शर्मिला.........
तिमी राजधानीभन्दा धेरै परकी
एक कुनाकी हौ.....
टाडा छ तिमीभन्दा राजधानी
राजधानी तिम्रो पहुँचभन्दा धेरै टाडा
तिम्रो पुकार सुन्दैन।
तिम्रो चिच्याइ पनि सुन्दैन।
त्यो त खोलाको गीत मात्र हुन्छ।
तिमी यहाँ जतिसुकै चिच्याउ
राजधानीलाई जतिसुकै गाली गर
जतिसुकै सराप, धिक्कार
तर राजधानीको कान बैरो छ।
आँखा अन्धो छ।
छाला बाक्लो छ।
सुन्दैन, देख्दैन र चाल पाउँदैन।
अथवा नसुनेको, नदेखेको र चाल नपाएको
अभिनय गर्छ...।
तिम्रो पुकारा, धिक्कार र सराप्याइ
जतिसुकै नारा जुलुस गर,
जो ठुलो तहस नहस र क्रान्ति, आन्दोलन लागे पनि
त्यो त एक कपभित्र चियाको छचल्काइ मात्र हो।
------ ---------------- ---------
तिमीभन्दा राजधानी टाडा छ,
तिमीभन्दा राजधानी चलाक पनि छ।
राजधानी त सधैं व्यस्त छ।
राजधानी त सधैं त्रस्त पनि छ।
राजधानी त सधैं लुकेर बस्छ।
राजधानीमा त ठुल्ठुला महलमा
ठुल्ठुला टाउका भएका मान्छे बस्छन्।
अनेक योजनाकार बस्छन्।
उसको योजनाभित्र तिमी अँटाउँदैनौ
उसको सपनाभित्र तिम्रो सपना टिक्तैन।
तिमी जतिसुकै आफुलाई बाठो ठान
राजधानी अझै बाठो छ।
तिमीले आँ गर्दा उसले कोही बोला त
आतङ्कवात पनि बुझ्छ
तिमीलाई परैबाट उसले कलमको गोली हान्न सक्छ।
तिमीले दुखेको पनि चाल पाउँदैनौ।
खै के गर्नु र तिम्रो पुकार।
वर्षौंदेखिको तिम्रो पुकार कतै गुञ्जिएको छैन
कतै थर्किएको छैन।
तिम्रो भोक हडताल त खेरो जान्छ।
बरू तिम्रो ज्यान जाला
तिम्रो पुकाराले गला सुक्दै जाला
तिम्रो शरीर थाक्दै जाला
तिम्रो हडताल त खालि आफैले दुःख पाउने मात्र हुन्छ।
तिम्रो नारा त एउटा सानो शहरमा नै सीमित।
के गर्छौ र शर्मिला......
यहाँ पनि तिमी जस्ता थुप्रै शर्मिलाहरू छौं...
हामी पनि तिमी जस्तै शर्मिला हौं।
हामी शर्मिला नै हौं।