उनी भनिरहन्छन्
म सुनिरहन्छु
प्रफुल्ल हुदै भनिरहन्छन्
दङ्ग पर्दै म सुनिरहन्छु
मेरी प्रियतामा !
तिमी बाहेक मेरो को छ र ?
म बाहेक तिम्रो को छ र ?
हामी एक अर्कालागि बनेका हौ
एक अर्कामै समर्पित बनौ
दुनियाँले जे सुकै भनोस्
तिमी त बुझ्छ्यौ नि ?
मेरा कुरा तिमीले बुझे त भैगो
तिमी र म मिले त भैगो !
उनी भनिरहन्छन्
अनि म सुनि रहन्छु
मेरी प्रियसी !
म तिमीलाई अगाध माया गर्छु
तिम्रो निर्दोषअनुहार सम्झेर बस्छु
दुनिया अगाडि हुन्छन्
तर मेरो मन कताकता तिमीमाथि पुग्छ
साच्चै,
तिमी भनौली
संसार धुमेको मायाँ
चरैतिर छरेको मायाँ
मेरो भागसम्म आईपुग्ला र ?
लाटी !
मेरो कुरामा विश्वास लागेन र ?
हेर त ! माया त समुन्द्र हो नि
जत्ति बाडे पनि त सकिन्न !
सबैलाई बराबर बाड्न मिल्छ
अनि,
तिमी त मेरी अभिन्न हौ
हृदयको कुनामा लुकाउँन मिल्छ
उनी सधै भनिरहन्छन्
म सधै सुनिरहन्छु
न उनी भनेर थाक्छन्
न त म सुनेर थाकेकी हुन्छु
तर पनि
मलाई थाहा छ !
मलाई थाहाछ उनी टाढाका जुन हुन्
शितको थोपा वर्षाउँने चहकीला जुन हुन्
एकथोपा सीतको आसमा घण्टौ पर्खिरहन्छु
औशीको कालो रातमा पनि
एकझल्को देखिने आश गर्दै
भ्रमित हुदै पर्खि रहन्छु
घण्टौ कुरेर बसिरहन्छु
हो मलाई थाहा छ
उनी आउन्नन् पक्का छ
फेरि पनि
सधै आउने बाचा गर्छन्
साथै घुमाउँने कसम खान्छन्
भ्रमजाल बुन्छन्
उनले बुनेको जालो भित्र
भ्रमित हुदै रमाउँन मन लाग्छ !
कसैले नसम्झाए हुन्छ
मेरो स्वप्न तरँग भङ्ग नगरे हुन्छ
झुटो होस् या भ्रमजाल होस्
उनी भनिरहन्छन्
म सुनि रहनछु
पथ्थरमा कुदिएको बुट्टा जस्तै
उनले बोलेका प्रतेक शब्द छातिमा टास्सिन्छ
मलाई उनका कुरा सुनिरहन मनलाग्छ
सुनिरहन मनलाग्छ
भ्रमनै किन नहोस्
सत्य ठान्न मन लाग्छ
त्यसैभित्र रमाउँन मन लाग्छ
मन त मनै न हो
त्यसैभित्र हराउँन मन लाग्छ !