भारतीय नेपाली साहित्यमा बद्रीनारायण प्रधान एक स्थापित र प्रतिष्ठित नाम हो। खासगरी उहाँलई एक प्रगतिवादी साहित्यका ज्ञाता तथा अध्येताका रूपमा चिनिन्छ। भारतीय नेपाली साहित्यमा डुवर्सको पहिचान र परिचय बढाउन बद्रीनारायण प्रधानले अतुलनीय योगदान दिनुभएको छ। ‘डुवर्सका भीष्मपितामह’ भनेर चिनिने प्रधान नेपाली साहित्यमा सक्रिय योगदान दिँदादिँदै हामीबीचबाट भौतिक रूपमा विदा हुनुभयो। 8 मई, 2010 मा पश्चिम डुवर्सको बाग्राकोटस्थित निजी निवासमा हृदयघातका कारण 83 वर्षको उमेरमा उहाँको निधन भयो।
बद्रीनारायण प्रधानको देहवासन भएको केही महिनाभित्रै बाग्राकोटका सचेत युवाहरूले ‘बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान’ गठन गरे। प्रतिष्ठानले बितेका चार वर्षभित्रमा अतुलनीय र अभूतपूर्व कार्य सम्पादन गरिसकेको छ। बाग्राकोटमा बद्रीनारायण प्रधानको सालिक स्थापना गरिएको छ; वर्षेनी बद्रीनारायण प्रधान स्मृति पुरस्कार प्रदान गरिन्छ भने हालै प्रतिष्ठानले पत्रकार तथा समालोचक रूपेश शर्माको सम्पादनमा ‘कालजयी कर्महरूमा बद्रीनारायण प्रधान’ नामक स्मृति ग्रन्थ प्रकाशित गरेको छ। यो पुस्तक बद्रीनारायण प्रधानबारे आधिकारिक दस्तावेज बनेको छ र नेपाली साहित्यका दिग्गजहरूबाट यसले निकै सराहना र प्रशंसा पाएको छ। स्तरीयता, गुणस्तर र सम्पादनकलामै यसले एउटा माइलखुट्टी निर्माण गरेको साहित्यका अध्येताहरूको मूल्याङ्कन छ। यसका सम्पादक रूपेश शर्मा ‘बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान’-का मूल खाबो र मेरूदण्ड हुन्। सम्पादक रूपेश शर्मासँग अहिलेको चर्चित ग्रन्थ ‘कालजयी कर्महरूमा बद्रीनारायण प्रधान’ र बद्रीनारायण प्रधानबारे गरिएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिन्छ।
>> ‘कालजयी कर्महरूमा बद्रीनारायण प्रधान’ नामक स्मृति ग्रन्थ प्रकाशन भइसकेको छ। बद्रीनारायण प्रधानलाई चिनाउन परे तपाईं के भन्नुहुन्छ?
-बद्रीनारायण प्रधान भारतीय साहित्यमा एक अग्रणी नाम हो। उहाँले नेपाली साहित्यलाई अहिलेसम्म एघाह्रवटा कृति दिएर जानुभएको छ। उहाँ जीवित हुँदै 10 वटा कृति प्रकाशन भइसकेका थिए। उहाँको देहवासनपछि एउटा कृति प्रकाशन भयो र अझै नौवटा कृति प्रकाशित हुन बाँकी छन्। समग्रमा एक कुशल अनुवादक, सफल स्रष्टा र एक सिर्जनात्मक लेखकको रूपमा हामी उहाँको परिचय पाउँछौं। उहाँले साहित्यबाहेक पनि राजनैतिक र शैक्षिक क्षेत्रमा धेरै काम गर्नुभएको छ। उहाँ सीपीआई (एम) पार्टीबाट राज्यसभा सांसदसम्म भइसक्नुभएको हो। डुवर्सवासीले उहाँलाई एकजना अग्रणी समाजसचेतकका रूपमा सम्मानित दृष्टिले हेर्ने गरेका छन्। उहाँ डुवर्सका भीष्मपितामह हुनुहुन्थ्यो। उहाँको निधन भएको दुई महिनाभित्रै हामीले डुवर्समा ‘बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान’ गठन गर्यौं। प्रतिष्ठान गठन गरेपछि हामीले बाग्राकोट उच्चतर माध्यमिक विद्यालय परिसरमा उहाँको एउटा सालिक स्थापना गर्यौं। त्यसपछि उहाँकै स्मरणमा, उहाँकै नाममा वर्षेनी ‘बद्रीनारायण प्रधान स्मृति पुरस्कार’ प्रदान गर्दै आएका छौं। पहिलो पुरस्कार वरिष्ठ साहित्यकार राजनारायण प्रधान (2012)-लाई प्रदान गरिएको थियो भने दोस्रो पुरस्कार मूर्धन्य साहित्यकार हाइमनदास राई किरात (2013) र तेस्रो पुरस्कार 19 जनवरी, 2014-को दिन आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार नरबहादुर दाहाललाई प्रदान गरिएको छ। समग्रमा, डुवर्समा बद्रीनारायण प्रधानलाई हामी एक अग्रणी साहित्यकार, अग्रणी समाजसचेतक र डुवर्सका पर्यायका रूपमा उभ्याउन सक्छौं।
>> तपाईंले आफ्नो सम्पादकीयमा ‘बद्रीनारायण प्रधान स्वयं एक संस्था हुन्’ भनेर उल्लेख गर्नुभएको छ। यसलाई कसरी ‘जस्टीफाइ’ गर्नुहुन्छ?
