18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

"सहिदगेटकी आमा"लाई नियाल्दा

कृति/समीक्षा डा.कृष्णराज अधिकारी November 8, 2020, 5:44 pm
डा.कृष्णराज अधिकारी
डा.कृष्णराज अधिकारी

कविता, कथा, उपन्यास, निबन्ध, नियात्रा, दैनिकी र अनुवाद जस्ता साहित्यका विभिन्न विधामा निरन्तर कलम चलाउँदै आएका हरिहर खनाल अथक साहित्य–साधक हुन् । २०२४ बाटै कथा र कविताको प्रकाशन गर्न थालेका खनालका झण्डै दुई दर्जन कृतिहरू प्रकाशित छन्, जसमध्ये एक दर्जनभन्दा बढी त कथा सङ्ग्रहका पुस्तकहरू छन् । सङ्ख्यात्मक दृष्टिले नेपालीमा यति धेरै कथासङ्ग्रह प्रकाशित गर्नेमा उनी शीर्ष स्थानमा पर्दछन् । यसैले उनको सर्वाधिक साधनाको क्षेत्र र योगदान पनि कथामै रहेको पाइन्छ । कतिपय रचनामा सामाजिक यथार्थ र आलोचनात्मक यथार्थवादी दृष्टिकोण भेटिए पनि समाजवादी यथार्थवाद नै उनका रचनाको मूलभूत प्रवृत्ति रहिआएको पाइन्छ । दुईवटा कथासङ्ग्रह अङ्ग्रेजीमा लेखिनुका साथै केही उपन्यास र सौन्दर्यशास्त्रका पुस्तकको नेपालीमा अनुवाद गर्नुबाट उनको योगदान अङ्गे्रजी भाषामा समेत रहेको देखिन्छ । यिनका कथाहरूमा नेपाली समाजको अन्तरविरोध, शोषण, अन्याय, विभेद, युग वा समयले पारेको प्रभाव, राजनीतिक विकृति, सामाजिक विसङ्गति, मानिसभित्रका ढोंगी प्रवृत्ति, नैतिकता र इमानदारीमा आएको ह्रास, मूल्य स्खलन जस्ता विषय सन्दर्भहरूलाई आफ्नो चिन्तन वा विचारमा ढाल्दै आख्यानीकरण गरिएको पाइन्छ । शैलीगत प्रयोगलाई भन्दा वैचारिक सन्देशलाई आत्मसात गर्दै लेखिएका यिनका कथामा समाजका यथार्थ घटना–सन्दर्भहरूलाई टिपेर आख्यानको रूप दिइएको हुन्छ ।

तेह्रौं कथा सङ्ग्रहका रूपमा प्रकाशित ‘सहिदगेटकी आमा’ (२०७५) भित्र छोटा र मध्यम आकारका १४ वटा कथाहरू सङ्गृहीत छन् । ‘चौतारी’ र ‘आँखीझ्याल’ नामक दुई खण्डमा विभक्त यस पुस्तकको ‘चौतारी’ खण्डमा ‘पुस्तान्तर’, ‘भुमरी’, ‘चुँडिएको चङ्गा’, ‘प्रुफ रिडर’, ‘त्रिकोण’, ‘सहरमा एकदिन’ र ‘सहिदगेटकी आमा’ गरी सातवटा कथाहरू रहेका छन् भने ‘आँखीझ्याल’ अन्तर्गत ‘स्थितिबोध’, ‘चमेली फूल र भमरा’, ‘ब्लाकमेल’, ‘बलेको आगो’, ‘गलत फहमी’, ‘स्वाङ’ र ‘नाम’ गरी सातवटै कथाहरू समावेस गरिएको छ । खण्ड छुट्याउने आधार कथाको आकार मझौला र सानो हुनु बाहेक अन्य देखिँदैन । ‘स्थितिबोध’ लाई लघु आकार मानी दोस्रो खण्डमा राखिएको भए तापनि यसको आयाम मध्यम आकारकै देखिन्छ ।

सङ्ग्रहभित्रको पहिलो कथा ‘पुस्तान्तर’ आकारका दृष्टिले सबैभन्दा लामो रहेको छ र यहाँ बाजे, बाबु र नाति गरी तीन पुस्ताका बीचको अन्तरलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । यहाँ तीन पुस्ताबीचको दृष्टिकोण, चिन्तन, जिम्मेवारी, अपेक्षा, मूल्य–मान्यता अनि पेशा र प्रकृति नै भिन्न हुँदै परिवार नै कसरी एक अर्काप्रति टाढिँदै गएको छ भन्ने देखाइएको छ । अहिलेको भूमण्डलीकृत विश्व अनि यातायात, सञ्चार, विज्ञान र सूचना–प्रविधिको तीव्र विकासले मानिसका सामाजिक–पारिवारिक सम्बन्धहरूमा पनि परिवर्तन ल्याइदिएको छ । गाउँ छाडेर शहर, शहर छाडेर राजधानी अनि राजधानी समेत छाडेर विदेशमा गई पढ्ने र काम गर्ने अवस्था संस्कारकै रूपमा विकास भइरहेको छ । पेशा नयाँ र परिबर्तित हुँदै गएपछि बसोबास पनि नयाँ र स्थानान्तरण हुँदै जानु स्वाभाविक हुन्छ । कृषि पेशाले जोडेको पारिवारिक–श्रम सम्बन्ध अनि एकै थात–थलोले जोडेको सामाजिक सम्बन्धलाई पेशागत भिन्नता र स्थानान्तरणले खण्डित गरिदिएको छ । अध्ययन, काम वा अवसरको खोजीमा गाउँबाट शहरतिर झर्ने वा बसाइँ सर्ने प्रक्रिया नयाँ नभएपनि २०४६ को राजनीतिक परिवर्तन र त्योसँग जोडिएर आएको उदारिकरणले यसलाई तीब्रता प्रदान ग¥यो । पछिलो समयमा आएर अध्ययन र रोजगारीका लागि अमेरिका, जापान, अष्टे«लिया, क्यानडा जस्ता विश्वका विकसित देश मात्र होइन विभिन्न खाडी मुलुकहरूमा पनि नेपालीहरूको आकर्षण बढ्न थालेको छ ।

