भनिन्छ, केही देखी जानिन्छ, केही सुनी जानिन्छ । केही परेर पनि र कति कुरा पढेर पनि जानिन्छ । मैले पनि केही सुनेर जानेको थिएँ हलेसीलाई । केही जानेको थिएँ हलेसीको तस्बिर हेरेर । तर देखेर चाहिँ चिनेको थिइनँ हलेसीलाई ।
अब अहिले सुनेको र देखेको ठाउँमा प्रत्यक्ष आँखाले देख्न र पाइलाले टेक्न पाउँदा मन त्यसै गद्गद् हुन पुगेको थियो । पहाडको प्रसिद्ध तीर्थस्थल हलेसीको पावन भूमिमा मेरो प्रथम पाइला प¥यो ।
विश्वास गर्नलाई आँखाले देखेपछि झन विश्वस्त हुनुका साथै अनौठो आश्चर्यले पनि अलमलमा पार्दोरहेछ । पवित्र पावन भूमि हलेसी धाममा प्रथम पाइला टेक्दा र पहिलो दृश्य देख्दा मलाई यस्तै भयो ।
ती दृश्यलाई आँखाले चुमिरह्यो । मनको हार्दिकताले धेरै बेरसम्म स्पर्श गरिरह्यो । यात्रामा सहभागी साथीहरुतिर मैले हेरें सबै जना पावन भूमिमा पाइला राख्न पाएर हर्षित थिए ।
मेरो आँखा सामुन्ने दृश्यमान थियो हलेसीको पावन भूमि । मेरो पाइला हलेसीमाथि उपस्थित थियो ।
बाल्यकालदेखि सुन्दै आएको हलेसीको अचम्मको प्राकृतिक लीला । आजै अहिले आफै सामु भेट्न पाएको थिएँ । अनि पहाडको अक्करे भीरमा पनि यति सुन्दर बनौट, यति भव्य अवस्थिति विश्वास गर्न आँखैले देख्नुपर्ने रहेछ । पाइलाले टेक्नुपर्ने रहेछ । कति अग्ला र कति कठोर पहाड चढेपछि मात्रै यस्तो अवसर आउँछ ।
यति भएपछि थोरै चर्चामा आएको यो पावन भूमिको भू–बनौटप्रति जिज्ञासा बढ्ने रहेछ । यसप्रति आस्था र आराधना पनि जाग्ने रहेछ । खोजी हुन भने अझ धेरै बाँकी छ । चर्चा चलाउन पनि त्यत्तिकै बाँकी । पहाडी टाकुरामा अवस्थित भएकाले यहाँ आउन अलि मुश्किल पर्छ । त्यसैले पनि यसको चर्चा चाहे जति नभएको होला ।
अनकन्टारको यो पहाडी शिखरमा हलेसी महादेवको प्राकृतिक स्वरुप यति आश्चर्यमय देखियो कि त्यसले यात्रामा सामेल सबैलाई निकै भावुक बनायो । मैले सुनेका कुरा र पढेका तथ्यमा तालमेल मिलाउन मलाई अपठ्यारो भयो । किनभने यहाँको बनौट अविश्सनीय रुपमा स्थापित थियो । यहाँ जीवन, प्रकृति र संस्कृतिको त्रिवेणी मिलन रहेको देखियो ।
यो पावन भूमिमा प्रथम पाइला पार्न पाउनु मेरा लागि अहोभाग्य भयो । मेरा निम्ति चाख र चासोको विषय पनि बन्यो । मैले आँखाको स्पर्शले हलेसी धामलाई पटक–पटक चुमे । बिस्तारै छुएँ । अनि दृश्य–दृश्यलाई मनको क्यानभासमा खिचेँ । मनमा अपार आनन्दले रमाएँ ।
यति आनन्दको यो ठाउँ, यति शान्तिको यो भूमि, यति रहस्यमय कथा–किंबदन्तीले भरिएको यो स्थलको खोजी अझै पनि राम्ररी हुन सकेको छैन । उचित संरक्षण र सम्बद्र्धन कार्य पनि खासै गरिए जस्तो लागेन । साथै यति रहस्यमय पावन भूमिको महत्वलाई आवश्यक प्रचार–प्रसारसमेत गरिएको छैन । कौतुकमय हलेसीको भूगोल मान्छेलाई भुल्याइदिन्थयो ।
अनौठो प्राकृतिक भू–धरातलको यो स्थानलाई त तीर्थयात्रीका साथै आन्तरिक र बाह्य पर्यटकहरुको प्रमुख गन्तव्य थलोका रुपमा पनि विस्तार गर्नुपर्ने हो । यस्तो बनौट, यस किसिमको अक्करे चट्टानभित्र अन्त कहाँ होला यति अचम्मको दैवी लीला ?! अन्यत्र कहाँ होला यस्तो सुन्दर, शान्त प्रकृतिको संयोजन ?