-बद्रीनारायण प्रधान यसकारण पनि संस्था हुनुहुन्छ कि उहाँले डुवर्समात्रै होइन समग्र नेपाली जागरणकाल, नेपाली समाजको उषाकालमा, खासगरी 1940-को दशकमा साहित्य र शिक्षाको ज्योति छर्नुभयो। सामाजिक चेतनाको जागरणकालमा बद्रीनारायण प्रधानको उपस्थिति नै एउटा सक्रिय भूमिकाका साथ भएको थियो। उहाँले गणेशलाल सुब्बासँगै राजनैतिक कार्यहरू गर्नुभयो। कम्युनिस्ट विचारलाई, वामपन्थी चिन्तनलाई दार्जीलिङ पहाडमा फैल्याउन महत्त्वपूर्ण योगदान दिनुभयो। गणेशलाल सुब्बाजस्ता बौद्धिक व्यक्तित्व उहाँका अभिन्न मित्र थिए। गणेशलाल सुब्बा र रतनलाल ब्राह्मणका सहयात्री भएर उहाँले दार्जीलिङमा कम्युनिस्ट विचारलाई स्थापित गर्नुभयो। पश्चिम डुवर्सको बाग्राकोटमा गएर उहाँले शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याउनुभयो। बङ्गला माध्यमको विद्यालयलाई उहाँले नेपालीमा रूपान्तरण गर्नुभयो। डुवर्समा त्यसताक जति पनि स्कूलहरू खोलिएका थिए, ती स्कूलहरूलाई सरकारी मान्यता दिलाउन उहाँले अथक परिश्रम गर्नुभयो। उहाँ दार्जीलिङ जिल्ला प्राइमेरी स्कूल बोर्डका अध्यक्ष हुँदा पाँचसय भन्दा बढी नेपाली प्राथमिक शिक्षकहरूलाई नियुक्ति दिनुभयो। भारतीय नेपाली समाजको जागरणकालमा शिक्षा, साहित्य, राजनीति र सामाजिक क्षेत्रमा उहाँले अभूतपूर्व र ऐतिहासिक योगदान दिएकाले पनि हामी उहाँलाई एक संस्थाको रूपमा हेर्दछौं।
>> बद्रीनारायण प्रधानलाई तपाईंले ‘इतिहासपुरुष’ पनि भन्नुभएको छ नि!