कथाका प्रमुख पात्र मनबहादुर र सूर्यप्रसाद हुन् । पहाडबाट बसाइँ सरेर चितवन झरेका यी दुई छिमेकी बृद्धावस्थामा पुगेका हुन्छन् । अनेक दुःख गरेर दुवैले छोरालाई पढाउन शहर पठाउँछन् । मनबहादुरको छोरा धनबहादुर राम्रो डाक्टर बन्छ भने सूर्यप्रसादको छोरा रामप्रसाद त्रि.वि.मा प्राध्यापन गर्छ । उनीहरू दुवैका परिवार काठमाडौंमैं बस्छन् । यता उनीहरूका बाबु आमा भने एक्लोपन महसूस गर्छन् । छोरा बुहारीसँगै बस्ने मनबहादुरको इच्छा पूरा हुन पाउँदैन । बाबुआमालाई अनावश्यक बोझ सम्झने उनीहरू आफूसँग काठमाडौंमा राख्न खोज्दैनन् । उता विदेश गएको सूर्यप्रसादको छोरा पनि बिरामी भई अस्पतालमा सुतेका बाबुलाई भेट्न मात्र होइन निधन हुँदासमेत आउन सक्तैन । उसले काठमाडौंमा रहेको छोरालाई पठाउँदै एकजना बाहुन खोजेर क्रिया गरिदिन भन्छ । मनबहादुरकी नातिनी विदेशीसँग बिहे गरी उतै बस्छे भने पढ्न विदेश गएको नाति सुवीरले पनि ग्रीन कार्ड पाएको खुसीको सन्देश बाबुलाई सुनाउँछ । आफ्नो एउटै छोरो पनि उतै बस्ने भएपछि धनवहादुर स्तब्ध बन्छ ।

यसरी कथामा पहाडबाट सुखको खोजीमा चितवन झरी त्यहीँ दुःख गरेर बृद्धावस्था व्यतीत गरेका मनबहादुर र सूर्यप्रसाद, पढ्न भनी काठमाडौं गई त्यहीँ घरजम गरेका तिनका छोराहरू धनबहादुर र रामप्रसाद अनि पढ्न विदेश गई उतै बिहे गरेका वा ग्रीनकार्ड पाएर उतैको नागरिक बनेका नाति–नातिनाको अवस्थालाई मार्मिक र यथार्थ रूपमा प्रस्तुत गरिएको छ । चितवनका बाबुआमालाई छाडेर काठमाडौंमै घरजम गरेर बस्ने धनबहादुर र रामप्रसाद जव आफ्ना छोराछोरी पनि आफूहरूलाई छाडेर विदेश बस्ने सुर गर्छन् तव उनीहरू आफैं पनि पीडित बन्छन् । यो नेपाली समाजमा बढ्दै गएको समस्या हो । बाजेदेखि नातिसम्मको पुस्ता एउटै घरमा बस्ने अनि घरायसी कामकाज तथा व्यवहार मिलेर गर्ने र सुख–दुःखमा सहभागी हुने संस्कार अव मेटिँदै गएको छ । गाउँमा बृद्ध बाबुआमालाई छाडेर छोराछोरीहरू शहर पस्ने र नाति–नातिनाहरू विदेशको सपना देख्दै उतै जाने र रमाउने परिस्थितिले नेपाली समाज खण्डित हुँदै गइरहेछ, । बृद्ध हजुरबा–हजुरआमाहरू एक्लो महसूस गरिरहेछन् र बाबुआमाहरू छोराछोरी विदेशिएर नफर्कने अवस्थाले चिन्तित बनिरहेछन् । यसरी तीनपुस्ताको भिन्नाभिन्नै सोच, परिस्थिति र अवस्थालाई यसमा यथार्थ रूपमा चित्रण गरिएको छ । कथालाई विस्तार गर्न प्रमुख पात्र मनबहादुर र सूर्यप्रसादको सङ्घर्षको कथालाई पनि जोडिएको छ । मनबहादुर कसरी आफू भारतीय सेनामा भर्ती भएर विश्वयुद्ध लड्यो, कसरी बिहे ग¥यो र कसरी युद्धमा एउटा खुट्टा गुमायो भन्ने वृतान्त सुनाउँछ भने सूर्यप्रसाद पनि पहाडबाट कसरी चितवन झरेर एउटा निवेदन दिई चार बिगाहा जग्गा प्राप्त भयो, कसरी जङ्गल फँडानी गरेर बसियो भन्ने कुरा सुनाउँछ । सूर्यप्रसाद र मनबहादुरले भोगेका घटनाहरूको वर्णन अनावश्यक जस्तो लाग्दछ । कथालाई अनावश्यक विस्तार गरेको यस प्रसङ्गले गर्दा कथानक त्यति कसिलो हुन सकेको छैन ।

‘भुमरी’ कथा एउटी तामाङ युवतीको जीवनमा आइपरेको प्राकृतिक विपद र त्यसबाट सिर्जित अर्को विपद्पूर्ण परिस्थितिलाई लिएर लेखिएको छ । एउटी युवतीको जीवनमा आइपरेको प्राकृतिक प्रकोपको फाइदा उठाउँदै कसरी मानिस भनिने प्राणीले नै पीडा र सङ्कट थप्न पुग्छ भन्ने कुरालाई यस कथामा आख्यानीकरण गरिएको छ । नोर्बुसँग प्रेम सम्बन्ध राखेकी डोल्मा उसको प्रतीक्षामा बसिरहेकै बेला भूकम्प आउँछ र बाबुलाई औषधि लिएर घर पुगेको नोर्बु घरले किचिएर मर्छ । उता गाइवस्तु चराइरहेकी डोल्मा भूकम्पको ताण्डव नृत्यपछि घर पुग्दा आमा घरभित्रै किचिएर मरेकी हुन्छिन् । अरू भूकम्पपीडित जस्तै पालभित्र बस्ने गरेकी डोल्मालाई देखेर छिरिङ आफ्नो षड्यन्त्रको जाल बुन्छ । ऊ डोल्मासँग बिहे गर्ने र उसलाई पनि आफूले काम गर्ने ठाउँ इन्डिया लैजाने भन्दै प्रलोभनमा पार्छ । सोझी, निश्छल डोल्मा उसको जालमा पर्छे र उसको प्रस्ताव स्वीकार्दै इन्डियातिर जान तयार हुन्छे । तर महेन्द्रनगर नाकामा रहेका प्रहरीहरूले शङ्का गरी रोक्दछन् र ऊ माइती नेपालको आश्रममा पुग्छे ।

