18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ल्याप्चे छाप

लघुकथा कृष्ण बजगाईं October 28, 2016, 4:02 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

गरिवीको रेखामुनि रहेका निर्धन जनताको गरिबी निवारण गर्न दाता समूहको सहयोगमा एउटा योजना ल्याइयो । अशिक्षितहरुलाई उनीहरुको रुची र अनुभवको आधारमा आर्थिक उपार्जनको लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो सरकारले । सरकारी कर्मचारीहरु पैसा लिएर त्यो गरिव बस्तिमा पुगे ।

पैसा बितरण गर्न प्रक्रिया पुर्याउनु दाताले तयार पारिदिएको सरकारी फारममा दस्तखत गर्न तिनीहरुलाई बोलाइयो । ती अशिक्षित गरिबले दस्तखत गर्न नसकेपछि पैसा वितरण नगरी कर्मचारीहरु फर्के ।

फेरि दाताको अनुमतिमा ल्याप्चे लगाउँदा पनि हुने नयाँ फारम बनाईयो । अर्कोपटक कर्मचारीहरु पैसा बाँड्न आए । फारममा ल्याप्चे लगाउने प्रक्रिया सुरु भयो । अहँ त्यहाँ कसैको ल्याप्चेको निशाना आएन । काम गर्दा गर्दा पटपट फुटेका उनीहरुका औलामा शङख, चक्र त के कुनै बक्र रेखाका निशाना पनि थिएनन् । ल्याप्चे छापको निशाना नआएपछि ती गरिवहरुलाई पैसा वितरण गर्न नमिल्ने जानकारी गराईयो । तिनीहरु रित्तो हात फर्के ।

साँझमा एक भट्टी पसलमा पैसा बाँड्ने कर्मचारीहरु र गाउँका टाठा बाठाहरु फारममा धमाधम ल्याप्चे लगाउदै थिए ।

बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।