चियबारीमा दिनभरि चियापत्ती टिपेकोले अन्तरीको टाउको कटकट दुखिरहेछ। छोरा श्यामचाहिँ अघिदेखि स्कूलको पाठ घोकिरहेको छ। एकछिनपछि घरमास्तिरबाट श्यामको बाबु हर्के मातेर आउँछ अनि धरखरिँदै घरभित्र स्वाट्ट पस्छ। श्याम त्यसरी पढिरहेको देखेर एकछिन चुप लाग्छ, त्यसपछि श्यामलाई कराउन थाल्छ, “ए श्याम! तेरो आमा कहाँ छे? घरमा बूढा हुँदाहुँदै पनि त्यसलाई लाज लाग्दैन? त्यसको कामदारीको मुन्टो च्वाट्ट छिनाइदिइन भने म बाबुको छोरो होइनँ।”
श्याम केही नबोली त्यतिकै बसिरहन्छ। त्यसरी केहीबेर कराएपछि ऊ तल्लो गाउँतिर लाग्छ। श्यामले पढ्न फेरि सुरु गर्छ। अन्तरीले करैले मात्र रातीको खाना पकाउन थाल्छे केही बेरपछि श्यामको बाबु घरमा आएर श्यामले पढ्दै गरेको किताब खोसेर च्यातचुत पारिदिन्छ। श्याम जति जोर-जोरले रुन्छ ऊ उति जोर-जोरले कराउन थाल्छ, “तैले पढेर केही नाप्दैनस्? नपढ, पढेर केही हुँदैन। काम पाउने होइन। तँ आमा-छोराको चाल मलाई पटक्क मन परेको छैन।”
अशक्त अन्तरीले चुलामा सोटेले फूँ-फूँ गर्दै आगो बाल्ने कोसिस गरिरहेको बेलामा हर्केले चुलाको मुखमा नै एक लात लगाउँछ। त्यसपछि अन्तरीलाई जथाभाबी कुट्न थाल्छ। उसले कुटाइ सहिरहन्छे। आमालाई त्यसरी कुटेको देखेर श्याम चिच्याई-चिच्याई रुन थाल्छ। अलिक माथि डाँडामा उभेर अघिदेखि सुनिरहेको दलबहादुर काकालाई उनको एकजना छिमेकी उनीकहाँ आएर सोध्छ, “तल कराउने को हो हाँ, काका ? झगडा पो भयो क्या हो?”
“झगडा होइन, हर्केको तमाशा हो। प्रत्त्येक साँझ मातेर आउँछ अनि छोरा र बुढीलाई कुट्छ। बिचरी अन्तरी सुख-शान्तिले कहिल्यै बस्न पाइन। हर्केको बाबुले पनि त्यसरी नै छोरा-छोरी र बूढीलाई मात्र होइन आमा-बाबालाई समेत कुट्नेगर्थ्यो। अब बाबुको रोग छोरालाई टाकटुक सरेको छ।” त्यति भनिराखेर दलबहादुर काका आफ्नो घरतिर लाग्छन्।
भोलि बिहान दलबाहदुर काका हर्केलाई सम्झाउनु जाँदा के भनुँभनुँ हुन्छ—हर्केले भान्साघरअघिको सानो आँगनमा दाउरा चिर्दै रहेछ, अन्तरीले अगेनामा आगो जोड्दै रहेछ अनि श्यामचाहिँ च्यात्तिएको किताबका पन्नाहरू एक-एक गर्दै भातका सिताहरूले टाल्दै रहेछ। तर त्यो एउटा दिनभरि अन्तरीलाई चियाबारीमा काम गर्न मनै लागेन। उसको सर्वाङ्ग शरीर दुखिरह्यो। चियाबारीको एउटा कान्लामा बिसाएर बसिरहेको बेलामा उसको सहकर्मी साथीले सल्लाह दिँदै भन्छे, “ए अन्तरी त्यसरी कति दिन सहेर बसिरहन्छेस् बरुँ माइत गएर बस्न!” तर अन्तरी भने चुप लागेर प्राण नभएको मूर्तिजस्तो बसिरहन्छे।