-वास्तवमा उहाँको सङ्गत पनि त्यस्तै ऐतिहासिक पुरुषहरूसँग भएको थियो। उहाँले धेरै ऐतिहासिक कामहरू गर्नुभयो। उहाँ गणेशलाल सुब्बासँग जेल पर्नुभयो; 17 वर्षको उमेरमा कम्युनिस्ट पार्टीको सदस्यता लिएर काम गर्नुभयो। दार्जीलिङमा वामपन्थी आन्दोलनलाई संस्थागत गर्न रतनलाल ब्राह्मण, गणेशलाल सुब्बाजस्ता दिग्गज राजनीतिज्ञहरूसित मिलेर काम गर्नुभयो। त्यसपछि नेपालका पुष्पलाल श्रेष्ठ जो नेपालको कम्युनिस्ट पार्टीका संस्थापक हुन्, उनीसमेत बद्रीनारायण प्रधानबाट अभिप्रेरित भएको र बद्रीनारायण प्रधानसँग दुई महिना सिलगढीमा अर्धभूमिगत अवस्थामा सँगै बसेको कुरा हामी पाउँछौं। नेपालका चर्चित नेता प्रचण्डसँग एक समय उहाँको पारिवारिक नाता (सम्धी) नै थियो। उहाँ ऐतिहासिक पात्रहरूसँग जोडिनुमात्र भएन, तर इतिहास पनि निर्माण गर्नुभयो। भारतीय नेपाली साहित्यमा पहिलोपल्ट प्रगतिवादी विचार र साहित्यलाई स्थापित गर्ने उहाँ नै हुनुहुन्थ्यो। विश्व नेपाली साहित्यमै उहाँले पहिलोपल्ट महर्षि कार्ल मार्क्सको जीवनी लेख्नुभयो 1947 सालमा। 1952-मा म्याक्सिम गोर्कीको विश्वप्रसिद्ध उपन्यास ‘आमा’ अनुवाद गर्नुभयो। त्यो अनुवादको केही अंश पारसमणि प्रधानद्वारा सम्पादित ‘भारती’-मा प्रकाशित भएको थियो।
नेपाली साहित्य एकदमै मिर्मिरे अवस्थामा रहेको अनि विकासको खुड्किलो उक्लिँदै गरेको अवस्थामा बद्रीनारायण प्रधानले विश्वसाहित्य, खासगरी म्याक्सिम गोर्कीका रचनाहरू, अन्य प्रगतिवादी विश्वसाहित्य, प्रगतिशील चिन्तनधारालाई नेपाली समाजमा स्थापित गर्न कलम चलाउनुभयो। त्यसलाई विभिन्न फुटकर रचनाहरूका रूपमा पत्र-पत्रिकाहरूमार्फत प्रकाशमा ल्याउनुभयो। पछि निकै लामो समयपछि ती कृतिका रूपमा प्रकाशित भए। एउटा उषाकालमा, एउटा मिर्मिरेकालमा, नेपाली जागरणको प्रथम चरणमा उहाँले यस्ता कामहरू गर्नुभयो, जुन कामले नेपाली समाजलाई विश्वसाहित्यले अभिप्रेरित गर्यो। विश्वसाहित्यलाई चिनाउन उहाँले अमूल्य योगदान दिनुभयो। राजनीतिको क्षेत्रमा पनि उहाँको त्यस्तै अवदान छ। उहाँले नेपाल कम्युनिस्ट पार्टीका प्रतिष्ठाता पुष्पलालसमेतलाई प्रभावित गर्नुभयो। गणेशलाल सुब्बा र रतनलाल ब्राह्मण उहाँका राजनैतिक सहयोद्धा थिए। सुशील च्याटर्जीजस्ता दिग्गज कम्युनिस्ट नेताहरूसित उहाँको सान्निध्य थियो। ज्योति बसु उहाँलाई राम्ररी चिन्दथे। उहाँ 1982 देखि 1984-सम्म दुई वर्षका लागि सीपीआई (एम) पार्टीबाट दार्जीलिङ जिल्लाबाट राज्यसभाको सांसद मनोनित हुनुभयो। बाग्राकोट ग्राम पञ्चायत अन्तर्गत सुन्दरी बस्ती जस्तो एउटा दुर्गम ठाउँबाट उहाँ देशको सर्वोच्च निकाय संसदसम्म पुग्नुभयो र उहाँले एउटा नयाँ कीर्तिमान बनाउनुभयो। डुवर्समा शैक्षिक जागरणको उषाकालमा उहाँले नेपाली स्कूलहरू खोल्न प्रेरितमात्र गर्नुभएन, अपितु तिनलाई सरकारी मान्यता पनि दिलाउनुभयो। डुवर्समा अहिले आधा दर्जनभन्दा धेरै मान्यताप्राप्त नेपाली स्कूलहरू छन्। यी सबै ऐतिहासिक अवदानले गर्दा हामी बद्रीनारायण प्रधानलाई ‘इतिहासपुरुष’ भन्न किञ्चित हिच्किचाउँदैनौं।
