18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गिद्धे नजर

लघुकथा मनिश कुमार शर्मा समित December 15, 2020, 12:32 pm
मनिश कुमार  शर्मा  समित
मनिश कुमार शर्मा समित

शिक्षक-कोठामा दुई शिक्षिकाहरू गफमा व्यस्त थिए । दुई मध्ये एकले अर्कीलाई गुनासो पोखिरहेकी थिई “हेर्नुस् न मेडम त्यो प्रिन्सिपलले जहिले पनि मेरो छातीमा गिद्धे नजर लगाइ रहन्छ ।“

अचानक मेरो प्रवेशले उनीहरूको चुप भइ एक अर्काको मुख हेर्न थाले ।

“के हो मेडमहरू म आउने बित्तिकै चुप हुनु भयो कतै मेरो कुरा काट्नु भएको त हैन ?” कुर्सीमा बस्दै मैले मौन स्थितिलाई चिर्ने कोसिस गरें । दुबैको अनुहार अलि रातोपिरो भयो । मैले थप दबाब दिन चाहिन । स्कुलको घण्टीले अर्को कक्षामा जाने निर्देश गर्यो । म उठ्नै लाग्दा एक शिक्षिकाको बोली फुट्यो ।

“सर एउटा कुरा सोधुँ है ?”

मैले हुन्छ भन्ने भावमा टाउको हल्लाएँ ।

“सर यदि तपाईंको अगाडि एक युवती देखा परिन् भने तपाईंको पहिलो नजर केमा पर्छ ?” साहासका साथ प्रश्न तेर्साईन् ।

नसोचिएको प्रश्नले म आवक थिएँ । मैले कुरा बुझिसकेको थिएँ ।

“यसै भन्न सकिन्न । त्यो त परिस्थितिमा भर पर्छ मेडम । उनको कपाल लामो भएमा कपालमा नजर पर्छ । यदि खोल्चाउँदै हिंडेकी भए खुट्टामा पर्छ । अटपटिदोँ श्रीङ्गार गरेमा मुहारमा । शारीरिक बनोट अनुसार शरीरको जुन भाग नमिल्दो छ त्यसैमा पर्छ ।“

सहजरुपमा उत्तर दिदैं म पढाउन कक्षाकोठा तिर लागे । तर मेरो मष्तिस्कमा भने पातलो शरिरमा सामान्यता भन्दा अलि ठुलो र पोटिलो आकृति सलबलाइ रहेका थिए ।

ठिमी, भक्तपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।