यसरी यस कथामा भूकम्पले क्षतविक्षत पारेको जीवनमाथि मानिस नै दानव बनेर थप पीडा र सास्ती दिन उद्धत रहेको कुरालाई देखाउन खोजिएको छ । कथानक यथार्थपरक र मार्मिक भएपनि अन्तिम टुङ्याइचाहिँ त्यति स्वाभाविक लाग्दैन । कैयन् भूकम्प–पीडित युवती र बालिकाहरू यौन हिँसाको शिकार बनेको, शिविरमा बस्दा कतिपय महिला र युवतीहरू सहाराको खोजीमा मानव–तस्करको फन्दामा परी बेचविखनमा परेको कुरा यथार्थ थियो । यसैले डोल्मा जस्ती सोझी ग्रामीण युवती फटाहाको फन्दामा पर्नुलाई स्वाभाविक मान्न सकिन्छ तर पनि भगाएर लैजाँदा छिरिङले अपनाएको शैली र व्यवहार त्यति स्वाभाविक लाग्दैन । चौकीलाई कसरी छल्ने भन्ने कुरामा अभ्यस्त मानव तस्करहरू यति सोझो तरिकाले प्रस्तुत हुँदैनन्, युवतीलाई प्रहरी समक्ष कसरी प्रस्तुत हुने, के भन्ने जस्ता कुरा राम्ररी सिकाएर लगिएको हुन्छ । तर त्यहाँ युवतीलाई कहाँ जाने हो भनी सोध्दा जवाफ दिन नसकेको, त्यसभन्दा अघि भारतीय दलालसँग छिरिङले गरेको कुरा युवतीले नै बुझ्ने गरी भनेको र शङ्का लाग्दा लाग्दै पनि युवती टाँगामा बस्न गएको कुरा अलि स्वाभाविक लाग्दैन । अनि युवतीलाई माइती नेपालले उद्दार गर्नु स्वाभाविक भएपनि अन्य अधिकारकर्मी र सचेत युवा युवतीले सहयोग गरेको देखाएको भए अझ उद्देश्यमूलक र स्वाभाविक हुन्थ्यो । अझ युवती दिल्ली पुगेर त्यहाँको कोठीमा बेचिएको र कठोर यातना पाएर धेरै समयपछि मात्र उद्धार गरिएको देखाएको भए अरू मार्मिक र स्वाभाविक बन्न सक्दथ्यो । भूकम्पकालीन घटना–सन्दर्भको एउटा पक्षलाई कथानक रूप दिइएको यस कथालाई यथार्थवादी कथाका रूपमा लिन सकिन्छ ।

‘चुँडिएको चङ्गा’ लाई लेखकले वि.सं. १९९० तिरको घटना–सन्दर्भतिर पु¥याएका छन् । यो ऐतिहासिक यथार्थमा आधारित कथा हो । नेपालका एकजना आयामेली कविको जीवनमा घटित घटना–सन्दर्भसँग मिल्दो रहेको यस कथाको विषय व्यापक रहेको छ । यहाँ अन्तरजातीय प्रेम विवाह, नेवार संस्कृति, राणाशासन र त्यस विरुद्ध विकसित जनचेतना, १९९० सालको भूकम्पले पारेको प्रभाव जस्ता सन्दर्भहरूलाई कथाले समेटेको छ । काठमाडौंको नेवार गणेशलालकहाँ पुरेत्याइँ गर्न जाँदा उसकी छोरी राममायासँग पुरेत मुरलीधरको आँखा जुध्दछ र एकले अर्कालाई मन पराउन थाल्छन् । एकदिन मुरलीधरले नेवार्नी राममायालाई भगाएर घरमा लैजान्छ । घरका परिवारले स्वीकार्न नसकेपछि उनीहरू सानो पसल गरेर छुट्टै बस्छन् । राममायाले छोरो पाउँछे । पण्डित मुरलीधरमा राजनीतिक चेतना बढ्न थाल्छ । उसको विद्रोही स्वर थाहा पाएर राणाका सिपाहीले पक्रेर लैजान्छन् । पाँच वर्षपछि छुटेर आउँदा उसले कान्छी श्रीमतीका रूपमा एउटी महिलालाई पनि सँगै लिएर आउँछ । यो देखेर राममायालाई ठूलो चोट पर्दछ र सहन नसकेर त्यसै राती आत्महत्या गरी मर्दछे ।

