ओ ३५ डिग्री,
तिमि मेरो गाउँ पुगेछौ
सडक तताएछौं,
बटुवाका छाला पिल्स्याएछौं
खोलाको पानी पनि उम्लियो रे
खोलामै माछाका भुरा भुटेछौ
तिमि मेरो गाउँ पुगेछौ ।
फेसवुकको भित्तो हेरि नसक्नु छ
तातो बढेको फोटा आईफोनबाट भरिएको छ
माली गाईको मोहि काँहि देख्दिन
बजारे ठण्डाका बोतलको चुस्कि ओठ ओठमा छ
सक्नेले एसी जोड्दैछन रे,
नसक्नेले सिलिङ् र टेबल फेन खोज्दैछन् रे
ओ ३५ डिग्री,
तिमि मेरो गाउँ पुगेछौ
दुनियालाई तताएछौ ।
ओ ३५ डिग्री,
भन्दिनु तिम्रा आईफोन, ठण्डा, एसी र फेनको पैसा
३५ मा होईन ४५ डिग्रीमा म उधिनी रहेको छु
आमाको साडी फेर्न खाडीमा हर दिन भुटिई रहेको छु
मेरा आफन्तलाई फेसबुकमा खुई खुई पार्ने ३५ डिग्री
म खाँदा र सुत्दा पनि भेट्दिन, ४० मै चित्त बुझाउँछु
तीन दिनमा मेरा आफन्त सिद्रा भएको ठान्दैछन्
म सिद्रा होईन भुङ्ग्राको टुकुना भएर वर्ष बिताउँछु
मरुभुमीको रुखो बालुवा जस्तो होईन,
तुलसीको मठको जस्तो ममिलो मुस्कानको फोटो म्यासेन्जसरमा पठाउँछु
थाह नपाउन् ३५ डिग्रीमा रहेका मेरा आफन्तले
म ४५ मा छु भनेर, त्यसैले त ओठभरि हाँसो पठाउन
मुटु भरि गाँठो बेस्कन कस्छु ।
ओ ३५ डिग्री,
तिमि त पुगेछौ, मेरो यहि खवर पु¥याई दिनु ल ।