ट्युसन पनि पढाएका सरको यो अवस्था देख्दा कता कता भक्कानिएर रोऊँ–रोऊँ जस्तो पनि भयो । ऊ चौतारोमनि लडेको थियो । टाउकोमनि रगतको भल जमेको थियो । जमिनको वरपर र चौतारोमा पनि रगतका छिर्काहरू थिए । अलि पर एउटा लठ्ठी थियो र त्यसमा पनि रगत लागेको देखिन्थ्यो । टाउकोमा मात्र नभएर अन्त पनि चोट देखिन्थ्यो । कपडा लगाएको हुँदा भित्रको चोट भने देखिएको थिएन । ऊ लडेको चौतारोमनि चउर थियो, कुनै ढुङ्गा वा खाल्टाखुल्टी पनि थिएनन् । चौताराबाट खस्दैमा त्यसरी टाउको फुटेर मरिहाल्ने स्थिति थिएन ।
मान्छेको भीड लागिसकेको थियो । उसको मृत्यु बारे मान्छेपिच्छे फरक फरक अड्कल र कुराकानी भइरहेका थिए । एकजना भलाद्मी जस्तोले भन्यो—‘जाँड खाएर आएको रहेछ, चौताराबाट खसेर ढुङ्गामा प¥यो र सिद्धियो ।’ उसले कति हलुकासँग मृत्युको कारण भनिदियो । तत्कालै अर्को व्यक्तिले उसको भनाइको प्रतिवाद ग¥यो—‘रक्सी खाँदैमा मान्छे यसरी यस्तो ठाउँबाट खसेर मर्दैन । रक्सी खाएका मान्छेहरू कस्ता कस्ता भीरमा पनि हिँडेर गएका हुन्छन् । यस्तो सामान्य चौताराबाट चौरमा खसेर त्यस्तो हृष्टपुष्ट मान्छे मर्न सक्तैन । फेरि ऊ लडेको ठाउँमा कुनै ढुङ्गाहरू प्नि छैनन् । लडेर मरेको भए त्यही लडेको ठाउँमा मात्र रगत हुनुपर्ने । रगत त माथि चौतारामा पनि छ, उता परपर पनि छ । तल लडेर मरेको मान्छेको रगत माथि चौचारामा कसरी पुग्छ ?’ अर्को नेता जस्तो मान्छे भन्दै थियो—‘अव जे नहुनुपर्ने भइसक्यो, ज्यान जानु गइसक्यो । लडेको रक्सी खाएरै हो, ऊ चौतारामा बसेर कराएको धेरैले सुनेका थिए । रक्सीको गन्ध त अझ पनि आएको छ । त्यसैले अव यसो उसो भनेर तर्क गरेर गाउँलेलाई फँसाउनु हुन्न । छिटो पुलिस बोलाएर मुचुल्का गरी घाटतिर लैजानुपर्छ ।’
केही बेरपछि दामोदर र गणेशदत्त भएर पुलिसलाई लिएर आए । तिनले घटनाको परिवेश र मृतकको अवस्था हेरे अनि गाउँलेको धारणा सुन्नतिर लागे । धेरै गाउँलेहरूले ‘बेलुका रक्सी खाएर चौतारामा गई कराएको कुरा साँचो हो तर यसरी चौताराबाट खसेर मरेको कुरामा हामीलाई विश्वास लाग्दैन’ भने । तर पनि गाउँको प्रभावशाली पार्टीको नेता दामोदर, समाजसेवी तथा नेता भनिने गणेशदत्त अनि हर्कमान, जगन लगायतका केही व्यक्तिहरूले रक्सीकै कारण चौताराबाट तल लड्दा ढुङ्गामा परी टाउको फुटेर मरेको भनेपछि त्यसै बमोजिमको सरजमिन मुचुल्का गरियो । प्रहरी इन्स्पेक्टरले गाउँलेहरूलाई भने—“ल, सुन्नोस् हामीले यस्तो मुचुल्का बनाएका छौं— ‘... ...मृतक जीवलाल बराकोटीलाई राती रक्सी खाएर चौतारामा गई कराइरहेको हामीले सुनेका हौं, त्यसपछिको घटना हामीलाई केही थाहा भएन । भोलिपल्ट बिहान बाटो हिंड्नेले उसलाई मरेको अवस्थामा देखेका हुन् । निजलाई कसैले मार्नुपर्ने कारण देखिँदैन र मारेको भन्ने पनि लाग्दैन । मृतक जीवलाल हिजो मात्र नभएर पहिला पहिला पनि त्यसैगरी रक्सी खाएर कराउने गर्थे । यसैले उनको मृत्यु रक्सी खाई लडेरै भएको हो भन्ने हामीलाई लाग्छ ।’ यसमा तपाईँहरूले सही गरिदिनु प¥यो । कसैले मारेकोमा शङ्का मान्नेहो भने अर्को झमेला आइपर्छ । पूरै अनुसन्धान गर्नुपर्छ । त्यसमा तपाईँ धेरै गाउँलेहरू फँस्नुहुन्छ । धेरै दुःख पाउनुहुन्छ ।” यसैबेला गाउँमा कम प्रभाव भएको एकजना स्थानीय नेताले भन्यो—“हैन इन्स्पेक्सर सा’प, मृत्यु सङ्कास्पद छ । एकपटक कुकुर ल्याएर अनुसन्धान गर्ने हो कि ? हेर्नोस्न, तल लडेको मान्छेको रगतको छिर्का उति पर चौतारामाथिसम्म कसरी पुग्न सक्छ ? अनि त्यति होचो चौताराबाट चौरमा खस्दैमा मरिहाल्ने स्थिति पनि हुँदैन । फेरि लडेको ठाउँमा कुनै ढुङ्गाहरु पनि छैनन् भने कसरी टाउको फुट्छ ? ठाउँ–ठाउँमा चोट कसरी लाग्छ ? लठ्ठीमा रगत कसरी लाग्यो ?”