यहाँ लेखकले तत्कालीन समाज, संस्कार, राजनीतिक अवस्था र पुरुषहरूको प्रवृत्तिलाई देखाउन खोजेको पाइन्छ । तत्कालीन समाजमा पुरुषले जतिवटी पनि बिहे गर्न सक्ने तर महिला भने जतिसुकै पीडा र यातना खपेर पनि पतिकै सतित्वमा अडिएर बस्नुपर्ने सोच र संस्कारलाई हेर्दा मुरलीधरले जेलबाट छुटे लगत्तै कान्छी स्वास्नी ल्याउनुलाई अनौठो र असम्भव मान्न नसकिए पनि जसरी नाटकीय पाराले जेलबाट छुटेर आउँदै स्वास्नी लिएर आएको देखाइएको छ त्यो यथार्थपरक भएपनि अस्वाभाविक जस्तो लाग्दछ । लोग्नेको अनुपस्थितिमा लामो समयसम्म दुःख र कष्ट सहेर छोरालाई पालनपोषण गर्दै आएकी र आफैंले भगाएर ल्याएकी पत्नीप्रति घात गरेकोमा राममायालाई असह्य चोट पर्नु स्वाभाविक थियो । मुरलीधरले यसरी नाटकीय रूपबाट कान्छी श्रीमती ल्याउनका लागि उसको चरित्र पनि पहिल्यैबाट सोही अनुरूपको बनाइएको भए र सोही अनुसार घटना र चरित्रको विकास गरिएको भए अरु जीवन्त बन्ने थियो । जेलमा जानु अघि उसको चरित्र त्यस्तो नराम्रो केही थिएन, श्रीमतीलाई राम्रै माया गथ्र्यो र राजनीतिक चेतना पनि विकास भएको थियो । त्यसरी अप्रत्यासित रूपमा कान्छी श्रीमती ल्याउनु पर्ने औचित्य र कारण देखिँदैन । त्यसैगरी कान्छी स्वास्नी ल्याएको देख्नासाथ सोही बेलुका राममायाले आत्महत्या गरेको देखाउनु पनि त्यति स्वाभाविक लाग्दैन । हुन त मानिसले आवेग र भावनामा जे जस्तो काम पनि गर्दछ । तर पनि यति लामो समयसम्म छोराको मुख हेरेर र लोग्नेको प्रतीक्षा गरेर बसेकी राममाया लोग्नेसँग राम्ररी बोल्दा पनि नबोली, उसको कुरा राम्ररी नसुनी एकैचोटि आत्महत्याको बाटो समाएको देखाउनु व्यवहारिक जीवनमा यथार्थ नै भएपनि घटनाक्रमको विकास अनि चरित्रको दृष्टिले समेत स्वाभाविक नदेखिई नाटकीय लाग्दछ । ऐतिहासिक यथार्थलाई र सामाजिक सन्दर्भसँग जोडेर आख्यानीकरण गरिएको यो कथा सङ्ग्रहभित्रका राम्रा कथामध्येमा पर्दछ ।

२०४६ मा बहुदलीय व्यवस्थाको पुनस्थापना भएपछि हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप र दवाव थेग्नै नसकिने गरी बढिरहेको थियो । योग्य र सक्षम व्यक्तिको सट्टा पार्टी र नेताले सिफारिस गरेका भरमा जस्तोसुकै अयोग्य र अक्षम व्यक्ति पनि नियुक्त हुने गरेको अवस्था तत्कालीन समयमा मात्र होइन वर्तमानको समेत यथार्थ हो । ‘प्रुफ रिडर’ कथामा त्यही यथार्थलाई देखाउन खोजिएको छ । कथाको प्रमुख पात्र रामप्रसाद शर्मा पत्रिकामा काम गर्दाको अनुभव सँगालेर पछि आफैंले एउटा पत्रिका चलाउन तम्सिन्छ र प्रुफ रिडरको आवश्यकता परी विज्ञापन प्रकाशित गर्छ । त्यो थाहा पाएर एउटा व्यक्ति आफूले पठाएको पार्टीको मान्छेलाई नियुक्ति दिन सिफारिस गर्दै फोनमै पत्रकारलाई धम्क्याउँछ । अन्तरवार्तामा पार्टीले सिफारिस गरेको भनिएको उक्त मान्छेलाई एक पेज प्रुफ हेर्न दिँदा ऊ केही पनि नजानेर अक्मकिन्छ । त्यसपछि अन्तरवार्ता लिन बस्नेहरूले उसलाई हप्काएर पठाउँछन् ।

पार्टीले कुनै पनि योग्यता र क्षमतै नभएका व्यक्तिलाई पनि सिफारिस गर्ने परिपाटी हाम्रो राजनीतिक चरित्र बन्न पुगेको छ । यहाँ त्यसैलाई उजागर गर्न खोजिएको छ । तर कथाको अन्त्यतिरको घटनाको बुनाइ त्यति प्रभावकारी बन्न सकेको छैन । पत्रकारलाई फोन गर्ने, बिहान गएर भेट्ने र अन्तरवार्ता दिन जाने व्यक्ति एउटै हुनु त्यति युक्तिसंगत लाग्दैन । वास्तवमा दवाव दिने व्यक्ति आफैं अन्तरवार्ता दिन जाँदैन । उम्मेदवारले त अर्को राजनीतिक पहुँचवालालाई फोन गर्न लगाएको हुन्छ र उसको दवाव थेग्न प्रायःलाई गाह्रो हुन्छ । त्यस्तो दवावको अघि नझुक्नेहरूको जागिर धरापमा पर्ने वा अनेक दुःख झेल्नुपर्ने हुन्छ । तर कथामा त्यस्तो भेटिँदैन । त्यहाँ त उम्मेदवार आफैंले नक्कली नेता बनेर फोन गरेको देखिन्छ जुन रहस्य भोलिपल्ट बिहानै खुल्न पुग्छ । कथाको अन्तिमतिरको बुनाइ त्यति कसिलो र प्रभावकारी हुन नसके पनि हरेक क्षेत्रमा हुने गरेको पार्टीको हस्तक्षेप र हैकमलाई यहाँ यथार्थ रूपमा प्रस्तुत गर्न खोजिएको छ ।

