पृष्ठभूमि
लमजुङ, अलैंचेमा जन्मिएर चितवनलाई कर्मथलो बनाउँदै आएका शशिकिरण रेग्मी नै नेपाली साहित्यमा रह शर्माका नाउँले परिचित छन् । कविता, निबन्ध र बालसाहित्यका करिव एक दर्जन कृतिहरू प्रकाशित गरिसकेका यिनले पछिल्लो समयमा आउँदा आफूलाई उपन्यासकारका रूपमा समेत उभ्याउन पुगेका छन् । विगत एक–डेढ दशकदेखि अमेरिका आउ–जाउ गर्दै आएका र चार–छ महिनादेखि बर्षदिनसम्मको लामो बसाइको अनुभव सँगालेका रह शर्माले त्यहाँ रहेका नेपालीहरूको अवस्थालाई पनि देख्न, बुझ्न र अनुभव गर्न पाएका थिए । आफ्नो त्यो अनुभव र अनुभूतिलाई उनले विभिन्न रचनाहरू मार्फत् व्यक्त गर्दै आइरहेको पाइन्छ । ‘पहाडको फेदीको पाहुना घर’ (नियात्रा सङ्ग्रह,२०६५) र ‘दृष्टिबिम्ब’ (निबन्ध सङ्ग्रह, २०६९) अमेरिका बसाइकै उपज हुन् । नियात्रा र निबन्धबाट आफ्ना केही अनुभव पस्केका उनले पछिल्लो पटक अवैध रूपमा अमेरिका प्रवेश गर्नेहरूको दुर्दशालाई लिएर औपन्यासिक कृति ‘ईप्सान्त’ (२०७५) लेख्न पुगेका छन् ।
धेरै नेपालीहरूका लागि अमेरिका सपनाको देश बन्दै आएको छ । राम्रो अध्ययनको अवसरका लागि मात्र नभएर त्यहाँको भौतिक सम्पन्नता, रोजगारीको अवसर र राम्रो आम्दानीको अवस्थाले गर्दा नेपालीहरू मात्र होइन अन्य धेरै देशका मानिसहरू त्यहाँ पुग्ने गर्दछन् । नेपाली मुद्राको तुलनामा त्यहाँको मुद्रा (डलर) ज्यादै महँगो रहेकाले पनि त्यहाँबाट डलर कमाएर ल्याई यहाँ भौतिक सुख सुविधामा रमाउने आकाङ्क्षा धेरैले पालेका हुन्छन् । यसैले जति नै ठूलो रकम खर्चेर भए पनि र बैध–अवैध जुनसुकै बाटो भए तापनि अमेरिका जान पाउनुलाई उनीहरू ठूलो भाग्य सम्झने गर्छन् । अझ त्यहाँ स्थायी बसोबास गर्न पाउने गरी पी.आर. वा ग्रीनकार्ड पाउनुलाई ठूलो उपलब्धि सम्झन पुग्छन् । बाहिरबाट हेर्दा अमेरिका गएकाहरू सुखी जस्ता देखिए पनि वास्तविकता भने त्यस्तो हुँदैन । त्यहाँ पुगेका सबै नेपालीको जीवन सुखद रहेको पाइँदैन । त्यहीँ नै उच्च अध्ययन गरी जागिरका साथै व्यवस्थित र सुखद जीवन बिताउनेहरू निकै कम रहेका हुन्छन् । राम्रै कमाइ गरी भौतिक सुख–सुविधासहित त्यहाँको जीवनशैलीमा अभ्यस्त भएकाहरूमा पनि सुख र सन्तुष्टि भेटिँदैन । अधिकांशको अवस्था विभिन्न तनाव र पीडामा अल्झिरहेको हुन्छ । आफ्नो परिवार, समाज र संस्कृतिसँग टाढिएर पैसाको लागि मेसिनझैं चल्नुपर्ने जिन्दगीप्रति उनीहरू उदास र निराश बन्न पुगेका हुन्छन् । तर पनि कतिपयका लागि यो बाध्यात्मक स्थिति बन्न जान्छ । छोराछोरीको पढाइ, गाडी, फ्लाट, विमा आदिको किस्ताले बाँधिएको जीवनबाट फूर्सद निकाल्नै गाह्रो हुन्छ र विस्तारै त्यहीँको दलदलमा गड्दै गई उम्कनै नसकिने स्थितिमा पुग्छन् । वैध रूपमा गएकाहरूको स्थिति पनि सुखद र सन्तोषपूर्ण नभइरहेको अवस्थामा अवैध रूपमा जानेहरूको पीडा, दुःख र दुर्दशा अवर्णनीय रहेको हुन्छ । मानव तस्करलाई मोटो रकम बुझाउँदा पनि सजिलै छिर्न नपाई अवैध बाटो भएर आउनु पर्दा ब्राजिल, बोलिभिया, पेरु, कोलम्बिया, पानामा, होन्डुरस र मेक्सिको हुँदै महिनौं लगाएर कहिले जङ्गलको बाटो, कहिले सामान ओसार्ने ट्रकमा बोराभित्र कोचिएर र कहिले डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्दै अमेरिका पुगिहाले पनि त्यहाँ ढुक्कसँग बसेर काम गर्न पाउने अवस्था रहँदैन । भौतिक सुख–सुविधाको लालसामा यस्तो जोखिम मोलेर र त्यति ठूलो रकम खर्च गरेर अमेरिका पस्ने नेपालीहरूको दुर्दशा र अवस्थालाई लेखक रह शर्माले यस उपन्यासका माध्यमबाट प्रस्तुत गरेका छन् ।
विषय र कथ्य
२३ सर्गमा संरचित उपन्यासको कथा प्रारम्भ गर्नुअघि ‘उद्बोध’ शीर्षक राखेर यसको पृष्ठभूमि दिइएको छ । गणेशदत्त नामका एकजना समाजशास्त्री तथा राजनीतिक चिन्तकलाई उभ्याउँदै लेखकले विश्व व्यवस्था, सम्पन्न र विपन्नबीचको ठूलो खाडल, नेपाली राजनीतिको विकृत अवस्था, युवा पलायनको निराशाजनक स्थिति, मानव जीवन र यसको उद्देश्य जस्ता कुराहरूलाई कहिले मनोगत र कहिले विमर्शका रूपमा प्रस्तुत गरेका छन् । पहिलो अनुच्छेदबाट कथानक सुरु हुन्छ । स्नातक तहमा पढ्दै गएका गोरखाका रामेश, काभ्रेका कुलेन्द्र र बर्दियाका घुरन आपसी छलफलका क्रममा नेपालमा बसेर केही गर्न