>> ‘डुवर्सका लागि बद्रीनारायण प्रधान शुरू र अन्त्य दुवै हुन्’ भन्नुभएको छ नि! यसको अर्थ खुलाइदिनुहोस् न।
-यसको एउटा सन्दर्भ छ। ‘अन्त्य’ भनेको जुन किसिमले डुवर्सको साहित्यलाई, डुवर्सको सामाजित जागरणलाई, त्यहाँको राजनैतिक चेतनालाई उहाँले जुन उँचाइमा लानुभयो त्यो उँचाइमा पुर्याउने अर्को विकल्प हामीसित छैन। डुवर्समा अहिलेसम्म बद्रीनारायण प्रधानको हाराहारीमा आउने, उहाँपछि उहाँको उत्तराधिकारीका रूपमा काम गरेर लाने अर्को प्रतिनिधि पात्र कमसेकम अहिले हामीसँग छैनन्। यसैले हामीले बद्रीनारायण प्रधान युगको अन्त्य भएको महसुस गरेका छौं। अब हामीले कुनै कुराको शुरू गर्नुछ भने बद्रीनारायण प्रधानले खड़ा गरेको जगमा टेकेर नयाँ ढङ्गले अगाड़ि बढ्नुपर्ने हुन्छ। त्यसैले हामीलाई यो महसुस भइरहेको छ कि डुवर्सको साँच्चै एउटा युग सकिएको छ। बद्रीनारायण प्रधानले स्थापित गरेको ऐतिहासिक विरासतबाट अघि बढ्नु नै डुवर्सेली साहित्यको निम्ति श्रेयस्कर हुनेछ। उहाँलाई भुलेर वा उहाँको परिचयलाई लुकाएर डुवर्सेली साहित्य अघि बढ्न सक्दैन।
>>अहिलेसम्मका कुराकानीमा हामी डुवर्ससम्म मात्र सीमित रहेका छौं। भारतीय नेपाली साहित्यको कुरा गर्दा बद्रीनारायण प्रधानलाई तपाईं कुन दृष्टिले हेर्नुहुन्छ?
- भारतीय नेपाली साहित्यमा बद्रीनारायण प्रधानको उपस्थिति लगभग इन्द्रबहादुर राई, हायमनदास राई किरात, इन्द्र सुन्दास, कृष्णचन्द्रसिंह मोक्तान, शिवकुमार राई, समीरण छेत्री ‘प्रियदर्शी’-लगायतका साहित्यकारहरूको हाराहारीमा छ। पचासको दशकमा अगमसिंह गिरी, लक्खीदेवी सुन्दास, नरबहादुर दाहालहरूले दिएको योगदानकै पृष्ठभूमिमा बद्रीनारायण प्रधानको पनि साहित्यिक योगदानको चर्चा गर्नु उचित हुन्छ। यद्यपि त्यसताक उहाँका फुटकर रचनाहरू मात्र प्रकाशित भएको पाइन्छ। तर पनि चालीसदेखि साठीको दशकसम्म बद्रीनारायण प्रधानको साहित्यिक उपस्थिति सक्रिय नै मान्नुपर्छ। उहाँ इन्द्रबहादुर राईभन्दा डेढ महिना मात्रै जेठो हुनुहुन्छ। अहिले इन्द्रबहादुर राई हामीमाझ हुनुहुन्छ। उहाँले 2012-मा बाग्राकोटमा बद्रीनारायण प्रधानको सालिक अनावरण गरेर आफ्नो मित्रताको ज्वलन्त उदाहरण प्रस्तुत गर्नुभएको छ। उहाँहरू साहित्य लेखनमा पनि समकालीन हुनुहुन्छ र सम्पूर्ण भारतीय नेपाली साहित्यमा बद्रीनारायण प्रधान एकजना उर्वर र अग्रणी लेखकका रूपमा स्थापित हुनुहुन्छ। वास्तवमा म्याक्सिम गोर्कीको ‘आमा’ अनुवाद गरेपछि र त्यसको केही अंश 1952-मा ‘भारती’-मा प्रकाशित भइसकेपछि धेरैले बद्रीनारायण प्रधानलाई अनुवादकका रूपमा परिचित गराउने गरेका छन् अनि त्यही पगरी गुथाउँदै आइरहेका छन्। तर बद्रीनारायण प्रधान एक अनुवादक मात्र नभएर एक सिर्जनशील, उर्वर र वैचारिक प्रतिबद्धता भएका लेखक पनि हुनुहुन्छ। म यहाँ के कुरामा जोड दिन चाहन्छु भने प्रधानका मौलिक कृतिहरूमध्ये ‘संगत’ कथासङ्ग्रह सिक्किमको निर्माण प्रकाशनले प्रकाशित गरेको छ, जो धेरै लोकप्रिय छ। त्यसपछि उहाँको ‘मौली’ उपन्यास छ जो कम्युनिस्ट सिद्धान्तलाई केन्द्रमा राखेर वैचारिकरूपमा मजदूरहरूको आन्दोलनलाई सही आन्दोलन हो भन्ने प्रगतिवादी विचारलाई संस्थागत गरिएको छ। त्यसपछि ‘भुमरी’ गोर्खाल्याण्ड आन्दोलनसम्बन्धी लेखिएको उपन्यास छ। त्यसबाहेक पनि उहाँका अन्य त्यस्ता संस्मरणहरू छन् जुन संस्मरणले सयौं वर्षदेखि यस क्षेत्रमा हाम्रो बसोबासोको ऐतिहासिक दसी र प्रमाण दिन्छन्। उहाँ इतिहासका भोक्ता र प्रयोक्ता दुवै हुनुहुन्थ्यो। त्यसले गर्दा उहाँले प्रस्तुत गर्नुभएको तथ्यले हामीलाई हाम्रो इतिहासको पुनर्लेखनतर्फ प्रेरित गर्न सक्छ। बद्रीनारायण प्रधानमा प्रशस्त मौलिकता थियो। उहाँका अप्रकाशित कृतिहरूमा पचासवटा जति ता बालकथा मात्र छन्, जो विभिन्न पत्र-पत्रिकामा प्रकाशित भइसकेका छन्। त्यसको एकमुष्ठ प्रकाशन हुन बाँकी छ। उहाँको ‘सन्तान’ कथासङ्ग्रह प्रकाशित भएकै छैन। त्यसैले गर्दा मौलिक कृति सर्जकका रूपमा पनि बद्रीनारायण प्रधान भारतीय नेपाली साहित्यमा इन्द्रबहादुर राईलगायत अन्य वरिष्ठ र दिग्गज साहित्यकारहरूको हाराहारीमा उभ्याउन सकिने एकजना अब्बल स्रष्टा हुनुहुन्छ। उहाँलाई डुवर्समा मात्रै खुम्चाउन उचित हुन्न भन्ने मलाई लाग्दछ।
>> बद्रीनारायण प्रधानका एघारवटा कृति प्रकाशित छन्। धेरै कृति प्रकाशित हुन बाँकी छन्। ‘बद्रीनाराण प्रधानका कृतिहरूले पचास वर्षपछि पनि उस्तै नियति भोग्न परिरहेको छ’ भन्ने कुरा यहाँले स्मृति ग्रन्थमा उठाउनु भएको छ। अब यसको कारण के हुन सक्छ त?
- आश्चर्यको कुरो के छ भने आजभन्दा लगभग साठी वर्षअघि 1952-मा बद्रीनारायण प्रधानले ‘आमा’ उपन्यास अनुवाद गर्नुभयो र अनुवादका केही अंश त्यतिबेलाको ‘भारती’-मा छापिए, तर त्यसपछि यो कृति छापिनु लगभग 24 वर्ष लाग्यो। 1976-मा दार्जीलिङको श्याम ब्रदर्श प्रकाशनले यो कृति प्रकाशित गर्यो। ‘आमा’-को प्रकाशनपछि बद्रीनारायण प्रधानको अनुवादकलाको सबैले सराहना गरे। 1947 मा लेखेको महर्षि कार्ल मार्क्सको जीवन एकैचोटि 1981 मा प्रकाशित भयो। यसले पनि पुस्तकको रूप पाउन 34 वर्ष कुर्नु पर्यो। उहाँका अन्य कृतिहरूका हकमा पनि यस्तै भएको छ। आजभन्दा 50 वर्षअघि प्रकाशनको जुन अवस्था थियो, त्यो आज छैन। त्यतिबेला सूचना प्रविधिको अभाव थियो र अहिलेको जस्तो सुविधा पनि थिएन। यसकारण त्यतिबेलाको अवस्थालाई केही हदसम्म स्वाभाविक मान्न सकिएला, तर अहिले त्यस्तो अवस्था छैन। यद्यपि अहिले पनि बद्रीनारायण प्रधानका कृतिहरूले उस्तै नियति भोग्नु विडम्बनाको कुरा हो।