उसको कुराले दामोदर र गणेश झस्किए । यतिखेर तिनको अनुहारको रङ फेरिएको प्रस्टै देखिन्थ्यो । कतै स्थिति बिग्रने हो कि भन्ने लागेर इन्स्पेक्टर नजिकै रहेको दामोदरले गाउँलेलाई सम्बोधन गर्दै भन्न थाल्यो—“हाम्रो गाउँमा ज्यादै दुःखद घटना घट्न पुग्यो । गाउँको प्यारो, इमानदार, सहयोगी र असल मानिसलाई आज हामीले गुमाउन पुगेका छौं । साँच्चै भन्ने हो भने जीवलाल दाइ आँखामा राखे पनि नबिझाउने ज्यादै असल हुनुहुन्थ्यो । उहाँमा अलिकति डिप्रेसन थियो, त्यसैले कहिलेकाहीँ रक्सी खानुहुन्थ्यो । खाँदा खाँदा त्यसैको लत बसेछ, आखिरमा त्यही रक्सीले उहाँलाई खायो । अव हामीले सम्मानपूर्वक उहाँको अन्त्यष्टि गर्ने र परिवारलाई के कसरी सहयोग गर्न सकिन्छ गर्ने हो । म पार्टीको तर्फबाट गर्नसक्ने सहयोग गर्न प्रतिबद्ध छु । शवलाई लामो समय राख्दा दुर्गन्ध फैलिन्छ, त्यो उहाँका लागि अपमान हुन जान्छ । त्यसैले अव विभिन्न तर्क गरेर बस्नुभन्दा जतिसक्यो छिटो शव चलाउनु पर्छ । उहाँको मृत्यु बारे शङ्का गर्दा धेरै लफडा आइपर्छ, सबै गाउँलेले दुःख पाउनु पर्छ । जति नै अनुसन्धान गरेपनि आखिर उहाँलाई हामीले जिउँदो फर्काउन सक्दैनौं । यसैले मुचुल्कामा सही गरेर शवलाई छिटो अन्त्येष्टि गर्नलिर लागौं ।” यति भनेर दामोदर, गणेशदत्त, हर्कमान र जगनले हतपत सही गरिहाले । अधिकांश गाउँलेहरूलाई दामोदरको कुरा चित्त बुझेको थिएन त्यसैले अरुले त्यसमा सही गर्न मानेनन्, बरु तर्किएर बसे । मुचुल्कामा सही गर्न दामोदरले पार्टी कमिटिमा रहेका अरु तीन–चारजनालाई मनायो । त्यसपछि प्रहरीहरू हिँडे । गाउँलेहरू केही बोल्न सकेनन्, बोलेकै भएपनि केही हुनेवाला थिएन बरु त्यही बोल्ने मानिस सरकार र पार्टीको नजरमा समाजविरोधी बन्न जाने सम्भावना हुन्थ्यो । मचुल्का सकेर प्रहरीहरू हिँडे । उनीहरूलाई बिदाइ गर्न गणेश र दामोदर अलि परसम्म सँगै हिँडे ।
जीवलालको दाहसंस्कारमा ठूलै जमात उपस्थित भएको थियो । दामोदरले आफ्नो पार्टीको जिल्ला इन्चार्ज र केन्दीय सदस्यलाई पनि बोलाएको रहेछ । चिता तयार भएपछि शवलाई त्यहाँ लैजानुअघि पार्टीको केन्दीय सदस्य तथा जिल्ला इन्चार्जले जीवलालको शवमा पार्टीको झण्डा ओढाइदियो र मुठ्ठी कसेर अभिवादन ग¥यो । एघार वर्षे छोराले दागबत्ति दिएपछि श्रद्धाञ्जलीको कार्यक्रम राखियो । त्यहाँ पनि जिल्ला इन्चार्जले सम्बोधन गर्दै जीवलालको गुण–गान गायो । अनि उसलाई महान् सहिद मान्दै उसको बाटोमा हिँड्न सबैलाई आग्रह ग¥यो । गाउँलेहरू त्यो नौटङ्की देखेर थप निराश बन्न पुगे । श्रद्धाञ्जली लगत्तै फर्किएका दुई जना मलामी आपसमा कुरा गर्दै थिए—“जिउँदो छँदा त जीवलालको इमान र सोझोपनमाथि राजनीति गरे गरे, अव मरेपछि पनि के को राजनीति होला ?” अर्कोले वरपर हेर्दै सुस्तरी भन्यो—“कहाँको मरेको हुनु, मारेका हुन् !”
पोखरा—६