पहाडी उचाइको थाप्लोभित्र विराजमान हलेसी महादेवको यो आशन र यस्तो अवस्थिति म जस्तो प्रथम दर्शनार्थीका लागि कम रोचक र रहस्यमय लागेन । विश्वासै गर्न नसकिने बनौट र बान्की देख्दा श्रद्धाले शिर नतमस्तक हुन्छ । आस्थाले मन पग्लिन्छ । कुन नास्तिकलाई यस स्वरुपले प्रभावित नपार्ला र ! आस्तिकहरु त आराध्य देवप्रति आस्था, अनुरागले आलिङ्गनबद्ध हुने नै भए ।
शान्त अनि पवित्र धाम यो । यहाँ पाइला टेक्ने जो पनि आध्यात्मिक आनन्दले विभोर हुन पुग्छन् । अनि आश्चर्यको आकाशमा रुमलिन थाल्छन् । अनि श्रद्धा र भक्तिले पग्लिँदै पावन भूमिमा जीवन अर्पिन्छन् ।
मैले सोचेको, मैले पढेको र मैले सुन्दै आएको हलेसीमा धेरै अन्तर रहेछ । आफ्नै आँखाले साक्षात्कार नगरेसम्म भरोसा नहुँदो रहेछ । हलेसी धाम साँच्चैको तीर्थस्थल हो । यस्तो प्राकृतिक अवस्थितिमा विराजमान रहेछ कि यस्तो स्वरुप वास्तवमा अर्को आश्चर्यको नमुना हो ।
प्रथमतः यातायातको असुविधाले सो स्थल अक्करे भीरकै अपठ्यारोमा अझै पनि ओझेलिएको छ । बल्ल खुलेको सडक मार्गले हलेसीको आकर्षण पनि बढ्ला । यसप्रति मानिसको आगमन थपिँदा अवश्य नै यो पावन भूमिको महिमा गानमा पनि वृद्धि होला । यसको रहस्यमय उत्पत्तिका अरु धेरै इतिहास प्रकाशमा आउलान् ।
सम्भावित आशाको मीठो सपना बुन्दै हलेसी सेरोफेरोमा घुमिरहँदा मनमा बेग्लै शान्ति र आनन्दको अनुभूति हुँदोरहेछ । अरुलाई जस्तै मलाई पनि त्यस्तै अनुभव भइरहेको थियो । आफ्नै गृह जिल्लाको यति प्रसिद्ध र यति प्रीय–पवित्र तीर्थधामलाई मैले बर्षौंको समयपश्चात् मात्रै पाइला टेक्न आएको थिएँ । यति आश्चर्यमय, यति सुन्दर र यति चाखलाग्दो किंबदन्तीले भरिएको थलोमा आएर मैले सुखद अनुभूतिको सास फेरें ।
कति तीर्थयात्रीको पवित्र धाम हो यो । कति मानिसको भाकल पूरा गर्ने थलो हो यो । कतिको दुःख बिसाउने स्थान पनि हो यो पावन भूमि । विशेष मेला–मौसमको समयबाहेक पनि यहाँ दर्शनार्थीको उत्तिकै भीड लाग्दो रहेछ । श्रद्धा र भक्तिको त्यत्तिकै पूजा–आराधना गरिँदो रहेछ । घुम्ने घुमन्तेहरु पनि बेलाबखत यहाँ आएर मन आनन्दित पारी फर्किने गरेको जानकारी पनि मिल्यो । यहाँ गाडीबाट भन्दा पैदल आउने भक्तजन धेरै हुँदारहेछन् ।
