“तँलाई कस्तो लाग्यो ?”
“तँ के मन पराउँछस् ?”
“चालामाला कस्तो ?”
ऋतुहरूमा पनि कविहरूको बिभिन्न झुकाउ देखिन्छ । मलाई शरद र हेमन्त ऋतु मन पर्दा रहेछन् । खुला आकास, सयपत्री आदि फुलहरूले वास्नादार भुईं, पहेंला सुनजस्ता धान, यी असाध्य हृदयमा छाप पार्छन् । खोलाको पानी मिठो, तर्न सकिने जङ्घार, मिठो घाम, मन हर्ने हावा, परपर देखिने पहाडहरूमा देखिने उज्यालो झल्का लाटो मान्छेलाई मख्ख पारिदिन्छन् । भनिरहनु पर्दैन बोलीले, प्रकृतिले आँखाको नानीमा मुखको टुप्पो ओठमा व्यक्त गराउँछ । बेला यस्तो थियो ।
भद्रपुरमा भर्खर आएको थिएँ । जीवनका कतिपय प्राप्तिहरूको चाहामध्ये एक घुमन्ता जीवनको उत्तमता स्वीकार गर्थें । खर्दारज्यूलाई यो कुरा थाहा थियो । उहाँ मलाई घुम्ने चानस मिलाउन खोज्नुहुन्थ्यो, त्यसैले उहाँको एक सरकारी काम परेछ । धुलाबारीसम्म साइकल लिएर बिहानै हिड्यौं । लगभग चार कोसको यो बाटो सम्ममा थियो । ठाउँठाउँमा केही बस्ती थिए । १÷२ धानका मिल पनि भएकाले ढर्रा पार्ने ठाउँको अनुभव भइरहेको थियो । महाकवि देवकोटाले यसैले होला– यस्ता ठाउँमा औपचारिकता नपाएको ।
धुलाबारी बलौटे बजार, बिचिबिचमा पैनी भएको । केही उदासपन लिएको लाग्यो । केही मिल थिए – जसले भविष्यको केही चिनो देखाइरहेका थिए – वास्तवमा धुलाबारीले पनि कता बढ्नु छ !
बनारसमा पानपसलमा हमेसा एक जना मोटा राम्रा ठिटा पान चबाएर बस्थे । देखेको थियो । चिनाजान थियो । उनैकामा भोजन भयो । पैसा जोगाउन मासु खान छाडेको ४ वर्ष भएको थियो – घिऊ र भातमा परें ।
साथीले खर्दारज्यूलाई र मलाई एकएक ओटा घोडाको बन्दबस्त गरिदिए । मेरो मनमा तरहतरहका भाव फुरिरहेका थिए । कति माथिमाथिको तहबाट हामी घुमिरहेका छौं । भद्रपुरबाट हुरुर्र हुर्रिएर साइकलमा आयौं । यहाँ एक भद्रजनको घरमा मेजमान बजायौं र अब ‘मामाकी घोडी मेरी हि हि ...’ गरिरहेछौं । यसैले हाम्रा निर्माण माथिमाथि हुन्छन् । यसैले हाम्रा साहित्य यस्तै गोरेटामा डोरिएका हुन्छन् । यिनै कुरा दुःखसुखका हुन्छन् । यी बिच बाटाका गाडीवाल र किसानहरूका वस्तीहरूमा हामी घुस्यौंन – किनभने त्यहाँ, हाम्रो प्राप्ति थिएन !!
एउटा वनको गाउँमा एक जना मान्छे रुखबाट लडेर मरेछ । भर्खरै बिहा भएको थियो रे ! लास जाँच रहेछ ! कुरो ढिलो बुझ्ने लाटो मान्छे म ! भर्खरभर्खर स्पष्ट बुझिरहेको थिएँ । अरु दुई जना पुलिसका जवानहरू हामीसित भए । एक जना सिपाहीको घोडा वडा उदेकलाग्दो थियो वछडा ! खच्चडजस्तो । गदाहा जस्तो । कतै कुद्नुप¥यो भने कसैले सायद नभेट्लान् जस्तो – नहिंड्नु हो भने – अल्छे बहर । धुलाबारीबाट सिधा उत्तर जाँदै वनमा हाम्रा घोडाले धुलो उडाए । खर्दारज्यू र पुलिसमा लाससम्बन्धी कुराकानी चल्दै थिए । म सोचिरहेको थिएँ – उपन्यासहरूमा वर्णित घोडचढी पात्रहरू । हामी त्यस्तै छौं । खर्दारज्यूको बेग्लै इतिहास छ । मेरो बेग्लै र पुलिसहरूको बेग्लै । हामी जङ्गलभित्र बढिरहेछौं । एक लिखमा हिंड्ने बेग्लाबेग्लै डिब्बा ।
टिमाई खोलो आयो ! एउटा लामो बगर ! कुरा चले पोहोर साल यसको बाढीमा धेरै धन–जनको क्षति भयो र खेत बगे । महँगीको बेला यसले उल्टो सगायो ।
लास जाँच्न पानीघट्टा गाउँतिर हाम्रा घोडाका मुख फर्किए ।