नेताहरूको चाकडी गर्ने, आफ्नो काम पट्याउन उपहारको रूपमा धनराशि चढाउने, चुनावका बेला सहयोगका नाउँमा ठूलो रकम प्रदान गर्ने अनि त्यस बापत आफूले अनेक अनैतिक कार्य, भ्रष्टाचार र कुकृत्य गर्न मार्ग प्रशस्त गर्ने प्रवृत्तिलाई ‘त्रिकोण’ कथामा प्रस्तुत गरिएको छ । कथामा सोमराज नामका नेताभक्त कहिले सूर्यनाथको घरमा, कहिले नीलकण्ठको घरमा त कहिले गणेशसमक्ष पुगेर प्रसाद वा उपहार स्वरूप दक्षिणा–भेटी चढाउँछ । कथा केही प्रतीकात्मक र व्यङ्ग्यात्मक अनि नाटकीय प्रकृतिको रहेको छ । भक्तले भगवानलाई दक्षिाणा–भेटी वा उपहार चढाएझैं यहाँको नेताभक्त सोमराज चुनावको सङ्घारमा राजनीतिक पार्टीका नेताहरू सूर्यनाथ, नीलकण्ठ र गणेशको घरमा पुगेर ठूलो धनराशि चढाउँछ । चुनावमा पैसा नै निर्णायक हुने गरेको नेपाल जस्तो देशमा विना पैसा वा पैसाको कमी हुनेले चुनाव जित्न नसक्ने स्पष्टै छ । यसैले व्यापारी, उद्योगी तथा विभिन्न पेशा व्यवसायमा लागेका व्यक्तिहरूसँग राजनीतिक पार्टीले सहयोगको नाममा रकम उठाउँछन् । पैसा जति खर्च गर्न सक्यो चुनाव जित्ने सम्भावना उत्तिनै बढी हुने भएकाले जतिसक्यो धेरै चन्दा वा सहयोग उठाउने तिनको उद्देश्य हुन्छ । काला व्यापारी, विचौलिया र अवैध आर्जन गरेकाहरूले चुनावका बेला जित्ने सम्भावना भएका, ठूला पार्टीका नेतालाई भरपूर रकम सहयोग गर्छन् । यसरी चुनावका बेला सहयोग लिएकाहरूप्रति पार्टी र नेता ऋणी हुने भएकाले चुनाव जितेपछि उनीहरूका माग पूरा गर्नतिर लाग्छन् । तिनका भ्रष्ट र अनैतिक कार्यहरूले प्रश्रय पाउँछन् । यसबाट विभिन्न विकृति, विसङ्गति, शोषण र भ्रष्टाचार मौलाउन पुग्छ । जति नै भ्रष्ट र अपराधी भएपनि पार्टी र सरकारले त्यस्ता व्यक्तिहरूलाई कार्वाही गर्न सक्तैन बरु संरक्षण गरेर राख्छ । यो नेपाल जस्ता संसदीय व्यवस्था अवलम्वन गर्ने गरिव र अविकसित देशहरूको साझा समस्या हो । ‘त्रिकोण’ कथामा लेखकले त्यही प्रवृत्तिजन्य घटनालाई नाटकीय रूपमा प्रस्तुत गरेका छन् ।

‘शहरमा एक दिन’ कथामा लेखकले भोगेका एक दिनभरिका घटनालाई प्रस्तुत गरिएको छ । यहाँ पत्रिकाको सम्पादकले लेख मागेको प्रसङ्गदेखि पुरानो लेख लिएर टाइप गर्न नगर बसमा जाँदा– आउँदा बसभित्रका यात्रुले आफू जस्तो ज्येष्ठ नागरिकप्रति देखाएको राम्रो–नराम्रो व्यवहारलाई प्रस्तुत गरिएको छ । लेखकलाई एक हप्ताको समय दिएर लेख माग्नु र लेखकले पनि धेरै पुरानो लेख दिन खोज्नुले हाम्रा पत्रिका र लेखनको स्तरलाई समेत औंल्याउन खोजेको छ । बसको निश्चित सिट ज्येष्ठ नागरिकका लागि छुट्याए पनि त्यसमा पनि युवा–युवतीहरू बस्ने गरेको, कसै कसैले ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक आफू बसेको सिट छाडिदिने गरेको भएपनि धेरैजसो युवा युवतीहरू ज्येष्ठ नागरिकलाई उभिइरहेको देखेर पनि सिट छाड्न वास्ता नगर्ने र अझ ज्येष्ठ नागरिक लेखिएकै सिटमा गजधम्म परेर बसिदिने गरेको अनुभवलाई यहाँ प्रस्तुत गरिएको छ । कथाको विषयवस्तु र प्रस्तुति सामान्य भएपनि हामीभित्र हराउँदै गएको सेवा र सम्मानको भाव, मौलाउँदै गएको स्वार्थी प्रवृत्ति, कृतग्नता, कर्तव्यहीनता अनि नियम पालन नगर्ने परिपाटीलाई देखाउन खोजिएको छ ।

जनयुद्धको समयमा आफ्नो एकमात्र निर्दोष छोरोलाई सेनाले मारेपछि असहाय बनेका बुढाबुढी एकअर्काको सहारा बनेर बसिरहेका हुन्छन् । यस्तो अवस्थामा बुढो पनि मरेपछि असहाय र पीडित बन्दै सहिद पार्कमा दिनहुँ आउने गरेकी महिलाका बारेमा लेखिएको कथा हो— ‘सहिदगेटकी आमा’ । दिनहुँ बेलुकीपख काँधमा झोला भिरेर आउने र सहिद स्तम्भमुनि दियो बाल्ने गरेकी महिलालाई एक साँझ एकजना युवकले देख्छ र उनका बारेमा सोद्धा उनले आफ्नो अवस्था बताउँछिन् । लोग्ने राजनीतिक व्यक्तिका साथै लेखक पनि भएको र उनका कृति अप्रकाशित अवस्थामै भएकाले तिनै पाण्डुलिपिलाई झोलामा बोकेर हिँड्दा लोग्नेसँगै हिँडेको जस्तो लाग्ने कुरा उनले व्यक्त गर्छिन् । लोग्नेको निधन हुँदा नेताहरू आएर निकै राम्रा र मिठा आश्वासन दिनुका साथै उनका सबै कृतिहरू प्रकाशन गरिदिने कुरा गरेकोमा त्यसपछि कसैले कुनै वास्ता नगरेको बताउँदै विदीर्ण मन र जीर्ण तन लिएर एक्लै हिँडेको कुरा उनी बताउँछिन् ।

जनयुद्धका सहिद, वेपत्ता र घाइतेहरू अनि तिनका परिवारको अवस्था बारे पार्टी र सरकारले कुनै वास्ता नगरेको र तिनीहरू पीडा पिएर बाँचिरहेको स्थिति आजको यथार्थ हो । यही यथार्थको एउटा घटनालाई यस कथाले मार्मिक रूपमा उद्घाटन गरेको छ । परिवेश चित्रण, घटनाको बुनाइ र चरित्र चित्रणका साथै वैचारिक दृष्टिले समेत यो कथा सुन्दर र यथार्थपरक रहेको छ । पुस्तकको शीर्षक नै यसै कथाका नाउँबाट राखिएकाले पनि यसको महत्ता थाहा हुन्छ । यसलाई सङ्ग्रहभित्रको उत्कृष्ट कथा मान्न सकिन्छ ।

