एउटा आयोजकले विशेष रुपमा अखण्ड काव्यपाठका लागि विशेष प्रबन्ध गरेको थियो । गीत गाउँनेहरुलाई आफ्नै शैलीबाट बाजा बजाइदिने र काव्यपाठमा नृत्यको आवश्यकता परिगयो भने नृत्यमा सामेल हुने गरी केही रेडिमेड नर्तक नर्तकीहरु पनि आयोजकले तयारी अवस्थामा तैनाथ पारेको थियो टी ट्वेन्टीमा छक्का हान्दा नाच्न चयार पारेको नर्तकी जस्तै । यस कार्यक्रमको मूल स्वरुप काव्यपाठ भए पनि बिचमा गजलगिजोल र गीत आदिको पाठ गरेर, हास परिहास, टुक्कावाचन लगायतबाट भए पनि यसको निरन्तरतालाई खण्डित हुन दिनुुहुन्न भन्ने आयोजकको आग्रह थियो । बार बजेदेखि पाँचबजेसम्मलाई समय निर्धारण गरिएको थियो । यस अखण्डतालाई खण्डित हुनबाट जोगाइराख्न नाना थरिका कविहरु आए । पुत्ले पांग्रे गजलकारहरु अनि झिल्के गीतकारहरु पनि आए । केही तुकबन्दी लगाउने कथ्थकेहरुको पनि आगमन भयो । तयारी अवस्थामा राखिएका बाहेक दर्शक स्रोताहरुमध्येबाट पनि कोही काव्यपाठको माझमै झुम्न थाले भने कोही गीतको माझमा नाच्न पनि थाले । यो देखेर दर्शकलाई अस्ति माथिल्लो घरे मुखियाकोमा लागेको पुरानमा महिलाहरु नाचेको झल्को पनि आइरहेको थियो । तेही ठानेर पल्लो टारकी आमै झिल्के कान्छोको गजलमा नाचिन् । साँचो कुरा थाहा नपाउनेहरुका लागि यहाँ कुनै अर्कै पुरान लागेको हो कि भन्ने भान पनि भइरहेको थियो । पुरान भनेपछि नाच्नै पर्ने मान्यता बोक्नु हुने केही महिलाहरु यहाँ पनि नाच्ने अवसरको खोजीमा हुनुहुन्थ्यो र मौका पर्ना साथ जुरुक्क उठेर दाउमा दाउ मारिहाल्नुहुन्थ्यो । छमछम गरेर । ताली पनि पररररर बजिहाल्थे ।
यसै बिचमा केही महिलाहरु सभामा आएर जुता फुकाल्दै भित्र पस्नुभो ।
“खै गँहुत कता छ ? अनि जुुता राख्ने ठाउँ कता छ ?” सोध्न थाल्नुभोे ।
यसबाट त्यहाँको अखण्ड काव्यपाठ भनेको कुनै पुरानै हो भन्ने भान केही सर्वसाधारणमा परिरहेको थियो भन्ने कुरा पनि स्पष्ट हँुदै थियो । काव्यवाचनशालाबाहिर ठुलो अक्षरमा ‘पाँच घन्टे अखण्ड काव्यपाठ’ लेखिएको तुल टाँसिएकोले पनि यो भ्रम परेको हुन सक्थ्यो । अस्ति यता केराबारी महाजनको घरमा लगाएको २४ घन्टे अखण्ड भजन लगाएजस्तै कुनै अखण्ड भजन कीर्तन हुनु पर्ने कुरा सर्वसाधारणले बुझेजस्तो देखिन्थ्यो । अनि गहुँतको चाहना भएको बुझिन्थ्यो । केही केटाकेटीहरु पर्सादी पाइएला भनेर कुरेर बसेका थिए । आमाहरु गँहुतको आशमा ।
यसरी सभाको बाहिरतिर ‘पाँच घन्टे अखण्ड काव्यपाठ’ लेखेर बोर्ड राखिएको हुँदा केही सर्वसाधारण झुक्किएका थिए । अस्ति भर्खर राजभण्डारीको घरमा लगाएको पुरानमा गरिएको अखण्ड कीर्तन जस्तै यो पनि कुनै नौलो किसिमको कीर्तन होला भन्ने भान अन्य कतिपय साधारणहरुमा परिरहेको थियो । तर यो काव्यवाचन गजलगान, गीत संगीतले युक्त काव्यपाठ नै थियो । यहाँ गहुँत थिएन । यहाँ जुता फुकालेर भित्र पस्नै पर्र्र्र्दैनथ्यो । त्यसैले बाहिरै जुता फुकाल्ने र राख्ने बन्दोबस्त थिएन । यो नदेखेर माइली पुरेत्नीले ता माझै मुखबाट भनिन् कस्तो हो जुतैसँग भत्रि जान पाइने पुरान पनि ! यहाँ पर्सादको व्यवस्था थिएन । पाती चढाइरहनु परेको थिएन । तैपनि केही भक्त महिलाहरु सानो पोलिथिनमा केही फूलपाती, पर्साद र माला समेत लिएर मञ्चमा पुगी काव्यपाठ गरिरहेका कविलाई तिनै कवि मूल पण्डित होलान् भन्ने ठानेर माला लगाइदिए । केही भेटी पनि चढाइदिएको देखियो । केरा स्याउ र अरु केही फलफूल पर्सादको रुपमा चढाइदिएको दृश्य पनि देखियो । यो सबै देखेर कोही कोही स्रोता हाँसो थाम्न नसकेर बाहिर निस्केको पनि देखियो । यो कविता पाठ गर्ने पण्डित कविले अन्तमा काव्यपाठ सक्ने बेलामा आयोजकलाई सविनय सोध्नुभो
“यो दक्षिण कसले लिने ?”
