रातभर,
जून पर्खेर बसेछ मलाई बार्दलीमा
म रोएर बसेछु कोठा भित्र अँध्यारोमा
सिरक भित्र,
एक्लै निसासिएर ।
यो कोठाभन्दा
साँघुरो र अँध्यारो पो रहेछ कि मेरो चेतना ?
यो ढोकाभन्दा
बन्द र चुपचाप पो रहेछ कि मेरो संवेदना ?
एकचोटी पनि
खालि एकचोटी पनि
हटाउने सुरसम्म आएन झ्यालको पर्दा
उठेर ढोकाको छेऊसम्म लर्खरिंदै
पुग्नेसम्म कहिल्यै सोचिएन
उफ् ! कति दह्रो चुकुल ठोकेछु मैले
आफ्नै मनमा ।
रातभर
आँगनमा एक्लै बरालिएर गएछ जून !
उदास उदास ऊ
रोएर गएछ बगैंचाभरि
चराहरूलाई सिकाएर गएछ
जीवनको गीत ।