एकजना मित्रले आजै यो निबन्ध लेख्दालेख्दै आएर सोधे –‘हैन हौ, सर ! आजकाल दिनरात केमा घोत्लिनु हुन्छ ?’
मैले भनेँ –‘हिजोआज म निबन्धको प्यासी भएको छु ।’
फेरि साथीले हौस्याउँदै भने –‘हौ तपाईँ किन यसरी साहित्यमा धीतधरान छाडेर लाग्नु भो, हौ ? के पाउनुहुन्छ हौ ? हामी त ठ्याम्मै पढ्नलेख्न सक्दैनौ हौ, के पो लेख्नु हुन्छ हौ ?’ भनेर लगालग प्रश्नमाथि प्रश्नका वाणले भकाभकी हानेर गए ।
ठीक्क, त्यसैबेला बिजुली पनि झ्याप्पै गयो ।
म सोचमग्न भएँ ।
उनले जाँदाजाँदै भने –‘हौ तपार्इँ त कपुरी ‘क’ को महाभारत पो लेख्न थाल्नु भएको रहेछ । यो संसार सपार्नेबिगार्ने नै कपुरी क हो ।’ भनेर फुत्त बाहिरिँदा मलाई बास्तवमा यही कपुरी क मै निबन्ध किन नधस्काऊँ भन्ने सूर चल्यो ।
हुन त हातकलम चलेपछि मान्छेले जे पनि विषयवस्तु पाउँछ । त्यस्तै लाग्यो । कपुरी क मा कम्प्युटरको किबोर्ड चलाउँन थालेँ ।
सोचेँ ।
निकै सोचेँँ ।
सोच्नका लागि हैन लेख्नका लागि सोचेँ । बास्तवमा ती मित्र पनि कलमका खेलाडी नै हुन् । दुईदुई विषयमा स्नातकोत्तर गरेका छन् । बिहान क्याम्पस पढाउँछन्, दिनमा स्कुलमा कक्षा लिन्छन् । हिजोआज ती आफूले खाइआएको अस्थायी जागिरको अस्थाइपनले गिजोलिएर त्यो लोकसेवा पढिरहेका छन् । उनलाई आफ्नो उमेर सुलुलुलु बित्दो थाहा पाएर सारै चिन्तित पाएको, पढेको छु, मैले । जो कोही पनि आफ्नो पेसामा स्थायीपन चाहन्छ र चाहन्छ, आफूमा भएको पउल प्रतिभाले निखार गरेर प्रगति गरेको हेर्न ! उनैको भनाइलाई कालजयी बनाउँन आज किन कपुरी ‘क’ को महाभारत मै नलेख्ने ?
सूर चढ्यो ।
यसो सोची हेर्दा जम्माजम्मी अ आ इ ई.........गरी अं अः सम्म नाथे १३ वटा अक्षर र क देखि ज्ञ सम्म ३६ वटा अक्षर त रहेछन् नि हाम्रा वरिपरि । हाम्रो काम त यिनै ४९ वटा अक्षरलाई कुनैको जुइना मर्कायो । कसैको पस्यौटो फर्कायो । कसैको हाँगाबिँगा कलमी बनाएर काट्यो अनि कुनैको पाँजा मिलाएर मुठा बनायो बस् मिठामिठा व्यञ्जनमा तयार भैहाल्दा रहेछन् –साहित्यरूपि विधा र शाब्दिक कलाका चिन्मयी भण्डार ।
ड्ड
जीवनमा नाना नौरङ्का अनुभूति र गैरानुभूतिहरू अटेसमटेस भएर आउँछन् ।
संसारलाई ढाँटेको अभिनय गरे पनि मानिसले आफूलाई कहिल्यै ढाँट्न सक्दैन । चाहे त्यसमा स्वानुभूति या परानुभूतिको शिखर नै किन नचुलियोस् । हिमालका चुचुराहरूको उचाइ नाप्न सकिन्छ तर सुन्दरता नाप्न सकिन्न ।
पहाडहरू बीचैमा उठ्छन् र अनायासै हराउँछन् । विकलताले या विकटताले नै पहाडको अस्मिता धानेको छ । हामी त्यही अस्मितामा झुत्ती खेलेर आफू बाँचेको निवेदन गर्दर्छौं । तर बाँच्नु र चढ्नुमा फरक छ । असमेल भिन्नता सन्निहित छ ।
