यो कोलाहलमा सधैँ एक्लो छु,
नितान्त एक्लो छु म !
दुःखी छु अचेलभरि
यो मेरो हार हो या जीत
न त यसलाई म हार भन्न सक्छु
न त यसलाई म जीत भन्न सक्छु
न त यसलाई म प्रीत भन्न सक्छु
न त यसलाई म गीत भन्न सक्छु
हो, म जान्दछु-
यो मेरो हार पनि होइन
यो मेरो जीत पनि होइन
यो त समयको क्रुर प्रहार मात्र हो ।
यहाँ मैले कसैलाई जितेको पनि छैन
यहाँ मैले कसैसित हारेको पनि छैन
यहाँ अब कसैसित /कसैसँग हार्नु पनि छैन
हार भनेको त युद्धभूमिबाट
पिठ्यूँ फर्काएर जीवनदेखि पनि अत्तालिएर
गन्तव्यदेखि विमुख हुँदै बीचबाटोमा
थुचुक्क बस्नु खोज्नु हो ।
तर म यो कोलाहलमय संसारदेखि-
कहालीलाग्दो निस्तब्ध रातहरूदेखि-
निस्सासिएर जीवनदेखि भाग्न चाहेको पनि छैन
अत्तालिएर आफ्नै पद्चापका प्रतिध्वनिहरूदेखि
लखेटिएर भागिहिँड़ेको पनि छैन
आफ्नै प्रतिबिम्ब देखेर
आफ्नै प्रतिध्वनि सुनेर
यो मोड़देखि विलखबन्द परेर
पछि फर्किन पनि चाहेको छैन
मैले कसैसित मनका दुःख्ने पीरहरू बताइहिँड़ेको पनि छैन
मैले यस्तो र उस्तो भो भनेर भनिहिँड़ेको पनि छैन
मैले कसैलाई मनका खाटा घाउहरू देखाइहिँडेको पनि छैन ।
घाउ जहाँ पनि / जहिले पनि जत्रै पनि दुःख्छ
जिन्दगी जस्तै यो सधैँ दुःखी रहन्छ
फूर्सदमा पनि दुःख्ने , बेफूर्सदमा दुःख्ने
यो जिन्दगी नदुखेको कहिले कसको छ र ?
साँच्चै जिन्दगीको सम्पूर्ण कसमहरू खाएर भन्छु
मैले तिमीलाई धेरै माया गरेको छु
मेरो जिन्दगीको सम्पूर्ण इज्जतहरू छोएर भन्छु
म तिमीलाई साँच्चै माया गर्छु
म तिमीलाई साँचो प्रेम गर्छु ।
तिमी चाहे पत्याउ चाहे नपत्याउ –कविता
जिन्दगीको हिसाब-किताब साँच्चै कताकताबाट
नमिल्नु खोज्दो रहेछ
भाजक-भाज्य-भागफल मिलेर पनि
भागशेष नमिलेर उब्रिन्दो रहेछ ।
मैले आजसम्म यस्तै के के बुझेको छु तिमीलाई
म बुझ्छु / म जान्दछु तिमीलाई
तिमीभित्र पनि धेरै भत्कोसहरू छन्
स्वर्णिम भविष्यका कल्पनाहरू छन्
अरूलाई सजिलै बताउन नसक्ने बातहरू पनि छन्
तिमीलाई बुझ्नु मैले कुनै ठूलो योग-साधना गरिरहनु पनि परेको छैन
तिमीभित्रको भाषा बुझ्नु विश्वकोश पल्टाइरहनु पनि परेको छैन
तिमीभित्रको तिमी बुझ्नु मैले सगरमाथा चड़ेर हेर्नु परेको छैन
म जान्दछु –म बुझ्छु तिमीलाई
तिमीभित्रको तिम्रो मन दुङ्गा होइन
जो पग्लन नसकेर सधैँ कठोर हुने गर्छ ।