आयोजकको तर्फबाट यसबारे भरे निर्णय हुने कुरा निज कविलाई सुनाइयो ।
अब पालो थियो कवि धर्मनाथ धर्मप्राणनाथ भार्गवको । उहाँको धार्मिक कविताले ता अखण्डकाव्यपाठलाई पूरापूरी पुराणकै रुप दियो । उहाँको वाचन लय र कविता पढ्नु पूर्व बाँधिएको भूमिकाको प्रवचनले सभालाई तीर्थालुहरुको जमघट जस्तै पारेको देखियो ।
कृष्ण जन्मको बारेमा लेखिएको उनको धार्मिक कविताको असर निकै परेको देखियो ।
केही महिलाहरुले आयोजकलाई तल स्रोता बस्ने स्थानबाटै सोध्नुभयो “माखनचोर कृष्णजन्मोत्सव, नन्दउत्सव र कृष्णलीला कहिले हुने हो ?”
यहाँ म ता अखण्ड काव्यपाठको दृश्यको वर्णन मात्रै गरिरहेको छुु । आयोजकले ती भक्त महिलाहरुलाई के भनेर बुझाए त्यो चैं नभनौं क्यारे ।
अखण्ड काव्यपाठमा अब पालो थियो कवि परजीवीजीको । नाम मात्र नभई उहाँ साँचैका परजीवी नै हुनुहुन्छ भन्ने बुझिएको छ । अरु ता अरु भयो खैनीमा समेत उहाँमा आत्मनिर्भरता छैन ।
“हे...हे...हे यसो थियो कि..... ?” भनेर हातले खैनी माड्दै गरेको मुद्रा बनाएर उहाँ जोसुकैसँग खैनी माग्ने गर्नुहुन्छ । कुनै दाताले ता खैनीको साटो गुट्खा नै टक्र्याएको पनि देखिन्छ । ‘धन्यवाद, धन्यवाद । ढुंगा खोज्दा देउता मिल्यो भनेको यही हो’ उहाँ त्यो अवस्थामा यसै भन्नुहुन्छ ।
‘मरोस् मोरो मगन्ते !’ भनेर धेरैजसोले उहाँलाई खैनी चढाउँछन् । उहाँ दाँतको माथितिर ओठ उधिनेर खैनी च्याप्नुहुन्छ र ‘क्या स्वादिलो रहेछ !’ भनेर तारिफ गरिदिनुहुन्छ । अहिले ता उहाँको ध्यान खैनीका साथै गुट्खातिर पनि जान थालेको छ । ‘परजीवी हँु जे पाउँछु त्यो खान्छु हे...हे.. !’ भन्नुहुन्छ । केही स्थानमा उहाँलाई खरो पानी सेवन गर्ने अवसर पनि नपरेको होइन । यस वस्तुको मूल्य केही बढी नै हुने हुँदा परजीवीलाई यसको अवसर उति परिरहन्न । खैनी जतिको लत पनि यस तत्वमा उ्हाँको बसिसकेको छैन, अनि जति सहज रुपमा खैनी उपलब्ध हुन्छ यसको उपलब्धता सहज पनि छैन । उहाँलाई यो तत्व सेवन गर्ने सुविधा उति परिरहन्न । अलिक मुगो परेर होला । खैनी भएपछि उहाँको काव्यको छाँगो दिमागबाट पहाडको झर्ना झरेझैं झरिरहन्छ । अनि किन चाहियो र खरो पानी । सम्भवतः परजीवीले यो खरो पानी सेवन गरेको उति देख्न नपाइनुको कारण यही हो ।
पानभोगी महानुुभावहरुले पान खाएर उँभो मुख फर्काएर मुख भरी पानको थुक बोकेर नथुकी बोलेजसरी उहाँ पनि मुखको खैनीबाट आएको थुक एकछिन मुखै भरि पारेर केही बोल्नुपर्दा बोल्ने गर्नुहुन्छ । कहिलेकाहीं कविता पनि यसै विधिबाट गाउनुहुन्छ । उहाँ बडो शिष्ट र भलादमी पनि हुनुहुन्छ किनभने पान खानेले थुकेझैं उहाँ जहाँसुकै र जतासुकै थुक्नुहुन्न । घुटुक्क निल्नुहुन्छ । जहिले पनि मुखमा राखिएकोे खैनी गुट्खाको खार र राखले भरिएको हँड्याइँदो थुक घुटुक्क निल्दै बाँकी कामतिर लाग्नुहुन्छ । परजीवीजी यस्तो हुनुहुन्छ, उहाँको जीवनचक्र यस्तो छ । उहाँको मूल पेसा कविता कर्म हो तापनि अहिले ‘देश गुनको भेस’ भनेझैं उप पेसा गजलकारितातिर पनि सरेको छ । ‘अब देशमा जे चलन आउँछ, त्यसमा ता लाग्नै परेको छ हे... हे... !’ भन्नुहुन्छ ।