चुचुरामा चढ्न जति मजा आउँछ । त्यसमा टिक्न त्यति नै कडा परिश्रम गर्नु पर्दोरहेछ । क्षेत्रोपक्षेत्रका सफलताका गाथा र कन्थाहरूमा जोसुकै मानिस पनि अक्सर टिक्न सक्दैनन् । यो मानवीय कमजोरी पनि हो । इतिहास कमजोरीहरूकै गथासो हो । जित्नेको अनि हार्नेको । जो टिक्छन् ती बिक्छन् । जो टिक्दैनन् ती बिक्दैनन् । जितहार । हारजित ।
स्वार्थीहरू सदासर्वदा टिकेको अभिनय गर्छन् । तर झर्छन् । परार्थीहरू अभिनय गर्दैनन् तर झर्दैनन् । अझ परमार्थीहरूमा न अभिनय । न हाँसोको शेरगुल या दुःखको सुनामी केहीमा पनि बाँकटे हान्दैनन् । बस् । परमार्थीहरूले नै जीवनको रहस्यका नौकालाई समाधानका समुद्रमा खियाइरहेका हुन्छन् । सन्त महन्तहरू सबै परमार्थीहुन् ।
कलाका हुन् या गलाका हुन् सफल मनिसहरू सन्त हुन् । दर्शनका हुन् या जीवनका हुन् मनिषीहरू महन्त हुन् । माक्र्स हुन् या नित्से, दाँते हुन् क्रोचे, चार्ली हुन् या मार्ली सबैसबै सन्त हुन् महन्त हुन् । ती जन्मजात अरिहन्त हुन् । सार नभेटिने यो संसारमा हामी रिले दौड दौडिरहेका छौं ।
सभ्यताहरू बिते । युगौंयुगले घोडाका पिँठिउँमा चावुक हानिसक्यो । समय अझैँ सूत्रधारको अभिनय लिवासमा साइँदुवा भएर नाटक प्रर्दशनकै महिमामण्डित कोरस गानमा व्यस्त छ ।
वर्तमान डनहरूको दुर्गमा कैद छ । सपनाका सुन्दर वस्तीहरूमा हापसिलाहरू कराएका धेरै भए । भविष्यजस्ता कलिला नवागत निभाहरू स्वार्थका पाहुना बनाइएका छन् । आमाभन्दा भार्याको पूजनमा रमाएका छन् कथित रामानुजहरू ! अर्र्जुनलाई अब अर्को नवीन महाभारतको जितको ज्योत्स्नाले भन्दा आफ्नै घरको कथित गोरखधन्दाले पिरोलेको छ । रामहरू हराम भएका छन् । युधिष्ठिरहरू दुर्योधनलाई पनि चकित बनाउँदै आफू भरिसभामा द्रौपदीका चिरहरणमा मस्त छन् । त्यसैले अब सकुनीको साम्राज्यले दुखियाका हृदयमा विग्रहका निशान फहराउन थालेको आभाष पाइँदो छ ।
खै ! आवरणमा रमाउँदैनन् त महामानवहरू । वरण चाहिन्छ उनीहरूलाई । शरण चाहिन्छ उनीहरूलाई । सत्यको, न्यायको र निष्ठाको ।
एवम् प्रकारले तपसिलका सुखानुभूतिहरू नायक हुन् भने दुखानुुभूतिहरू खलनायक हुन् –जीवनका ।
यो जीवन भन्ने जून ढिट अजीवको जन्तु छ नि त्यसले मानिसलाई थाहा नपाइकन रोगका किटाणुले झैँ कुटुकुटु खाइरहेको हुन्छ । वाह ! डाक्टरले रोग चिन्दैन । वकिलले मुद्दा जित्दैन । कवि कवितासँग जीवनभर इस्क लडाइरहन्छ । कलाकार रङको सरहदमा उभिएर डेटिङ्को गार्गान्तुवामा उत्तेजित हुन्छ । पढाउनेले पढेकै छैन –जीवन । आत्मप्रवञ्चनाका रागमा पहेँलिएर जन्डिस भैसकेका आस्था र विश्वासहरूले आजको कथित उत्तरआधुनिक जीवनलाई सुरसालेझैँ खर्लप्पै निलेको छ ।
बस् । यी सबै सृष्टिका तत्जन्य भूमिकाका राग र वितरागहरू हुन् ।
अनुराग नै विजयको द्योतक हो ।
चुली थुम्कीमा पुग्न त अनुराग चाहिन्छ ।
ड्ड