नसकिने भन्दै विदेश जाने सोच बनाउँछन् । एकपटक कतार गएर फर्केको कुलेन्द्र र कोरिया गएर फर्केको घुरन त्यहाँको तलव कम भएको भन्दै पैसा कमाउन अमेरिकै जानुपर्ने धारणा राख्छन् । अलि काँचो उमेरको रामेश पनि त्यसमा सहमत हुन्छ । एकजना दललाले २५ लाखमा अमेरिका लगिदिने भनेपछि तिनीहरू तरङ्गित हुँदै घरमा गएर बाबुसँग पैसाको बन्दोबस्त गरिदिन भन्छन् । रामेशका बाबु नरेश खेत बेचेर नपुगी साहू गुहार्दै पैसाको जोहो गर्छन् । कुलेन्द्रका बाबु राजेन्द्रले श्रीमतीका गहना बेचेर नपुगेपछि मासिक तीन प्रतिशतको चर्को व्याज काढ्छन् भने जग्गाको कारोबार गर्ने घुरनका बाबु पुरनसिंलाई भने पैसा खोज्न त्यति गाह्रो पर्दैन । यसरी घरबाट पैसा खोजेर उनीहरूलाई विमानस्थलमा बिदाइ गरिन्छ ।
छोराछोरी अमेरिका पठाउन पाएकोमा गर्वबोध गर्ने समाज र पैसावाल व्यक्तिलाई सम्मान गर्ने संस्कारका कारण तीनै जनाका बाबुले हरतरहले त्यति ठूलो रकम जग्गा बेचेर र ऋण खोजेर पठाउन तम्सिन्छन् । यसलाई हाम्रो चिन्तन र संस्कारको उपजका रूपमा लिन सकिन्छ । हाम्रो यही सामाजिक संस्कार, चिन्तन र सोचका कारण भ्रष्टाचार, अनियमितता, हत्या, चोरी, ठगी, बेइमानी जस्ता खराव प्रवृत्तिहरू मैलाउँदै गई सोझा–सज्जन, इमानदार र नैतिकवान मानिस हराउँदै गएका हुन् । नेपाली समाजमा बढ्दै गएको त्यही चिन्तन र सोचको शिकार बन्न पुग्छन् यस उपन्यासका प्रमुख पात्रहरू । छिटै धेरै पैसा कमाउने लिप्साले उनीहरूलाई अन्धो बनाउँछ र जसरी पनि अमेरिका छिर्नका लागि अति जोखिम र कष्टपूर्ण बाटोमा हेलिन पुग्छन् । स्नातकको पढाइ छाडेर ठूलो जोखिम मोल्दै अमेरिका हिँडेका उपन्यासका पात्रहरू नेपाली समाजका जीवन्त र प्रतिनिधि पात्रका रूपमा रहेका छन् ।
काठमाडौंबाट उडेका उनीहरू कतार हुँदै ब्राजिलको साओपाओ विमानस्थल पुग्छन् । त्यहाँबाट बोलिभियाको सान्तक्रुज हुँदै लापाज्ड शहर पुगेपछि उनहरूको वैधनिक बाटो समाप्त हुन्छ । लापाज्ड शहरको होटलमा लामो समय बसेका उनीहरूलाई त्यहाँको सिमा पार गरी पेरुको लिमा, इक्वेडर, कोलम्बिया, पानामा, होन्डुरस हुँदै ग्वाटेमाला पु¥याइन्छ । ट्रकभित्र बोराको चाङभित्रको अन्तरमा कुनै अबैध सामानझैं गरी लुकाएर लगिन्छ । चल्न र बोल्नसमेत नपाउने गरी र दिसा–पिसाब गर्नसमेत नरोकी लामो बाटो लगिँदाको अवस्था अत्यन्त सकसपूर्ण हुन्छ । कहिले डुङ्गामा, कहिले ट्रकमा, कहिले रातमा र कहिले घना जङ्गलको बाटो लगिँदा आत्तिएर, निस्सासिएर र बिरामी परेर कोही डुङ्गामा, कोही जङ्गलमा र कोही ट्रकभित्रै मर्न पुग्दछन् । बोलिभियामा छँदै बिरामी परेको रामेश सकि–नसकी हिँड्छ । अत्यन्त कष्टकर लामो यात्रा, अव्यवस्थित खानपान र बसाइ अनि उपचारको अभावमा सहपाठी र सहयात्री रामेशको अमेरिका छिर्न नपाउँदै जङ्गलमै मृत्यु हुन्छ । साथीहरू उसको शवलाई त्यहीं स्याउलाले छोपी श्रद्धाञ्जली दिएर हिँड्न बाध्य हुन्छन् । यो घटना र अवस्था अत्यन्त पीडादायी र हृदयविदारक लाग्छ । एउटै लक्ष्य, उद्देश्य र सपना बोकेर सँगै आएको सहपाठी रामेशलाई साह्रै बिरामीको अवस्थामा पनि घिच्याउँदै हिँडाउनु पर्ने, उपचार गराउन नपाउने र मृत्यु भएपछि पनि घरमा र बाहिर कतै जानकारीसम्म गराउन नपाइने, अलिकता तल–बितल परे आफ्नै ज्यान सङ्कटमा पर्ने अनि मरेपछि पनि सामान्य अन्त्येष्टिसम्म गर्न नपाई स्याउलाले छोपेर हिँड्नुपर्दाको पीडाले ती दुई साथीलाई रन्थन्याइरहन्छ । तर उनीहरू विवश हुन्छन् त्यसरी हिँड्न ।
लामो समयसम्म खबर नआएपछि तीनैजना साथीहरूको घरमा छट्पटी सुरु हुन्छ । रामेशका बाबु छोराको खवर पाउन काठमाडौं गई आफन्तसँग सहयोग माग्छन् । अमेरिका आउ–जाउ गरिरहने गणेशदत्तलाई खवर बुझ्न भनिन्छ । उता रामेशकी आमाले सपनामा अनिष्टको सङ्केत पाउँछिन् । छोराको अवस्थालाई उनले देखेको सपना र गाउँमा भएको बिहेको सन्दर्भसँग जोडिएको छ । कुलेन्द्रचाहिँ टेक्सस राज्यमा पुगी एकजना भाइ पर्नेको सहयोगमा एउटा रेस्टुरेन्टमा काम गर्छ । ऊ बारम्बार साथी रामेशको अवस्था बारे सोच्दै जान्छ र कहिलेकाहीँ काम गर्दागर्दै पनि टोलाउन थाल्छ । बिस्तारै उसमा ग्रीनकार्डको मोह उत्पन्न भई त्यसै प्राप्तिमा तल्लीन हुन्छ । ऊ ग्रीनकार्डको