गजलवाचन वा काव्यवाचनमा परजीवीजीको जीवचक्र पनि अरुकै स्थानमा चल्दछ । उद्घोषकलाई यसो कानमा तेल मालिस गरेर काव्य वा गजलवाचनको मध्य समयमै उहाँ आफूलाई समाविष्ट गराउन रुचाउनुहुन्छ । यसै कारण बडो बाठो हुनुहुन्छ उहाँ । सुरुमा पनि स्रोता सबै आएका हुन्नन् । अन्तमा ता सभापति र प्रमुख अतिथी मात्र हुन्छन्, त्यो पनि कुनै सभामा ता प्रमुख अतिथी पनि राखिन्न, अन्तमा ता एक्लो सभापति मात्र रहन्छ । उद्घोषक पनि विदा लिइसक्छन् र बांगो ढाड लगाएर शौचालय जाने बहानामा हलबाहिर निस्कन्छन् । सभापतिलाई ता जहाँ सुनाए पनि ता भयो नि । उहाँलाई ता बाटोमै सुनाए पनि भयो वा घरमा गएर सुनाइदिए पनि भयो । अरु नभएपछि आखिरमा सभापतिलाई मात्र सुनाउनु न हो । उहाँको सिद्धान्त वा तर्क यही हुने गर्छ । साँचोमा स्रोता रहने भनेको कुनै पनि कार्यक्रमको मध्यसमय हो । यसैले मध्यसमयमा सुनाउनुमा नै केही लाभ हुन्छ । उहाँको यो तर्क बडो व्यावहारिक छ । अहिलेको उहाँको यो पालो पनि अर्का कविको अनुपस्थितिले गर्दा आएको थियो । धन्न लाइनको कविलाई यसै बेला शौचालय जानु परेकोले उहाँले पालो पाउनुभो । उहाँ यस्तै पालोका पर्खाइमा हुनुहुन्छ । अहिले पनि यस्तै प¥यो नत्र फेरि पछि पर्नुहुने थियो । परजीवीजीले काव्यपाठको क्रममा मञ्चमा गएर पहिले गलो सफा गर्नुभो । त्यो बेलासम्म मञ्चमा मान्छेहरु निकै थिए । खैनी ता आखिर परजीवीलाई जसले पनि दिन्छ । त्यसैले खैनी केही अधिक खाने बानी परेको हुँदा गलोमा खकार जमेर खोक्ता खेरि खकारका फाल्सा फाल्सा आउने गर्छन् र अझ कडा खोक्नु पर्दा उहाँको गलाबाट सानातिर खकारपिण्डहरु हावामा उछिट्टिने गर्छन् । अहिले पनि यस्तै भयो । केही खकार पिण्डहरु पोडियममा छरिए । केही वरपरि पुगे । मुखैमा रहेका खकारका लाप्साहरु खुप्लुक्क निलेर कविले गजल निकाले खल्तीबाट । अझै पनि केही खाकखाक खुकखुक गरेपछि उनको गजलवाचन सुरु भयो । उनको गजलको शीर्षक थियो निद्रा ।
स्रोताहरु निद्राले अघिदेखि नै सताइएका भए पनि परजीवीको गजलवाचनमा सारै मुस्किल पर्न थाल्यो । तिनीहरुलाई बिउँझै रहने स्थिति हुन छाड्यो । एकातिर शीर्षक नै निद्रा हुनु र अर्कातिर स्रोतामा पनि निद्राको प्रभाव सारै आएकोमा कविलाई आफ्नो गजलको प्रभाव आफू मञ्चमा आउनासाथ परेको आभास भइरहेको थियो । कोही स्रोताहरु आफ्नो टोपी झिकेर मुख छोपी निदाउन थाले भने कोही पल्लो कुर्सीमाथि खुट्टा राखेर जिउलाई तेर्साे पार्न थाले । कोही ता एकै छिनमा घुर्न पनि थाले सम्विधान सभाका सांसदहरु सभाचलिरहेको बेला घुरेझैं । तर कविजीको कविताले उनीहरुलाई सारै राम्रो निद्रा परेको अनुभूति भएभैंmं भान भइरहेको थियो । गजलकै शीर्षक ‘निद्रा’ भएपछिलाई स्रोताहरुले सुुतेको भान कतैबाट पनि परिरहेको थिएन ।
