क.आमुख:
मनका भावलाई सुन्दर रूपमा प्रस्तुत गर्ने एउटा माध्यम कविता हो।यो विधा सबैभन्दा लोकप्रिय,प्रयोगशील र लचिलो रहेको हुन्छ। यसका अनेक परिभाषा छन् र सबैलाई यहाँ प्रस्तुत गर्न सम्भव छैन। कविताका अनेक स्वरूप छन् र अझै नयाँ नयाँ स्वरूप पनि निर्माण भइरहेछन्। यसको क्षेत्र दुई पंक्तिको युग्मकदेखि लाख श्लोके विशालकाय महाकाव्यसम्म फैलिएको छ। कविताकै परिधिभित्र महाकाव्य, खण्डकाव्य, लामो कविता, फूटकर,मुक्तक,गजल,शायरी, हाइकु, ताङका, सवाइ, रूवाइ, गीत, सनेट इत्यादि सबै समेटिएका हुन्छन्। कविता छन्दोबद्ध तथा छन्दका नियमदेखि खुल्ला र छन्दमुक्त पनि लेख्न सकिन्छ। हुन पनि सिकारू कविदेखि महाकविसम्मका लागि प्रतिभा दर्शाउने माध्यम कविता हो।
ख. गजलको सामान्य सैद्धान्तिक चिह्नारी- कविताको एक प्रयोगका रूपमा रहेको गजल निकै लोकप्रिय रहेको छ।मूलतः यो अरबी भाषाबाट आएको शब्द हो। पछिबाट यो शब्द फारसी, उर्दू, हिन्दी हुँदै नेपालीमा आएको हो। हो। गजलका तीनवटा अर्थ छन्-
अ) व्युत्पत्तिगत अर्थ- गजल शब्द अरबेली भाषाको तीन शब्द मिली बनेको छ। ग को अर्थ बोली वा वाणी वा कुराकानी हो। ज को अर्थ नारी हो र अलको अर्थ साथ वा सँग हो। यसर्थ, गजल शब्दले नारीका साथ प्रयुक्त हुने वाणी अर्थात् प्रेयसीसित मधुर वार्तालाप बुझाउँछ।
आ) विस्तारित अर्थ- गजल शब्दको अर्थ नारीसितको प्रेमालाप भन्ने व्युत्पत्तिगत अर्थका अतिरिक्त फारसी र उर्दूका अनेक विद्वानहरूले यसका विभिन्न अर्थ लगाएका छन्। एउटा रोचक उदाहरण यस्तो छ- शिकार खेल्दा जब शिकारीको काँड हरिणको मुटुमा रोपिन्छ, त्यसबेला त्यो हरिणले विक्षत ह्रदयले गरेको आर्तनाद्लाई नै गजल भनिन्छ। यस उदाहरणबाट के प्रस्टिन्छ भने गजल भनेको अन्तर्मनका दुःख-पीडा, आर्तनाद, विह्वलता, परिताप र छट्पटी व्यक्त गर्ने शब्द हो। यसर्थ, यसले गजलको अझै अर्थविस्तार भइ प्रेमिकासित प्रेमको दुःख-सुखादिबाहेक कुनै पलि प्रकारको पीडा व्यक्त गर्ने शब्द हो। अतः कुराकानी मात्र सीमित नभई एकाकी आर्तनाद्लाई समेत गजलले ब्यक्त गर्ने भयो। आधुनिक गजलमा प्रणयको भावनाको मात्र नभएर समसामयिक हरेक कुराका संवेदना ब्यक्त गर्ने भयो।
इ) आध्यात्मिक अर्थः गजलको व्युत्पत्तिगत अर्थले प्रेमालाप हो भन्ने बुझिएपछि फारसी र सुफी धारणामा त्यो कस्तो खालको प्रेम रहेछ बुझ्न सकिन्छ। फारसी प्रेम कवितामा परमात्मालाई नायिकाको र जीवात्मलाई नायकको रूप दिइन्छ। जीवात्म परमात्मा प्राप्तिका निम्ति सदा लालयित हुन्छ र त्यसका लागि सदैव प्रयत्न रहन्छ। नायिकास्वरूपा परमात्माको रूप-सौन्दर्य र गुण-सौन्दर्यमा मुग्ध भई मिलनका लागि आतुर रही अनुनय,विनय,प्रार्थना,अनुरोध गरिरहन्छ। अतः प्रेममा आध्यात्मिक अर्थ पनि सापेक्षित छ।
