खहरे रहेछु
त्यसैले त बगाएर लगेछु
गरीबको एक चोक्टो खेत पनि
पाखो बारी र झुपडी पनि
गोठमा बाँधिएका केही थान गाईभैसीहरू
र आँगनमा खेलिरहेका स-साना नानीहरू पनि ।
भत्काएर लगेछु
एक गाऊँ र अर्को गाऊँ जोड्ने पुल पनि
यति निर्दयी र कठोर भएछु कि
ढुंगै ढुंगा थोपरी दिएछु
फूल भन्दा कोमल
मान्छेका सम्वेदनाहरूमा ।
सँच्चिकै खहरे रहेछु
फूलबारीलाई काँसघारी बनाइदिएछु
धानबारीलाई बगर
पाखोबारीलाई पहिरो
भूल गरेछु
क्रान्ति गरें भन्ने ठूलो भ्रममा परेछु ।
बाआमासँग छैनन् छोराछोरीहरू
छोराछोरीसँग छैनन् बाआमाहरू
माऊ विनाका बचेराहरू छन् गुँडमा
काकाकूल जस्तो
कतै बतासिएको छ यो देशको भविष्य
अर्को कुनै अनिश्चित भविष्यको खोजमा
घरी घरी साँचिकै अफसोस लाग्छ
ग्लानी हुन्छ
क्रान्तिको भ्रममा
उराँठ बनाएछु आफ्नै धर्ती
बाँझो बनाएछु आफ्नै बारी ।
कति न विद्रोह गरें भनेको
कति न युद्द गरें भनेको
यतिखेर
म योद्दा - बुख्याँचा जस्तो देखिएको छु
आफ्नै नजरमा
आफ्नै इतिहासको पानामा ।
म केवल एक भेलबाडी रहेछु
फगत एक आबेग
एक दम्भ
एक महत्वकाँक्षा
एक स्वार्थ
के के न बिद्रोह गरें भनेको
बगाएर लगेछु बगाउनै नहुने कुराहरू पनि
जस्तो कि,
यी मान्छे मान्छे बीचको गहिरो सद्भाव ।
आफू आफैभित्र
आत्माग्लानीमा उभिएको
आफ्नै दम्भहरूले आफैभित्र डढेको
आफैसँग पराजित
यो युगको सबैभन्दा पछिल्लो
एक हरूवा क्रान्तिकारी हुँ म
म पुराका पुरा आत्मसमर्पण गर्न चाहन्छु
माफी माग्न चाहन्छु म
मैले रचेका
मेरा इतिहाँसका सबै सबै दुर्घटनाहरूसँग ।