गणेशलाल सुब्बामाथि लेखिएको बद्रीनारायण प्रधानको एउटा ‘मोनोग्राफ’ साहित्य अकादमी नयाँ दिल्लीले लगेको आज 16 वर्ष हुँदैछ। त्यसबारे कुनै खोजखबर छैन। सिलगढीका एकजना प्रकाशकले उहाँको ‘सन्तान’ नामक कथासङ्ग्रहको पाण्डुलिपि उहाँ जीवित हुँदै प्रकाशित गरिदिन्छु भनेर लगेको आज आठ वर्ष लाग्दैछ, त्यसको पनि खबर छैन। आज पनि बद्रीनारायण प्रधानका कृतिहरू प्रकाशित हुन यति ढिलाई हुनुमा कतै उहाँले बोकेको राजनैतिक विचार अथवा कम्युनिस्टलाई हेर्ने दृष्टिकोणको पूर्वाग्रह त कारण बनेको छैन भन्ने शङ्का जाग्दछ। आज 50 वर्ष अघिको अवस्था छैन। अहिले नेपाली साहित्य धेरै माथि पुगिसकेको छ। नेपाली साहित्यमा सङ्कीर्णता छैन अब। एउटा विचारलाई प्रोत्साहित गर्ने अर्को विचारलाई दमित गर्ने अवस्था पनि छैन आज। नेपालमा त प्रगतिवादी साहित्यलाई बाइपास गरेर अथवा बाहिर राखेर नेपाली साहित्यको इतिहास पूरा हुनै सक्दैन। भारतीय नेपाली साहित्यमा भने आज पनि प्रगतिवादी साहित्यलाई हेर्ने दृष्टिकोण पूर्वाग्रहयुक्त नै छ। वास्तवमा साँचो भन्नु हो भने साहित्यमा विचारको निषेध वा साहित्य राजनीतिदेखि अलग हुनुपर्छ भन्ने सोच पनि स्वयंमा एउटा राजनीति हो। प्रगतिवादी साहित्यलाई ‘नारावादी’ भन्नेहरू स्वयंले भने कस्तो विचार वा नारालाई आत्मसात गरिरहेका छन् भन्ने कुरा उनीहरूका कृतिहरू गहन रूपले अध्ययन गर्दा स्पष्ट हुँदछ। यसैले साहित्यमा आफ्नो ‘वाद’ सही तर प्रगतिवाद ‘नारा’ भन्ने धारणाको अन्त्य हुन जरूरी छ।
>> बद्रीनारायण प्रधानले सधैँ समाजलाई उज्यालोतिर डोहोर्याउने काम गर्नुभयो। यो कुरा उहाँका कर्महरूले, उहाँका कृतिहरूले प्रमाणित गरिसकेका छन्। भारतीय नेपाली साहित्यका निर्माताका रूपमा पनि उहाँको परिचय स्थापित छ। के साहित्य अकादमी, नयाँ दिल्लीले उहाँलाई ‘भारतीय नेपाली साहित्यका निर्माता’ श्रृङ्खलामा समावेश गर्ला?
- हामीले आजभन्दा 50 वर्ष पहिलाको स्थितिको कुरा गर्यौं। त्यो स्थिति अहिले छैन। आज कम्युनिस्ट भनेको भारतको एक स्थापित राजनैतिक पार्टी हो। यो विचार पनि संसारभरि स्थापित राजनैतिक विचार हो, सिद्धान्त हो। त्यसैले यसमा कुनै भेदभाव अथवा कुनै पूर्वाग्रह राख्नु पर्ने देखिँदैन। तर यदि सम्बन्धित कुनै पक्षबाट त्यसप्रकारको पूर्वाग्रह राखियो भने निश्चितरूपमा बद्रीनारायण प्रधान यसमा पनि ओझेल पर्लान्। तर यदि बद्रीनारायण प्रधानका सबै पक्षहरूलाई मूल्याङ्कन गर्ने र उहाँलाई एक अग्रणी समाजसचेतक, अग्रणी साहित्यकार तथा अग्रणी शिक्षाविद्का रूपमा मान्यता दिने हो भने भारतीय नेपाली साहित्य निर्माता श्रृङ्खलामा बद्रीनारायण प्रधानको एउटा मोनोग्राफ अथवा उहाँको छुट्टै कृति अथवा उहाँबारेमा एउटा विश्लेषण गरिएको कृति साहित्य अकादमीले प्रकाशन गर्नु जरुरी देखिन्छ।
>> छः दशकअघि नै बद्रीनारायण प्रधानले विश्व साहित्यलाई नेपाली समाजमा चिनाउने काम गर्नुभएको थियो। अघिदेखि हामी प्रगतिवादी विचारधाराका कुरा गरिरहेका छौं। बद्रीनारायण प्रधानलाई प्रगतिवादी भनिनुका आधारहरू के-के हुन्? प्रगतिशील र प्रगतिवादी भन्नाले के बुझिन्छ?
