18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सुरज हाङ्खिमको प्रोफाइल

कविता श्रीशीशा राई September 5, 2014, 4:11 am

खुस्किन लागेको इँजारमा एउटा हात

बाख्रा धपाउँदै लौरोमा अर्को हात–

त्यसबेला हाङ्खिमटोलको सुर्जे

आमासँगै गोलो साकेला नाचमा झुम्मियो

नाचेर थाकेका काकाहरुले विसाएको ढोल

कसौनीमा सिउरिएको लठ्ठीले बेताल बजायो

घरी लहरमा मिसिएर

सिलीहरुमा आफुलाई मिलाउन खोज्यो

हतुवा स्कुल जान थाल्यो

७,८ क्लासतिर पुग्दा

बोलीमा थोरै शब्द

आँखामा फरक कल्पना

पदचापमा नयाँ आवाज थियो

९,१० पुग्दा सुर्जे

स्कुल जाने सदाको बाटो छाडेर

गढीडाँडावाट धाउन थाल्यो

हरेकदिन डाँडामा एकछिन उभिएर

त.....ल शहर हेर्दै एकोहोरियो

कुमै कुम पखेटा हालेर

उडुँ झैँ देखियो अनुहार

मखमली चोलीमा हार भिरेर

सर्माउँदै आएकी सोल्टीनीलाई

सर्लक्क हेरेर भनेको थियो—

चाहेजति खुल्न नपाएको यो तिम्रो वैँशले

कपालमा ड्रेसिङ, परेलामा गगल्स र

तिघ्रामा मिनिस्कर्ट खोजेको छ,

तिमी मलाई विश्वास गर्छौ भने

त्यो रुप उपहार ल्याईदिनेछु

त्यै समय उसले मलाई भनेको थियो—

कति अप्ठ्यारो गाउँ

कति अँध्यारो स्कुल

कति नमिल्दो साकेला

के जिन्दगी यतिमात्र हो ?

शहर हेर त, कति खुलेको छ ?

यी दिनहरुमा सुर्जे

सोल्टिनीले तान्दा पनि साकेला नाच्न आएन

शहर झर्यो

कलेजमा नाम लेखायो—सुरज हाङ्खिम राई

छाता किन्न पैसा नपुगेको दिन

घामपानी झेल्यो

बतासले हुत्याएर औँलाको चुरोट

ड्रेनमा खसेको दिन पश्चिमी हावा भोग्यो

सडकको लम्बाई पाइतलाले नाप्दै जाँदा

क्रमसंख्या विर्सेर अल्मलियो

सत्ताको अस्पष्ट मुल्यसूचीवाट

उसको आदीवासी आस्था क्रमशः छुट्दै जाँदा विटुलियो

जोसँग हात मिलायो शहरमा

उसकै हात तल पर्यो

जोसँग परिचय भयो शहरमा

छद्म नामहरुले उसकै नाम पुरियो

सुरज, सुर्जे जस्तै देखियो शहरमा

एक वगल वाख्रा, आँगनको गोलो साकेला

सोल्टीनीको मौलिक चित्र

आँखामा सररर बगे

उसलाई सवैभन्दा धेरै आफ्नै माया लाग्यो

आफ्नै गाउँ शहरभन्दा सुन्दर लाग्यो

सोँच्यो— .....तर भाग्नुहुँदैन,

आफ्नोलाई मुटुमा बाँधेर झेल्नुपर्छ हावापानी

गाउँ र शहरमा एउटै घाम उदाउनुपर्छ

त्यो घामको आफ्नै ताप हुनुपर्छ

अहिले सुरज

उधौली या उभौली, चौक या पार्क

सबै साकेलामा पसिना पुछ्दै नाचेकै छ

गाएकै छ— सोल्टीनी नानी कम्मर भाँच्ने

हामीले ननाचे कसले नाच्ने ?

भर्खरै मैले फेसबुकमा

सुरज हाङ्खिमको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गरेँ

उसको प्रोफाइलमा

खाडीको दौरा सुरुवाल, अल्लोको कोट,

कोटको खल्तीमा जयफुल झुण्ड्याएर

ढाकाटोपीमा हाँसीरहेको फोटो छ

ढोल, झ्याम्टा र चमार समाएर

साकेला नाचीरहेको थुप्रै फोटोहरु

पोष्ट गरेको छ उसले

आजै विहान स्टाटस लेखेको छ—

यही मेरो पहिचान हो, मेरो छाँया हो

मलाई मेरो छाँयावाट छुटाउन खोज्ने तिमी को ?

तरहरा सुनसरी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।