पढेको थिएँ । भानुभक्तभन्दा घाँसी ठूलो । गर्नेभन्दा गराउँने ठूलो । घाँसीले प्रेरणा नदिएको भए भानुभक्त, भानुभक्त हुने थिएनन् । फेरि प्रेरणा लिने मानिसमा एक किसिमको लगाव र साधना गर्न सक्ने क्षमता हुनुपर्दो रहेछ । मलाई ती पाँचथरे मित्रले भनेको –‘हौ, यो संसार बिगार्ने पनि क र सपार्ने पनि क नै हो’ भनेको सुनेपछि फरररर ककै महिमा किन नलेखूँ भनेर हात सल्बलाए ।
पहेँलपुर धान पाकेका बेला भर्खरै अर्जापेर ल्याएको हँसिया धानका बोट समात्दै धान काट्न लागेको झन्झनाहट् कानमा सुइसुइतीसँग बज्न थाले । आफूले पनि खेतमा गएर कहिलेकाहीँ धान काटेको अनुभूति दिमागको फाइलबाट क्लिक गर्दै अन भयो र मन थाम्नै सकिन ।
हेर्नु प¥यो, विचरण गर्नु प¥यो भन्ने लागेर कपुरी ककै महिमामण्डन गर्न आतुरिएँ ।
कपुर भनेको आन्द्रा हो । अझ यसलाई बोसे आन्द्राभन्दा ठिक हुन्छ । हाम्रो शरीरको बोसे आन्द्राको अवस्थिति ठिक्क कपुरी क आकारको हुन्छ त्यसैले बालबालिकालाई बाह्रखरीको कखरा सिकाइँदा कपुरी क भनेर सिकाइन्छ । हुन त कसैकसैले बिलाकान्ने क भनेर पनि सिकाएको सुनेको छु । मैले त राम्ररी नै कखरा सिकेको हुँ तर तिनताक हाम्रो तराईमा प्रशस्त मात्रामा लालाजीहरू मास्टरी पेसामा हुन्थे । त्यहाँ तिनीहरूलाई काइते मास्टर भनिन्थ्यो । लाग्न त काइते शब्दको अर्थ विभिन्न प्रसङ्गमा विभिन्न किसिमका लाग्छन् जस्तै ः–घुमाउने, अप्ठ्यारामा पार्ने र ओद्री (समस्या) लगाउँने । तर त्यसबेलाका मास्टरसाबहरू त्यस्ता प्रकृतिका नभएर उनीहरूको परिचयसूचक शब्दमात्रै काइते भनिएको हो ।
तिनीहरू त्यसबेलाका त्यहाँ पढाइहुने प्रायः सबै हिसाब, विज्ञान, अंग्रेजी र अरू सबै विषयहरू खराखरी पढाउँथे । मैले तिनीहरूबाट कखरा बाहेकका अन्य विषयहरूमात्र सिकेको छु । कखरा सिकाउने मेरा आदरणीय गुरुहरूचाहिँ प्रायः नेपाली मातृभाषी नै थिए । मैले शशी बजगाइँ र दिलीप पौडेलबाट कखरा सिकेको हुँ । बजगाइँज्यूचाहिँ मास्टरी नै गर्ने मानिस भएकाले उहाँले मलाई मेरो बालमस्तिष्कमा राम्रो असर पार्ने गरी कखरा सिकाउनु भएको थियो । दिलीप गुरुचाहिँ मास्टरी बेसको मानिस नहुनाले अलि रूखो स्वभावको हुनुहुन्थ्यो । जे होस् मैले वहाँहरूलाई मेरो जीवनको पहिला गुरुद्वय मान्नै पर्छ ।
संसारमा, जसले आफूलाई पहिलो ज्ञानरश्मि दिन्छ उसैलाई आदिगुरु भन्नु पर्छ फेरि बाल मस्तिष्कहुँदा ससाना कलिला हातसमाएर जस्ले लेख्न सिकाउँछ उसैलाई महान् मानिस मानिँदो रहेछ । प्राथमिक तहमा पढुन्जेलसम्म सोही तहमा पढाउने शिक्षकभन्दा अरू कसैलाई पनि मान्छे नगन्ने प्रवृति बालकमा हुन्छ । अरूले ठिक भने पनि आफ्नो गुरुले भनेको मात्रै ठिक भन्ने सोच कलिलो मनमस्तिष्कमा अमिट रूपले छाप परेको हुने रहेछ । ‘यो ठिक होइन भनेर कसैले भन्यो भने, अँ कहाँ हुन्छ त्यो गल्ती हो । हाम्रो सरले भनेको यो पो ठीक हो’ भन्ने सवालजवाफ त्यसबेलाको दिमागमा रहेको हुने रहेछ ।
