हरेक नयाँवर्षका प्रतिक्षित छेकहरूमा
नयाँ विचार
नयाँ योजना र नयाँ सपना
अझ नयाँ गन्तव्यका टीठलाग्दा सुकुल गुण्डाहरू
चिया पसल र चोकहरूबाट उठेर आएर
दिनदहाडै सातोपुत्लो निल्ने गर्दछन्
हरेक नयाँवर्षका आसपास
ह्वात्तै बढ्छ
कि त स्वात्तै घट्छ
मूला साग
र कुभिण्डोहरूको सूची पनि
जो बिना कुनै यस्ता दिनचर्या हुन्छन् जो अपूर्ण नै लाग्दछन्
पुराना क्यालेण्डरका पानाहरू
रद्दीको टोकरीमा पर्छन्
यही नयाँवर्षको सामुन्ने भएर
र रातो माटो र कमेरोको भित्तोमा
सिँगमर्मर सपनाहरूले जिन्दगी ओगट्छन्
रूखका नयाँ पालुवाहरू फेरिएझैँ
समयको काँध चढेर पनि
समयलार्इ नै पछ्याउन नसकेको लखतरान मान्छे
प्रकृतिलार्इ हेरेर भित्रभित्रै बेस्सरी जल्छ
फिस्स हाँस्छ
यता चुली डाँडोको सदावहार प्रकृति
ओइलिँदै, मक्किँदै गएको मान्छेको वैंश हेरेर
चस्मदिद गवाह जो छ नजिक नयाँवर्ष !
नयाँवर्षकै रापले हो कि
न्युरोडका सडकमा अचानक
छोटिँदै जान्छ आधुनिक फेशन
खुम्चिन्छ र हजुरबाको गालामा नपचेर
मुजा परेर बस्छ
दुर्दम विषादको हुण्डरी चलाउछन्
नयाँवर्षको दायाँबायाँ झुण्डिएर
चकचके चैत बैशाख
कच्ची सडकको धूलो उडेर आएर
आँगनै बढाडेर जान्छ
आँखा छोप्छिन् बुढी आमै, सन्तानको भोलि हेर्न बाँकी नै छ
आफ्नो जन्मभूमीदेखि
टा ... ढाको
यो मरूभूमिमा म कहाँ जाउँ त्यस्तो नयाँवर्ष खोज्न ?
यो मरूभूमिमा म कहाँ जाउँ त्यस्तो नयाँवर्ष खोज्न ?
केएसए