कालिम्पोङको पेदोङ भन्नेबित्तिकै डा.डिकबहादुर देवानको नाम स्वतः आइहाल्छ। पेदोङ र डा डेवान पर्याय हुन् भन्ने लाग्छ। यद्पि उहाँ पेदोङका गर्व मात्र नभएर भारतीय नेपाली समाजका एक विशिष्ट व्यक्तित्व हुनुहुन्छ । उहाँको जन्म पेदोङ बजारमा १२ अक्टोबर, १९४७ भएको हो। आफनो औपचारिक शिक्षा प्राक् – प्राथमिक, प्राथमिक र मेट्रिक सन्त जर्ज विद्यालयबाट ग्रहण गर्नुभएको हो। १९६२ मा मेट्रिक परीक्षा उत्तीर्ण गरेपछि कालिम्पोङ कलेजबाट १९६३-६४ मा प्रथमचोटिको पीयुसी उत्तीर्ण गरी कालिम्पोङ कलेजबाट तीन वर्षे स्नातक उत्तीर्ण गर्नेबित्तिकै सन्त जर्ज विद्यालयमा शिक्षण कार्य थाल्नुभयो। पछि सन् १९७३ मा बाह्य परीक्षार्थीका रूपमा राजनिती शास्त्रमा स्नातकोत्तर उत्तीर्ण हुनुभयो। उच्च शिक्षा लिने आफ्नो तिर्खालाई मेटाउने क्रममा सन् १९७८-७९ मा NEHU, शिलाङबाट एम. एड. पनि उत्तीर्ण गरी १९८३ देखि १९८७ सम्म विश्व भारती, शान्तिनिकेतनबाट दार्जिलिङको पार्वत्य अञ्चलमा शिक्षाको शुरूआत अनि विकासक्रम विषयमा शोधकार्य सम्पन्न गरी १९८८ मा विद्यावारिधि हासिल गर्नुभएको हो।
डा देवानको व्यक्तित्व र कृतित्व हेर्दा उहाँलाई – शिक्षासेवी, भाषा-साहित्यसेवी, समाजसेवी गरी तीन अलगअलग रूपमा पाउँछौं।
१. शिक्षासेवीका रूपमा- डा देवान जन्मजात शिक्षासेवी हुनुहुन्छ। उहाँ तन मन वचनले नै आदर्श शिक्षक। पढाएर मात्र नभई लेखेर पनि शिक्षा दिनुभएको छ। शिक्षा विषयमा नै अनुसन्धान गरी ग्रन्थसमेत लेख्नुभएको छ। आफ्नो जीवनको चालिस वर्षे उर्वरकाल सन्त जर्ज उच्चमाध्यमिक विद्यालयमा शिक्षादान गरेर बिताउनु भयो। आफ्नो अध्ययनको बी ए उत्तीर्ण हुनेबित्तिकै सन् १९६७ देखि सन् २००७ सम्म सन्त जर्ज विद्यालयको शिक्षक रहनुभएको थियो। उहाँले विद्यालयमा प्रायः अँग्रेजी विषय र भूगोल पढाउनु भयो। उहाँ एक सामान्य शिक्षक मात्र नभई आदर्श शिक्षकको रूपमा हुनुहुन्छ। विद्यार्थीहरूको शैक्षिक, चारित्रिक विकासको निम्ति समर्पित हुनुहुन्छ। शिक्षक जति जम्मै गुरू हुँदैनन्। शिक्षकमा हुनुपर्ने शिक्षाप्रति समर्पण, एकनिष्ठता, विद्यार्थी लगाव, स्वअध्ययन, अनुशासन, दया, कर्तव्यनिष्ठ, समयनिष्ठ, धैर्य जस्ता गुण हुनुपर्छ। यी जम्मै गुण देवान सरमा पाउँछौं। उहाँको विचारमा शिक्षक by choice हुनुपर्छ तर by chance हुनुहुन्न। हाम्रो समाजमा धेरै शिक्षक by Chance मा भएका छन्। सन्त जर्जमा सरले बिताएका दीर्घ चालिस वर्षमा कति विद्यार्थी कमाउनु भयो, कति कहाँ कहाँ पुगे, कुन कुन ओहोदामा पुगे त्यसको लेखाजोखा गर्नु कठिन हुन्छ। सरको पढाउने पद्धति, तरिका र लय, अँग्रेजी भाषाको धाराप्रवाह वाणी, शुद्ध नेपालीमा पनि उल्था गरेर सिकाउँदा विद्यार्थीहरू कति लाभान्वित भए, तिनीहरूले नै आफैं मूल्याङ्कन गर्नुपर्छ। यसैगरी उहाँ गान्तोकको हर्कमाया कलेज अफ एडुकेसनमा उहाँ बीएड र म एड तहमा पनि सन् २००७ देखि २०११ सम्म प्राध्यापन गर्नुभयो। उहाँका शिक्षासम्बन्धी प्रकाशित पुस्तकहरूमा १.A Key to English, २. A Golden Key to English, ३. Education Today, A Darjeeling Hill Region Perspective, ४. Education in Darjeeling Hills- an Historical Survey, 1835-1985, ५. Education in Sikkim and Historical Retrospect : Pre merger and Post Merger Period, ६. Education in the Darjeeling Hills during the period Gorkhaland agitation, ७. दार्जिलिङ पार्वत्य अञ्चलमा शिक्षाको शुरूआत् अनि विकासक्रम- एक ऐतिहासिक सर्वेक्षण (१८३५-१९८५), ८. पेदोङ- इतिहासको आँखीझ्याल- बाट (२०१७)।
पेदोङमा अझै अर्को विद्यालयको आवश्यकता बोध गरेर सरले आफ्नो परिवारको सहयोगमा सन् १९८४ मा टेन्डर बर्ड एकाडेमी विद्यालय खोल्नुभयो। यस विद्यालयले २००६ मा पश्चिम वंग माध्यमिक शिक्षा बोर्डबाट संलग्नता-मान्यता पायो। यस विद्यालय पढेका विद्यार्थीहरू पनि कति ठुल्ठुला ओहदामा पुगे होलान, कति के भए होलान्। पेदोङको शिक्षाको उन्नतिको सरका दुई इच्छा पूरा भएका छन् – एउटा आफ्नो विद्यालय खोलेर आफुले चाहेजस्तो शिक्षा दान दिनु, जुन यही टेन्डर बर्ड स्कुल हो भने अर्को चाहिँ पेदोङमा एउटा डिग्री कलेज खोलिनु। सरका अझै दुईवटा इच्छा छन्- एउटा आफ्नो टेन्डर बर्ड विद्यालयलाई बढोत्तरी गरी उच्च माध्यमिक विद्यालय बनाउनु र एउटा बीएड कलेज खोल्नु। यही दुवै पूरा हुन् भनी हामी कामना र प्रयास गरौं, सम्भव छ।
२. भाषा-साहित्यप्रेमी- शिक्षाका साथसाथै देवान सर एक भाषा साहित्यप्रेमी पनि हुनुहुन्छ। उहाँ एक अध्येता र निबन्धकार हुनुहुन्छ। साहित्यिक र बौद्धिक सिद्धान्तको ग्रन्थ अध्ययन, मनन गर्नुहुनछ। आफुले जानेका, बुझेका कुरा लेखहरूमार्फत् पाठकहरूलाई पस्किनु हुन्छ। उहाँक रै लेखहरू हिमालयन अब्जर्भर, हिमालचुली, सुनचरी, हिमालय दर्पण, खबर पत्रिका आदि पत्र-पत्रिकामा उहाँका चिन्तनमूलक, जीवनीमूलक लेखहरू प्रकाशित छन्। नेपाली भाषा मान्यको संवैधानिक मान्यताको निम्ति संघर्षमा पनि र होमिनु भएको थियो। उहाँको अँग्रेजी व्याकरणको पुस्तक A key to English पुस्तकले धेरै विद्यार्थीलाई अँग्रेजी सिकायो। A Golden Key to English मा पनि अँग्रेजीसँगसँगै नेपाली अनूदित पर्याय र उदाहरण दिँदा धेरै विद्यार्थीहरू अँग्रेजी व्याकरण जान्न-बुझ्न सकेका थिए। कालिम्पोङका शहर बस्तीका स्कूल सँगसँगै नेपालका धेरै स्कूलमा यो अँग्रेजी व्याकरण पाठ्य पुस्तकका रूपमा चल्यो।