जब सिकारू क्रमशः अघिल्ला कक्षामा चढ्दै र ज्ञान बढाउँदै जान्छ त्यसपछि आफ्ना प्राथमिक तहका गुरुभन्दा निम्नमाध्यमिक र माध्यमिक तहका गुरुहरू जान्नेजस्ता लाग्दै जान्छन् । ज्ञान नित्य नवीन र परिमार्जन हुँदै जाने वस्तु भएकाले पनि त्यस्तो भएको होला । अनादरको भाव त प्राथमिक तहमा पढाउँने शिक्षकप्रति हुँदैन, पटक्कै होइन तर जबजब ज्ञानको अभाव खट्किँदै जान्छ तबतब उसले अघिल्ला गुरुहरूप्रति बढी नै श्रद्धानत हुनु पर्ने भएकाले ऊ पछिल्लो श्रेणीका गुरुहरूप्रति बढी विस्मृतिवान् हुँदै गएको हुनुपर्छ ।
भनाइ नै छ –‘पढेर, रूख चढेर र बाटो हिँडेर जीवनमा कहिले पनि सकिँदैन ।’ हो, त्यस्तै हुन्छ । प्राचीन र अर्वाचीन ज्ञानको स्वरूप र प्रकृतिलाई हेर्दा त्यो स्थितिको आभाष मिल्दछ । शाश्वत सत्य भनेकै यो संसारमा केही छैन । सबै परिमार्जित र समानान्तर सत्यांशका प्रसङ्ग मात्रै हुन् । हिजो ठीक भनेर जानिएको सूत्र र भनाइमा दसकादसकमा हेराफेरी भैरहन्छ । भाष्य, सूत्र, मिमांशा, परिभाषा, समालोचना, विचार, दर्शन, मूल्यमान्यता जे भनौ ती सबै सर्वकालिक हुन नसक्दा रहेछन् । कति त आज नयाँ भएर आउँछन् तिनको भोलि नै नयाँ संस्करण आइहाल्दो छ । किताब छापिए जस्तै ज्ञानका पनि संस्करण हुँदा रहेछन् । समयका पत्रपत्रमा तिनीहरूको पनि काँचुली फेरिँदो रहेछ जसरी एउटा सर्प नयाँ काँचुली फेरिएपछि पुःन नयाँ तबरले माटामा घस्रीपस्री गरेर फेरि जीवनको जीजिविषामा रमाउन थाल्छ । ज्ञानको पनि नयाँ संस्करण र मान्यता आएपछि फेरि पनि गुरुशिष्य त्यो चीरनवीन ज्ञानलाई अपडेट गर्न (अर्जाप्न) थाल्दा रहेछन् ।
अँ, सन्दर्भ नराम्ररी जेरीजस्तै गरी फनफनी घुम्यो हो कि ?
घुम्यो ।
हामीले सिकेको र सिकाएको सामग्रीमा पनि यसरी ह्वात्तै परिवर्तन आएको हुँदा कहिलेकाहिँ सत्यलाई स्वीकार्न पनि समय लाग्छ ।
कपुरी क या बिलाकान्ने क भनेर पढेका हामी पुराना ढर्राका शिक्षार्थीहरू आजको यो नूतन समयमा कलम क खसी ख भनेर पढाइएको सुन्दादेख्दा अचम्मै लाग्दो रहेछ । सरकार एक बालक एक ल्यापटप भनेर हिजोआज कराउँदै छ । यदि त्यो स्थिति आयो भने भोलिका प्यारा नानीहरूले कपुरी क ठाउँमा कम्प्युटर क, मोटो ख का ठाउँमा खल्लास ख भनेर पढेको सुन्नु प¥यो भने पनि अचम्म नमान्दा हुन्छ । त्यसबेलामा हाम्रो कपुरी कको सम्मानजनक तबरले देहावसान भएको पाइनेछ ।
उसबेलाको उसबेलै ठिक, अहिलेको अहिलेनै ठिक ।
दुवै ठिक ।
कोही बेठिक हुँदैनन् । मानिनु पनि हुँदैन ।
