18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ढिडो खाने केटा

हास्यव्यङ्ग्य विश्व विनोद April 11, 2019, 10:23 am
विश्व विनोद
विश्व विनोद

मुख्य मन्त्रिको निवासमा गाउँले मेरी आमा प्रबिष्ट हुनुभयो । त्यो भव्य महलको झकिझकाउ देखेर आमाको मुख आँ नै परिरह्यो कारण गाउँका साधारण मानिसहरु पनि त्यो ठाउँमा शासक भएर नेतृत्व सम्हाल्न पुग्छन् भन्ने कल्पना बाहिरको कुरा थियो क्यार । अझ मुख्य मन्त्रिको निवासको वरपर सजाईएका फूलले साँच्चै सुखी नेपाली सम्बृद्ध नेपालको झल्को दिन्थे होलान् ।

आमालाई आज मुख्य मन्त्रिले भेट हुने दिन जुराएका थिए । मुख्य मन्त्रिको निजी निवासमा मुख्य मन्त्रिलाई भेट गर्न पाउनु मेरो आमाले अहोभाग्य ठान्नुभएको थियो । निजीनिवासको गेटैमा अजंगको कुकुरले भुकेपछि आमाका्े एकाग्र ध्यान भंग भयो । आमाले सोच्नुभयो — गाउँको साधारण केटालाई पनि सुरक्षाको आवश्यकता पर्ने रहेछ र त कुकुर पाल्न थाल्यो । अझ उहाँ सोच्दै जानुहुन्थ्यो — मेरो घरमा आउँदा उसलाई हाम्रो घरको कुकुरले पुच्छर हल्लाएर स्वागत गथ्र्यो, किनकी उ निकै परिचित थियो घर आगन साथै गोठका गाई बस्तु समेत सम्म ।

पहिले निकै चेपारे पालेर बोल्ने त्यो जुम्सो, ख्याउटे राजनीतिक कार्यकर्ता अहिले भ्याट्ट भुँडी लागेर अटेसमटेस सोफामा बसिरहेका थिए । अझ उ आवश्यकता भन्दा पनि कम बोल्ने गथ्र्यो । आमाले सोच्नु भयो — ठूलो मानिस बनेपछि कम बोल्नु पर्छ । पहिले घरमा राजनीति गर्ने बेलामा आउँदा उ ग्याँष्ट्रिकको रोगी थियो तर अहिले उसलाई उच्च रक्तचाप र मधुमेहको रोगले सताएको थियो । चिया पिउन हुरुक्क गर्ने उ , आजकल चिनी नहालेको कफि पिउने हैसियतमा पुगेको थियो । आमाको मनमा कुरा खेल्यो — सायद राजनीतिले उसलाई यो हैसियतमा पुर्यायो ।

घरमा बिहान बेलुका बाध्यताले ढिडो खादै गर्दा उ बेला बेलामा ननिम्त्याए पनि ढिडो खान टुप्लुक्क आईपुग्थ्यो । एक हप्ताको भोको मानिस झैं खपाखप सास नफेरी उस्ले ढिडो खाने गथ्र्यो । तर आज मुख्य मन्त्रालयको भान्सामा निकै स्वादिष्ट खानाहरु पाकिरहेका थिए । गाउँमा खाने हैसियत छैन भन्ने उसको यो हैसियत कसरी पुग्यो भनेर आमा गम खाईरहनु भयो । अझ बिदेशी पकवान आमाको अगाडी टक्य्राईदा आमाले खाने तरिका नजानेर सातो उडाउनु भएछ । आमालाई लाग्यो — छिटो कायापलट ल्याउनु छ भने राजनीति उत्तम उपाय हो ।

जाडोको बेला थर्थर काँपेको त्यो बेलाको तन्नेरी केटाको आङमा अहिले अत्तरका बास्ना आउँदा र चिटिक्कका कपडा देख्दा आमाको मन निकै प्रफुल्लित थियो । त्यो बेला भूमिगत भएर होला फोटो खिच्न नमान्ने त्यो तन्नेरी केटोले आज बिभिन्न मुद्राका फोटाहरु मुख्य मन्त्रालयका भित्तामा रङ्ग्याएको थियो । वाह, भित्तामा ठूला ठूला मानिससँग फोटो खिचेर टाँग्न र रबाफिलो हुनु पर्दा राजनीति नै उपयुक्त बाटो रहेको आमाको ठम्याई रह्यो । अझ ढिँडो खाने हैसियत नहुने मुख्य मन्त्रिकी श्रीमति त्यो दिन मिष्ठान्न भोजन ग्रहण पछि डकार्दै गरेको मेरी आमा अचम्मित भएर हेरिरहनु भयो ।