यौटा अनुकरणीय कुरा हलेसीमा बलि परम्परा रहेन छ । यहाँ बलि प्रथा निषेध रहेछ । मेलाका अवसरमा रातभरि भजन, बालन, दोहोरी गाइने रमाइलो परम्परा पनि यहाँ निकै विकसित भएको थाहा भयो । सहयात्री कवि तथा गीतकार वीरेन्द्र राईले पूर्वेली भाकामा गीति लय खोल्न थाले ।
उनले बल्ल मुख खोले– तीन, चार दिनदेखि पन्द्र दिनसम्म यहाँ मेला लाग्छ । त्यही मेलामा लोकगीत गाइने यहाँको खास विशेषता हो । त्यसमा पनि सात दिन सात रात दोहोरी गीत गाइने गरिन्छ । नाचेर खुट्टा दुख्दैन, गाएर गला सुक्दैन । भोक, निद्राको के कुरा भयो । सधैं खाएकै हो । सधैं सुतेकै हो । वर्षमा एकदिन एकपटकको अनिँदोले केही हुन सक्दैन ।
यस कुरामा डा. धनप्रसाद सुवेदीले पनि थपे– हलेसीको मेलामा पूर्वी पहाडको लोकगीतको सङ्कलन केन्द्र बन्न सक्दछ । यस मेलामा मायाप्रेम, दुःखसुख साथै घरगृहस्थी आदि अनेक किसिमका गीति भाका गुञ्जिन्छन् ।
यही कुरालाई अझ प्रष्ट पार्दै मित्र भागवत आचार्यले अगाडि थपे, गीतमात्र हैन नाचको पनि उत्तिकै मौलिक चिनारी ती मेलामा देख्न पाइन्छ । कति युवापुस्ता वर्ष दिनदेखि योजना बुनेर बसेका हुन्थे ।
कवि भागवतको जानकारी अनुसार दूधकोशी क्षेत्रका मगरहरुको स्थानीय तथा क्षेत्रीय गीत र नाचको लोक संस्कृति पनि यहाँ देख्न सकिन्छ । ओखलढुङ्गा र खोटाङको नाकामा बजार छ रबुवा । रावाखोलाको दोभान र लामिडाँडाको पुछार रबुवामा माघे सङ्क्रान्ति र ठूली एकादशीमा ठूलो मेला लाग्छ । त्यही मेलामा त्यहाँ स्थानीय जातिको लोकसंस्कृतिको जीवन्त पल उद्घाटित हुन्छ ।
यसैबीच हलेसी धाममा यौटा कुरा सुधार्नुपर्ने दृश्य देखियो । धुनि जगाएर होम गर्नेदेखि पूजापाठका तमाम सत्कार्य त्यहीँभित्र हुँदै गरेको । तर यस किसिमको प्रक्रियाले गुफाको प्राकृतिक बनौटलाई कत्तिको असर पार्छ कुन्नि ? यसो गर्ने कार्य अलि छुट्टै स्थानमा गर्ने व्यवस्था गरिए अन्य दर्शनार्थीहरुलाई सुविधा हुने थियो ।
धुनि जगाएर होम गरिने प्रचलनले सो देव परिसरलाई धमिलो धुवाँभित्र रुमल्याएको देखिन्थ्यो । त्यसैले अँध्यारो ओडार त्यसमाथि धुनिको धुवाँले दिउँसै अन्धकार थपिदिएको थियो । यी कार्यको अलग्ग स्थान तोकिए पावन भूमिलाई धुवाँको मुस्लोबाट मुक्त राख्ने थियो । आगन्तुक दर्शनार्थीहरुलाई पनि दर्शन र दृश्यावलोकनका निम्ति सजिलो हुने थियो ।
हलेसीको पावन भूमिप्रति आज धार्मिक सहिष्णुताको समायोजन पनि भएको थाहा भयो । हलेसी प्रवेशद्वारसँगै बौद्ध गुम्बा थियो । त्यस्तै किरात जातिको पनि पूण्य भूमि मानिदो रहेछ हलेसी ।