कको महिमा अपार छ । कालिदास संस्कृतका महाकवि हुन् । जीवनको सुरूमा उनी महामूर्ख थिए तर जब उनको विद्योत्तमा नामकी विदुषीसँग विवाह भयो त्यसपछि उनी पत्नीका प्रेरणाले, आफू मूर्ख हुनुको चोटले पढ्न गए । निकै लामो समय पढेपछि उनी साँच्चै विद्वान् भए । उनैको बारे एउटा कहावत छ –‘एकदिन, यो उनी मूर्ख हुँदैको कुरा हो । उनले पढेको समयको भन्दा त्यस समयको कपुरी क सानो भएको देखेर उनी रोएका थिए रे ! मेरो क त दुब्लाएछ’ भनेर । हो, हामीले पनि पढेका कका अनेकौ दृष्टांश र उपमाहरू परिवर्तित हुँदै गए भने हामी पनि कुनै दिन कीर्तिपुरे चौरमा गएर रून बेर लगाउँदैनांै ।
आज एउटा मानिसको जीवनमा उसले सोच्न नभ्याउने गरी अकल्पनीय परिवर्तन भएको छ । संसारको यो अत्यासलाग्दो परिवर्तनले हामीलाई हिजोको कुरामा आज विश्वास हुने स्थितिको सुखद् अन्त्य गर्दै बाध्यतावस् स्वीकार्न बाध्य बनाएको छ । प्रविधि र विधि त कस्ताकस्ता भए कस्ताकस्ता । कस्ताकस्ता आए कस्ताकस्ता । त्यसैले प्रत्येक क्षणपल हरर फिल्मको अवास्तविक सिनजस्तो भनौ स्वैरकल्पनाको प्रयोग गरेर लेखिएको एउटा कथाजस्तो रोमाञ्चित भएर हाम्रा सामुबाट गुज्रिरहेको छ ।
हामी ससाना हुँदा हामीले खेल्ने भनेका गट्टा र तास थिए –खेल उपकरणमा । कहिलेकाहीँ चेस र क्यारामबोर्ड खेल्न भ्याउँथ्यौं । लुँडोले लुँडिएको समय थियो –त्यो बेला । बाघचालमा रमाउँथ्यौं –हामी । रूखमा चढेर अनि खोलापैनी या नहरमा नाङ्गैभुतुङ्गै भई पानीढोल खेलिन्थ्यो । आसपास र भेडीगाँठो त्यो समयका लोकप्रिय खेल मानिन्थे । लठ्ठीकासा, तेलकासा र काकाजोरी बिजोरी खेलिन्थ्यो । अहिले हाम्रा च्याउनाम्याउनाहरू (छोराछोरी) लाई त्यो जमानाको कुरा भन्यो भने बालकथा पढेजस्तो हुँदोरहेछ ।
अहिलेको जस्तो भिडियो गेमको समय थिएन –त्यो । कम्प्युटरमा राखिएका फ्लेस गेम जस्तो पनि थिएन –त्यो हामीले बिताएको बालवयको समय ।
सत्चालिस वर्षकै यो अनुभवमा केके देखियो केके ? सिनेमा हलमा गएर बीस पैसामा सोले हेरेको बत्तीस सालमा अहिलेजस्तै लाग्या छ । पाँचदस पैसामा अघाउँजी चटपटे खान पाइने त्यो जमाना अब रोइकराइ जे गरे पनि हाम्रो जीवनमा फर्केर आउँने होइन ! मनोरञ्जनका लागि कि त सिनेमा कि त किताबमा भर पर्ने त्यो समयमा न त एल्.जी. टिभिमा सोनपरी नै आउँथ्यो –स्टार टि.भि.च्यानलबाट । न आउँथ्यो स्टार उत्सवबाटै गब्राल एण्ड बिक्राल । सञ्जीवकुमार (ठाकुर) अभिनीत भूताहा हिन्दी सिनेमालाई भरपूर मनोरञ्जनका रूपमा लिने त्यो जमाना अब गए कठैबरी ! कोरिएका सिडी या डिभिडीका डाटाहरू डिलिट भएजस्तै गरी । घडी लगाउँन माध्यमिक तहमै पुग्नु पर्ने या प्रवेशिका नै पास गर्नु पर्ने अभिभावकीय सोचले पनि हिजोआज पल्टा खाइसक्यो । वर्ष दिनकै ह्याप्पी बर्थ डेमा एउटा बाबुले उसको नवजात शिशुलाई खासामेड घडी किन्दिएन भने त्यो छोराछोरीले कि टिभिको स्क्रिन फुटाउँछ कि त अर्लामवाला घडीकै झट्टी हान्छ । अब जमाना कम्प्युटरमा कपुरी क सिकाउँने खालको उदाएको छ । फ्लेस गेमका रूपमा आएको नेपाली र अंग्रेजी बाह्रखरीको साउण्ड सिस्टम जडान गरेर कम्प्युटर अन गरे काम तमाम ।
