पलङमा पल्टिएर रूपमतीले आफूलाई शान्त गराउने अनेक कोशिस गरी तर उसले आफ्नो मनको पीडा पटक्क भुल्न सकेन । आफू पूर्ण समर्पित भएर पनि आफू हारेको महशुसीले उसको दुख्ने पाटोपटि झन् दुखिरह्यो । आफूसितै पलङ्ग अनि कोठाका सम्पूर्ण बस्तुहरू पनि दुखिरहेका अनुभूतिमा “आय्या ! आय्या !” भनेर कयौंपल्ट कराई ।
“हिमाल जलेर ज्वाला भएछ” भन्ने गीत उसले धेरैपल्ट सुनेकी थिई । आज, कोठाको सानो खिर्कीबाट हेर्दा उसले ‘कञ्चनजङ्गा’ साँच्चै जलेको देखी । त्यति मात्रै होइन डढ़ेर ठुस्स गनायो पनि । खिर्की बन्द गरेर फेरि पलङमा पल्टी । त्यो एउटा दिनभरि उसलाई मरूँ मरूँ जस्तो लागिरह्यो ।