पहिले पहिले झुपडीका
कान निमोठ्न आउने हुरी
यो साल त पृथक मन ल्याएर आयो
मक्किएको पराले झुपडीलाई सुम्सुम्याउँदै
मीठा मीठा सपनाहरु बोकेर आयो
अहो ! यसपाली त
अचम्मको हुरी आयो ।
पहिले त म डराएँ
बेसरी कराएँ
हात जोडेँ
निष्प्राण मूर्तिहरुलाई
मेरो उठीबास नगरा भनेर
निर्दाेष झुपडीको ढाड नसेकोस् भने
अहो ! अचम्म
यसपाली त हुरी आयो
रहरलाग्दो भएर आयो ।
म मान्छे हुँ
विश्वास छैन हुरीको
पोहरसालको सम्झना छ मलाई
मन भत्काएको
गालामा चट्काएको
हो त साँच्चै !
यसपाली त अचम्मको हुरी आयो
डाँडाकाँडा पञ्चेबाजा घन्काउँदै आयो
रातो बर्काे ओढेर आयो
जेहोस् यसपाली त अचम्मको हुरी आयो
किन आयो ?
कसरी आयो ?
कहाँबाट आयो ?
हेर्न बाँकी नै छ ।
– खजुराखुर्द १ (बाँके), नेपालगन्ज