18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पोषराज निरौलाका रचनामा झर्रो भाषाको खोजी

व्यक्तित्व / कृतित्व उपेन्द्र पागल September 28, 2015, 5:25 am

भवानीप्रसाद निरौलाका नाति र पिता जानकी वल्लभ एवम् जानुकादेवीका माहिला पुत्ररत्नका रूपमा पूर्व ६ नं. चैनपुर, वानामा वि.सं. १९९४ श्रावण २० गते जन्मनु भएका पोषराज निरौलाज्यूले वाराणसेय संस्कृत विश्व विद्यालयवाट ईस्वी १९५६ मा संस्कृत साहित्यमा “आचार्य” परीक्षा उत्तीर्ण गर्नु भई १९६३मा इलाहावादवाट अङ्ग्रेजीमा आइ.ए. समेत द्वितीय श्रेणीमा उत्तीर्ण गर्नु भएको पाइन्छ । आफ्ना वावुले विरामी भई स्वास्थ्यका कारणले काठमाडौं छाडेर गाउँमा आउनु पर्दा पढ्न नपाए पनि आफू सामान्य पुरोहित्याइँ गर्ने पण्डित भएकाले आफ्ना दुई गुँडवाट जन्मिएका आठ भाइ छोराहरुलाई राम्रै शिक्षा दीक्षा दिएर राम्रा इलमीका रूपमा स्थापित गराएको पाइन्छ । सरकारी जागिरे, वैंक व्यवस्थापक, पाइलट क्याप्टेन, शिक्षक र प्राध्यापकका रूपमा देश सेवामा संलग्न रहेको पाइन्छ । खुद पोषराजज्यूले चाहिँ १ वर्ष ७ महिना जति शाखा अधिकृतका रूपमा काम गरी त्यसलाई छाडेर २०२३ वैशाखदेखि धनकुटा कलेजको प्राध्यापकको रूपमा प्रवेश गरी २०४३ सालमा आएर पदोन्नति समेत पाउनुभएको र २०४६ सालमा शिक्षा दिवस पुरस्कारवाट पुरस्कृत हुनु भएर २०५५ माघ ७ गतेसम्म करिव ३२ वर्ष प्राध्यापन सेवा गरेको पाइन्छ ।

यसका अलावा तत्सम शव्दहरुको सङ्कलन २०३५ मा र विज्ञानमा प्रयुक्त नेपाली भाषा विषयक अनुसन्धान २०३८ मा संलग्न रहनु भएको र भाषिक कार्यशाला गोष्ठीहरुमा पनि भाग लिनु भएको पाइन्छ ।

२०१२ सालमा नेपालीय सम्स्कृत छात्र परिषदद्वारा प्रकाशित वार्षिक मुखपत्र “छात्रदूत” मा “दु:खेसो” शीर्षक कविता लिएर १८ वर्षकै पट्‌ठो उमेरदेखि साहित्यिक क्षेत्रमा प्रवेश गर्नु भएका पोषराजज्यूले कविता, कथा, निवन्ध जस्ता साहित्यिक विधामा कलम चलाउनु भएको पाइन्छ । साहित्यिक क्षेत्रतर्फ अन्य साधकहरुको जस्तो हुने खानेको पौल नभए पनि हुँदा खाने अर्थात् कसैले केही लेख मागेमा लेखिदिने वानी रहेको कुरा उहाँको २०१२ सालदेखि २०६३ सालसम्म करिव ५१ वर्षको उमेरसम्मका पनि एउटा सिंगो कृति निस्कन नसक्नुवाट हुँदा मात्र खानेका वर्गमा उहाँलाई राख्न सकिने आधार लिन सकिन्छ ।