डा देवानले आफ्न शोधग्रन्थलाई नेपाली अनुवाद गरेर आफ्नो भाषाप्रेम देखाएका छन्। उनको नेपाली अनूदित दार्जिलिङ पार्वत्य अञ्चलमा शिक्षाको शुरूआत् अनि विकाशक्रम ग्रन्थको अध्ययन गर्नेले पनि यहाँको शिक्षाको विकासक्रम, महत्त्व, इतिहास, इतिवृत्यात्मक जानकारी पाउँदछ। यसरी नै अन्य विषयमा उच्च अध्ययन गर्ने विद्वानहरूले आफ्नो अध्ययनलाई नेपाली भाषामा पनि उतारिदिए कति लाभान्वित हुनेथियौं, भाषाको विकास-विस्तार उपयोगी हुनेथियो। हाम्रा कतिपय विद्वान म नेपाली जान्दिनँ भनेर गर्वका व्यक्त गर्ने मानसिकताबाट ग्रसित छन्। नेपाली भाषा नेपालीमा उच्च अध्ययन गर्ने मात्रको पेवा होइन। अन्य विषयमा उच्च अध्ययन गर्नेले पनि आफ्ना आफ्ना ज्ञान र अध्ययनलाई नेपाली भाषामा लेखिदिए हामी धेरै लाभान्वित हुनेथियौं। यसरी नेपाली भाषाप्रेम हामी डा देवानबाट सिक्नुपर्छ।
३. समाजसेवीका रूपमा डा.देवान- डा देवान पेदोङका निम्ति वरदान हुनुहुन्छ। यही पेदोङलाई शिक्षित बनाउन अन्यत्र कतै नलागी पेदोङ बसी एउटै विद्यालयमा चालिस वर्ष सेवा गरेर पनि आफ्नो निजी विद्यालय स्थापित गरी समाजमा शिक्षाको ज्योति फिँजाउनु भएको छ। पेदोङमा एउटा डिग्री कलेज खोल्न सन १९९२ देखि नै सामूहिक रूपमा नेतृत्व गरी कालिम्पोङ शैक्षिक समाज (Kalimpong Educational Society) र पछिबाट २०१० मा Pedong Educational Society मार्फत् लागिपर्नुभएको थियो। यस सोसायटीका अध्यक्ष डा देवान र श्री ज्ञान बागदास सचिव तथा श्रीमती सरिता राई, श्रीमती एन. टि लामा, श्री रोलेन्ड सुब्बा, श्रीमती डेन्का भुटिया, श्री गणेश प्रधान आदि पेदोङका शिक्षाप्रेमी महानुभावको प्रयासमा २०१४ को सरकारी अध्यादेश र २०१५ को स्थापित भएको पेदोङको सरकारी महाविद्यालयले पेदोङमा उच्च शिक्षाको ज्योति फैलाउन थालेको छ। यसको छुटटै इतिहास छ।
पेदोङमा डा देवानको खेलकूदको क्षेत्रमा पनि विशेष योगदान रहेको छ। उहाँ आफं पनि फुटबल खेलाडीका रूपमा चर्चित हुनुहुन्थ्यो भने पछिबाट सक्रिय रूपमा फुटबल र अन्य खेलकूद खेलाउनु गर्नुहुन्छ। यी बाहेक उहाँ पेदोङका विभिन्न सामाजिक, साहित्यिक संस्थातिर संलगन हुनुहुन्छ।
बौद्धिक तर सरल, विद्वान तर विनम्र, गम्भीर तर हँसमुख देवान सरका गुण हुन्। उहाँ पेदोङका निम्ति वरदान हुनुहुन्छ। डा देवानले केही सामान्य पुरस्कार पाउनुभएको छ। गत २०१७ का डिसेम्बर महिनामा डा इन्द्रमान राई स्मृति प्रतिष्ठान, दार्जिलिङले प्रथम डा इन्द्रमान राई स्मृति पुरस्कारले उहाँलाई अलङ्कृत गरेको छ भने उहाँले अन्य पुरस्कार पनि अवश्य पाउनुभएको छ। यद्यपि म डा देवान सरको चेला हुँ, उहाँले मलाई अँग्रेजी राम्रो पढाएको हुनाले मलाई राम्रो भयो इत्यादि भनेर सरप्रति वर्तमान र भूतपूर्व छात्रहरूको गर्वबोध, मानसम्मान र आन्तरिक श्रद्धा नै उहाँको निम्ति सबैभन्दा ठुलो पुरस्कार हो। सरका विद्यार्थीहरू ठुल्ठुला पदमा पुगेर सरलाई सम्झिदिनु नै सबैभन्दा ठुलो उहाँको निम्ति गुरूदक्षिणा हो। पेदोङ र डा देवान एक-अर्काका पर्याय हुन्, डा.देवान सर हुनहुन्छ त पेदोङ छ नि पेदोङ छ त देवानसर हुनुहुन्छ। अन्तमा उहाँको सुस्वस्थ्य र दीर्घायुको कामना गर्दछु।