जता हेर्यो उतै मेरो गजलले ठाउँ पाएछ
यता हेर्यो यतै उँघ्ने सबैलाई बनाएछ ।
कति खोजौं कति सोधौं नसोध्ने बानी मेरो छ
गजलप्रेमीहरुलाई मिठो निद्रा लगाएछ ।।
उहाँको गजलको यस पहिलो श्लोकलाई उहाँले दस पटक दोहो¥याउनुभो । उहाँको गजलमा बाजा बजाउनेहरुले केही तालबेतालका बाजा पनि ठोके । केही बिउँझेका भक्तहरुले उहाँलाई पनि फूल माला र अबिर लगाइदिए ।
एक जना महिला भक्तले यसै बेला गुनासो गर्नुभो—“लौ धुप पनि बाल्नु पर्ने ? कता बालूँ ? केही व्यवस्था गरेको छैन ?”
अर्काे एक जना भक्त हातमा सयको नोट निकाल्दै अघि सर्नुभो र भन्नुभो—“खै कता छ दानदातव्यका लागि तयार पारिएको दानपेटिकाको बाकस ?”
यसै बेला अर्की महिलाको आग्रह देखियो “रसिद काटेरै दान दिऊँ भनेको, केही पनि देखिन्न । कता होला ?”
यस्तै केके भएर परजीवीको गजलबाचन सकियो ।
यसपछि भएभरका कविहरुको, गजलकारहरुको, टुक्काबाजहरुको अनि गिदाङ्गेहरुको पालो पुग्दै गयो । सभास्थल पनि रित्तो हुँदै गयो । स्रोताले पानी खाएको प्लास्टिकका बोतल र सभामा उपस्थित भएकाहरुले सभामा पारेको फोहोर सफा गर्ने एक सानो नानीलाई हेरेर उद्घोषकले भने—“नानीका पनि केही कविताहरु छन् कि सुनाउन सक्छौ भने आऊ सुनाऊ ।” उद्घोषकको आग्रहमा ऊ वाल्ल मात्र परेर हेरिरह्यो ।
“अब कोही बाँकी हुनुहुन्छ कि ?” अखण्ड काव्यकाठको कार्यक्रम सकिन सकिन लागेको बेलामा सञ्चालकले माइकबाट पुुनः आग्रह गरे । भोजभतेरमा कोही भतेर खान छुट्यो कि भनेर सोधिएझैं गरी सबैलाई एक एक गरेर सोधियो । लभगभ सबैको सकिएको बुझियो ।
“लौ उहाँको ता छुट्यो नि !” मञ्चमा रहेका सभापतिले मतिर देखाउँदै मेरो पालो नआएको सूचना गर्नुभो र उद्घोषकले मलाई मेरो रचना पनि सुनाउन आग्रह गर्दै मेरो काव्यपाठ पछि सभापतिको मन्तव्य हुने र आपूm पनि जानी नजानी कार्यक्रम सञ्चालन गरेकोमा क्षमा माग्दै बिदा भएको कुरा सुनाएर बिदा हुनुभयो ।
अन्तमा म र सभापति मात्र थियौं । मैले उहाँलाई कसरी र कस्तो सुनाएँ भनेर ता के भनिरहनु ? आफैं रिपोर्टर भएपछि आफ्नै कुरा के लेख्ने । भैगो ।
बाहिर निस्कँदा केही भुराभुरी मलाई भन्दै थिए— ‘अङ्कल पर्साद पाइन्न यो पुरानमा ?”
पत्रिकालाई रिपोर्टिङको यो सामग्री अलिक चाँडो पुगाउनु पर्ने हुनाले तिनलाई के भन्नु के भन्नु हुँदाहुँदै लागें आप्mनो बाटो ।
भद्रपुर—१०, झापा ।