२००६ सालमा १२/१३ वर्षकै उमेरमा वैवाहिक जीवनमा वाँधिनु भएका पोषराजज्यूकी जेठी श्रीमतीवाट ३ छोरी १ छोरा भएका र श्रीमती विरामी भई असक्त भएकाले २०२९ सालमा पुन: अर्को विवाह गरी चुडिन आँटेको गृहस्थीको दाम्लोमा वाँधिनु भएपछि पनि कान्छीतर्फवाट २ छोरी १ छोरा गरी ७ सात सन्तानका वावुका रूपमा रहनु भएको पाइन्छ । आफ्ना सातवाटै सन्तानहरुलाई आइ.ए. देखि एम.ए. सम्मको अध्ययन गराउनु भएको र सवै छोराछोरीहरुलाई वैवाहिक जीवनभित्र आवद्ध गराइसक्नु भएको छ । माइलो र कान्छो छोरा वैदेशिक रोजगारका निम्ति रुसको मस्कोमा कार्य गरिरहेका पाइन्छन् । सामान्य निम्नमध्यम वर्गीय परिवारका व्यक्ति भए तापनि उहाँको जम्मस्थान वाना हाल सङ्खुवासभावाट १० वर्ष वनारसमा वसी विद्यार्थी जीवन विताउनु भएका निरौलाज्यूका कखरादेखिकै साथीभाइका रूपमा कोशराज रेग्मी, वल्लभमणि दाहाल, चूडामणि रेग्मीज्यूहरुका सान्निध्यमा रहनु भएका निरौलाज्यू झर्रोवादी आन्दोलनवाट र वाम राजनीतिवाट पनि वढी प्रभावित रहनु भएको पाइन्छ जसको फलस्वरुप उहाँ एमाले जिल्ला कमिटी सुनसरीको सल्लाहकार सदस्य र नेपाली वद्धिजीवी परिषद् सुनसरीको पनि सल्लाहाकार सदस्यका रूपमा रहनुभएको थियो । आफ्नै गार्हस्थ्य जीवनमा रमाउने निरौलाज्यूले पारिवारिक सुख शान्तिमै आत्मलीन भएर समय विताउने गरिरहनु भएको पाइन्छ ।

निरौलाका रचनामा झर्रोवादी भाषिक अभिव्यक्तिगत प्रवृत्ति

प्रसिद्ध भाषाशास्त्री महानन्द सापकोटाको व्युत्पत्तिमूलक शव्दशास्त्र अनुसार “झर्रो” भनेको परम्परादेखि चलिआएको, फेदैदेखिको सनातन अथवा मौलिक भन्ने हुन्छ । अर्थात् मिसावटविहीन शुद्ध र संस्कृत आफ्नैपन भएको देशीय शव्द भन्नेन अर्थ लिन सकिन्छ । झर्रो नेपाली भाषा भन्नाले शव्द वाक्य, उखान टुक्का, व्यञ्जना, ध्वनि र अभिव्यक्तिशैलीमा समेत अन्य विदेशी भाषिक र अभिव्यक्ति शैलीगत छाप नपरेको आफ्नै नेपालीपन लिएको भाषिक अभिव्यक्ति भन्नेक वुझ्नुपर्छ ।

झरझराउँदो आत्मदीप्तियुक्त, चोखो, आत्मवादी, भाषिक प्रयोजन र प्रयोगलाई केन्द्रविन्दु वनाएर नेपाली भाषालाई जनजिव्रोवादी वनाउने र संस्कृत, अंग्रेजी, हिन्दी आदिभाषाका प्रभावहरुवाट नेपाली भाषालाई मक्त वनाउने भाषिक अभियानका अभियन्ताहरुमा वालकृष्ण पोखरेल, कोशराज रेग्मी, तारानाथ शर्मा, चूडामणि रेग्मी, पोषराज निरौला, स्व. गणेश भण्डारी, विपिनदेव ढुङ्गेल आदि भए तापनि यस वादको पृष्ठभूमि तयारी गर्ने कार्य चाहिँ काठमाडौंका राममणि आ.दी. (हलन्त वहिष्कार), गोपाल पाण्डे असीम र पूर्वका महानन्द सापकोटा आदिले प्रदान गरेका थिए ।

