सहरको नामी डन मारियो ।
पुलिसले भन्यो –पुलिस इन्काउन्टरमा मारियो । डनहरूको समाजले भन्यो –पुलिसले मारेर इन्काउन्टर भनेको हो ।
भूपू पुलिस अफिसरले पत्रिकामा लेख नै लेखे । लेखको सार यस्तो थियो – नेता र डनको प्रेसर पुलिसलाई कस्तो हुन्छ ? त्यो त पुलिसले मात्र फिलिङ गरेको हुन्छ ।
देशमा त्यतिखेर बाढीपहिरो र अन्य आपराधिक घटनाहरू पनि घटेका थिए । पत्रिकाले डनको मृत्युलाई बाइलाइन समाचार, फिचर र लेखका रुपमा बेचे । यस्तो लाग्थ्यो कि डन बाँचेर भन्दा मारिएर बढी क्यास भएको छ –सहरमा ।
अर्को दिन संसद अवरुद्ध पार्दै सत्तारुढ दलका सांसदले भने –मानिसको बाँच्न पाउने मानवाधिकार हनन भयो । पछि बुझ्दै जाँदा थाहा भयो । मारिएको डन सत्तारुढ पार्टीका तिनै नेताको चुनाव जिताउने प्रमुख कार्यकर्ता थियो ।
नेताले डनको छाता ओडेपछि थाहा भयो नेता र अपराधको जालो कस्तो हुँदो रहेछ ।