- वास्तवमा प्रगतिशील र प्रगतिवादी दुई अलग-अलग कुरा हुन्। प्रगतिशील भनेको समाजका यथास्थितिवाद, विसङ्गति, कुसंस्कार, रूढिवाद, भ्रष्टाचार, दुराचार, अन्याय र अत्याचारको विरोध गरेर समाजलई सचेत र अग्रगतितिर अग्रसरित गर्ने चिन्तन हो। यसले सामाजिक रूपान्तरणको पनि कुरा गर्दछ। समाजलाई प्रगतिको पथमा अग्रसरित गर्न आइपर्ने बाधाहरूलाई चिर्दै यो चिन्तनले आफ्नो सिर्जनालाई समाजमुखी बनाउँदछ। साहित्यमा यही विचारधारालाई हामी प्रगतिशील साहित्य भन्छौं। तर प्रगतिवादी साहित्य मार्क्सवादी साहित्यको एउटा अभिन्न पाटो हो। यसले द्वन्द्वात्मक भौतिकवादको नियमअनुसार संसारको व्याख्या र विश्लेषण गर्दछ। प्रगतिवादी साहित्यलाई समाजवादी साहित्य पनि भनिन्छ अनि धेरै ठाउँ यसलाई मार्क्सवादी साहित्य पनि भन्ने गरिन्छ। नेपाली साहित्यमै पनि यस्तो चलन छ। मार्क्सवादी विचारधारालाई आत्मसात गर्दै सर्वहारावर्गको मुक्ति र राजनैतिक अधिकारको सङ्घर्षलाई यसले आफ्नो साहित्यमा समेट्दछ। प्रगतिवादी हुनको निम्ति मार्क्सीय दर्शनको आत्मसातीकरण अनिवार्य शर्त हो भने प्रगतिशीलहरू मार्क्सवादी हुनैपर्छ भन्ने जरूरी छैन।
बद्रीनारायण प्रधानले सन् 1947-मै ‘गोर्खा’ पत्रिकामा पहिलोपल्ट रचना प्रकाशित गर्नुभयो ‘महर्षि कार्ल मार्क्स’ भनेर। सबैलाई थाहा छ, महर्षि कार्ल मार्क्स विश्वप्रसिद्ध दार्शनिक हुन् जो कम्युनिस्ट सिद्धान्तका प्रतिष्ठापक हुन्। कार्ल मार्क्सको बारेमा पहिलोपल्ट उहाँले नेपाली समाजलाई जानकारी दिनुभयो। यो लेख नेपाललगायत भारत र विश्वमा नै कार्ल मार्क्समाथि लेखिएको पहिलो नेपाली रचना हो। बद्रीनारायण प्रधानले पहिलोपल्ट नेपाली समाजमा कार्ल मार्क्स चिनाउनु भयो। त्यसपछि उहाँले 1952-मा म्याक्सिम गोर्कीको विश्वप्रसिद्ध उपन्यास ‘आमा’ नेपालीमा अनुवाद गर्नुभयो। त्यसका केही अंश ‘भारती’-मा प्रकाशित भए। त्यसपछि उहाँले विश्वका प्रगतिवादी साहित्यकारहरूका रचनालाई फुटकररूपमा अनुवाद गर्दै जानुभयो। अनुवादकै क्रममा उहाँले म्याक्सिम गोर्कीको जीवनी ‘भोल्गाको गडतीरबाट’ भनेर ‘फ्रम द ब्यांक्स अफ् भोल्गा’ भन्ने अलेक्जेन्डर रस्किनको अङ्ग्रेजी पुस्तक नेपालीमा अनुवाद गर्नुभयो। यसरी उहाँले म्याक्सिम गोर्कीलाई नेपाली पाठकमा चिनाउनु भयो। उहाँले जुन अनुवाद साहित्यको चयन गर्नुभयो, ती मूलतः प्रगतिवादी साहित्य नै थिए। प्रगतिवादी चेत, कम्युनिस्ट सिद्धान्त, वामपन्थी विचारधारा र सर्वहारा जनताको आवाजलाई मुखरित गर्ने लेखक-कलाकारले मात्रै यस किसिमको अनुवादको चयन गर्न सक्दछ। त्यसैले पनि बद्रीनारायण प्रधान एकजना प्रगतिवादी स्रष्टा हुनुहुन्छ।
>> स्मृति ग्रन्थ प्रकाशित गर्नुभयो, तर यसको बिक्री वितरण कसरी गरिरहनुभएको छ? नेपाली साहित्यका पाठकहरूबाट कस्तो रेस्पोन्स पाइराख्नुभएको छ?