२०१२ सालमा पूर्व ६ नं. चैनपुर युवक छात्र सम्मेलनले जनसांस्कृतिक सभाको स्थापना गरी २०१३ मा नौलो पाइलो साहित्यिक पत्रिकाको प्रकाशन वनारसवाट सूरु गरी नेपाली भाषाको शुद्धता र परिष्कारका निम्ति झर्रोवादी आन्दोलन सुरु गरेको पाइन्छ । यसै पत्रिकाले झर्रोवादी अभियानलाई सैद्धान्तिक आधार दिँदै अगाडि वढाउने आन्दोलनवादीहरुका वीच वीचमा केही विचलन आएको भए पनि निरन्तरता प्रदान गर्ने योद्धाहरुमा चूडामणि रेग्मीले चाहिँ युगज्ञान साप्ताहिक, मोती, जुही, यथार्थ कुरा आदि पत्रिका, कोशराज रेग्मीको जनवार्ता र छहारी, विपिनदेव ढुङ्गेल हिमालचुली जस्ता आफ्ना पत्रिकाहरुका माध्यमवाट झर्रो भाषिक अभियानलाई अग्रगामी वनाउँदै लगेको पाइन्छ र यस अभियानका अनुयायीहरुको डफ्फा पनि निकै ठूलो समूहमा विकसित भएको पाइन्छ । यिनीहरुकै समूहभित्र पर्ने प्रमुख योद्धाहरुका सहभागीका रूपमा पोषराज निरौलाज्यू पनि पर्नुहुन्छ ।

यस लेखको उद्देश्य पोषराजज्यूका रचनामा पाइने झर्रोवादी प्रवृत्तिहरुको खोजी गर्नु रहेको छ । उहाँका पूर्व प्रकाशित फुटकर रचनाहरुको आड लिएर १ गीत, १४ निवन्ध, १ प्रवन्ध र ७ कथाहरुको संक्षिप्त विवेचना सहित छनोट प्रद्धति अनुसार २ कथाभित्र प्रयोग भएका झर्रो भाषिकतालाई तुलनात्मक अध्ययन यसमा प्रस्तुत गरिनेछ:

 २०१२ सालमा छात्रदूतमा प्रकाशित “दु:खेसो” शीर्षक गीतमा विपन्न गरिव वर्गको सामन्ती संस्कार लिएका व्यक्तिहरुको व्यभिचार र संस्कारवाट समेत शोषित भई भोग्नुपरेका पीडा र दु:खको अभिव्यक्ति दिइएको गीतवाट पोषराजज्यूले साहित्यिक क्षेत्रमा प्रविष्टि लिएको पाइन्छ ।

 २०१४ सालमा छात्रवाणी पत्रिकामा प्रकाशित “पुत्र महिमा” शीर्षक कथामा पुत्र प्राप्तिद्वारा स्वर्गको ढोका खुलाउन चाहने हरिशंकरले तेस्रो विवाह गरेर सन्तान जन्माउँदा पनि एघारौं छोरीको प्राप्ति गरेको देखाई पुरातन रुढिवादी र सामन्ती संस्कार लिएका पुरुष हुँ भन्ने वर्गको अपौरुष कार्यप्रति व्यङ्ग्य गरिएको पाइन्छ ।

 २०१६ छात्रवाणी वर्ष ४ अङ्क ४ मा प्रकाशित “फतौरी” कथामा जर्कटी सासू र उसकी वुहारी र जेठो छोरो एवम् कान्छा छोरा र केही गाउँले सूच्य पात्रका माध्यमद्वारा रुढिवादी संस्कार र कचकचे स्वभाव लिएका पोथी वासेका परिवारभित्रका असम्भय र अपजसे आइमाई स्वभावको चित्रण गरी त्यस्ता विकृतिको यथार्थ प्रस्तुत गरी व्यङ्ग्य गरिएको पाइन्छ ।