ग)गजलको रूपगत चिह्नारीः गजलको वास्तविक चिह्नारी नै यसको रूपगत हो। अन्य कवितात्मक रचनाभन्दा यसको भिन्दै रूप-संरचनात्मक परिपाटी हुन्छ। गजल मूलतः अरबीबाट फारसी, उर्दू र हिन्दी हुँदै नेपालीमा आएको हुनाले यसमा प्रयुक्त हुने पद्धति र संरचनाका इकाईहरूका नाम अरबी वा फारसी पुन्छन्। गजलका केही प्राविधिक र संरचनात्मक शब्दहरू केलाउने प्रयास गरिन्छ।
1)काफिया- अरबी भाषामा काफिया शब्दको अर्थ पछिपछि हिँड्ने वा बारबार आउने भन्ने लाग्छ।(कृष्णहरि बराल, पूर्ववत्,) गजलमा रहेको पूर्वान्त्यानुप्रास वा रदीफभन्दा अघि आउने अनुप्रासयुक्त शब्द काफिया हो। यसका पनि अनुप्रास पूर्ण रूपमा मिलेमा पूर्ण काफिया र आङ्शिक मात्र मिलेमा आङ्शिक काफिया भनिन्छ।गर्छ,मर्छ,झर्छ जस्तो मिलेमा पूर्ण काफिया हुन्छ औ हेर्छ- लेख्छ, भन्यो-गाँस्यो जस्तो मिलेमा आङ्शिक काफिया हुन्छ।
2)रदीफ- गजलको प्रत्येक दोस्रो पंक्तिमा मिल्ने अन्त्यानुप्रासलाई रदीफ भनिन्छ।
3)तखल्लुस- गजलकारले रचनामा आफ्नो नाम वा उपनाम विशेषगरि मकतामा हाल्ने कामलाई तखल्लुस भनिन्छ। पहिले धेरैले गजल लेख्दा आफ्नो रचनाको पहिचान होस् भन्ने हेतूले तखल्लुस राखिएको हो भन्ने भनाइ छ।
4)मतला- यसको अर्थ शुरू हो। गजलको शुरूको दुई पंक्ति वा शेर मतला हो। यसका दुवे पंक्तिमा काफिया र रदीफ हुनु आवश्यक छ।
5)मकता- गजलको अन्तिम शेरलाई मकता भनिन्छ।यसने सिङ्गो गजलकै निष्कर्षात्मक अभिव्यक्ति दिन्छ। कसैले यसैमा तखल्लुस पनि प्रयोग गर्छन्।
6)मिसरा- गजलको एक पंक्तिलाई मिसरा भनिन्छ।
7) शेर- गजलको दुई पंक्तिको एक परिच्छेदलाई शेर भनिन्छ। प्रत्येक शेर स्वतन्त्र भावका हुन सक्छन यद्यपि गजलको मूल भावसँग सम्बद्ध हुनुपर्छ।
8)मध्यभाग- मतला र मकताको बिचको भाग मध्यभाग ङो। यस भागमा भएका शेरहरूका पहिलो मिसरामा सामान्य अनुप्रास मिलेको हुन पर्छ वा नमिलेको पनि हुनसक्छ भने दोस्रो पंक्तिमा काफिया र रदीफ हुनैपर्छ।
9) मतला-ए-उला- मतलाको पहिलो मिसरा वा पंक्तिलाई मतला-ए उला भनिन्छ।
10) मतला-ए-सानी- मतलाको दोस्रो मिसरा वा पंक्तिलाई मतला-ए उला भनिन्छ।
11) बहर- गजलको छन्दलाई बहर भनिन्छ।गजलमा अनिनार्य रूपमा कुनै न कुनै बहर प्रयोग हुनुपर्छ भन्ने मान्यता छ। अरबीमा उन्नाइसवटा र फारसी संख्या बढेर पैंतीसवटा बहर भएका हुन्।यद्यपि बाह्रवटा जति बहर मात्र प्रचलनमा आएका हुन्। केही प्रचलित बहरहरूमा बजज, गमल, मुतकारिब, रमल,कामिल, वाफिर, मुतदारिक,मजर इत्यादि हुन्। यी बहरहरूका पनि धेरै उपभेद हुन्छन्।
12) अर्कान- संस्कृतको वार्णिक छन्दमा केलाइने गण जस्तै बहर केलाउने गणलाई रूक्न औ रूक्नहरूको समूहलाई अर्कान भनिन्छ। यसमा पनि ह्रस्व-दीर्घको प्रयोग हुन्छ। फऊलुन, फाइलुन, मफाइलुन, मुस्तफ्इलुन, फाइला-तुन, मुतफाइलुन, मफाइलतुन र मफऊलात गरी आठवटा रूक्न हुन्छन्।
13) फर्द- गजल लेख्न बस्ता एक शेरभन्दा बढी लेख्नै नसकिएको अवस्थाको एक शेरको गजललाई फर्द भनिन्छ।
14) कत्वा- गजल लेख्न बस्ता दुई-तीन शेरभन्दा बढी लेख्नै नसकिएको अवस्थाको दुई-तीन शेरको गजललाई फर्द भनिन्छ।