सपना देख्न थाल्छ । पहिल्यैदेखि त्यहाँ बस्दै आएको भाइ पर्नेले ग्रीनकार्ड लिन महङ्गो र जोखिमयुक्त हुने बताउँदा पनि ऊ त्यसप्रतिको आशक्ति छोड्दैन । ग्रीनकार्डका लागि आखिर एकजना नेपालीकै सहयोगमा कालो वर्णकी विदेशी महिलासँग कागजी बिहे गर्न तयार हुन्छ । बिहेका लागि महिलाले मोटो रकम माग गर्छे । महिलाले माग गरेको रकम दिएर अदालती प्रक्रिया पूरा गरी बिहेको कागज बनाउँछ र त्यही कागजले ग्रीनकार्डको प्रक्रिया अघि बढाउँछ । तर यस बीचमा पनि महिलाले रकम मागिरहन्छे । रकम नदिए ग्रीनकार्ड बनाउन सहयोग नगर्ने बताएपछि ऊ विवश भएर रकम दिइरहन्छ । उसले ग्रनकार्ड त प्राप्त गर्छ तर त्यसपछि पनि महिलाले रकम मागेर हैरान पार्छे । ग्रीनकार्ड उसका लागि ठूलो तनावको विषय बन्न जान्छ । धेरै पैसा कमाइ आर्थिक रूपमा सम्पन्न हुन ग्रीनकार्डको सपना देखेको कुलेन्द्रलाई त्यही ग्रीनकार्ड अभिशाप बन्न जान्छ । उसले न घरमा रकम पठाउन सक्छ न त शान्तपूर्वक बस्न नै सक्छ । आखिर ऊ आफू बसेको ठाउँ (राज्य) नै छाडेर अर्कै राज्यमा हिँड्न विवश हुन्छ ।
उता घुनरचाहिँ मामाकी छोरी दिदीको कोठामा बस्छ, उसैले खोजिदिएको काम गर्छ, सँगै काम गर्ने नेपाली केटीसँग प्रेम बस्छ र पछि उसैको कोठामा सर्छ । अमेरिका आएका गणेशदत्तसँग कुलेन्द्रको भेट हुन्छ । परिचय गर्दै जाँदा आफूहरू आउँदाको अवस्था र रामेशका बारेमा समेत बताउन पुग्छ । रामेशको खवर लिएर नेपाल फर्किएका गणेशदत्तले रामेशको मृत्युको खवर पु¥याउँछन् । धनी र सम्पन्नशाली बन्ने महत्वाकाङ्क्षाकै परिणाम रामेशको मृत्यु भएको र ऊ जस्ता धेरैको दुर्दशाा भएको कुरा राख्दै उपन्यास समाप्त हुन्छ ।
पात्र र प्रवृत्ति
उपन्यासमा प्रमुख पात्रका रूपमा तीनजना सहपाठी एवम् सहयात्री साथीहरू रामेश, कुलेन्द्र र घुरन रहेका छन् भने लेखकले आफ्नो मुखपात्र वा वैचारिक पात्रका रूपमा गणेशदत्तलाई अघि सारेका छन् । स्नातक तहमा पढ्दै गरेका तीनजना विद्यार्थीमध्ये कुलेन्द्र र घुरन एकपटक कतार र कोरिया गइसकेका हुन्छन् भने रामेशचाहिँ पहिलोपटक विदेश जान लागेको हुन्छ । गोरखा, काभ्रे र बर्दिया घर भएका यिनीहरूको आर्थिक अवस्था करिव–करिव मिल्दो देखिन्छ । तीनै जना निम्नमध्यमवर्गीय परिवारका हुन्छन् । रामेशको बाबु शिक्षकबाट अवकास भएर सानो पसल गरेर बसेको हुन्छ भने कुलेन्द्रको बाबु खेती किसानी र सानोतिनो व्यापार गरेको हुन्छ । जग्गाको कारोबार गर्ने भएकाले घुरनको बाबुको अवस्था भने केही राम्रो देखिन्छ । ऋण गरेर वा जग्गा बेचेरै भएपनि २५ लाख खर्च गरी छोरालाई अमेरिका पठाउन तम्सने यिनीहरूको अवस्था त्यति निम्नस्तरको देखिँदैन भने पैसाका लागि भएभरका गहना बेच्नुका साथै दोकान र जग्गासमेत बेच्नुपरेको अवस्थालाई हेर्दा मध्यम वर्गीय अवस्था पनि देखिँदैन ।
यो वर्ग भौतिक सुख सुविधाको तीव्र आकाङ्क्षा राख्ने तर सो अनुरूप आम्दानी गर्न नसक्ने वर्ग हो । यसैले त वेरोजगारीको अवस्था नआउँदै र खान–लाउनको दुःख परेर विदेशिनु पर्ने वाध्यात्मक अवस्था नहुँदा नहुँदै पनि छिटो र धेरै पैसा कमाउने लोभमा जोखिम उठाएको हुन्छ । कतारमा ४० हजारको जागिर खाँदा थोरै भनेर फर्केको कुलेन्द्र र कोरिया गएर फर्केको घुरन वाध्यता र आवश्यकताले भन्दा धनी र सम्पन्न बन्ने लालसाले अमेरिका जान खोजेका देखिन्छन् । शिक्षकबाट अवकास भएपछि स–सानो व्यापार गरेर बसेका नरेशलाई पनि स्नातक पढ्दै गरेको कलिलै उमेरको छोरोलाई काम गर्न अमेरिका पठाउनुपर्ने कुनै वाध्यता थिएन । तिनैजनाका बाबुहरू बाहिर हेर्दा छोरालाई अमेरिका पठाउन नखोजेजस्तो देखिए पनि त्यहाँ गएर आएपछिको सम्पन्नताको अनुमान गर्दै भित्रभित्रै पठाउनतिर नै उद्धत रहेका देखिन्छन् । खाडी मुलुकहरू र मलेसियामा काम गर्न जानेहरू अधिकांश वाध्यताले गएका हुन्छन् तर युरोप, अमेरिका, जापान र अष्ट्रेलिया जस्ता देशमा धेरै रकम खर्चेर जानेहरूचाहिँ थोरै अध्ययनको उद्देश्य राखेर गएका भएपनि अधिकांश राम्रो कमाइ हुने लालसाले नै गएका हुन्छन् । करिव ५० लाख युवाहरू कामको खोजीमा विदेशिनुले नेपालीहरूको आवश्यकता र विवशताभन्दा विदेशको मोह र सम्पन्नताको लालसा नै हो । कलेज पढ्दै गरेका विद्यार्थीले देशमा आफ्नो भविष्य राम्रो नदेखी विदेशको सपना देख्न थाल्नु सिङ्गै देशका लागि गम्भीर चिन्ताको विषय हो । रामेश, कुलेन्द्र र घुरनको इच्छा र सपना सिङ्गो नेपालका युवाहरूको इच्छा र सपना बन्दै गएको छ । जमिन, जलस्रोत र कृषिको प्रचूर सम्भावना बोकेको देशका युवाहरू जव विदेशको सपना देख्न थाल्छन् र सरकार पनि तिनीहरूलाई स्वदेशमै बस्न सक्ने आकर्षण उत्पन्न गराउन र उपयुक्त वातावरण बनाउन चाहँदैन, बरु तिनीहरूले पठाएको रेमिट्यान्सप्रति आकर्षित हुँदै विदेश पठाउनमै तल्लीन रहन्छ भने देशको भविष्य त्यति सुन्दर र सुखद हुन सक्तैन ।