यात्राका सहभागी कवि देवविक्रम राई यही कुरालाई पुष्टि गर्दै भनिरहेका थिए– किरात किंबदन्तीअनुसार किरातहरुका आदिम पुर्खा तोयामा खियामा दिदीबहिनीको प्रतीक शिलाको पूजाअर्चना यहाँ गरिँदै आएको पाइन्छ । त्यस्तै केही वर्षदेखि किरात राई यायोक्खालगायतका किरात जातजाति, संघसंस्थाहरुले पनि यस स्थानलाई किरातको आदिभूमिको रुपमा यसको संरक्षण, सम्वद्र्धन र विकासका कार्य गरिरहेका छन् ।
राईले बताएअनुसार किरातहरुको तुवाचुङ–जायजुम महोत्सव पनि यहाँ सम्पन्न भइसकेको छ । साथै तुवाचुङ–जायजुमको संरक्षणका लागि गुरूयोजना बनाइ काम सुरू भइसकेको पनि थाहा भयो ।
यसै विषयमा थप्दै डा. धनप्रसाद सुवेदी भन्छन्– किराती जातिको मूल धार्मिक ग्रन्थ मुन्धुमको उत्पत्ति थलोका रुपमा समेत रहेको मानिने हलेसीलाई किरातीहरुको पवित्र भूमि पनि भनिन्छ । यसरी यो धाम हिन्दु, बौद्ध र किरातहरुको पवित्र तीर्थस्थलका रुपमा रहेको छ ।
पहिले यहाँ लाग्ने मेलामा स्थानीय उत्पादनका अनेकौं सामग्रीहरु आउँथे । जस्तै उखु, बदाम, राडी आदिका उरुङखात पसल राखिएका हुन्थे । तर आज समयसँगै यी समानको उत्पादन हुनै छाडिसकेको छ ।
यस भूमिमा तीन वटा आश्चर्यमय गुफाहरु छन् । ती गुफाको एक–एक अवलोकन गराउँदै कवि मित्र भागवत आचार्य धेरै कुरा भनिरहेका थिए । पूर्वमा भैरव गुफा, पश्चिममा बसाह गुफा र मध्य भागमा महादेव गुफा छन् । मुख्य गुफा भनेकै महादेव गुफा हो । मानिसको त्यस भीडमा उनका थोरै कुरामात्रै मेरो कानमा पसिरहेका थिए ।
उनी त यसक्षेत्रका पुराना बासिन्दा नै भए । सानै उमेरमा हलेसी दर्शन गर्न आएको कुरादेखि अलि बुझ्ने भएपछि आएको कुरा बताइरहेका थिए उनी । शिवरात्री, बालाचर्तुदशी आदि पर्वमा त यहाँ पाइला राख्ने ठाउँ नहुने कुरा उनले बताए । मान्छे कहाँदेखि आएका होलान् भन्ने प्रश्नले उनी त्यो बेला निकै अचम्ममा पर्थे रे ।
महादेव गुफाको उत्पत्ति पनि अचम्मकै रहेछ । समथर जमिनबाट जमिनमुनि पसेर यो गुफामा जानु पर्दछ । त्यहाँ पुग्न सिँढी ओर्लिएर झर्नु पर्दछ । सिँढीबाट झर्दै गर्दा गुफाभित्र बालिएका बत्तीको झिलिमिलीले पवित्र धामको पावन भूमिलाई साँच्चै नै शान्त, सुन्दर र मनमोहकका साथै आश्चर्यमय स्वरुपमा दृष्टिगोचर गराउँछ ।