 २०१७ छात्रवाणी वर्ष ५ वर्ष अङ्क ५ मा प्रकाशित “कवोल” शीर्षक कथाको छोटे, छोटी, १५ वर्षे छोरो लिएर परदेसिनु पर्ने कारक तत्तवको रूपमा डाँडाघरे सासूको छलकपटपूर्ण शोषकीय प्रवृत्तिलाई अघि सारी उसका स्वर्गीय वावुको देशप्रेम सम्झँदै डाँडाघरे साहुको ऋणवाट मुक्ति पाउन साँझमा वास वस्न आएको परदेशीलाई काटेर मारी पैसा कुम्ल्याउने अति लोभका कारण आफ्नै १५ वर्षे छोरालाई परदेशी सम्झेर काट्न पुगेको छोटे र छोटीको दु:खान्त्यपूर्ण कथा छ । यसमा शोषकहरुका जालझेल अति लोभी एवम् लालचीहरुले भोग्नुपर्ने दुस्परिणमको परिणतिको सन्देश दिइएको पाइन्छ ।

 २०१९ सालमा उदय (वर्ष २५, अङ्क १०-१२)मा प्रकाशित “काँतर” शीर्षक कथाको पात्र सन्ते, मुइयाँ साहेव, सुव्वा साहेवको कथा रहेको छ । मुइयाँ साहेवको वावु सुव्वा साहेव र उनको घरको अत्याचारले सिपाहीको जागिरवाट निवृत सन्तेलाई टिपेर हिँडेकी मुइयाँ साहेवले सन्तेको काँतरपनका कारण भारतीय भूमिमा अलपत्र पर्नुपरेको देखाइएको छ । सन्तेमा पारिवारिक मोहको आन्तरिक द्वन्द्वको विजय भएको छ । पारिवारिक अत्याचारवाट मुक्ति पाउने नयाँ यौन जिन्दगी प्रारम्भ गर्ने मुइयाँको आकांक्षा भताभुङ्ग भएको छ । यो कथा सामाजिक यथार्थवादमा आधारित रहेको पाइन्छ । “वल्लो घाट न पल्लोतिर” कथा र यस कथाको सन्देश र घटना तारतम्यको वनोट परिवेश वाहेक ठ्याक्कै मिल्दोजुल्दो नै पाइन्छ ।

 २०२१ सालको हिमानी वर्ष २, अ.क. २ मा प्रकाशित “एक घैंटो पानी” शीर्षक कथा विशुद्ध प्रगतिवादि कथा हो । यसवाट सामाजिक रूढिवादी विचार, दमन र शोषणयुक्त जातीयको कट्टरपन्थीहरुका कारण पीडा भोग्न वाध्य सार्की वूढा चतुरे र सानी सर्किनीको आन्तरिक प्रेम, पुत्र प्राप्तिको खुसी र औषधी उपचार नपाएर मृत्युवरण गर्न पुगेको देखाई कारुणिक भाव सिर्जना गरिएको पाइन्छ । पहाडी क्षेत्रमा स्वास्थ पानीको अभावको पीडा भोग्न वाध्य समाज, सुत्केरी भएको अवस्थामा पनि अघाउँजी खान नपाउने दीनहीनताको स्थिति र सुत्केरीहरुले पनि २ दिनमै पानी पँधेरा धाउनुपर्ने वाध्यता, जातीय भेदभावका रुढिगत सामाजिक समस्याहरु नै हुन् ।

