मेरो एकजना आदर्श गुरुबाले मलाई एउटा कोसेली दिनुभएको थियो। मैले त्यसलाई नखोली केही दिनसम्म राखिरहेँ। एकदिन के गरूँगरूँ भइरहेको बेलामा मेरो नजर त्यो नखोलेको कोसेलीमा पुग्यो। खोलेर हेरेको त एउटा चिटिक्क परेको बुद्धको मूर्ति रहेछ। त्यसलाई शोकेजमा राखेर म त्यतिकै व्यस्त भइहालेँ।
एक बर्षपछि, दशैँमा टिका लगाउन आएका आफन्तहरूसित बात मारिरहेको थिएँ कुरा मोडिएर मृत्युको विषयतिर पुग्यो। त्यसरी बूढेसकाल, विश्वयुद्ध र अकाल मृत्युका कुराहरू गरिरह्यौँ। हाम्रो बात सुनिरहेको सानो नानीले उसको आमाको हात च्याप्प समाएर रुँदै भन्न थाल्यो—“आमा, तपाईँ बूढी नहुनु, कहिल्यै नमर्नु!”
हामी सबैलाई खल्लो लागे तापनि हामी एकार्कालाई हेर्दै हाँस्यौँ। हाम्रो मनमा नानीहरूलाई आशीर्वाद दिने समयमा कस्तो मृत्युको कुरा गर्नुपरेको होला भन्ने अनुताप भइरह्यो। हुन त हामीलाई छाडेर गएका आफन्तहरूका यादहरूले हामीलाई अघिदेखि केही मात्रमा भए तापनि दु:खी बनाइरहेका थिए।
साँझमा म कोठामा ढल्किरहेको थिएँ मेरो मनमा नाना प्रकारका कुराहरू खेलिरहे। त्यतिकैमा एक्कासि मेरो नजर त्यो शोकेजभित्रको बुद्धको मूर्तिमा पुग्यो। मैले बुद्धलाई हेरिरहेँ। कति बेरसम्म हेरिरहे त्यो मलाई थाहै भएन।
बुद्धको मुर्तिबाट मेरो मन हट्दै-हटेन कारण मैले बुद्धलाई जति हेरे उति शान्त र सुन्दर देखेँ। बुद्धका आँखाहरूभित्र मैले असीम शान्ति अनुभव गरेँ। त्यसरी म बुद्धमा हराई पठाएछु। मेरो कोठाभित्र पापा कतिबेला आउनुभयो त्यो मलाई थाहै भएन। “किन त्यसरी बुद्धलाई एकटक लगाएर हेरिरहेको?” भनी वहाँले सोद्धा पो म झसङ्ग भएँ। मैले वहाँको नजरसित नजर मिलाएर भनेँ—“आज मलाई मात्र बुद्धलाई हेर्न मन लागिरहेको छ!” त्यसपछि मेरो मनको समुन्द्रमा चिन्तनका छालहरू छल्किन थाले। त्यतिबेला मैले त्यो नानीमा बुद्ध देखेँ अनि बुद्धमा नानी।
त्यस घटनाको एक-दुई बर्षपछि एक दिन मैले बुद्धलाई आफैँभित्र स्थापित गरेँ। त्यो बुद्ध बाहिरी संसारमा देखिएका बुद्धहरूभन्दा भिन्नै छ। एउटा स्वरूप मात्रै छ। मेरो दु:ख-सुखमा, अप्ठ्यारो-सजिलोमा, अनि बिर्सनी-सम्झनीमा मसित कानेखुशी गरिरहेको हुन्छ। जति म मेरो बुद्धसित बात मार्दछु उति म आफैँलाई आविष्कार गरिरहेको हुन्छु। जीवनमा आफैँलाई पाउनुमा जतिको ठूलो आनन्द अरु कुनै कुरोमा नहुँदो रहेछ। दुनियाँले जेसुकै भनोस् म मेरो बुद्धलाई मात्र एकटक लगाएर हेरिरहन्छु।