‘स्थितिबोध’ कथामा २०४६ तिरको घटनाबाट सुरु गरेर पछिल्लो पटक दुई कम्युनिस्ट पार्टी एक भएको प्रसङ्गसम्म समेटिएको छ । कथाको प्रमुख पात्र नारद २०४६ मा पञ्चायतको पक्षपोषण गर्दै प्रतिकार समितिको जिल्ला संयोजक बन्छ भने पञ्चायतको अन्त्य भई बहुदलको स्थापना भए लगत्तै बहुदलवादी देखिन आफूले आफैंलाई अबिर दल्छ । बहुदल आएर आफ्नो शक्ति निस्तेज भइरहेको स्थितिमा जव राजा ज्ञानेन्द्रको शासन आउँछ ऊ पुनः मन्त्री हुन पुग्छ । जव जनयुद्ध र जनआन्दोलनबाट राजतन्त्रको अन्त्य हुन पुग्छ तव ऊ पुनः सत्ताकै आगो ताप्नतिर लाग्छ र एउटा सभामा कम्युनिस्ट पार्टीको सदस्यता लिँदै नेतासँगै मञ्चमा पुग्छ ।

सिद्धान्तनिष्ठता, नैतिकता, इमानदारी भन्ने कुरा नेपाली राजनीतिमा हराउँदै गई अवसरवाद र उपयोगवाद फष्टाउँदै गएको कुरा २०४६ पछिको मात्र होइन २०६३ पछिको पनि यथार्थ हो । २०४६ पछि नेपाली राजनीतिमा मौलाएको पार्टी–प्रवेश र परित्यागको प्रवृत्तिले थुप्रै विकृति सिर्जना गरेको थियो । प्रतिकार समितिमा रहेका थुप्रै पञ्चहरू बहुदल स्थापनासँगै ठूला पार्टीहरूमा प्रवेश गरेका र पार्टीभित्र तिनै नवप्रवेशी र अवसरवादी नेताहरूकै हैकम र प्रभाव रही इमानदार कार्यकर्ताहरू छायामा पर्ने गरेको यथार्थको एउटा सन्दर्भलाई यस कथामा समेटिएको छ । अवसरवादी चरित्रलाई देखाउन मुख्य पात्रको नाम नै नारद राखिनुले शीर्षकको सार्थकता देखाउँछ ।

‘चमेली फूल र भमरा’ हाम्रो समाजमा मौलाउँदै गएको विकृत प्रेम र यौनजन्य गतिविधि अनि सुविधाभोगी प्रवृत्तिलाई लिएर लेखिएको कथा हो । कथामा एउटा सामान्य जागिरे मदनले आफ्नी पत्नी मुना सुत्केरी हुँदा सबै काम–धन्दा आफैंले गरेको हुन्छ जसलाई आवश्यक र स्वाभाविक मान्न सकिन्छ । तर जव सुत्केरीबाट तङ्ग्रिएपछि पनि उसले आफ्नालागि खाना पकाउने, लुगा धुने जस्ता सामान्य कामका लागि पनि काम गर्ने मान्छे खोजी ल्याउन लोग्नेलाई अह्राउँछे त्यतिखेर उसको अल्छी र कामै नगरी बसेरै खाने भन्ने गलत प्रवृत्ति उजागर हुन्छ । आजका कतिपय शहरिया महिलाहरूमा त्यस्तो निष्क्रिय र सुखभोगी प्रवृत्ति हुर्कँदै गरेको देखिन्छ । कुनै काम नगरी बसेर खानुलाई सुख र आनन्द सम्झने संस्कार सामन्ती संस्कारको द्योतक हो । प्रस्तुत कथामा आफ्नी पत्नी मुनाको आग्रहमा घरमा काम गर्ने केटीको खोजीमा रहेको मदन आफ्नै कार्यालयको मूल चौकिदारकी छोरीमा त्यो सम्भावना देख्छ र त्यसका लागि भनिदिन अर्को चौकिदारलाई आग्रह गर्छ । तर अर्को दिन त्यही आफूले कुरा गरेको चौकिदारले नै मूल चौकिदारकी किशोरी छोरी लिएर भागेको थाहा पाउँछ । यहाँ किशोरीलाई चमेली फूल र चौकिदार मनबहादुरलाई भमराको उपमा दिँदै अर्को साथीले भनेको आलङ्कारिक वाक्यलाई नै कथाको शीर्षक बनाइएको छ । कथा नाटकीय जस्तो लाग्छ । विषयवस्तु, उद्देश्य र शिल्पका दृष्टिले समेत यो कथा उनकै अरू कथाको तुलनामा समेत कमजोर देखिन्छ । कथा मार्फत् लेखकले दिन खोजेको सन्देश पनि त्यति स्पष्ट देखिँदैन । यस्ता कथाहरूले लेखकको कथानक प्रभावमा क्षति मात्र पु¥याउँछन् ।

‘ब्लाकमेल’ विषयका दृष्टिले लघुकथा जस्तो लागे पनि संरचनात्मक दृष्टिले लघुकथा नभएर छोटो आकारको कथाका रूपमा रहेको छ । यहाँ चुरोट खाने लत बसेको बाबु कविता फुर्न चुरोट खानुपर्छ भन्ने गलत सोच राख्दछ । ऊ आफूले खाएको चुरोटको ठुटो सानो उमेरको छोरालाई फाल्न अह्राउँछ । बाबुको सिको गर्दै ठुटो चुरोट तान्न लागेको छोरो दिदीले हप्काएपछि भाग्छ । बाबुले यो थाहा पाएर आफ्नो गल्ती स्वीकार्दै चुरोट छोड्ने प्रतिज्ञा गर्छ । यसरी आफ्नो गलत स्वभावले छोरोलाई प्रभाव पारेको थाहा पाएर चुरोट खान छाडेको ऊ एकदिन राजनीतिक कार्यक्रममा जाँदा अर्कोले दिएको सूर्ति अनायासै खान पुग्छ र विस्तारै सूर्तीको लतमा फँस्छ । एकदिन छोराले पैसा माग्दा नदिएपछि सूर्ती खाएको कुरा आमालाई भनिदिने कुरा गर्नासाथ ऊ आमालाई नभन्ने सर्तमा पैसा दिन बाध्य हुन्छ । यसरी सानो छोराले पनि बाबुको कमजोरीको फाइदा उठाउँदै बाबुसँग पैसाका लागि ब्लाकमेल गर्न थाल्छ । मानिसको कमजोरीको फाइदा उठाउँदै कमजोरी लुकाइदिन लेनदेन गर्ने परिपाटीलाई कथाले छोराले बाबुसँग गरेको ब्लाकमेल देखाएर उजागर गरेका छन् । यहाँ आफ्नो कमजोरी महसूस गरी चुरोट छाड्ने घोषण गरेको बाबुले तलतल लागेर फेरि चुरोट तानेको र त्यो देखेर छोरोले आमालाई भनिदिन्छु भनेको भए कथाको संरचना सङ्क्षिप्त र खँदिलो बन्दथ्यो र बढी प्रभावकारी पनि हुन्थ्यो तर कथालाई तन्काउन फेरि अर्को सन्दर्भ जोड्नाले संरचना खुकुलो बन्न पुगेको छ ।