मैले यी दृश्य हेर्दै आफू–आफै छक्क परेर यताउता हेरें । चारैतिर भीमकाय चट्टान थिए । तिनमा विचित्रका अनेक आकृति देखिन्थे । पहाडको टाकुरामा यस्तो अवस्थिति अधिकांशका लागि चासोको विषय हुनु स्वाभाविक हो । अघि गाडीमा सुवेदीजीले बताएको उत्पत्ति कथाका वर्णन र दृश्यसँग मैले यस ठाउँलाई तुलना गर्ने कोसिस गरें ।
उनले बताएका थिए– पौराणिक आख्यानमा रहेको वृकासुर राक्षसले शिवजीको कठोर तपस्या ग¥यो । उसको तपस्याबाट प्रशन्न भई शिवजीले वरदान माग भने । वृकासुरले जसको टाउकामा मैले हात राख्छु उसको मृत्यु होस् भनी वरदान माग्यो । शिवजीले तथास्तु भनेर बरदान दिए ।
बरदान पाउना साथ राक्षसले शिवतिर हेर्दा शिवजीसँग बसेकी परम सुन्दरी पार्वती देख्यो । पार्वतीको रुपमा मोहित भई पार्वती पाउनका लागि शिवजीकै टाउकामा हात राख्न खोज्यो । त्यसपछि शिवजी भागरेभाग भए । राक्षसले लखेटेर शिवजी भाग्दै धेरै पहाड चढे । धेरै ओढार पसे, धेरै हिमाल चहारे । तर कतै पनि सुरक्षित स्थान पाएनन् । आखिर हलेसी पुगे ।
सोही क्रममा राक्षसलाई झुक्याउनका लागि पहरा फोरेर पहराभित्र पसे । केही पर पुगेपछि सो पहराबाट शिवजी सिधै आकाशतिर लागेर बाहिर निस्की पुनः अर्को ठाउँबाट पहरा फोरेर जमिनमुनि लुके । यसरी अहिलेको बसाहा गुफा शिवले पहरा फोरेर बनाएको पहिलो गुफा हो । शिवजी जमिनमुनि लुकेको ठाउँ चाहिँ महादेव गुफा हो ।
लुकेका महादेवले राक्षसबाट कसरी मुक्ति पाए त ? भन्ने जिज्ञासामा डा. सुवेदी अगाडि भन्न थाले– महादेव जमिनमुनि गुफा बनाइ लुकेका बेला भगवान विष्णुले मोहिनी रुपधारण गरी राक्षसलाई भेटे । शिवजीले दिएको वरदान सत्य नहुने भन्दै विष्णुले राक्षसलाई ‘नपत्याए आफ्नै टाउकामा हात राखेर हेर त’ भने ।
यसरी विष्णुको भनाईमा विश्वास गरी राक्षसले आफ्नै टाउकामा हात राख्यो । हात राख्नासाथ ऊ त्यहीँ भष्म भयो । यसरी भष्म भएकाले सो राक्षसको नाम भष्मासुर रहन गयो । राक्षस भष्म भएपछि भगवान शिवजी लुकेको ठाउँमा पुगेर विष्णुले दर्शन गरे ।
यसप्रकार विष्णु अर्थात् हरि र शिव अर्थात् ईश्वरको भेट भएको ठाउँ भएकाले यस ठाउँलाई ‘हरिश्वर’ भनिएको र कालान्तरमा सो नाम पावन ‘हलेसी’ मा रुपान्तरण भएको कुरा इतिहासकार ज्ञानमणि नेपालले समेत उल्लेख गरेको सन्दर्भ सुवेदीले सुनाए ।