भूमिगतकालमा घरमा आउँदा आमाले उस्का दूलो परेको मोजा वा चप्पल लगाउँदा तुना पोलेर लगाएको चप्पलले उस्को हैसियत देखाउँथ्यो तर आजकल उस्का खुट्टामा महंगा जुत्ता देखेर आमाले बिगत र वर्तमानको मानिसको हैसियतलाई केलाउन थाल्नुहुन्थ्यो ।

आमालाई थाहा छ, पुस महिनाको जाडोको बेला उ ढिँडो खाएर लुगलुग काम्दै गर्दा आमाको मनमा दया पलाएर आएछ, आमाले हाम्रो बाबाको भर्खर किनेको ज्याकेट दिएर उसलाई न्यानोबाट उन्मुक्ति दिलाईदिनु भएको थियो । त्यै ज्याकेटको भरमा उस्ले धेरै जाडो आउने बर्ष कटाएको थियो । तर उ बेलाको लिखुरे ज्यानको त्यो ढिँडो खाने केटोको आज आङ र टाङमा महंगा कपडामा सजिएको थियो । उसको पुर्लुक्क परेको सुँगुरे भुँडीले सर्टको टाँकनै फुस्काउने गरि उ सोफा अल्छिलाग्दो तरिकाले बसिरहेको थियो । आमालाई लाग्यो — समृद्धि तर्फ लम्कने हो भने केही समय कुनै न कुनै पार्टीको झण्डा उचालेर नेतागिरि गर्नु पर्दछ ।

भारतिय बिस्तारबादको नारा निकै उचाल्ने त्यो ढिँडो खाने केटाको घरमा मन्द गतिमा हिन्दि गितमा भजन आईरहेको थियो । अझ उस्को मोबाईलको रिङ टोन पनि बल्ले बल्ले नामको हिन्दी गित बज्दा मेरी आमाको मन झसंग भयो । आमाले सोच्न थाल्नु भयो — नारा र व्यबहार फरक हुने रहेछ । आदर्श र यथार्थ फरक हुन सक्ने रहेछ । अझ भित्तामा टाँसिकएको बडेमानको टिभिमा आमाले आँखा लगाई हेर्दा भारतिय सिरियलमा त्यो भुँडे नेताको मन बरालिई रहेको थियो तर आमाले सम्झनुभयो, कुनै बेला यस्तो थियो हाम्रै घरमा ढिँडो ओडालेर नजिकैको फिल्म हलमा हिन्दी फिल्म चल्यो भनेर फिल्म हल बन्द गराउने मुख्य मान्छे नै उहि थियो । अझ ऋतिक रोशन काण्डमा हिन्दी नायकको फोटो जलाउने मुख्य मान्छे नै उही ढिँडो खाने नेता थियो । आमाले मनमनै गुन्नुभयो — सायद यस्तै खाले परिवर्तनलाई साँस्कृतिक क्रान्ति भन्छन् क्यार ।

उसैले निजी बिद्यालय बन्द गर्न लगाएर निजीबिद्यालयबाट केही रकम पार्टीको नाममा चन्दा स्वरुप लिएको पनि थियो । त्यही कारण आमाले हामीलाई निजिबाट सरकारी बिद्यालयमा भर्ना गरिदिनु भएको थियो । तर आज उस्का बाबुनानी मध्येबाट दुबैले निजी बिद्यालयबाट बिद्यालय शिक्षा पार गरेर दुबै जना बिदेशमा अध्ययन गरिरहेको थाहा पाउँदा आमाको मन अमिलो हुँदै गयो । अझ उसको आजकल सहरको ठूलो निजी बिद्यालयमा उस्को अािर्थक लगानी थियो उसैले हाम्रो सानो भाईलाई मास्टरीको जागिर लगाईदिएको थियो । आमालाई लाग्यो — बिरोध पनि सापेक्षित र निरपेक्षित हुने रहेछ । अर्थात समय अनुसार बिरोधको प्रकृति फक हुने रहेछ ।

केही भलाकुसारी पछि त्यो ढिँडो खाने केटाको घरमा खाना खाने बेला भयो । आमा, म र उ सँगै खाना खान बस्यौं, उस्ले खाना खाँदै गर्दा खाना पकाउने केटीलाई गाली गर्दै भन्यो — खाना अलिक ढंगले पकाउनु नि, कत्ति नमिठो बनाएको ........... । खै आमाले मनमनै के सोच्नु भयो तर म आमाले उस्को बारेमा एक सास पनि नफेरी एक ताउको ढिडो खाएको किस्सा सुनेर भात खाईरहे । तारेमाम् !

बेशीशहर नगरपालिका ३, लमजुङ, हाल काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।