18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सुखराम ताराखुकको कविता

कविता श्रीशीशा राई August 14, 2015, 2:16 pm

लेखिएन कविता

यो वर्ष पनि

धुमधाम मनाइयो

नयाँ वर्ष पो

नाचियो–

झरिमा– घाममा

नशामा– होसमा

लुगामा– नाङ्गामा

तिमीले सभासद जित्दा पो

उद्युम मच्चाइयो

नारा लगाइयो–

मुल्यको आशामा– झण्डाको भरोसामा

ओतको स्वार्थमा– नजरको लालसामा

पिइयो देश र जनताका नाममा

भएजति दुःखहरु आफ्नै सम्झेर

झारियो आँशु

खाइयो थप्पड सडकमा चियापसलको

‘मेरा जिन्दगीका एकात्मक सत्ता–विम्बहरु

लेखिदिनुस’ भन्थ्यो सुखराम ताराखुक राई

‘मेरो पहिचान र अग्रगमन

नछुटाउनुस है’ भन्थ्यो हरिकृष्ण भट्टराई

कवितै लेखिएन

गीजामा च्यापेर चूना र सुर्ती

पिच्च थुकियो भित्तामा

बसालामा बन्धक दाजुभाईका समाचार

टिभीमा हेरियो र छिरियो ननभेज पार्टी

फेसबुकमा भेटिएकी मायासँग

ठमेलका सवै रातहरु घुमियो

हरिणको शिकार खेल्दै जाँदा चरी परेपछि

गरियो नेपाल बन्द

सुनकोशीमा आफन्तहरु बगीरहँदा

म एउटा एडल्ट फिल्मको च्यारिटी शोमा थिएँ ।

म्यारिजको खालमा भुटन र चुस्की

कैयौँ रातहरु छ्याङ्गै भए

तीजमा गहनाको क्याटवाकः

मीसेस तीज घोषणा गरियो

सुनका जलप लगाएर

श्रीमतिलाई मञ्चमा उतारियो

सुखराम ताराखुक र हरिकृष्ण भट्टराईको अनुहार

सर्लक्कै देखिने

एउटा साझा कविता लेख्नुथियो

त्यतै कतै अल्मलिएँ, बतासिएँ

‘कविताको एउटै पन्नामा कसरी

फरक अनुहारहरुलाई अटाउन सकिन्छ ?’

सेकुवा र निगारको रन्कोमा हामीले

गम्भिर छलफल गरेका थियौँ

कुनै जबरजस्त फर्मूला छ तिमीसँग ?

यो प्रश्नले तिमी तर्सियौ र भाग्यौ

फोन गरेँ, उठाएनौ

एसएमएस गरेँ रिप्लाई गरेनौ

संविधानसभा भवन अघि पर्खेँ, भेटिएनौ

कविता अझै लेखिएको छैन

मैले तिमीलाई भन्नु यतिमात्र थियो–

यो देशका फरक मान्छे भएपनि

हाम्रो एउटै दोष छ–

मैले लेख्न सकिन कविता

तिमीले लेख्न सकेनौ संविधान

लेखिएन कविता

यो वर्षपनि

०७१ भदौ १२ विहीबार

तरहरा सुनसरी

(ताराखुक ः किरात राई जाति अन्तर्गत बान्तावा थरको एक उपथर

बसाला ः इराकको एक शहर, जहाँ बैदेशिक रोजगारीका क्रममा गएका नेपाली युवाहरुलाई बन्धक बनाइएको थियो ।)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।