मेरा आँखा यताउताका दृश्यमा दौडिरहेका हुन्थे । मेरो ध्यान चाहिँ डाक्टरको आवाजतिर नै थियो । डा. सुवेदी बताइरहेका थिए– यो गुफा कैलासको शिखरबाट जमिनमुनि ठूलो खाल्डो बनेर तयार भएको आश्चर्य लाग्दो गुफा हो । यहाँ समथल जमिन छ र त्यही ठाउँमा शिवलिङ्ग, देवीदेवता छन् । पापद्वार, धर्मद्वार, कर्मद्वार तथा स्वर्गद्वार र जन्मद्वार पनि यसै ठाउँमा भएको देख्नुभयो होला नि ।
सुवेदी स्वर मेरो कानमा गुञ्जिरहेको थियो । आचार्य आवाज पनि आइरहेको थियो । यी द्वारबाट छिर्न सकेमा पापबाट मुक्त हुने जनविश्वास रहेको पाइन्छ । यही गुफाको केही अग्लो स्थानमा अर्को सानो गुफा रहेको देख्नु भयो नि त्यस स्थानलाई गौरापार्वता थान मानिन्छ ।
महादेव गुफाको मुख्य देवस्थलमा यात्रामा सहभागी सबैले दर्शन र पूजा ग¥यौं । यहाँ गिरी थरका पुजारीको व्यवस्था रहेछ । ती पनि सानो उमेरका थिए । मैले यसबारे सोध्दा हलेसीका अध्येता डा. सुवेदीले सो को इतिहास खोतले ।
उनको भनाइअनुसार वि.सं. १८६१ सालमा राजा गिर्वाणयुद्ध विक्रम शाहबाट स्थानीय गिरी थरका पुजारीलाई मन्दिरको पुजारी बन्न भनी लालमोहर प्राप्त भयो । त्यस लालमोहरमा १४ वर्षभन्दा कम उमेरका कुमार गिरी परिवारको केटो पुजारी हुने परम्परा रहेको छ ।
त्यहाँबाट हामी फर्कियौं बसाहा गुफातिर । त्यहाँ प्रवेश शुल्क बुझाउनुपर्ने रहेछ । कवि देवविक्रमजीले हामी सबैको प्रवेश शुल्क बुझाए । त्यसपछि अँध्यारो गुफाभित्र प्रवेश हुँदै अगाडि बढ्दा झन फराकिलो ठाउँ आयो ।
घुर्मैलो किरणको उपस्थितिमा गुफाका भित्ता विशाल चट्टाने पर्वत श्रृङ्खलामा निर्मित देखिन्थ्यो ।
गुफाको अद्भूत बनौटबारे धनप्रसादजी भनिरहेका थिए । बसाह गुफाको प्रवेशद्वारबाट २५० फिटभित्र गएपछि आकाश देखिने गरी ठूलो भ्वाङ परेको छ । त्यही भ्वाङबाट शिवजी बाहिर निस्किएर महादेव गुफाको सिर्जना गरी राक्षसलाई छक्याएर लुकेको किंबदन्ती छ ।
उनको वर्णनअनुसारको दृश्यलाई आफ्नै आँखा सामु हेर्दै–हेर्दै म हिँडिरहेको थिएँ ।
सायद राति गुफाभित्रबाट त्यो भ्वाङ हेर्दा चन्द्रमा जस्तै देखिँदो हो कि ! गुफाभित्रको वातावरण शान्त, शीतल र अर्कै ग्रहमा पुगे जस्तै अनुभव हुन्थ्यो । त्यही भ्वाङबाट आएको उज्यालोले गुफाको भित्री भाग देख्न्थ्यिो ।
उनको भनाइअनुसार बसाह गुफाको भित्तामा गाईका थुन जस्ता आकृति रहेछन् । तिनबाट पानीका थोपा तप्प–तप्प चुहिरहेका थिए । त्यहाँ पुग्ने भक्तजनहरु आफ्नो अञ्जुलि थापेर महादेवसँग दूध माग्दारहेछन् । कति तीर्थयात्रीहरुले यसो भनेको पनि सुनियो– दूध देऊ महादेव ! अलिकति दूध देऊ !