 २०२४ मा “आँगन” सामयिक साहित्य सङ्कलन धनकुटाको प्रकाशनमा प्रकाशित “हीराको मोल कीराले जान्दैन” कथामा गोरे, उसको मरेको छोरो, डाँडाघरे कान्छा मुखियाको मरेको वर्षीको वालक र सूच्य रूपमा गाउँलेहरु पनि रहेका पाइन्छन् । गोरेका छोरा मर्दा गोरेलाई सम्झाउने कान्छा मुखियाको कान्छो वर्षीको छोरो मर्दा मुखियाले गोरेलाई दिएको जवाफ “फलामको चोइटोलाई हीराको टुक्रासँग नदाँज गोरे”वाट टुङ्गयाउनीमा पुगेको पाइन्छ । यस कथामा घटनाको प्रधानता एवम् धनी र गरिवका वीचको विभेदात्मक सामाजिक समस्याप्रति कथाकारले व्यङ्ग्य गरेका छन् । आफ्ना सन्तानको मूल्य मानवमा मात्र होइन पशुपक्षीहरुमा पनि समान रुपमा रहेको हुन्छ तर मान्छेले मात्रै वर्गीय विभेद उत्पन्न गर्नु न्यायोचित होइन भन्ने सन्देश दिइएको पाइन्छ ।

 २०२४ मेची महा विद्यालयद्वारा प्रकाशित “धारा” मा प्रकाशित “वल्लो घाट न पल्लो तीर” शीर्षक कथामा हर्के, कान्छा, मुखिया, जेठा मुखिया र जेठी मुखिनीकी छोरी मैया साहेवको कथा छ । यस कथामा कान्छा मुखियाको यौनविकृति (इड)को सिकार भएकी मैयाँ साहेवलाई कान्छा मुखियाको दुस्प्रवृत्तिका कारण हर्केले व्यहोर्ने वाध्य हुनुपरेको सामन्ती संस्कारयुक्त शोषकहरुको चरित्रगत दुष्ट्याइँको चरित्राङ्कन गरी हर्केको अन्तर्द्वन्द्व देखाउँदे परदेशमा मैयाँलाई अलपत्र पारेर भागेको हर्केको कथा र समाजिक यथार्थ प्रस्तुत गरिएको पाइन्छ ।

 २०२४ मा मोतीमा प्रकाशित “म” निवन्ध आत्मपरकतामा आधारित रहेको छ । व्यक्तिवादी नीतिप्रति गहन व्यङ्ग्य छ, २०२५ सालमा कल्पना पत्रिकामा प्रकाशित “पत्रकार” शीर्षकको निवन्धमा पत्रकारहरुका पीडा र प्राप्तिहरुको विषयलाई लिएको छ । पत्रकार हुन हिम्मतिलो हुनुपर्ने कुरा तार्किक र मार्मिक व्यङ्ग्यात्मक रुपमा व्यक्त छ ।

 २०४३ को जुहीमा प्रकाशित “नेपाली वाङ्मयको विकासमा साझा प्रकाशन” शीर्षकमा लेखिएको लामो (३२ पेजको) अनुसन्धान र जानकारीमूलक लेख चाहिँ प्रवन्धको कोटिमा पर्न आउँछ । जुही पुर्णाङ्क ४७ माधव भणडारी विशेषाङ्कमा प्रकाशित “माधव भण्डारीका वनारसी विद्यार्थी जीवनतिर फर्किंदा” र २०६० को डिल्लीराम तिम्सिना स्मर्तिग्रन्थमा प्रकाशित “एक मार्मिक प्रसङ्गभित्रका डिल्लीराम गुरु” संस्मरणात्मक निवन्धमा पर्न आउँछन् ।