प्रविधिले सबै सिकाउँने भएपछि कन्धने मास्टरको कामै छैन । एकजना प्राविका शिक्षक हुनुहुन्छ वहाँ ठट्टाको भावमा भन्नुहुन्छ –मैले, आफैँले लेख्दै जाँदा ३६ वटा (कदेखि ज्ञसम्मका) अक्षरमध्ये पाँचसातवटा अक्षर छुटेछन् ।’
हो, पनि २०२८ साल अगाडिका ती अण्डर म्याट्रिक मास्टर संसारमा सिकाइका नौमुरी जति कला आउँदा पनि कतै एउटा तालिममा जान सिफारिस भएनन् । अमेरिकामा सफल भएको मन्टेश्वरी शैली, कलाकक्षा पद्धति र हिंसारहित शिक्षा र बालमैत्री कक्षा गुरुकूलीय पद्धतिमा रमाएका तिनका अगाडि त दिलिपकुमारले खलनायक फिल्ममा खेलेजस्तो कार्टुन पो हुँदो रहेछ ।
हाम्रो मुलुकमा कतिपय शिक्षक त्यस्ता पनि छन् जसलाई स्थायी नियुक्तिको लफेटो भिराइदिएपछि उसको कक्षा चालिसचालिस वर्षसम्म पनि निरीक्षकबाट हेरिएको हुँदैन । पुरानो जमानामा शिक्षक गुरु थिए तर अहिले गुरु शिक्षक भएका छन् । एउटा शिक्षकले आदर पाउन शिक्षक भएर पुग्दैन ऊ कि त गुरु हुनुपर्छ कि त शिक्षक भएर आदर खोज्नु हुँदैन ।
धेरैलाई लाग्न सक्छ के भनेको हो ? हो, शिक्षक र गुरुमा जमिन आसमानको फरक छ । आजका हामी शिक्षक हांै गुरु होइनौं अनि कसरी एउटा शिक्षार्थीबाट आदरको भाउ खोज्छौं ? मैले शिक्षणमा पसेपछि नबुझेको कुरो यही हो ।
आचार्य, गुरु र अध्यापकमा फरकफरक अर्थले डेराजमाएको छ । सत्यातथ्यको निरूपण गरिदिने, लोभानीपापानी नभएका आचार्य हुन् जस्तैः रामायण र महाभारत कालका ऋषिमहर्षिहरू । ती अहिले कल्पनासम्म पनि गर्न सकिँदैन । अज्ञानका अँध्यारा खाडलहरूमा पर्नबाट जोगाउने गुरु हुन् । गुरु परम्परामा पनि शुल्क लिएर ज्ञान दानको चलन थिएन । साइबर युगमा अहिले त्यो शैली पनि ठिक जँच्दैन । त्यसपछि भृतक् अध्यापनमा शिक्षणलाई पेसा बनाएर शिक्षकहरू आए । योचाहिँ निकै समयपछिको कुरा हो । त्यसपछि अध्यापक नै शिक्षक भए र आआफ्ना विषयका रूटिनमा बाँधिएर कक्षा लिन थाले । त्यसैबेलादेखि पैसा या जिनिस शिक्षा लिनेदिने कुरामा माध्यम भएर आयो । शिक्षक र अध्यापकमात्र चल्तीमा रहे । जब शिक्षक र अध्यापकहरू यो संसारमा शिक्षा दिन आए त्यसैदिनदेखि आचार्य र गुरु परम्परा अन्त्य भएर गयो ।
अहिलेको समयमा एउटा शिक्षकभन्दा उसको विद्यार्थी केवल ४५ मिनेटमात्र पछि हुन्छ । एक पिरियडमात्रपछि भएको मानिसले एक पिरियडमात्रैअघि भएको मानिसलाई नटेर्नु स्वभाविकै पनि हो । जस्तै ः तपाई एक्सप्रेस बसको ए साइडको पाँच नम्बरमा बस्नु भएको छ तपार्इँभन्दा ठीक पछाडि ए साइडमै अर्को यात्रु बसेको छ भने तपाईँले गरेका व्यवहार उसलाई मानौ चित्त बुझ्दा भएनन् भने उसले तपाईँलाई सल्लाहको शैलीमा सुझावहरू दिन थाल्छ । त्यसबेला तपाइँले चुपचाप उसको सुझाव मान्नुपर्छ । मानौ न तपार्इँलाई बमिट भयो भने उसले राम्ररी बमिट गर्नुस् । पोलिथिनमा हाल्नुस् । यसो गर्नुस् त्यसो गर्नुस् भन्छ । अराइसिकाइ गर्छ । त्यसैगरी तपाईँलाई डिस्टर्ब हुने खालका काम उसले ग¥यो भने तपाईँ पनि उसलाई अर्तीको शैलीमा अराउँनसिकाउँन थाल्नु हुन्छ ।