- ‘कालजयी कर्महरूमा बद्रीनारायण प्रधान’ हामीले बद्रीनारायण प्रधान जीवित हुँदै मेरै सक्रियतामा अभिनन्दन ग्रन्थको रूपमा निकाल्ने भनेर प्रयास शुरू गरेका थियौं 2009-मै। यो प्रयास थाल्दा-नथाल्दै 2010-को 8 मईको दिन उहाँको निधन भयो। उहाँ जीवित हुँदै सम्मान जनाउन पाएको भए राम्रो हुन्थ्यो भन्ने हाम्रो चाहना थियो। त्यो पूरा हुन नसक्दा हामी बढी भावुक भयौं र हामीले अभिनन्दन ग्रन्थलाई स्मृति ग्रन्थमा रूपान्तरण गर्यौं। अहिले 456 पृष्ठको एउटा गतिलो पुस्तक निस्केको छ। यो साइजको हिसाबले मात्र होइन तर कन्टेन्ट वा सामग्रीको हिसाबले पनि एउटा गतिलो पुस्तक भएको छ भन्ने हामीले प्रतिक्रियाहरू पाइरहेका छौं। पाठकहरूबाट सकारात्मक प्रतिक्रिया छ। एक हजार प्रति पुस्तकमा अहिले हामीसँग थोरै पुस्तक मात्र बाँकी छन्। यसको बिक्री पनि छिटो भएको छ। हाम्रो मेहनत कतिसम्म सफल भएको छ, त्यो आलोचकहरूले खुट्याउने कुरा हो। तर हामीले एउटा इमानदार प्रयास गर्यौं। यो प्रयासमा पुस्तकलाई प्रकाशन गरी पाठकहरूसम्म पुर्याउन सक्यौं। स्रोत-संसाधनहरू हामीसँग सीमित छन्, तर पनि हामीले यसलाई डुवर्स, दार्जीलिङ, सिलगढी, सिक्किम, नेपाल आदि ठाउँहरूमा पुर्याइरहेका छौं। विश्वविद्यालयदेखि ग्रामीण पुस्तकालयसम्म पठाइरहेका छौं। सिक्किम विश्वविद्यालयले यसलाई आफ्नो पाठ्यक्रममा सन्दर्भ ग्रन्थको रूपमा हालेको छ। उत्तर बङ्गाल विश्वविद्यालयबाट बद्रीनारायण प्रधानका कृतिहरूमाथि पीएचडी हुँदैछ।
यो हाम्रो निम्ति खुशीको कुरा हो। यो ग्रन्थ 19 जनवरीको दिन विमोचन भएको थियो। विमोचनको 10 दिनभित्र लगभग तीनसय पुस्तक बिक्री भयो। पाठकहरूबाट पाएको सकारात्मक प्रतिक्रियाले हामीलाई अत्यन्त उत्साहित बनाएको छ। बद्रीनारायण प्रधानलाई जान्न र बुझ्न यो एक आधिकारिक ग्रन्थ भएको छ भन्ने हाम्रा वरिष्ठ साहित्यकारहरू मोहन पी. दाहाल, डा. जीवन नामदुङ, नरबहादुर दाहालहरूको मन्तव्य छ। म पाठक, शोधार्थी र साहित्यका विद्यार्थीहरूलाई आग्रह गर्न चाहन्छु- तपाईंहरूले यस्ता ग्रन्थहरू खोजेर, किनिदिएर, यसप्रति सोध गरेर बद्रीनारायण प्रधानबारेको अध्ययनको क्रमलाई अझ विकसित तुल्याउन सहयोग गरिदिनुहोस्। बद्रीनारायण प्रधान नेपाली साहित्यका एक विरलाकोटिका प्रतिभा हुन् भन्ने कुरा नेपाली पाठकहरूलाई जनाइरहनु परोइन ।
गान्तोक, सिक्किम (भारत)