आदरनीय सुधा दिदी, नमस्कार। विशेषगरी तपाईंले सम्झना गरी पठाइदिनु भएको भूमिगीत कवितासङ्ग्रह पाएँ। यसका निम्ति तपाईंलाई हार्दिक धन्यवाद, कृतज्ञता, बधाइ र शुभकामना। यो पछिल्लो शुभकामना चाहिँ तपाईँमा विद्यमान प्रखर र उर्वर कवित्वशक्तिको प्रकाशनको निम्ति।
दिदी, भूमिगीत पाएपछि सर्वप्रथम त यसको आवरणले नै एकछिन घोत्लिन लगायो। आवरण निकै आकर्षक, बहुअर्थी, संकेतपरक, भावपरक लाग्यो। मान्छेको (नारीको मात्र किन र?) अनुहारमा मात्र महत्त्व र पूर्णता छैन अपितु उभित्रको नग्नताको पनि उत्तिकै महत्त्व छ। वास्तवमा मान्छे त नग्न छ। उसको शिक्षा, नैतिकता, सभ्यता, संस्कृति, रीतिरिवाज, परम्परा, आचरण, शीलता आदि जस्ता बाहिरी आवरणले मात्र उसलाई ढाकेको छ। देखिने मान्छे र वास्तविक मान्छेमा धेरै भिन्नता छ। फेरि अर्को पारामा यो आवरण नक्सा हेरौं है त। एउटी नग्न युवती (जस्ती) कतै लाजले, कतै भोकले, कतै शोकले, कतै ग्लानिले झुकेकी छ। अनुहारमा पक्कै निराशाको बादल हुनसक्छ। यी स्त्री सुन्दरी पनि हुनसक्छे वा कुरूपा पनि, आफ्नी चेली-बेटी पनि हुनसक्छे वा एउटी अभिसारिका पनि हुनसक्छे। यसका बहुविध अर्थ लाग्नसक्छन्। अर्थमा बहुलता र केन्द्रभञ्जनता नै अहिलेको उत्तरआधुनिकता हो भन्ने लाग्छ। यो किताबको आवरण हेरेर यस किताबलाई नारीवादी चेतना, अस्तित्ववादी, विसंगतिवादी, कि यथार्थतावादी जुनै अर्थ लाए पनि पाठक वा दर्शकको बुझाइमा निर्भर हुने कुरा हो। भूमिगीतभित्रका कविता पनि पक्कै यस्तै बहुविध अर्थसापेक्षता, बोधन सापेक्षता होलान् भन्ने लाग्यो। आवरणले नै तपाईंका कविताहरूको भावसंकेत गरेझैं लाग्यो।
दिदी, त्यसपछि पन्ना पल्टाउँदै गएँ। फन्ट निकै आकर्षक लाग्यो। अगाडिको लेखोटले छोटैमा भए पनि तपाईंको परिचय संकेत दिएको छ। तपाईंसित व्यक्तिगत चिनजान र देख-भेट नहुने पाठकका निम्ति यसले तपाईं कवयित्रीलाई चिनाउन र प्रतिभा परिचय संकेत पाइएको छ। पेम्पा तामाङको 'उपोद्घात' नामक भूमिकाले तपाईंको कवित्व शक्तिलाई पर्गेल्न निकै सघाउ पुर्यापएको देखिन्छ। उहाँको भूमिका नारीवादमा केन्द्रित र यसले तपाईंलाई विशेषगरी नारीवादी ठहर गरेको पाइयो यद्यपि तपाईंका यी कविताहरूलाई नारीवादी घेराभित्र खुम्च्याउनु पनि न्यायोचित लागेन। नारी सम्वेदनशीलतामा तपाईंले निकै ध्यान दिनुभएको छ। नारीको सम्वेदना, पीडा र व्यथालाई तपाईँले आत्मसात गरी कविता लेख्नुभएको छ तर तपाईं नारीवादी कि यथार्थवादी कि मिश्रणवादी? यद्यपि श्री तामाङज्यूले तपाईंका कविताहरूको निकै गम्भीर अध्ययन गरी विषयगत वर्गीकरण, चिन्हारीकरण र पारख दृष्टि दिनुभएको छ। तपाईंका कविताहरूमाथि समुचित न्याय दिनुभएको छ।
दिदी, अब तपाईंका यसभित्रका कविताहरूमाथि नजर लगाउँ। सबै कविता सुन्दर रहेछन्। कुन्नी किन हो अचेल कविताहरूदेखि मोहभंग हुन लागेको अवस्था छ हामी धेरैको। कविताका नाममा अनेकन् व्यक्तिगत प्रलाप, गनगन, अकवितात्मक प्रस्तुती के के भएर होला, कविता मन पर्नछाडेको अवस्थामा तपाईंका कविताले यो अवस्थालाई भंग गरेको छ। कविता साँच्चै सुन्दर हुन्छन् भन्ने वास्तविकतामा ओराल्नु भएको छ। मैले किमार्थ सर्काउने लोभ गरेको छुइनँ अपितु यसभित्रको सम्प्रषेणताले मलाई कविता मन परे। म त एउटा साधारण पाठक र माध्यम मात्र हुँ। मजस्ता धेरैजनालाई तपाईंका कविता मन पराउलान् भन्ने लागेको छ। कवितामा हुनुपर्ने वर्णगत मधुरता, भाव र भब्दका बीच तालमेल, सम्प्रेषणीयता, बहुअर्थकता, कलात्मकता, गेयात्मकता, विषय केन्द्रीयता र एकोन्मुखता, विषयगत समाहार जस्ता, सरलताभित्र संश्लेषणता र संश्लेषणभित्र सरलता आदिका संयोजनले तपाईका कविता सुन्दर बनेका छन्। तपाईंले अपरिचितीकरण, मिथकीकरण, विमिथकीकरण, व्यक्तिगततालाई सामूहिकता र विशेषलाई सामान्य र सामान्यलाई विशेष इत्यादि बनाउने कवितागत टेक्निक अपनाउनु भएको रहेछ। सर्वप्रथम त किताबको नाम रखाइमा नै विशिष्टता पाएँ – भूमिगीत। यहाँ 'भूमि' र 'गीत' शब्दको प्रयोग गर्नुभएको छ। 