 निरौलाज्यूको कलम गीत, कथा, शोध, निवन्ध, संस्मरण जस्ता विषयमा चलेका कुरालाई पुष्ट्याइँ दिने उपयुक्त आधारहरु हुन् । उनका कलमको सिर्जनालाई सामाजिक यथार्थवाद र प्रगतिवादी चेतनाद्वारा प्रभावित गरेको पाइन्छ । निम्न वर्ग, जाति, सम्प्रदायप्रति सहानुभूतिशील रही सामन्त, शोषक एवम् धार्मिक एवम् सामाजिक अहम्‌वादी वर्गीय समाज र रूढिवादी विचारप्रति व्यङ्ग्य र विद्रोह जनाई सामाजिक समानताको ध्वनि उपस्थित गर्न लेखक समर्थ रहेका पाइन्छन् । कथ्य भाषा, लोकोक्ति, उखान, तुक्काहरुको प्रयोगद्वारा भाषालाई सिंगारिएको र मित्रसम्मित शैलीको प्रयोग गरेको पाइन्छ भने कथ्यमा नेपालीपन, नेपाली आत्मा र स्वदेशी शव्द र कथ्य भाषाको उत्खनन् गरी नेपाली राष्ट्र भाषालाई शुद्ध र सम्प्रेषणीय पारिएको पनि पाइन्छ ।

यसमा प्रस्तुत कथाहरुमध्ये २०१४ सालमा छात्रवाणीमा प्रकाशित पुत्रमहिमा (कथुङ्ग्री प्रतियोगितामा प्रथम) कथामा प्रयुक्त झर्रा शव्द र आलङ्कारिक भाषाको खोजी गर्दा ३ पेजको रचनामा २० वाट झर्रा नेपाली शव्दहरुको उत्खनन्‌पूर्ण प्रयोग पाइन्छ भने १६ वटा उखान टुक्का र आलङ्कारिक भाषा र वाक्पद्धतिको प्रयोग भएको पाइन्छ । त्यस्तै गरी २०२४ सालमा मेची महाविद्यालयको प्रकाशन “धारा”मा प्रकाशित “वल्लो घाट न पल्लो तीर” कथाभित्र प्रयुक्त झर्रा शव्दहरुको संख्या ७५ रहेको पाइन्छ भने उखान टुक्का र आलङ्कारिक वाक्पद्धतिको अवलम्वन गरी प्रयोग गरेका वाक्यांशहरु १५ वटा भन्दा वढी नै पाइन्छन् । तीमध्ये दुवै कथावाट टिपिएका केही नमुनाहरु प्रस्तुत गरी निरौलाज्यूको भाषामा झर्रोपनको खोजीलाई ट्ङ्ग्याउनीमा पुर्यााउन उचित ठानिएको छ ।

पुत्र महिनामा प्रयुक्त कथा भाषामा आधारित झर्रव शव्दहरु

भाग्गेमानी/पितृरीन/भेउ/झलझलि/मुइँ खाएको/ चरक्क/ फलानाको/ढिस्को/घुटुक्क/चिडचिडो/ टेर पुच्छर नलाएको/ दु:ख विसाए/ हारालुछ/ वर्स्यौनी/ कार्जे/ अलच्छिनी/ झ्याउँ झ्याउँ र म्याउँ म्याउँ/ भान / लाखा पाखा लागेर / दशनङ्ग्री गरेर / झस्स / वर्ख दिन / ठान्न थाले / खलवली / चौ चौले स्थान जमायो / चाइँ / ढलान / खुल्दुली ।