लेखकले आफ्नो प्रतिनिधि पात्रका रूपमा गणेशदत्त नामका पात्र खडा गरी उनै मार्फत् आफ्ना विचार र धारणाहरू राखेका छन् । उपन्यासको कथा सुरु हुनुअघिको ‘उद्बोध’ मा नै लेखकले गणेशदत्त मार्फत् देशको अवस्था बारे चिन्ता व्यक्त गरेका छन् । नेपाल किन समृद्ध बनेन भन्ने सन्दर्भमा गणेशदत्तले पार्टीहरूको दलगत स्वार्थ, इच्छाशक्तिको अभाव र युवा पलायनलाई मुख्य कारणका रूपमा लिएका छन् । ‘उद्बोध’ मा मात्र होइन उपन्यासको अन्त्यतिर पनि गणेशदत्तले देशको राजनीतिको वेथिति, विसङ्गति, भ्रष्टता, अनियमितता, नेताको कार्यशैली, पार्टीमा निष्ठा र त्यागको भावना हराउँदै सुविधाभोगी र ठगी प्रवृत्ति मौलाउँदै गएको जस्ता कुराहरूप्रति चिन्ता व्यक्त गरेको पाइन्छ । यहाँ गणेशदत्तको प्रयोजन लेखकका विचार र धारणा व्यक्त गर्नकै लागि खडा गरिएको देखिन्छ । त्यति धेरै पात्रहरूको प्रयोग नगरी सीमित पात्रहरूको प्रयोग गर्दै तिनीहरू मार्फत् देशको अवस्था, युवाहरूको मनस्थिति, छिटो पैसा कमाई धनी बन्न खोज्ने सामाजिक मनोविज्ञान अनि अवैध बाटोबाट विदेशिनेहरूको दुर्दशालाई यथार्थ र मार्मिक रूपमा चित्रण गर्नुबाट लेखकले समाजको यथार्थलाई चित्रण मात्र नगरी आफ्नो अभिमत समेत व्यक्त गरेका छन् ।
संस्कृति र विश्वास
छात्रवृत्तिमा र केही निजी खर्चमा अध्ययन गर्न जानेहरू बाहेक अधिकांश नेपालीहरू त्यहाँ जाने भनेकै पैसा कमाउन र भौतिक सुखभोग गर्न नै हो । कुनै न कुनै काम पाइहालिने स्थिति र त्यहाँको मुद्राको मूल्य नेपाली मुद्राको तुलनामा निकै महङ्गो भएकाले पनि नेपालीहरू त्यहाँ जान मरिहत्ते गर्ने गर्छन् । तर त्यहाँ गएका सबै नेपाली सुखी र खुसी भने देखिँदैनन् । आफ्नो पहिचान र अस्तित्व नै गुमाएर कृत्रिम मानव वा रोबोट जस्तो बनी काम गर्नुपर्ने अवस्थाले कतिपय नेपालीमा भित्री पीडा, असन्तोष, छट्पटी, निराशा र उदासीपन बढेर गएको हुन्छ । कुनै–कुनैले आफ्नो योग्यता र क्षमता अनुसारको काम गरेको भए पनि अधिकांशले भने नेपालमा गाह्रो र लाजमर्दो मान्ने गरेकै काम गरिरहेका हुन्छन् । यो उपन्यासले त्यो पक्षलाई नखोतले पनि अवैध किसिमले त्यहाँ पुगेका कुलेन्द्र र घुरनको कामको प्रकृतिले केही हदसम्म सङ्केत गरेको पाइन्छ । सँगै गएका कुलेन्द्र र घुरनमा पनि कुलेन्द्र ग्रीनकार्डको चक्करमा पर्दा तनावको स्थितिमा रहेको हुन्छ भने घुरनको हकमा अवैध प्रवेशको चिन्ता रहे पनि ग्रीनकार्ड सिर्जित तनाव रहँदैन । उसको काम र बसाइ पनि केही सहज हुन्छ । नेपालमा जस्तो श्रमलाई हेलाँ गर्ने र शारीरिक श्रमलाई त अझ उपेक्षा गर्ने संस्कारको विपरित अमेरिकामा कामलाई सानो–ठुलो नभनी सकेको सबैखाले काम गर्ने संस्कारले पनि त्यहाँ गएका नेपाललाई सहज बनाइदिएको छ । पुँजीवादी देश भएर पनि त्यहाँबाट धेरै कुराहरू सिक्नुपर्ने हुन्छन् जसमा समयको महत्व, श्रमलाई हेलाँ नगर्ने, देखावटी तामझाम र रवाफ नझिक्ने, नियमको परिपालना, अनुशासन जस्ता कुराहरू पर्दछन् ।
