विजयादशमीको दिन थियो। धनवीर बस्तीका सबै मानिसहरू आ-आफ्ना काममा व्यस्त थिए। तर ‘राम’ नाम गरेको एउटा केटाचाहिँ गाउँको सिरानको एउटा चौतारीमा बसेर गीत गाइरहेको थियो, यसरी—
“ओराली लागेको हरिणको चाल हो।
छल गर्यो मायाले, छल गर्यो मायाले।
बासै उठाउने कस्तो यो खेल हो?”
बीचबीचमा “यो गीत राम कृष्ण ढकालले गाएका हुन्” पनि भन्दै थियो। त्यसरी त्यो गीत धेरैपल्ट गाइसकेपछि ऊ जोरजोरले रुँदै पनि थियो। आकासतिर हेर्दै सोध्दै पनि थियो—“माया, किन छाडेर गयौ? रामले विजयादशमी कहिल्यै मनाउँदैन। त्यो रावणसित किन गयौ?”
एकछिनपछि ऊ त्यहाँबाट हरिणको चालमा ओरालै-ओरालो लाग्यो। बेलुकी घरकाहरूले उसलाई किन त्यसरी मातेर गति छाडेको अनि किन चाडको टिका नलगाई भौँतारिहेको भनेर सोध्दा उसले अंग्रेजीमा जवाफ दिन्छ—“आइ एम नट हेटिङ टिका बट रामायण।” त्यसपछि “कसले मेरो नाम ‘राम’ राख्यो?” भन्दै रुन थाल्छ।