श्रीमतीले महँगाइ, नानीको स्कूल फिस्, माइतमा आमा बिरामी, इत्यादि कुराहरू फतफत्याउँदै उनको श्रीमानलाई सुनाइरहेकी थिई। तर श्रीमान भने अघिदेखि फेसबूकमा व्यस्त थियो। त्यसरी केही बेरसम्म श्रीमतीको गनगन सुनाइ अनि उसको फेसबूकभित्रको चहल-पहल सकेपछि ऊ झसङ्ग हुन्छ, अनि आफैँलाई भन्छ—“हँ! म के भ’को?”
श्रीमती फेरि भान्साघरबाट कराउन थाल्छे तर त्यसको उसलाई कुनै असर नै छैन। आज उसले फेसबूकमा के खोजिरहेछ त्यो ऊ आफैँलाई पनि थाहै छैन। केहीबेरपछि श्रीमतीसित अचानक नजर जुझेपछि केही लेखेको जस्तो गरेर टोलिन्छ। फेरि खोज्न थाल्छ तर पाउँदैपाउँदैन। एकछिन मनलाई शान्त बनाएपछि फेरि खोज्न थाल्छ। मनमनमा आफैँलाई भन्छ—“औ, मैले के खोजेको हो भनेर सोध्नु पनि भ’को छैन।” त्यसपछि फेसबूकबाट निस्कनअघि एकचोटि ‘सर्च बार’ मा जान्छ तर त्यहाँ पनि के लेखुँलेखुँ हुन्छ।
बिहानको खाजा खाँदै गरेको बेलामा श्रीमतीले सोध्छे—“आज बिहानदेखि त्यस्तो पीरसित के खोज्नुभएको हँ?” के भनुँभनुँ भएर “तिम्रो एकाउण्ट” भनिदिन्छ। “त्यो त मैले निकाली दिएँ त!” लजाउँदै श्रीमतीले उत्तर दिन्छे। “ठीक गर्यौ!” उसले मनभित्र भन्छ। त्यसपछि ऊ फेरि फेसबूकमा खोज्न व्यस्त भइहाल्छ। छोराले “पापा, बिमला आन्टीले सोद्धै थिइन्” भन्दा ऊ सर्किएर राल-सिँगान हुन्छ। श्रीमतीचाहिँ रिसले रातो गुलाबजस्तो हुन्छे।
भोलि बिहान फेसबूक खोलुँ कि नखोलुँ भइरहेको बेलामा श्रीमतीले उसलाई टुलटुल हेर्दै भन्छे—“औ, तिमी त्यो तिम्रो फेसबूक एकाउण्ट हटाऊ त!” एकछिनपछि उसको फोनमा टुङ गरेर नोटिफिकेशन आउँछ: “बिमला कमेन्टेड अन् ह्यूवर फोटो।”
बेलुकी छोरो स्कूलबाट आएर गणितको ‘होमवर्क’ गर्न मदत माग्नुलाई आमालाई “पापा कहाँ छ?” भनेर सोध्छ। श्रीमतीले छोरोलाई एउटै शब्दमा उत्तर दिन्छे—‘फेसबूकमा!’ छोरोले अनुहार बिगारेर रुन्चे स्वरमा भन्छ—“अब मलाई कसले ‘होमवर्क’ गर्न मदत गर्छ?” आमाले अलिकति हाँस्दै लय बनाएर भन्छे—“तँ पनि जा ना त्यहीँ पापाको फेसबूकमा, भइहाल्छ त!’’
एकछिनपछि छोराले झोलाबाट खाता-किताब निकालेर “पापा फेसबूकभित्र कहाँ जानुभयो होला” भनेर सोच्दै गणितको ‘होमवर्क’ गर्न थाल्छ।