15)अन्दाजे वया - श्रोतासामु गजललाई प्रभावकारी ढङ्गमा कौतूहलपूर्ण अभिव्यक्तिलाई अन्दाजे वया भनिन्छ।
16) तासिरः गजल सुनेर श्रोताहरूमा परेको आनन्दमय प्रभाव तासिर हो।
संस्कृतका केही छन्द र बहरबिच धेरै समानता पाइन्छ। यी दुवै लघु-गुरूका आधारमा गणना हुन्छन्। संस्कृतका तेइसवटा वार्णिक छन्द र बहरका उपभेदहरूको मेल देखिन्छ।संस्कृतको भुजङ्गप्रयात छन्द मुतकारिब मुसम्मन सालिम बहर, तोटक छन्द हजज अखरब अवतर मुसद्दतबहरसँग मेल खान्छ।(कृष्णहरि बराल,पूर्ववत्,पृष्ठ-९६)
गजलसँग केही मिल्दा-जुल्दा अरबी-फारसी मूलका कविताहरूमा कसिदा, नज्म,रूवाइ,मस्नवी,कत्तआ र गीत हुन्।
कसिदा- कसिदा लगभग बीसदेखि शयसम्मको काफिया भएको भक्ति र प्रेममा डुबेको काव्यात्मक रूप हो।
नज्म- यो पनि एकै विषयमा आबद्ध लामो कवितात्मक रूप हो। यसमा व्यङ्ग्य र प्राकृतिक विवरण पाइन्छ।
रूबाई- चार पंक्तिमा आबद्ध काफिया मिलाइएको धार्मिक,रत्यात्मक र रहस्यात्मक विषयमा लेखिने रूबाई हो।
मस्नभीः प्रारम्भमा अल्लाह स्तुति हुँदै कथात्मक रूप दिएर अति लामो शेरहरू भएको र काफियाको प्रयोग रहेको कविता मस्नभी हो।
कत्तआ- गजलकै संरचना भए पनि यसमा शेरहरूले जस्तो स्वतञ्त्र र मुक्तकीय अभिव्यक्ति दिने नभई अर्थ बुझाउन एउटा शेर अर्को शेरसँग आश्रित हुने कत्तआ हो।(डा कृष्णहरि बराल)।
गीत- स्थायी र अन्तरा भएको हृदयका कोमल भाव हुने गीत हो।
घ)हजरत महम्मदपछिका अन्य खलिफाको समयमा अरबको मक्का र मदिना दुई शहर नृत्य,काव्य र कलाकेन्द्रका रूपमा रहेका थिए। गजल पनि ती दुई स्थानमा फस्टिन पायो। मक्कामा विकसित गजललाई मक्का शैली र मदिनामा विकसित शैलीलाई मदिना-शैली भनिन थाल्यो। त्यसकालका दुई अरबी गजलकार नामी मानिएका थिए- मक्का शैलीका ओमर इब्न आबि रबिशाह(मृत्यु सन् ७२० तिर) र मदिना शैलीका गजलकार जामिल (मृत्यु सन् ७०१ तिर)। यसरी मक्का-मदिना शैलीका गजलहरू फारसी हुँदै यतातिर चलेका हुन्।
फारसी भाषाले झण्डै छशय वर्षजति मध्यकालिन भारतवर्षको ऱाजभाषा रहने मौका पायो। यही फारसी भाषाको उत्तराधिकारीको रूपमा रहेको उर्दू भाषा हो जो भारतमा नै उत्पन्न भएको हो। भारतका खडी-ब्रजजस्ता स्थानीय भाषा र अरबी-फारसी भाषाको मिश्रित रूपमा रहेको भाषा नै हो उर्दू। यसको जन्म लगभग् सत्रौं शताब्दीमा अकबरदेखि शाहजहाँको समयमा भएको मानिन्छ। गजल पनि फारसीबाट उर्दूमा विकसित भयो। यद्यपि यसभन्दा अघि नै भारतमा गजलसाहित्य आइसकेको थियो। एघारौं शताब्दीतिरै भारतमा सुफी सम्प्रदायका कवि अमीर खुसरोले फारसी-अरबीमिश्रित लेख्नेगरेका थिए। उनीपछिका सन्त कबीरले पनि केही गजल लेखेको पाइन्छ। मुगलसम्राट औरङ्गजेबको समयमा सुफी सन्तकवि बहरी, वली, सिराज नामका केही गजलकार गजल-लेखनमा साधनारत देखिन्छन्। मीरत मीर, मिर्जासौदा,मीर हसन आदि उर्दू गजलकारले