'भूमि' शब्दले व्यापक अर्थ बोकेको छ। भूमि हाम्रो आधार हो, स्रोत हो, सम्भावना हो, टेक्ने आधार हो र सबैथोक हो। भूमिमा जन्मेर मान्छे भूमिमा नै बिलाउँछ। यसमाथि तपाईंले गीत शब्द दिएर कविता रच्नुभएको छ। प्राय़ः कविताहरू प्रगीतात्मक ढाँचामा आवद्ध छन्। यद्यपि अनन्त प्रतीक्षा, धात्री, समरमा युद्धरत सिपाहीलाई पत्नीको पत्र इत्यादि जस्ता केही कवितामा आख्यानात्मक तत्व नपाइने होइन।
रामायण महाभारत आदि पौराणिक ग्रन्थका पात्र-पात्रालाई टिपेर अर्कै अर्कै अर्थ र सन्दर्भ दिनुभएको छ। रामायणका नर र नारी दुवै पात्र –पात्रा विशेषबाट सामान्य र सामान्यबाट विशेष बनेका छन्। राम सामान्य बनेका छन् भने लक्ष्मणकी श्रीमती उर्मिला सामान्यबाट विशेष बनेकी छन्। रामायणमा त उनी अति सामान्य छिन्। कुन रामायणकारले उनको आन्तरिक पीडालाई आत्मसात गरेर लेखिदिएको थियो र। तर तपाईंले त रामायणमा किनारीकृत भएकी उर्मिलालाई सीताभन्दा पनि विशिष्ट नारी तुल्याइदिनुभएको छ। यही नै तपाईंको कवितागत कला हो। सीताको आन्तरिक पीडालाई तपाईंले आत्मसात गरी सामान्यकृत नारी व्यथामा अवतरण गराउनु भएको छ। नदी, धरती, भूमि आदि नारीका प्रतीकात्मक रूप देखाइदिनु भएको रहेछ। तपाईंले नारीलाई समानाधिकार दिलाउन काव्यगत वकालत गर्नुभएको छ, जो स्तुत्य छ।
दिदी, हाम्रो समाजमा नारीमाथि केही हदसम्म अन्याय गरेको सत्य छ। यद्यपि हाम्रो नेपालीको अतीतकालको भन्दा वर्तमानकालको नारी अवस्थाको सुधार अवश्यै भएको छ। नारी शोषक नारी नै हुन्छन् भन्ने भनाइ पनि छ तर यो पनि पुरूषप्रधान समाजकै उपज हो। अझै पनि अत्याचारका अवशेष होलान्। नयाँ नयाँ तरिकाका अत्याचार गाँसिदै गएका होलान्। यद्यपि तपाईं कट्टर भएर नारीवादी कवि देखिनुहुन्न। सामान्य नारी चेतना हुनु नै पूर्णतः नारीवादी हुनु होइन भन्ने लागेको छ। यो कुराको प्रमाण त यही कवितासंग्रह नै हो। नारीका संवेदनाका विभिन्न पाटाहरूलाई तपाईंले आफ्ना कवितामा उत्खनन् गर्नुभएको छ। अरूले नपुगेको ठाउँमा पुग्नु भएको छ। संसारमा युद्ध लडिन्छ तर युद्धमा लड्ने सिपाहीका स्वास्नीहरूको पीडामा कसैको ध्यान जाँदैन। त्यसमा तपाईले ध्यान दिनुभएको छ। आजसम्मको युद्धको इतिहास भनेको नारीपीडाको पनि इतिहास हो। यो अदृश्य आधा पाटातिर तपाईँको काव्यिक दृष्टि परेको छ।
दिदी, कुरा त अझै धेरै छन्। यति थोरै पंक्तिहरूमा तपाईंको कवित्वमाथि प्रकाश पार्नु भनेको एउटा सानो लोटाभरिको पानीले नुहाइसक्नु सरह हो। यसभित्र अनेक उधिन्न पर्ने कुरा छन्, तात्पर्य छन्, सन्देश छन्, कथ्य छन्। कसरी समेट्न सक्नु र। यसभित्र थोरैमा धेरै छन्। सौन्दर्यका छटा छन्। कविताका बाहिरी र आन्तरिक संरचनाका कुरा आएनन्, मर्म समात्ने कोसिस गरिएन। यसमा त खालि आवरणको अर्थ खोतल्याइसरह बनेको छ। जे होस्, तपाईंको कविता राम्रा छन्, सुपाठ्य र सुस्वाद्य छन्। अझै पारखीहरूको नजर परोस्। यही मेरो शुभकामना। अहिलेलाई यतिनै सतही प्रतिक्रिया।
तपाईंको कविताको एक पाठक
नवीन पौड्याल।
दार्जिलिङ।