उपन्यासमा अमेरिकी समाज र त्यहाँको संस्कार, संस्कृतिका बारेमा त्यति चर्चा नगरिए पनि अमेरिकी समाज नेपाली समाजभन्दा धेरै भिन्न रहेको कुरा घुरनसँग एउटै कम्पनीमा काम गर्ने ज्ञानमाया नामकी युवतीले आफ्नो कोठामा सँगै बस्न गरेको अनुरोधका सन्दर्भमा भन्छे —‘सर्लक्कै आए हुन्छ । यो स्वतन्त्रता भएको देश हो । यहाँ कसैका विषयमा टीका–टिप्पणी गर्दैनन् । के जात हो सोध्दैनन् । के खान्छौ सोध्दैनन्, के काम गर्ने हो सोध्दैनन्, को को बस्छौ सोध्दैनन्, .....तलव कति छ सोध्दैनन्, घण्टाको कति हुन्छ सोध्दैनन्, कुन पद हो सोध्दैनन्... कसैले पनि यस्ता धारा वार्ताका कुरा गर्दैनन् ।’ एक त नेपालमा पूर्ण बेरोजगारीभन्दा अर्ध बेरोजगारी धेरै छन् । खेती–किसान गरेर जीविकोपार्जन गर्नेहरू वर्षमा चार–पाँच महिना मात्र त्यसमा संलग्न हुन्छन् भने अन्य क्षेत्रमा काम गर्नेहरू पनि प्रायः काममा त्यति धेरै व्यस्त देखिँदैनन् । यही फूर्सदिलो अवस्थाले गर्दा पनि नेपालीहरू अर्काको बारेमा टीका–टिप्पणी गरेर समय कटाउने गर्दछन् जुन नेपाली संस्कृति जस्तै बनेको छ । तर घण्टा–घण्टाको काम गर्न पाइने, कामलाई ठुलो–सानो नभन्ने अनि समय र पैसाको महत्व बुझेकाले पनि त्यहाँ मानिसहरूलाई अर्काको बारेमा त्यति चासो र चिन्ता रहँदैन ।
घर–परिवार वा आफन्तजनमा कुनै अनिष्ट भएको वा हुन लागेको कुराको सङ्केत सपनाले दिएको हुन्छ भन्ने मान्यता नेपाली समाजमा रहँदै आएको छ । त्यसमा कुनै वैज्ञानिक आधार नभए पनि मनोविज्ञानले काम गरिरहेको हुन्छ । उपन्यासमा अमेरिका गएको दुई–तीन महिनासम्म पनि कुनै खवर नआएपछि चिन्तामा डुबेकी रामेशकी आमाको भित्री मनमा एकातिर अनेक डर र आशङ्का उब्जिन्छ भने अर्कातिर छोराले अमेरिकाबाट पैसा कमाएर ल्याएको, राम्री केटीसँग बिहे गरेको र घरमा सुख–शान्ति भित्रिएको मीठो कल्पना पनि उब्जिन पुग्छ । मनभित्रको त्यही आशङ्का र सोच सपनाका रूपमा आउन पुग्छ । उनले सपनामा छोराको बिहे हुन लागेको, आगनमा जगिया लगाएको र छोरालाई माला लगाइदिन खोज्दा नसकेको, दूध खुवाउन कचौरा मुखतिर लान खोज्दा ऊ परपर भागेको जस्ता कुरा सपनामा देखाएर लेखकले सपनाले भावि अनिष्टको सङ्केत गरेको हुन्छ भन्ने देखाउन खोजेका छन् । सपनामा मात्र होइन विपनामा पनि उनले अनिष्टको सङ्केत पाउँछिन् । उनी खेतको डिलमा बसेर एउटा गाउँलेले गीत गाएको सुन्छिन्—‘नमुछे आमा दहीमा टीका, नराखे जमरा ।’ त्यस्तो सुनेपछि उनको मनमा अनिष्टको बादल मडारिन पुग्छ र भन्छिन्—‘के त्यस्तो वैरागी गीत गाएको, ठुले !’ अमेरिका गएको छोराको लामो समयसम्म कुनै खवर नपाउँदाको चिन्ता र आशङ्कालाई अशुभ सन्देश बोकेको उक्त गीतले झनै पीडा थपिदिन्छ । त्यसै गरी आगनमा रहेको मकैको सुलीमा बसेर एउटा काग बेसरी कराएको देखाएर लेखकले आगनमा काग कराउनु अनिष्टको समाचार हो भन्ने नेपाली समाजको विश्वासलाई स्थापित गर्न खोजेको देखिन्छ ।
कुल्चिएको संवेदना
अहिले मानिसभित्र संवेदना हराउँदै गएको छ । अझ कतिपय चिन्तकहरूले त मानवीय संवेदना हराउँदै गएको यो अवस्था पछिसम्म रहिरहे दया–माया, पे्रम र सहिष्णुता जस्ता भाव पनि मानिसले पशुबाट सिक्नुपर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । अझै पुँजीवादी समाज, संस्कार र सोचमा त पैसाले मानवीय संवेदनालाई कुल्चिरहेको हुन्छ । मानिसले आफ्नो स्वार्थको लागि केसम्म गर्छ र कतिसम्म गिर्न सक्छ भन्ने भन्ने कुरा विभिन्न घटनाहरूले देखाइरहेका छन् । मानिस मात्रको ठूलो हिस्सा यसरी स्वार्थमा चुर्लुम्म डुबेको भएपनि संसारमा अझै पनि मानवीय गुणहरू प्रेम, संवेदना र सहिष्णुता बाँकी रहेको र विवेक पूर्णतः मरिनसकेकाले नै संसार अझै पनि बाँच्न योग्न नै रहेको छ । पेशागत व्यस्तता, हरेक काम र घटनालाई नाफा–घाटाको रूपमा हेर्ने प्रवृत्ति अनि आन्तरिक र बाह्य परिस्थितिको चापले पनि माानव संवेदना बन्धक बन्ने गरेको वा हराउन थालेको देखिन्छ । प्रस्तुत उपन्यासमा सँगै पढेका र आपसी सल्लाहबाटै सँगै अमेरिका हिँडेका रामेश, कुलेन्द्र र घुरनमध्ये रामेश बाटोमा बिरामी पर्छ । तर मानव तस्करहरूको आदेश र निर्देश अनुसार लुक्दै र भाग्दै हिँड्नुपर्ने अवस्थाका उनीहरू बिरामी परेको साथीलाई अस्पताल लगी उपचार गराउन सक्ने स्थितिमा हुँदैनन् । अवैध मार्गबाट आउनु पर्दाको अवस्थाले रामेशको उपचारतिर लाग्दा आफूहरू समातिने वा मारिने अनि जग्गा बेचेर र ऋण काढेर ल्याएको रकम डुब्न हुनाले उनीहरू त्यस्तो दुस्साहस गर्न पनि सक्तैनन् । यसैले ज्यादै अशक्त अवस्थाको रामेशलाई पनि उनीहरू आफूहरूसँगै जवरजस्ती हिँडाउन विवश हुन्छन् । अमेरिका नपुग्दै बाटोको जङ्गलमा रामेशको मृत्यु हुन्छ । यौटा सहपाठी र सहयात्री साथीको मृत्युपछि संवेदनशील हुँदाहुँदै पनि सारा संवेदनालाई परिस्थितिको बन्धक बनाउन