हो, त्यस्तै हो – शिक्षणमा पनि ।
हिजोआज त्यस्तै भएको छ । नपढीकन कक्षामा गएर कनेर पढाउँने शिक्षकलाई रातरातभर सिद्धान्तका ठ्यासफू पढेर जाने शिक्षार्थीले किन पो टेर्ने ? भएको त्यही हो । आफूले मर्यादा लिन सक्ने संस्कार बसाउँने हो । मर्यादा देओ बाबु हो भन्ने होइन ।
एक ठाउँमा एउटा विद्यालयले आधुनिक युग सुहाउँदो शिक्षा दिन भनेर बीसवटा कम्प्युटर किनेर ल्याएछ त्यस विद्यलयमा कम्प्युटरको शिक्षक रहेनछन् । कोही पनि कम्प्युटर सिक्ने चाहना राख्दा रहेनछन् । एक महिना दुई महिना हुँदै छ महिना बित्यो तर ती कम्प्युटर सिकाउँने शिक्षक त्यहाँ कोही पनि तयार नभएपछि आजित भएर विद्यार्थीले एकदिन त्यो विद्यालयमा भएका सबै शिक्षकहरूलाई हेडसरको कोठामा भएका बेला थुनेर राखिदिएछन् । यहाँनेर के भयो भने विद्यार्थी सिक्न चाहन्थे तर शिक्षक सिकाउँन चाहदैँनथे ।
भयो त्यहाँ –कन्ट्राडिक्सन । सिकारूको चाहना यति प्रबल हुन्छ कि उसले भनेको बेलामा सिक्न पाएन भने उसमा सबै किसिमका नकारात्मक संभावनाको विकास एकै चोटी हुन्छ । यो मानसिकतालाई हाम्रा कतिपय शिक्षकले बुझ्नै सक्दैनन् । जो बुझ्छन् तिनीहरूमा पनि लाचारीको विकास भएकाले गरेर के नै पो हुन्छ भन्ने मानसिकताले घर गरेको हुन्छ अनि जो एउटाले अगाडि सरेर काम गर्छ त्यही काम गर्नेचाहिँ एक्लो वृहस्पति बनाइन्छ । उसलाई सबैले बेबकुफ मान्छन् ।
कपुरी कको महिमा लेखेर सकिन्छ जस्तो मलाई लाग्दैन ।
यो त त्यस्तो समुद्र हो जसको न आदि छ न अन्त्य नै । यो त त्यस्तो आकासगङ्गा हो जसको न स्टार्टिङ्ग प्वाइन्ट छ न इण्डिङ्ग प्लेस । जब संसारमा ज्ञानको हंकीडंकी चल्थ्यो त्यसबेलामा गुरु गाई थियो चेलो बाछो । अहिले पनि संस्कृतमा वत्स भन्ने एउटा शब्द छ त्यसको शाब्दिक अर्थ हुन्छ –बाछो । हो, त्यही वत्स शब्दको रूपान्तरित रूपमा प्यारो भन्ने अर्थमा वत्स शब्द अहिले पनि प्रयोग गरिन्छ । त्यो जमानाको बाछो अब ठिटो भयो । ठिटो बाछोलाई आफ्नो माउबाट दूध आउँछ र खान पाइन्छ भन्ने भ्रम हुँदैन र त्यसैले उसले आफ्नो माउलाई टेर्दैन । अहिलेको समयमा भएको त्यही हो । हामीसँग जोसँग केवल ज्ञानमात्र छ कपुरी कको –त्यसको समय अब सकियो । अब त कम्प्युटरविज्ञानको या प्रविधिको विशिष्ट ज्ञान भएको शिक्षकलाई मात्र ऊभन्दा कम जानकारी भएको शिक्षार्थीले टेर्ने हो । जो शिक्षकसँग प्रविधिका सम्बन्धमा फुट्टीकौडी नलेज छैन त्यस्तो शिक्षकलाई किन टेर्नु शिक्षार्थीले ?
