म भायलिनको धुन नबुझ्ने मान्छे
म आकाशको कुरा नबुझ्ने मान्छे
म मेरै सपनाको मूल्यमा ऋणग्रस्त छु
यद्यपि विपनालाई आस्थाको काँधमा बोकेर
विश्वासको गोरेटोबाट
सङ्कल्पको पाइला हिँड़िरहेछु ।
मेरो मनको भीरबाट पलायन
नैराश्य र संत्रासहरू खसिसकेका छन् ।
म हारेको अनुहार नबोक्ने मान्छे
म विफलताको घुम्टो नओड़्ने मान्छे !
विशाल खेतको पाकेको बाली काट्न
लालयित छ यो मन
यसैले यो उमेरसम्म
तप्त बगर-बगर हिँड़िरहेछु ।
कऱ्याङ-कुरुङले आकाशमा वक्र रेखा कोरिरहेछ
तर म अलिकति पनि आत्तिएको छैन
किनभने मभित्र शपथ लिएको एउटा मान्छे छ
जुन मान्छेको सुनाखरी सङ्कल्प छ
हाँगोको चरामात्र देखिरहेको दृष्टि छ !
म यो कोलाहलदेखि अत्तालिएर नभाग्ने मान्छे
म यो दिशाहीन जीवनदेखि कहालिएर नरुने मान्छे !
गाँठाहरू फुकाइरहेछु,
काँड़ाहरू पन्साइरहेछु
बसे लेऊ लाग्छ, हिँड़े छेउ लाग्छ
म त जीवनलाई गतिमा विश्वास गर्छु
म त जीवनलाई प्रगतिमा विश्वास गर्छु
म त जीवनको अग्रगतिमा विश्वास गर्छु ।