पुग्छन् । खाल्डो खनेर गाड्नेसम्मको सामान्य अन्त्येष्ठिसम्म पनि गर्न नसकी त्यहीँ स्याउलाले छोपछाप गरी हिँड्छन् । उनीहरूकै समूहका कतिपय मानिस ट्रकभित्र, कतिपय डुङ्गामा र कतिपय जङ्गलमै मरी बेखवर बन्दछन् । कुनै जनावर वा पशुको जति पनि तिनको जीवनको मूल्य हुँदैन । हुन त दास युगदेखि नै मालिकले दासहरूको जीवनलाई खरिद विक्रीको वस्तु बनाउँदै आएका थिए र अहिले पनि कतिपय श्रमजीवी र गरिवहरूको जीवन त्यसरी नै मूल्यहीन बनाइएको छ । कैयन् व्यक्तिहरू वेवारिसे लास बनेर मर्न विवश छन् । तर यस उपन्यासका पात्रहरूको दुर्दशा वाध्यताले नभएर छिटो छिटो धेरै पैसा कमाउने लालसाले निम्त्याएको हो । पढ्दै गरेका र घरमा पनि खान–लाउनको त्यति समस्या नभएका निम्नमध्यम वर्गका युवाहरू यसरी आफ्नो पढाइ अनि घर–परिवार छाडेर हिँड्नु हाम्रो समाजमा भित्रिरहेको पुँजीवादी–उपभोक्तावादी विकृत संस्कारको उपज हो ।
परिस्थितिले विवश पारेर साथीको शवलाई त्यसरी स्याउलाले छोपेर हिँड्नुपरे पनि कुलेन्द्र र घुरन आफूले साथीप्रति गर्नुपरेको व्यवहारप्रति पीडा महसूस गर्छन् । एकातिर सँगै पढेको र सँगै आएको साथीप्रतिको माया छ भने अर्कातिर साथीको परिवारलाई कसरी र के भनेर खवर पु¥याउने भन्ने पीडा र ग्लानि पनि छ । यसैले उनीहरू साथीको घरमा खवर पु¥याउन पनि सक्तैनन् तर कुलेन्द्रलाई साथीको सम्झनाले व्यथित तुल्याउँछ र काम गर्दा गर्दै पनि बेला बेलामा टोलाउन पुग्छ । उपन्यासमा रामेशको मृत्युलाई अत्यन्त मार्मिक तर स्वाभाविक रूपमा प्रस्तुत गरिएको छ । परिस्थितिले थिचिएर बन्धक बनेको वा स्वार्थले मेटिँदै गरेको मानवीय संवेदनालाई रामेशको मृत्यु–प्रकरणबाट देखाउन खोजिएको छ ।
ग्रीनकार्डको लालसा
अमेरिकामा पुगेपछि अधिकांश नेपालीहरू ग्रीनकार्डको लालसा बोकेर हिँडेका हुन्छन् । ग्रीनकार्ड पाएपछि आवत–जावत गरिरहन, ढुक्कले लामो समयसम्म बस्न र काम गर्न सहज हुने भएकाले उनीहरू यसको प्राप्तिमा तल्लीन रहन्छन् । यसैले अमेरिका छिर्न हरप्रयास गर्ने र जोखिम मोल्नेहरू ग्रीनकार्ड पाउनका लागि पनि उसैगरी हरप्रयास गर्ने गर्दछन् । यसका लागि एउटा उपाय अमेरिकी महिलासँग (नेपाली महिला अमेरिका गई त्यहाँका पुरुषसँग बिहे गर्नेचाहिँ अपवाद मात्रै हुन्छन् ) कागजी बिहे गर्नु पनि हो । त्यहाँका महिलासँग बिहे गरेको निश्चित समयपछि ग्रीनकार्डका लागि आवेदन दिन सकिने भएकाले कतिपयले त्यो बाटोको खोजी गर्छन् । कागजी बिहे देखाएर ग्रीनकार्ड लिने अनि पछि आवश्यक पर्दा सम्बन्ध विच्छेद गर्ने परिपाटी त्यहाँको समाजमा सामान्य देखिन्छ । यसलाई बुझेका त्यहाँका कतिपय महिलाले यस्तै खाले नक्कली विवाहको धन्दा चलाउँछन् । यसरी नक्कली बिहे गरेर ग्रीनकार्ड बनाउन सहयोग गरिदिए वापत ती महिलाहरूले बारम्बार ठूलो रकमको माग गरिरहन्छन् अनि नेपालीहरू चौटा खान गएकी बूढी झोलमा डुबेर मरेझैं हुन्छन् । यो तीतो यथार्थ र मार्मिक अवस्थालाई उपन्यासमा कुलेन्द्रका माध्यमबाट प्रस्तुत गरिएको छ । जेसिका नाउँकी कालो जातकी केटीसँग कागजी बिहे गरेको कुलेन्द्रले उसलाई पैसा दिँदा दिँदा आत्तिएपछि बसेको ठाउँ नै छोडे अन्यत्र सर्छ ।
ग्रीनकार्डको लालसा बोक्नेहरूमा व्यक्तिगत सुख–सुविधा बाहेक अरू कुनै कुराको पनि वास्ता रहँदैन । आफू जन्मे–हुर्केको देश र समाजप्रतिको दायित्वलाई उनीहरू पूर्णतः बिर्सन पुग्छन् । अध्ययन वा रोजगारीका लागि केही समय त्यहाँ गएर ज्ञान, सीप र अर्थोपार्जन गर्नुलाई स्वाभाविक र कतिपय अवस्थामा आवश्यक मान्न सकिए पनि पी.आर. वा ग्रीनकार्ड लिएर देशको माया मारी उतै बस्नुचाहिँ नितान्त स्वार्थी र कृतग्न प्रवृत्ति हो । देशमा कुशासन र भ्रष्टाचार बढेर आम जनतामा कुण्ठा र निराशा उत्पन्न भएको अवस्थामा पनि त्यसका विरुद्ध आवाज उठाउनुको सट्टा विदेश पलायन हुनु भनेको त्यही खराव अवस्थालाई निरन्तरता दिन सहयोग पु¥याउनु हो । एकातिर रेमिट्यान्सको आर्थिक लाभ र अर्कातिर आफ्नो गलत नीति र कार्यशैलीको विरोध गर्नेहरू विदेश पलायन भइदिँदा सरकार आफ्नोलागि दोहोरो फाइदा देख्छ । यसैले ऊ त्यसलाई रोक्न अग्रसर हुँदैन । सिर्जनशील र परिश्रमी युवाहरू विदेश पलायन हुनु र राज्यले त्यसलाई रोक्नुको सट्टा उत्प्रेरित गर्नुले देशको भविष्यमाथि नै प्रश्न उठाएको हुन्छ ।
