भरखरै तिमी र म
बिर्सेर सुनौलो वर्तमान
छिरेर अतितको फलामे सुरुगं भित्र
यति धेरै कुरा गर्यौ -
धान रोप्ने रोपारका कुरा...
हलिदाइ र बाउसेका कुरा...
खले गरो र दाँई बरादोको कुरा...
मकैको खलियो
र धानको भकारिको कुरा...
यति छोटो समयमा
हामीले साट्यौं
अतितको गर्भमा गुम्सिएका
थुप्रै थुप्रै अनुभूतिका कुरा ।
हामी गर्दै थियौं -
दाउराको भारि बाँधेर
घाँसको मुठ्ठा कसेका कुरा
मेलापाता पर्म लाउँदा
चौतारीमा सँगै बसेका कुरा
अझै कहाँ बिर्सेको छौं र ?
भैसी दुहुन सोरेको भकारोको कुरा
दही मथेर नौनी पगालेको कुरा...!
ओहो !
कति खचाखच रैछन्
यी यादहरु पनि
हामीले यो बीचमा
गाउँ घरका मीठा कुराले नै
भोक मेट्यौं, पेट भर्यौं
कुरै ओच्छ्यायौं, कुरै ओड्यौं
एउटै धरातल र
एउटै अनुभूतिका हामी
शहरको बर्तमान छोडेर
गाउँको अतित पुग्यौँ
र सम्झ्यौं
बगैंचाका अम्बा, नासपति र केरा
खोलानाला र धारा पँधेरा
हामी पुलकित हुँदै
यादहरुलाई रित्यायौं
र फेरि फर्क्यौं
उही यान्त्रिक वर्तमानमा !
ल हेर त ! जीवनमा फेरि
व्यस्तताको बाढी आयो
र डुब्यौं हामी ।
ब्यस्तताको हुरी चल्यो र
उडायो सारा यादहरु
फेरि तिमी कहाँ,म कहाँ ?
उही भागदाैड, उही ब्यस्तता !
गाउँका यादहरु खेत र फाँटहरु
पहाडको हरियाली
बिस्तारै बिस्मृतिको गर्भमा बिलिन भए ।
भन त प्रिय,
कति मीठो हुन्थ्यो होला ?
सँधै तिनै मीठा यादहरुमा
यो बर्तमान हाँस्न पाए
यो वर्तमान बाँच्न पाए ..!!