सत्ता, शक्ति र पैसाको पछि लाग्ने प्रवृत्ति अहिले आम रूपमा मौलाइरहेको छ । सत्ताको राप र तापले आफूलाई पनि केही न्यानो हुने भएकाले मानिसहरू जतिसुकै चरित्रहीन, अयोग्य र अनैतिक भएपनि उच्च पदासिन व्यक्ति र उच्च आर्थिक हैसियत भएकाहरूको वरिपरि मौरी झुम्मिएझैं झुम्मिने गर्दछन् । तर जतिसुकै नैतिकवान, इमानदार, योग्य र प्रतिभाशाली व्यक्ति किन नहोस् उसबाट आफूलाई प्रत्यक्ष लाभ नहुने हुँदा त्यस्ताको सङ्गतबाट मानिस प्रायः तर्किने गर्छ । यसैले होला ‘बलेको आगो ताप्ने’ उक्ति प्रचलनमा आएको । कथाकार खनालले यस्तै विषय–सन्दर्भलाई ‘बलेको आगो’ शीर्षक कथामा बुनेका छन् । गाउँबाट शहर झरेको नवीन जव केही समयपछि एक्लोपनको महसूस गर्दै निराश हुन्छ तव उसले आफ्नै गाउँबाट शहर झरेका व्यक्तिहरूसँग संपर्क स्थापित गर्न एउटा संपर्क समाज गठन गर्ने सोच बनाउँछ । उसले गाउँबाट शहर आई स्थापित भइसकेको एकजना छिमेकीको सहयोगमा धेरैजनासँग संपर्क पनि गर्छ । तर छलफलको कार्यक्रम तय गरेको दिन छिमेकी रवीन र अरू धेरै आउँदैनन् । तर अलि समयपछि त्यही संपर्क समाजले गरेको मन्त्रीको सम्मान कार्यक्रममा भने मानिसहरूको भीड लाग्छ । यसरी आफ्ना छिमेकी र गाउँलेहरू भेला भएर छलफल गर्न खोज्दा कोही नआउने तर मन्त्री आउने भन्नासाथ मान्छेको भीड लागेको देखाएर लेखकले हाम्रो सोच, चिन्तन र संस्कारलाई उजागर गर्न खोजेका छन् ।

मन्त्री आउने कार्यक्रममा जाँदा ऊसँग परिचय गर्न र नजिक हुन पाइने र त्यसबाट भविष्यमा आफूले धेरै काम लिन सकिने तर सामान्य मानिसहरू मात्र जम्मा हुने कार्यक्रमबाट कुनै फाइदा नहुने भएकाले मानिसहरू त्यसमा नजाने गरेको अवस्था एउटा संस्कार अनि प्रवृत्ति जस्तै बनेको छ । यस्तै चिन्तन, सोच र संस्कारले गर्दा हाम्रो समाजका हरेक कार्यक्रममा उच्च पदस्थ व्यक्ति वा नेतालाई प्रमुख अतिथि बनाउने गरिन्छ जहाँ मानिसहरूको भीड लाग्नाका साथै कार्यक्रमको प्रचार पनि उत्तिकै हुन जान्छ । कथाले त्यस्तो प्रवृत्ति गलत भएको सन्देश दिएको छ । तर घटना र पात्रहरूको बुनाइ त्यति कसिलो नभएकाले कथाको प्रभाव क्षमता त्यत्ति सशक्त हुन सकेको छैन ।

राम्रो नियत र व्यवहार हुँदाहुँदै पनि कहिलेकाहीँ गलत बुझाइले गर्दा गलत परिणाम निस्कन सक्छ भन्ने सन्देश ‘गलत फहमी’ कथाले दिएको छ । कथामा दुईजना पुराना साथीहरू तराईको एउटा गाउँमा जानका लागि शहरबाट बस चढ्छन् । बसबाट ओर्लिएर त्यहीँको एउटा चिया पसलमा पुग्दा संयोगले पुरानो साथी अर्जुनको त्यहीँ भेट हुन्छ । तीनैजना हर्षित हुँदै कुराकानी गर्छन् । निस्कने बेला उनीहरूले अर्जुनको फोन नं. माग्दै अर्कोपटक यही बाटो आउँदा फोन गर्ने बताउँदै बिदा हुन्छन् । अर्जुनले आफूसँग फोन नभएकाले छिमेकीको नंवर दिएको हुन्छ ।

केही वर्षपछि पुनः त्यही बाटो आउँदा उनीहरूले अर्जुनलाई सम्झँदै फोन गर्छन् । ऊ बिरामी भएकाले उठ्न सक्तैन । फोन छिमेकी बालिकाले उठाउँदै अर्जुन उठेर आउन नसक्ने बताउँछे । बालिकाको यो सन्देशले गर्दा ‘फोन गर्दा पनि भेट्न नआउने कस्तो मान्छे’ भन्दै उनीहरूले अर्जुनप्रति नराम्रो दृष्टिकोण बनाउँछन् । अर्जुन बिरामी भएको यथार्थ खवर पुगेको भए साथीप्रति यसरी नराम्रो दृष्टिकोण बन्दैनथ्यो । यसरी वास्तविकता एउटा र बुझाइ अर्कै भइदिँदा दुई पक्षका वीचमा नराम्रो सम्बन्ध सिर्जना हुने मात्र होइन कहिलेकाहीँ गलत र गम्भीर परिणाम समेत निस्कने हुन्छ । लेखकले यही यथार्थलाई देखाउन कथानक निर्माण गरेको देखिन्छ । प्रस्तुत कथाको आकार लघुकथाको जस्तो लागे पनि कथालाई संक्षिप्त र सूत्रात्मकभन्दा वर्णनात्मक बनाइएकोले यसले लघुकथाको स्वरूप लिन सकेको छैन ।

