सफलहरु, गाँउ फर्किएर आउन जान्दैनन्…
असफलहरु, गाँउदेखि टाड़ा जान मान्दैनन्…
सफलहरु…
सफलताको शिखर चुम्दै
शहर भास्सिसकेका हुन्छन्
सफलहरु गाँउलाई सम्पूर्ण भूली
शहरिया भैसकेका हुन्छन् ।
उतिबेला
आफ्नो विफलताको पुर्पुरो ठोक्न छोड़ी
असफलहरु…
आफ्ना कमी कम्जोरी अनि दुर्भाग्यलाई
सम्पूर्ण बिर्सी…
ती भूलि गएका हितैषी निठूरीहरु
फर्कि आउने बाटो बनाइरहेका हुन्छन्
ती योग्य स्वार्थीहरुले छोड़िगएको
घर-बार, इष्ट-मित्र छर-छिमेक
शाखा-सन्तान, दाजु-भाई दिदी-बहिनीको
सुरक्षा अनि जोगाड़ गरिरहेका हुन्छन् ।
बूढ़ा-बूढ़ी, बिमारी, असहायहरुको
सेवा-सुश्रुसा गरिरहेका हुन्छन् ।
असफलहरु…
सुखमा न मात्तिइ
दु:खमा न आत्तिइ
सबैको सहारा बनिरहेका हुन्छन् ।
गाँउमा… असफलहरु…
बिहे-बटुल, मरौ-परौ अनि
पुराण-पूजाहरुमा
तम्बु टांगिरहेका हुन्छन्
चौकी बोकिरहेका हुन्छन्
पिठो कुटिरहेका हुन्छन्
पानी बोकिरहेका हुन्छन्
चिया उमालिरहेका हुन्छन्
खाजा-भूजाको चाँजो मिलाइरहेका हुन्छन्
अनि आउने इष्ट-मित्रलाई स्वागत
जाने पाहुना-पातलाई विदा दिइरहेका हुन्छन् ।
असफलहरु…
जिउँदालाई जन्ती, मर्दालाई मलामी
अपाङ्गलाई साथ अनि असहायलाई काँध,
निर्धा निमुखा अनि ठगिएकाहरुलाई
आँटिलो आवाज बनिरहेका हुन्छन् ।
समाजमा यिनीहरु
चाढ़-पर्व, रिति-रिवाज अनि धर्म-कर्मको
बिङ्गो थामिरहेका हुन्छन्
रिति-थिति, चाल-चलन अनि नियम-कानुनको
सुरक्षा दिइरहेका हुन्छन् ।
यिनीहरु…
संगिनी, मारुनी, दोलखे, बालन
च्याब्रुङ्ग अनि लोक दोहोरी नाचिरहेका हुन्छन्
संसारी, देवाली, गोठ-धूप, गुरुपूजा,
आठाने, सिद्ध, अनि कुल-देवता पुजिरहेका हुन्छन्।
अनि ठूला-बड़ालाई मान सम्मान
साना-मसिनालाई ज्ञान दिइरहेका हुन्छन् ।
नभन्नु असफलहरु
निरुद्देश्य कतै भौंतारिरहेकाछन्
उनीहरु त निस्वार्थ ती
छोड़िजानेहरुको घर-जमीनको
संरक्षण गरिरहेका हुन्छन्,
बिर्सिजानेहरुको कला-संस्कृतिको
संवर्धन गरिरहेका हुन्छन् ।