शिल्प संरचना
उपन्यासको पृष्ठभूमि बोकेको ‘उद्बोध’ शीर्षक बाहेक जम्मा २३ परिच्छेदमा रहेको यस उपन्यासको विषय अमेरिका जान मरिहत्ते गरी अवैध बाटोबाट छिर्ने गरेका नेपालीहरूको दुर्दशालाई लिएर लेखिएको हुँदा यसको कथानक निकै मार्मिक, यथार्थपरक र समसामयिक रहेको छ । समाजशास्त्री र राजनीतिक चिन्तक गणेशदत्त लेखकको प्रतिनिधि पात्रका रूपमा रहेका छन् । उनी नेपाली समाज, संस्कृति र राजनीतिको विश्लेषण मात्र गदैनन् जीवन र जगत् बारे पनि सोच्दछन् र बाँच्नुको औचित्य बारे विचार गर्छन् । यसैले उपन्यासको सुरुमै उनलाई अघि सारेर लेखकले आफ्ना विचारलाई प्रस्तुत गर्न लगाएको देखिन्छ । उपन्यासको पृष्ठभूमिको रूपमा सुरुमा गणेशदत्त मार्फत् लेखकको विचार प्रस्तुत हुनु र अन्त्य पनि उनै गणेशदत्तकै भनाइबाट गरिनुले उपन्यासको संरचना र बनोट राम्रैसँग मिलाइएको देखिन्छ । तर कथानक सबल र सुपुष्ट हुँदाहुँदै पनि सो अनुरूपको भाषिक सबलता र शैलीगत सुन्दरता भने आउन सकेको छैन । उपन्यासको वाक्य गठन कतिपय ठाउँमा खज्मजिएको देखिन्छ भने प्रत्यक्ष र अप्रत्यक्ष कथनलाई छुट्याउनै नसकिने गरी छ्यासमिस पारिएको छ । कतिपय ठाउँका छोटा वाक्यहरूले दिएको मिठास सबै ठाउँमा निर्वाह हुन सकेको छैन । कतिपय ठाउँमा अति लामा वाक्यहरूको प्रयोगले भाषिक प्रभावलाई क्षति पु¥याएको देखिन्छ —‘‘त्यो तस्वीरले उसलाई डलर कमाउने देशको वैधानिक नागरिक बन्न गिज्याइरहेको, खिसी गरिरहेको र कता कता उपहास गरिरहेको जस्तो गरी ग्रीनकार्डको घायल आत्मा जहरले पोल्दाझैं पोलिरहँदा उसलाई आदेश भयो भित्रबाट नंवर पाँचको टेबल सफा गर छिटो, ग्राहक बाहिर उभिएर टहलिरहेका छन्’’ (पृ.१७९) ।
प्रत्यक्ष र अप्रत्यक्ष कथन र तिनको विन्यासतिर ध्यान नदिइएको हुँदा कतिपय ठाउँमा लेखकको र पात्रको भनाइ छुट्याउन नसकिने अवस्था रहेको छ भने कतिपय ठाउँमा भनाइको स्पटता आउन नसकी कलात्मक क्षति हुन पुगेको छ—‘‘केही कुरा नभएर हो दिदी भनेर मनभित्र ती केटीका बारेमा उब्जिएका तर्कनाका तरेली पानीको बाँध भत्के जस्तो गरी हृदयान्तरबाट एकैपल्ट ह्वात्तै ओइरो लागेको भए पनि त्यो कुरा दिदीलाई भन्न सकेनन्’’ (पृ.२३४) । ‘‘आफू भेट्न गएपछि उहाँ पनि एकपटक यहाँ आउनुहुन्छ होला पक्कै घुरन कसरी बसेको छ भनेर बुझेर घर गएर बुबा आमालाई भन्न पनि त प¥यो नि उहाँहरूले’’ (पृ.२६५) । पात्र मार्फत् भन्नुपर्ने लामा लामा भनाइहरूलाई पनि सोझै लेखकले आफ्नै भाषामा भन्दा त्यसले स्वाभाविकता र कलात्मकता दिन सकेको छैन । नेपाली राजनीतिको विकृत अवस्थाको व्याख्या पात्रद्वारा संवादको शैलीमा नगरी लेखक आफैंले भनेको अवस्थाले उपन्यासको प्रभावलाई क्षति पु¥याएको छ । कतै कतै यस्ता वाक्य विन्यासगत कमजोरी देखिए पनि सबैतिर त्यो स्थिति देखिँदैन । यसैले समग्रमा उपन्यासको भाषा र शैलीगत अवस्था भने सरल र कलात्मक नै रहेको पाइन्छ ।
वैचारिक स्थिति
अवैध रूपमा अमेरिका प्रवेश गर्नेहरूको दुर्दशा देखाउनु नै उपन्यासको उद्देश्य भएकाले उक्त उद्देश्यमा उपन्यास सफल नै देखिन्छ । लेखक आफैंले भोगेको घटना नभई सुनेकै आधारमा लेखिएको भए तापनि घटनाको विकास र तारतम्यता प्रभावकारी लाग्दछ । अमेरिका जाने सोच बनाउने तीन जना विद्यार्थीहरूको घरायसी अवस्था र तिनको निम्नमध्यम वर्गीय सोच र चिन्तनलाई देखाउन उपन्यासका तीनवटा अनुच्छेद खर्चिएको छ भने त्यसपछिका अनुच्छेद अमेरिकाको अवैध यात्रातिर अगाडि बढ्छन् । ग्रीनकार्डप्रतिको आशक्ति देखाउन कुलेन्द्रले मोटो रकम खर्चेर कागजी बिहे गरेको र पछि त्यसले दिएको तनाबलाई देखाएर त्यस्तो आशक्तिप्रति सचेत रहन सन्देश दिएको देखिन्छ । लेखकको वैचारिक दृष्टिकोण गणेशदत्त मार्फत् व्यक्त भएको छ । आफ्ना विचार र धारणाहरू राख्नकै लागि लेखकले गणेशदत्त नामक एकजना समाजशास्त्री तथा राजनीतिक चिन्तकलाई अघि सारेका छन् । उपन्यासको सुरु र अन्त्यमा उनले व्यक्त गरेका देशको अवस्था, राजनीतिक विकृति र विसङ्गति, चरम विभेद, भ्रष्टता र वेइमानी, नेताहरूको दलाल र ठेकेदारहरूसँगको संलग्नता, इमानदार र स्वाभिमानी व्यक्तिहरू हरेक