विद्यार्थीभन्दा बढी जान्ने हुन त शिक्षक स्वयम्मा आफ्नो तहमा विद्यार्थी भइरहनु पर्छ । हरेक क्षण र पलमा अपडेट भैरहनु पर्छ । अब अरस्तुका टुपी र भरतका खराउका दृष्टान्त दिएर मात्र आजको वैश्वीकरण भएको जगत्मा काम लाग्दैन । ग्लोबलाइजेसनको यो युगमा ज्याक डेरिया र नित्से मात्र होइन पाउलो फ्रेरे र आचार्य रजनीश पनि साथसाथै जान्नुपर्छ । भोल्तेयर र रूसोको जामा पहिरेर मात्र संसारलाई नहेर –यहाँ त उच्छेदन र विनिर्माण सिद्धान्तका साथै द्वन्द्वविज्ञान र काउन्सिलिङ्का कक्षा पनि सुरू भैसकेका छन् । कालिदास, भामह, माघ र दण्डी मात्र होइन इब्सन, शेली, वाइरन र लकाँका सैद्धान्तिक फेहरिस्त पनि एउटा अध्ययनशील शिक्षकले जान्नुपर्छ । अबको शिक्षकले डाँडापाखाका स्कुलमा शीतयुद्ध भनेको मलाई थाहा छैन भन्यो भने उसैलाई पो कुरीकुरी हुन्छ । डार्विनको विकासवाद, न्यूटनको गुरुत्वाकर्षणको सिद्धान्तका साथै आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तमात्र होइन अब त फ्रायडभन्दा एक कदम अगाडि एड्लर र युङ् आइसकेका छन् भन्ने थाहा पाउनुपर्छ र यो पनि थाहा पाइरहनु अत्यावश्यक भैसक्यो कि स्वामी रामकृष्ण परमहंश र डा.योगी विकासानन्दमा के फरक छ ?
एकपटक एउटा गुरु विवेकानन्द भनेकै विकासानन्द हुन् भनेर चिच्याउँदा रहेछन् । तीक्ष्ण बुद्धिको मेधावी छाउरो मरे मान्न तयार हुँदैन । हकिन्स प्रेसर कुकुर र स्टिफेन हकिन्समा के फरक छ त्यो तत्क्षण बताउन सकिएन भने आफैँलाई कुरीकुरी हुन्छ ।
अबको समयमा चानचुने ज्ञान र सीपले मानिस शिक्षक बन्नै सक्दैन । उसमा थोरबहुत सामान्यज्ञानका सबै क्षेत्रलाई समेट्न सक्ने खुबी हुनु अत्यावश्यक भैसक्यो । त्यति हुँदा त उखानले शिक्षकलाई नै दप्काउँदै छन् अझै –गुरु गुण, चेला चिनी ।
भन्दाभन्दा के पनि भनिसके भने –ज्याक अफ अल मास्टर्स अफ नन् । सुसांख्य भनिने यो डेस्कटप र ल्यापटप कम्प्युटरले नै शिक्षकलाई यतिबिघ्न अफ्ठ्यारामा पारेको हो अरूले होइन ब्यारे ! शिक्षाको एकमुखी पद्धति हुन्जेलसम्म शिक्षक आचार्य र गुरु भएर धर्तीमा ठम्ठम्ती हिँडिरहेका थिए । जब दुईमुखी र बहुमुखी पद्धतिको विकास भई ज्ञानले कङ्गारू शैलीमा फड्किने मौका पायो त्यसैबेलादेखि शिक्षक समाज र राज्यबाट पनि लखेटिन थालेको हो ।
समयको हुरीसँगै जब ‘पार्ट टायम जब’ को सोच समाजमा हावी भयो त्यहीबेलादेखि शिक्षक बिजी र बिजिनेसमय भयो ।
ज्ञानदिने सेवा पेसा भएपछि शिक्षक पण्डा बनाइए । गुरुकूलीय पद्धतिमा धावा बोलिँदै जब सिँगौरी खेल्दै बोर्डिङ् स्कुलहरू समाजमा स्थापित भए, गरिए त्यसपछि रूपियाँँ रूपि उपियाँले समाजमा सुकेलुतो ल्याएको हो ।
खरिदबिक्रीको माध्यमबाट शिक्षा लिनेदिने विषय भएपछि नै शिक्षामा नानाभाँती समस्याहरू सहलझैँ सिनित्तै आएका हुन् । हुन त शिक्षामा बोर्डिङ्का राम्रा बखान पनि छन् । प्रातिशतिक हिसाबले नतिजालाई उकास्ने भनेकै बोर्डिङ् हुन् । त्यो हिसाबले यिनीहरूको महिमा गाए पनि भयो तर यहाँ कपुरीको महिमालाई मात्र मण्डित गर्न खोजिएको थियो के भयो कसो भयो ? खै ! हिसाब किताब पनि राखिएन ।
उपप्राध्यापक, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस, रामेछाप ।