उखानटुक्का र आलङ्कारिक भाषाको प्रयोग

जिउँदो मुर्दा जस्तै भएका थिए ।

मन भुइँचालो जाँदा पृथिवी चरक्क चिरिएझैँ चरक्क चिरिन्थ्यो ।

अनन्त आशाको लहरो फिँजाएर पहरो गर्जाउँदै ।

तीस पाथी सीस पाथी जान्दिन मेरो मुरी पाथी छाड्दिन ।

यी अलच्छिनी हुन मेरो मासु खान आएका ।

वास वस्न गएका रूपीको शव्द जस्तो भान हुन्थ्यो।

घरले सुन्थ्यो मान्छेले सुन्दैन थिए ।

उसका निभिसकेका आशा घिउमा परेको आगो जस्तै वलेर आउन लागे।

ध्वाँसा लागे जस्तै आफ्नो घरलाई ।

चन्द्रमाको ज्योति जस्तो ।

थुकलाई मोती जस्तो ।

आफ्ना थाप्लामा तीनवटा नाम्ला भिर्योज ।

सिनेमाको चित्र नाचेझैँ छोराको चित्र नाच्न लाग्यो ।

मानूँ पहाडको फेदीवाट टुप्पामा पुगिसकेजस्तो ।

पाडो पाए पनि पाडी पाए पनि भतुवालाई विगौती ।

‘वल्लो घाट न पल्लो तिर’ कथामा प्रयुक्त कथ्य भाषामा आधारित झर्रा शव्दहरुको प्रयोग

ठस्ठसी कन्ने / गति गरास / जिङ्ग्रिङ / खुट्टयाउन / वाक्क र व्याक्क / जिल्लाराम / फ्यात्त / थ्याच्चै / कुटुरो / टुक्रुक्क / ताउर माउर / चुरीफुरी / धाक-रवाफ / हँसी खुशी / ख्वाप्पै / धुस्रो-फुस्रो / खुट्टाउन / भट्टयाउन धम्धुम्ती / घोरिएर / पर्ल्याक पुर्लुक / डङ्ग लडेर / जमर्को / जाकिइस / कुप्राउ / वैतर्नी नदी / ज्यमका दूतले भलेर / थेचारे / महाज्यम / सेधारे ? / क्वाँ क्वाँ / डाको / झस्स / लोटा / लछार्पाटो / भरिसक / चेष्टा / छड्काएर / दोर्जेलिङ् / रोडे रुवाइ / सोइपरि / दुईकोरी पाँच / थर्थरी / हुर्मत / काटीकुटी / हपारेको / हपार्न / आवुक / महाकोटी / ओल्टी सपना कोल्टी सपना / अभागी खप्पर / गतिमति फालेर / माटा मुनि भसाएँ / जेठा मुखिया / कत्रो वज्र पर्योअ होला / चर्कनाले / सत्र चिरा पार्दा / भुण्टीकी आमा / लर्का सर्कामा / जाकिएजस्तो / मुटुमा भक्कानो उठ्छ / तिमेरु छेउ / निस्से पनि / कान्छा मुखिया / फलाकी हिड्दा हुन / मुगलान / मुस्लिएर आयो / लोप्र्या उँदै / नियाँमा हारेपछि / ठोसिस / विहोरेर / नाथे / वाटो तताइस् / पेसेर / कट्कटी दाह्रा किटेको / घुक्क घुक्क / पिर्ति गरोस् / छ्याङग उज्यालो फाट्यो ।

‘वल्लो घाट न पल्लो तिर’ मा प्रयुक्त उखान टुक्का र आलङ्कारिक भाषाको प्रयोग

खुकुरीमा दापै भइसकेका / नाकले झुडीफोरको / रातो माटो र कमेरा पोतेको / नगरीखाने नमरी जाने / ताउर माउर, चुरीफुरी, धाक रवाफ, हँसी खुशी भएभरको जम्मै / कुरालाई उनीले त्यो आफूले वोकेको सानो कुटुरोभित्र ख्वाप्पै पोको पारेकी थिइन् । फस्फसे वालुवामा हजारै लोटा पानी खन्याए पो केलछारेपाटो लाग्ला र ? / हगी पनि सक्यो दैलो पनि देख्यो / पहाडसँग कुहिनाको के जोर चल्छ ? / खाइ न पाइ छालाको टोपी लाई / आफ्नै वावुको झ्याइँ-झ्याइँ विहे  / एक कान दुई कान नाकान भनेझैँ / हजारौँ विच्छीले मुटुमा डसेजस्तो / मुटुमा काँडो जाकिएजस्तो / छ्याङ्ग उज्यालो फाट्यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।