अवसरबाट बञ्चित हुनुपर्ने स्थिति, युवा पलायनको अवस्था, मानव जीवन र त्यसको सार्थकता जस्ता कुराहरू वास्तवमा लेखककै दृष्टिकोण र मान्यता हुन् । यसरी गणेशदत्तका माध्यमबाट देशको अवस्था बारे बताइरहँदा विश्वव्यापी रूपमा बढ्दै गएको विकृत पुँजीवाद र उपभोक्तावाद अनि त्यसले हाम्रो जस्तो देशमा पारेको विकृत प्रभावका बारेमा भने कुनै चर्चा गरेको पाइँदैन । युवाहरू यसरी कामको खोजीमा विदेश तर्फ लाग्नुमा सरकार नै दोषी रहेको ठहर गरिएको छ । विभिन्न अरव देशहरू र मलेशिया जस्ता देशहरूमा आफ्नो श्रम बेच्न जानेहरू अवश्य पनि देशभित्र रोजगारको अभाव भएर गएका हुन्, पैसा कमाउने रहरले नभएर जीविकोपार्जनको वाध्यताले गएका हुन् तर अमेरिका, युरोप, अष्ट्रलिया र जापान जस्ता देशमा जानेहरूचाहिँ बाध्यताले भन्दा छिटो र धेरै पैसा कमाउने लालसाले गएका हुन्छन् । यो प्रवृत्ति पुँजीवादी उपभोक्तावादी प्रवत्ति हो । यसलाई लेखकले कहीँ कतै उल्लेख गरेको पाइँदैन । प्रगतिशील विचार राख्ने आलोचनात्मक चेत भएका लेखकको ध्यान यतातिर पुग्न नसकेको देखिन्छ ।
अमेरिकामा कुलेन्द्र र घुरनसँग गणेशदत्तको भेट भई रामेशको मृत्यु बारे जानकारी पाउँदा गणेशदत्तको मनमा उब्जिएको तरङ्ग भन्दै देशमा भएको अव्यवस्था, भ्रष्टता, नीतिहीनता, विभेद, विकृति, विसङ्गतिप्रति तीव्र विरोध र घृणाका स्वरुहरू उठाउनु त्यति स्वाभाविक लाग्दैन । अमेरिका हिँडेको ठूलीआमाको नाति रामेशलाई खोज्दै हिँडेको अवस्थामा यसरी अनपेक्षित र अप्रत्यासित रूपमा उसको त्यस्तो दर्दनाक मृत्युले उनी स्तब्ध र पीडित बन्नुपर्ने हो । रामेश र उनको परिवारलाई सम्झेर शोकग्रस्त हुनुपर्ने हो । तर उक्त अप्रत्यासित खवरले उनको मन देशको शासन सत्ता चलाउनेहरूप्रतिको विरोध र घृणामा परिणत हुन्छ । उनी यो सब घटना हुनुमा रामेशको परिवार र परिस्थितिलाई होइन देशको शासन व्यवस्था चलाउनेलाई जिम्मेवार ठान्दछन् । हुन त शोकको घडीमा पनि घटनाको प्रकृति अनुरूप आक्रोश उत्पन्न नहुने होइन । मृत्युको कारण स्वाभाविक नभएर हत्याबाट भएको अवस्थामा हत्याराप्रति आक्रोश र बदलाको भावना उत्पन्न हुनु स्वामाविक हुन जान्छ । तर रामेशको मृत्यु अप्रत्यक्ष रूपमा युवालाई विदेश पठाउन उद्घत देशको शासन व्यवस्थाका कारण भए पनि प्रत्यक्षतः छिटो–छिटो धेरै पैसा कमाउन खोज्ने व्यक्तिको ईप्सा वा लालसा नै हो । नेपालमा र विश्वव्यापी रूपमा सङ्क्रमित यस पुँजीवादी–उपभोक्तावादी संस्कृतिलाई मुख्य कारण नदेख्नु वा त्यतातिर ध्यान नदिनुलाई यसको कमजोरी मान्न सकिन्छ । रामेशको मृत्यु–प्रसङ्गपछि तीनजना पात्रका वीच राज्यको नीतिका अलावा पुँजीवाद र उपभोक्तावादको सङ्क्रमण विषयमा संवाद गराउन सकेको भए अझै स्वाभाविक र वैचारिक दृष्टिले पनि परिपुष्ट हुने थियो ।
उपन्यासका प्रमुख पात्रहरू प्रशस्त पैसा कमाउने लालसा वा ईप्साले ने ठूलो जोखिम उठाएर दलाललाई मोटो रकम दिई अवैध बाटोबाट अमेरिका हिँडेका हुन्छन् । कलेज पढ्दै गरेका र घरको आर्थिक अवस्था त्यति साह्रै दयनीय नभएका उनीहरू बाध्यताले भन्दा पैसा कमाउने तीव्र चाहना वा लालसाले अमेरिका गएको हुँदा उपन्यासको शीर्षक ‘ईप्सान्त’ राखिएको छ । ईप्सान्तले ईप्सा वा लालसाको अन्त्य भन्ने बुझाउँछ । यहाँ ईप्सा जागृत भएर नै कलेज पढ्दै गरेका विद्यार्थी जोखिम उठाएर अमेरिका गएका हुन् । उपन्यासमा ईप्साको अन्त भएको कतै भेटिँदैन । बरु ईप्सा राखेर अमेरिका हिँडेका तीनजना विद्यार्थीमध्ये एकजनाको बीच बाटोमै निधन हुन्छ । यहाँ ईप्साको अन्त्य होइन बरु पैसा कमाउने तीव्र ईप्सा राख्ने व्यक्तिकै अन्त भएको छ । शायद यसैलाई आधार मानेर होला लेखकले साङ्केतिक रूपमा ईप्साको अन्त भएको भन्दै उपन्यासको शीर्षकै ‘ईप्सान्त’ राखेका छन् । यसैले शीर्षक त्यति सार्थक जस्तो नलागे पनि यसलाई साङ्केतिक र व्यङ्ग्यात्मक अर्थमा लिन सकिन्छ । जे होस्, लेखकले उपन्यास मार्फत् अवैध रूपमा अमेरिका जानेहरूको दुर्दशाको चित्रण गर्नुका साथै आफ्ना विचार र दृष्टिकोणलाई पनि गणेशदत्त नामक पात्र मार्फत् प्रस्तुत गर्नुले यस उपन्यासलाई सामाजिक यथार्थका साथै वैचारिक उपन्यासका रूपमा समेत लिन सकिन्छ ।
पोखरा, कास्की ।