मुखले ठूलाठूला आदर्शका कुरा गर्ने, आदर्शका कुराहरू लेख्ने तर व्यवहार त्यसको उल्टो गर्ने विरोधाभासी चरित्र बोकेका पात्रहरूले भरिएको छ हाम्रो समाज । मुखले पितृभक्ति र गुरु महिमा गाउने र लेख्नेहरू व्यवहारमा भने आफ्ना बाबु र गुरुहरूप्रति कतिसम्म अपमान र उपेक्षा गर्छन् भन्ने तथ्यलाई ‘स्वाङ्’ कथाले औंल्याएको छ । काठमाडौंमा परिवारसहित बसेका छोरा–बुहारीलाई भेट्न भनेर बृद्ध बाबु जव छोराको निवासमा पुग्छन्, पितृभक्ति र श्रवण कुमारको महिमा गाएर लेख्ने गरेको छोरो बाबुलाई देख्नासाथ ‘मर्न नसकेको बुढो’ भन्दै अपहेलना र आक्रोश व्यक्त गर्छ । त्यसैगरी पत्रिकामा गुरु पूर्णिमाको महिमा र गुरूप्रतिको आदरका कुरा गरेर प्रशंसा बटुल्ने श्यामराजलाई गुरुले फोन गरेर बधाई दिन लाग्दा समेत उपेक्षा गर्दै ‘म चिन्दिन’ भन्दै फोन राख्छ । यस्ता ढोंगी, आडम्बरी र बोक्रे चरित्र बोकेर हिँड्नेहरू नै हाम्रो समाजमा ठूला र विशिष्ट मानिन्छन् । यो हाम्रो समाजको विडम्वना पनि हो । यसको एउटा सानो पक्षलाई यस कथाले देखाउन खोजेको छ । विषयवस्तुका र आकारका दृष्टिले लघुकथा जस्तो लागे पनि संरचनात्मक दृष्टिले यस कथाले पनि लघुकथाको स्वरूप लिन सकेको छैन ।

सङ्ग्रहभित्रको अन्तिम कथा ‘नाम’ हो । यहाँ पत्रिकामा आफ्नो रचना भए मात्र किन्ने र पढ्ने तर अरूका रचना नपढ्ने आम प्रवृत्तिलाई देखाइएको छ । एउटा कवि, जो आफ्नो नाम पत्रिकामा आउनका लागि मात्र लेख्छ र पत्रिकामा नाम नदेखेपछि पत्रिका नै पढ्दैन त्यस्ता नाम झुण्ड्याउनकै लागि लेख्ने र प्रकाशनका लागि भनसुन गर्ने प्रवृत्तिप्रति व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ । विषयवस्तु, पात्र र शैलीलाई हेर्दा यो कथा पनि औसत कथाकै श्रेणीमा पर्छ ।

आख्यानको क्षेत्रमा लामो साधना गरिसकेका र थुप्रै कृतिहरू प्रकाशन गरिसकेका कथाकार हरिहर खनालको जीवनको उत्तराद्र्धमा निस्किएको कथा ‘सहिदगेटकी आमा’ भित्र लेखकका भोगाइ र राजनीतिक–सामाजिक अवस्थालाई नै कथाको विषयवस्तु बनाइएको पाइन्छ । सामाजिक–राजनीतिक यथार्थता, विषयगत विविधता, शैलीमा वर्णनात्मकता, परिवेश चित्रणमा जीवन्तता, भाषिक सरलता जस्ता कतिपय विशेषता बोकेका यस सङ्ग्रहका सबै कथाहरू वैचारिक र शैलीगत दृष्टिले समेत एउटै स्तरका छैनन् । वैचारिक दृष्टिले ‘अजम्मरी गाउँ’ (२०३७) र ‘आकास छुने डाँडोमुनि’ (२०३८)झैं सबै कथामा समाजवादी यथार्थवादी मान्यता नभेटिए पनि आलोचनात्मक यथार्थवाद यहाँका अधिकांश कथाहरूमा पाइन्छ । शिल्प र शैलीका दृष्टिले सबै कथाहरू उत्तिकै खँदिला र प्रभावकारी नभएपनि ‘पुस्तान्तर’, ‘सहिदगेटकी आमा’, ‘भुमरी’ जस्ता कथाहरू कथाकार खनालको कथा साधनाको साक्ष्य बनेर उभिएको पाइन्छ । परिवेश चित्रण यिनका कथाको सबैभन्दा सबल पक्ष रहेको पाइन्छ । यिनका हरेक जसो कथामा त्यहाँको प्राकृतिक तथा सामाजिक परिवेशलाई जीवन्त रूपमा चित्रण गरिएको हुन्छ । मूल कथानकभित्रै विभिन्न उपकथाहरूको सिर्जना गर्नु, कतिपय कुराहरू पात्रको माध्यमबाट नभनी सीधै आफैले भन्नु तथा कतिपय प्रसङ्गको अति विस्तार यस सङ्ग्रहका कथाहरूको शैलीगत प्रवृत्ति रहेको पाइन्छ । समाजमा व्याप्त विसङ्गति, राजनीतिमा व्याप्त विकृति, भ्रष्टता, मूल्यहीनता र स्खलन, हामीभित्रका आडम्बर, ढोंग, स्वार्थ र विरोधाभासपूर्ण व्यवहारलाई यथार्थवादी कोणबाट प्रस्तुत गर्ने खनालका कथाहरू उद्देश्यमूलक र रहेको पाइन्छ ।

पोखरा—६

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।