जबजब यात्रा विशेष, स्थान विशेष, व्यक्ति विशेष र घट्ना विशेषको स्पर्श झड्काले अन्तरहृदयको बाँसुरीमा हलचल पैदा गर्दछ । त्यही तरंगिदो कम्पित झड्कालाई थरीथरी शीर्षकका संस्मरणात्मक पूmलरूपी पोयोमा उनिने मालारूपी लामो डोरी नै निबन्ध हो ।
नेपाली निबन्धको फाँटमा ऊर्जाशील व्यक्तित्वको पहिचान पाएका ओजश्वी स्रष्टा श्रीओम श्रेष्ठ ‘रोदन’ द्वारा लिखित ‘भनौं कि नभनौं’ शीर्षकको नवीन निबन्धसंग्रह २०७३ प्रकाशित हुनु सुखद कुरा हो । जम्मा २१ शीर्षकमा समेटिएको प्रस्तुत निबन्धसंग्रहले अल्पविकसित नेपालको दयनीय अवस्थादेखि सपनाको मुलुक संयुक्त राज्य अमेरिकासम्मका चरम विकास र विकृतिका कुइनेटाहरू छिचोल्न सफल भएको छ ।
संग्रहको शीर्षक ‘भनौं कि नभनौं’ देख्नेबित्तिकै त्यसभित्रको खुराकिलो सागरमा पौडी खेल्नुपूर्व आम पाठकहरू हतारिँदै उत्सुकताको जस्केलो खोल्न पुग्छन् । रहस्यको खुल्दुली मेटाउन पेट मिचीमिची हाँस्न पुग्छन् । बाकपटु खोलूँ कि नखोलूँ भन्दै द्विविधाको दोसाँधमा उभिएको लेखकको अन्तरहृदय खोल्ने जमर्को गर्छन् । सुरुमै पाठकलाई उत्सुक, सचेत र जागरुकको त्रिवेणीमा केन्द्रित बनाउने खुबी नै श्रीओम श्रेष्ठको लेखकीय सफलता हो र संग्रह प्रकाशनको
सान्दर्भिकता पनि हो ।
निबन्धकारलाई प्रस्तुत कृतिले भाग्यमानी साबित गरेको छ । किनकि चरम विकाससँगै विकृति र विसंगतिले जरा गाडेको अमेरिका बसाइ सोचेजस्तो सुखद, शान्त र भरपर्दो छैन भन्दै अमेरिका पुग्न मरिहत्ते गर्दै भौतारिने आम नेपाली यौवन तन्नेरीलाई नेपालमै बसेर केही गर्न गुरु दिशाका अभिभावकको लेखकीय अभिभारा सुम्पेको छ ।
मगन्ते र जड्याँहा बन्ने अमेरिकाको बौद्धिक जगत्को उदासीनताले नेपाली लहडलाई सचेत र सतर्क बनाएको छ । यौवन र नग्नता प्रदर्शन गर्ने अमेरिकी हिप्पी प्रचलनबाट सचेत रहँदै खारिएको हाम्रो संस्कार संस्कृतिको पद्धतिलाई नबिटुल्याउन अग्रिम सन्देश मिलेको छ । अरू असुरक्षा, दुःख, कष्ट र नेपालीले अमेरिकामा भोग्ने विवशताको रहस्य ‘भनौं कि नभनौं’ शीर्षकद्वारा अमेरिकाको फुर्तीफार्तीमा गुड्डी उडाउने आडम्बर खोक्रेलाई धेरै गफ नगर्न सावधानी बनाएका छन् ।
यता जित्ने कृष्णचन्द्र, आँसुको अक्षरमा, बीउ रोप्ने डाक्टरसाप, क्याप्टेनको कलम, स्याबास भूकम्पलाई शीर्षकमा पनि बडो सिलसिलेवार रूपमा लेखकले वर्णन गरेका छन् । नेपाली समालोचनाको उच्च शिखर कृष्णचन्द्रसिहं प्रधान, कलेज कक्षामा मीठो लयको शब्द माधुर्यमार्फत आम विद्यार्थीलाई लट्ठ पार्ने आदरणीय गुरु राममणि रिसालको यशश्वी, नयाँ योगदानमा आर्थिक, सामाजिक त्यागको बलिदानी चढाउने डाक्टर बिहारीलाल श्रेष्ठको योगदान तथा दोस्रो विश्वयुद्धको मोर्चामा बन्दुकको नाल तेर्साउँदै कप्तानी पद सम्हाल्ने क्याप्टेन जनकबहादुर राणाको अवकाश जीवनको खिरिलो कलमसँग आम पाठकले धेरै कुरा सिक्ने मौका पाएका छन् ।
विनाभेदभाव सबैसामु समदर्शिता दर्साउने प्रकृति विपत् भूकम्पको निष्पक्षतालाई स्याबासी दिएका छन् । मेसिनरूपी शरीरको मूल कमानी मुटु अप्रेसनको आफ्नै जीवन भोगाइ पस्केर आमपाठकलाई सुखदुःखमा एकनाश रहने सांकेतिक चुनौतीको घन्टी बजाएका छन् । अरू शीर्षकीय निबन्धहरू समसामयिक छन् ।
निबन्धसंग्रहको समग्र सन्देश श्रीओम श्रेष्ठ ‘रोदन’भित्रकै आत्मदर्शन र आत्मपहिचानको शुभ संकेत मानिन्छ ।
निबन्धसंग्रहका शीर्षकहरू निजात्मक र संस्मरणत्मक दुई धारको गतिमा अगाडि बढेका छन् । देशविदेशका शीर्षकहरू छासमिस हुनु, कतिपय ठाउँमा आफंैले गुमाएर आदर्शको काँचुली फेर्न चेष्टा गर्नुजस्ता नगण्य कमजोरी भए पनि तेजेश्वरबाबु ग्वंगः, डा. लक्ष्मणप्रसाद गौतमको सटीक मन्तव्य तथा प्रा.डा. राजेन्द्र सुवेदीको खँदिलो भूमिकाले सिँगारिएको २१ थुँगाको हार ‘भनौं कि नभनौं’ निबन्धसंग्रह पठनीय, संग्रहणीय र शिक्षाप्रद खुराकले भरिएको छ ।