18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मान्छेढुङ्गा र ढुङ्गामान्छे

कविता कृष्ण उपाध्याय February 26, 2020, 5:40 am
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

तिमीले देख्यौ त हनि

म ढल्किएर तिम्रा अधर खोजी रहँदा

मेरा लामा लामा केशले

तिम्रा मुख छोपी रहेँ

डाँडामाथिको चिसो बतासको बेगमा

मेरा केशहरु तिम्रा घाटिमा गलबन्दी बनी रहेँ ।

मेरा अधर र केश तिम्रा माथिहुँदा

मेरो हृदयले पनि त तिम्रो हृदय चुमिरह्यो

तिमीलाई झट्काइरह्यो

झस्काइरह्यो

मीरा मीरा भनिरह्यौ

म पनि झस्की रहेँ

झट्की रहेँ

तिम्रोले पनि मेरो हृदय चुमिरह्यो

मेरा अधर र केश तिम्रा माथी हुँदा ।

तिमी न हौ

अर्को हावाको झोक्काले

मेरा लामा लामा केश उडेर तिम्रो मुख उघारेपछि

तिमीलाई हृदयको स्पन्दन थाह भएन

हृदयामा विद्युतिय संचार रहेन

तिम्रो प्रेम स्पन्दन नहुँदा

निर्जिव ढुङ्गा जस्तो भयौ ।

फाइदा बेफाइदाको हिसाब गर्दा गर्दा

तिमी प्रेम नबुझ्ने क्याल्कुलेटर भयौ ।

क्याल्कुलेटर

न मेरा केश गन्न सक्छ

न मेरा हृदयका स्पन्दन गन्न सक्छ

न त अधरामृत बुज्छ ।

मुढ मान्छे जस्तो

स्पन्दनहीन ढुङ्गा जस्तो ।

मान्छेढुङ्गा भन्दा ढुङ्गा मान्छे बेस

त्यसैले त हनि

म ढुङ्गामा मान्छे खोज्छु

म प्रस्तर मूर्ती अगाडि उभिन्छु

उसैलाइ अङ्गालो हाल्छु

उसैलाइ मेरो प्रेम पोख्छु ।

थाह छ नि उ बोल्दैन

तर अङ्गालोमा बाधेर हृदय लगाउँदा

म उस्ले सुनेको अनुभव गर्छु

म हाँस्दा उ हाँसेको देख्छु

मेरो प्रेमार्पणमा प्रेम अनुभूत गर्छु ।

यो मूर्ती मेरो प्रेम हो

प्रेमको आस्था र विश्वास हो ।

प्रेम विश्वास न हो

म यही विश्वासलाई प्रेम गर्छु ।

हनि तिमी जाउ

अन्तै कतै कतै

मान्छे ढुङ्गा खोज

म ढुङ्गामान्छेको आलिङ्गनमा प्रेम बाँच्छु ।

आस्था बाँच्छु

म ढुङ्गामान्छेसँग प्रेमालाप गर्छु ।

लन्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।