गुफाभित्रको अनौठो र आनन्दको वातावरणमा यात्रामा सहभागी सबै केही बेर सुस्तायौं । त्यसपछि फर्किएर बाहिर निस्किँदा हलेसीको मुख्य शिवलिङ्ग रहेको गुफा पहाडको थुम्कैमा अवस्थित भएको देखाउँदै भागवत र धनप्रसादजीले धेरै कुरा बताए ।
चारैतिर भन्ज्याङहरु रहेको र प्राकृतिक सौन्दर्य तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण स्थान हुने उनीहरुले जानकारी दिए । फागुन, चैतमा डाँडैभरि राताम्मे लालिगुराँस फुलेर पहाडै शोभायमान बनाएको हुन्छ । खुल्ला मौसममा सगरमाथा हिमश्रृङ्खला, सुनकोशी, दूधकोशीलगायत पहाडी सुन्दर तरेलीका फाँट देख्न सकिन्छ ।
सुवेदीजीले भने– धार्मिक र प्राकृतिक स्थलका साथ जीवविज्ञान र भू–गर्वशास्त्रीय अध्येताका लागि पनि यो ठाउँ उपयुक्त गन्तव्य हुने देखिन्छ । हलेसी आसपासका क्षेत्र किरात सभ्यताको आदिम थलो पनि भएकाले समाजशास्त्रीय तथा मानवशास्त्रीय अध्ययनका लागि पनि उपयुक्त स्थल हुन सक्दछ ।
यसरी पावन भूमिमा प्रथम पाइला टेकेर यसको एक चक्कर लगाउँदा एकाध घण्टा बितिसकेको रहेछ । त्यसपछि हतार–हतार फूलप्रसाद पोको पार्दै श्रीओम श्रेष्ठ रोदनजी र ललिजन रावलसँगै देवविक्रमजीको सुमोतिर पाइला दौडिए । साथीहरु पर्खिएर बसिरहेका थिए ।
हामी गाडीमा बसेपछि प्रश्न ग¥यौं– भगवान भनाउँदा अपठ्यारो चट्टाने पर्वतमा मात्रै बस्न किन रुचाउँदा रहेछन् ? कतै गुफा, ओडार र कतै पहाडका अक्करे चुलीमा मात्रै बस्न पुग्ने । पूजापाठ र दर्शनका लागि व्यर्थ भक्तजनलाई मात्र हैरान ।
शक्तिपीठहरु, आराध्यदेवहरु, मुक्तिदाताहरुका निवास अधिकांशतः अपठ्यारामा अवस्थित रहनुको रहस्य के हो ? तर यस्तै कठिन यात्रामा हिँडेर अद्भूत प्रकृति नियाल्नु र त्यहाँ शान्ति र आनन्द भेट्नु सायद यो नै देशदर्शन तथा देवदर्शनको सुखानुभूति प्राप्त गर्नु हो कि के हो थाहा छैन ।
कसैले भन्यो– सायद दुःख पर्दा र आपतविपत् आइपर्दा मानिस सधैं देवतालाई सम्झेर हैरान पार्छन् । त्यसैले ती मानिसबाट बच्नका लागि भगवान यसरी अनकन्टारको अपठ्यारोमा विराजमान हन आएका होलान् ! हुन पनि भगवानले कति मान्छेका कति मात्रै दुःख र पीडाको गुनासो सुन्नु ?
एकैछिनमा गाडी बेगबतासले हलेसीलाई पछाडि छाडेर जयराम घाटतिर ओर्लियो । मेरो मन भने हलेसी धामका विचित्र दृश्य–दर्शनमै केन्द्रित भइरहेको थियो ।