17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समय वेदना

कविता शेरबहादुर कार्की September 7, 2015, 1:59 pm

हेर,

जीवनको मीठो गीत त

चैतको बताससित

पाखाबारीमा बाँसको पातले पो गाउँदै छ

जीवनलाई रङ पनि

पाखाभरिकै सिमल र लालुपातेले पो रङ्ग्याउँदै छ

जीवनको आभाष त

आधा रातमा समय संस्कारको

तङसिङमा घुङरिङमाथि झुण्डिएको

भालेको रातो सिउरलाई बोध होला

समय,

तिमीले सिर्जना गरेको

मानवताको वस्तीमा

वैचारिक आतङ्कीहरू पस्दैछन्

विचारका बुद्ध मास्न

इष्ट ईशुहरूलाई हराउन

तिम्रा कोमलताले निर्मित यो निर्जनता

बन्धित यो वेदना अनि संवेदनालाई

आघातका ट्रोजन भाइरसले हम्ला गर्दैछन्

ए ! विचारका आतङकी हो

नफुटाउ सम्बन्ध यो मनको

नछुट्याउ रङ यो रगतको !

समय,

तिमी जस्तो छेपारो पनि हुन सकिन

मौसम हेरी- हेरी रङ फेर्ने

चेपारे पनि भइन तिमी जस्तो

नेता हेरी- हेरी हात मल्ने

यी झ्यालका पर्दाहरू पन्छाएर हावासँग

पस्दैछन् मानवता र प्रेमको

ह्विन्डो क्रयास गर्न ट्रोजनहरू

मानवता र ममताको यो वस्तीमा

समयका साना-साना ताराहरू

वेदना तिम्रो कौशीमा जूनसितै खसाउनु छ

समयको आभाष, आहात, आहट र पदचापहरू

वेदना तिम्रो वस्तीमा वास बसाउनु छ

जन्म दुशासन तिमी जन्म

अझै जन्मनु पर्छ

तान साडी अनि त हुन्छ समयको महाभारत

र जन्मछ वेदनाको गीता...

फेरि नउठोस् गाण्डिव समयको छातीमा

सञ्जयको दृष्ट्रि भ्रम जगाउन

घृतराष्ट्रको वेदनाबाट...

समयको आगोमा प्रमिथसका पाइलाहरू

मानव वस्तीको वेदनालाई चिर्दै

अणु-अणुमा विभाजित हुँदा

उल्टो झर्दैछ शिशिफस

समय वेदनाको आख्यानभरि

समय आख्यानभरि

वेदना आख्यानभरि

आख्यानभरि समय वेदना।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।