18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नयाँ लोकतन्त्र

कविता जी.बी. आचार्य June 12, 2008, 4:17 am

हराएका छैनन् इतिहासका पानाहरु
छिपेको छैन कसैको विगत
आज परिवेश मात्र बदलिएको छैन
यहाँ पात्र फेर्ने जमर्को भएको छ
एक्काइशौं शताब्दीको नयाँ नेपाल
नयाँ बोतल र पुरानो रक्सि
अन्त्यहीन वहस होइन
अब द्रौपदीले
आफ्नो अस्मिताको रक्षा गर्न
कुर्नु पर्दैन अर्जुनलाई
स्वयं द्रौपदी  
युद्ध मोर्चामा समर्पित भएको बेला
यहाँ बलिदानका  
कैयन कीर्तिमानहरु बनेकाछन्
चुलो चम्को र घरको लुते धन्दाबाट
अलिकति समय बचाएर
यहाँ द्रौपदीहरुले  
भरुवा बन्दुकमा बारुद भर्दै
तानाशाहको आयु छोट्याउँदै गरेको बेला
आजिवन भारी बोक्दा  
कुप्रो शरीर भएका भरीयाहरुले
एकछिन भारी बिसाएर
गणतन्त्रको नारा उरालेको बेला
नातावाद र कृपावादका विरुद्ध
यूवाहरुले आकाश थर्किने गरि
जेहाद छेडेको बेला
माटो खोतल्ने औजारहरुलाई
रातो र तातो आरनमा अर्जापेर
किसानहरुले जसको जोत उसको पोत भन्दै
सामन्तवादका विरुद्ध धावा बोलेको बेला
नयाँ लोकतन्त्रको विजरोपण भएको होइन र
बदलिदैनन् शेरहरु
डर्दैनन् विचारवान मान्छेहरु
समयको आवाजलाई आत्मसात गर्नेहरु  
मृत्यु जितेर मोर्चामा
बदल्छन् संसार
फेरि किन कृत्रिम आवरण  
फोस्रा ठूला कुरा
नयाँ नेपालको नयाँ सारथी
के जनताले चिनेका छैनन् र ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।