गाउँ छरिएको थियो । जङ्गलभित्रको टाहारमा फिलुङ्गे र तोरीको पहेंलोपन व्याप्त थियो । केराका पात फर्फराएका थिए । शून्यपनको अनुभव ममा झन् बढेको थियो – किनभने कसैको समाजमा र दिलमा कसैको मृत्युले तीब्र व्यथा र वेदनाले घेरा हालेको कुरा छर्लङ्ग थियो यद्यपि कालगतिले मरेको कुरा स्पष्ट थियो, तैपनि गाउँमा भएका मान्छे हामी आएको त्रस्त अनुहारले हेर्न थालेका थिए ।
धेरै मान्छे घाँसमा, जङ्गलमा, खेतमा गएका रहेछन् । जम्मा हुन निकै वेर लाग्ने भयो । खर्दारज्यूले शान्तिनगर जाने कुरा गर्नुभयो – खास उद्देश्य मेरो त्यहीं जाने थियो – साथी लोकराजको जहाँ घर थियो ।
हामी फेरि ओर्लियौं र एउटा खोलो तरेर अलिकति उकालो लाग्यौं र खोलाको किनारैकिनार अलिअलि अलिअलि अलिअलि गर्दै अगाडि बढ्यौं । यो व्रmम लगभग एक कोसको जस्तो लाग्यो । तल खोलो बगिरहेछ – हेर्दा कहाली लाग्छ । पारिपट्टि जङ्गल छ । खेतहरू लट्ठ पहेंला छन् । मङ्सिरको बेला छ । पारिपट्टिको बाटोबाट इलाम जाने मोटरको बाटो खनिएको थियो । हामी भित्रिरहेछौं – बिस्तारो । मधेसे धर्ती फैलिरहेछ – एक अनन्त विश्वको आफूमा मुटु गाँसेर । हो त, मधेस सुनैसुनको रहेछ – सम्म जग्गा । जहाँ कतिका मिल छन् । कतिका मुन्डामहल छन् । ठुला बेपार हुन्छन् । सुनौलो गर्मी मधेस गज्जब देखिन्छ ।
मलाई लाग्यो – द्रौपदीको चीरहरण जस्तो छ यो बाटो । अनौठो बाटो थियो । यस्तो बाटोको चिनारी ठुटे वरमा पुग्नुभन्दा पहिले एक जना सज्जनले गरे – हजूर यो इरुँटार (शान्तिनगरको फेदको गाउँ) त मुसाको दुलो पो त !
मलाई गज्जपले हाँस उठ्यो । खुप चित्त बुझ्यो – कस्तो झर्रो चिनारी !
त्यहाँदेखि मैले शान्तिनगरलाई मुसाको दुलो भन्ने गरेको छु । ठुटे वरमा मेला लगाएको रहेछ । झापा जिल्ला जस्तो पछि परेको ठाउँमा शिक्षामा जागृति आएको खुसी लाग्यो, तर वाचस्पतिज्यूसित भेट भएपछि कुराकानीबाट थाहा पाएँ – यहाँ लोकराज, रामबाबु, वाचस्पति, इन्द्र प्रसाईं, लप्टन गन्जबहादुर कार्की जस्ता धेरै नाउँ चलेका मान्छेहरू बसेका छन्, जो सम्पन्न र शिक्षित छन् । हाई स्कुलको अनुहार हेर्दा मलाई मेरो गाउँको स्कुलको सम्झना आयो (यद्यपि त्यो मिडिल स्कुल हो । यो हाईस्कुल) खेल्ने मैदान र पढ्ने कोठासम्मको कठिनाइ निकै बिझ्यो ।
माथि डाँडाबाट उता भारतको सिलिगुडी, बागडुगरा छर्लङ्ङ जस्तो देखिने । यहाँसम्म मोटर गाडी आउन सक्थे तापनि उतापटिको विजुलीको उज्यालो र अरु कुराहरूको चकचकीले यहाँका वासिन्दालाई हैरान बनाउने स्पष्ट थियो । एक जना महोदयले दार्जिलिङ, घुम, खर्साङहरूतिर देखाउन बल गर्दै भने– के गर्नु ! ऊ हेर्नोस् – त्यो हाँसपोखरी हो – बनाए यहीं झकीझकाउ देखिने छ । शान्तिनगर नामाकरण गरिएको उद्देश्य पनि हाम्रो यही हो – मधेसका मान्छे यहाँ सितल खान आऊन् !
लोकराजज्यूको मेजमानी । गाउँका मान्छेसितको भलाकुसारी । जुनेली रात । भित्तामा तह पर्दै ओरालिएको मुसाको दुलाका टाउको शान्तिनगरको वास आनन्दको थियो । मेरो नराम्रो बानी भनौं – राती बेसी खट्पटी भयो – मेजमानीको यात्रा .... ।
भोलिपल्ट फर्किंदा कुलामा पानी खान घोडा निहुरियो, म खँधारिएँ – मैले सम्झें – मेरो प्रायश्चित्त ! ... खर्दारज्यूले अलिक तल आएपछि भन्नुभयो – परार साल पारिपटि वनमा म पनि हात्तीबाट खँधारिएको थिएँ । विस्तारी मुसाको दुलैदुलो निस्कियौं ।