गजलमा निकै विकसित तुल्याएका हुन्।भारतको दिल्लीपछि गजलको केन्द्र लखनउ पनि बन्नपुग्यो। लखनवी मुख्य गजलकारहरूमा शेख गुलाम, हमदानी, सैयद इशा अल्ला खाँ ईशा, कलन्दर वख्त, शेख इमाम वख्त, ख्वाजा हैदर अलि आदि हुन्। त्यस्तै वजिद अलि शाह नामका एक लखनवी गजलकारले छवटा जति गजल-ग्रन्थ लेखेका थिए। अर्का प्रमुख गजलकार हुन् मिर्जा गालिब। उनले गजल-लेखनलाई निकै माथि उठाएका हुन्य़ उनीपछि गजलको विषय प्रेममा मात्र सीमित नरही आध्यात्मिक, सामातिक, राजनैतिक आर्थिक इत्यादि विषयले पनि गजलमा स्थान पाउनथाले। केही प्रगतिवादी उर्दू गजलकारहरूमा अख्तर शीरानी, फैज अहमद फैज, असरारूल हक, मजाज असीसरदार जाफरी, अख्तरूल इमाम, अहमद नदीम काशिमी, अहसान दानिस, सआदत हसन मन्टो आदि हुन्। बनारसमा बसेका युवक-कवि मोतीराम भट्ट र अन्यान्यले यस गजल-मार्गलाई समाती नेपाली साहित्यमा पनि थालनी गरेका हुन्।
मोतीराम भट्ट बनारसबाट काठमाडौं फर्केपछि आफ्ना साथी-संगाती भेला गरी मोती-मण्डली गठन गरे औ त्यस मण्डलीमा नेपालीमा गजल लेखन शुरू गरेका हुन्। उनका मण्डलीमा आफुबाहेक नरदेव पाण्डे, लक्ष्मीदत्त पन्त इन्दु, बडाकाजी मरीचिमानसिंह आदि थिए। मणडलीले लेखेका गजलहरीलाई पछिबाट सङ्गीत चन्द्रोदयमा सङ्ग्रहीत गरिएको थियो। मोतीराम भट्टले जम्मा बत्तीसवटा बहरबद्ध गजल लेखेका छन्। उनीपछि नेपालीमा गजल लेख्नेहरूमा शम्भुप्रसाद ढुङ्गेल, उपेन्द्रबहादुर जिगर,पहलमानसिंह स्वारआदि प्रमुख हुन्।भीमनिधि तिवारीने पनि यसलाई अघि बढाएका हुन्। यसपछि लगभग चालिस वर्ष जति गजल गुप्तवास भयो।वि.सं.२०३६ देखि ज्ञानुवाकर पौडेलको गजल क्षेत्रमा पदार्पण भएपछि भने नेपाली गजलको पुनर्जागरण भयो।
ङ)भारतमा नेपाली गजल लेखन- भारतमा नेपाली गजल लेखन परम्परा शुरू गर्ने पारसमणि प्रधान हुन् भनेर तोक्न सकिन्छ। यद्यपि उनका गजलमा गजलका लेखन ढाँचा र शिल्प नपुगे पनि प्राथमिक प्रयास थियो। जे भए पनि उनले गजलको ढोका खोलेका हुन्।उनले तत्कालीन नेपाली गजलकार शम्भुप्रसाद ढुङ्गेल, पहलमानसिंह स्वार आदिका गजल-लेखनबाट प्रभावित भई शुरू गरेका हुन् भनी अनुमान गर्न सकिन्छ।गजलकार शम्भुप्रसाद ढुङ्गेलले ‘पारसमणिका गजल साह्रै असल’ भनी टिप्पणी गरेको पाइन्छ। यस्तैगरि सन् १९३८ सालमा देहरादूनका बहादुरसिंह बराल र अन्य कविहरूका संयुक्त कविता सङ्ग्रह प्रकाशित हुन्छ जसमा त्रिचालीसवटा गजल समावेश छन्।बरालका गजलमा एकाक्षरी काफियाको प्रयोग पाइन्छ भने केहीमा आंशिक अनिप्रास र केहीमा पूर्ण अनुप्रासमा आधारित काफियाको प्रयोग पाइन्छ।उनले जातिधर्म जोगाउनु पर्ने सन्देश धेरै गजलमा दिएको पाइन्छ।उनले भगवानसँग गोर्खालीको नामअनुसार काम भए हुन्थ्यो भन्ने आग्रह गर्नका साथै मद-मदिराको सेवनले सबैको विनास गर्छ भनी उपदेश पनि दिन्छन्। यसमा माया-प्रीतिका भाव साथै केही नैतिक उपदेश पनि दिन्छन्। उनका गजलमा आक्षरिक लयमा आधारीत छन्दको प्रयोग पाइन्छ।उनीबाहेक त्यस बरालको आँसु संग्रहमा दुर्गा मल्ल, गङ्गावती, मैतराम, पवित्रादेवी, शमसेरसिंह, मित्रसेन थापाका पनि एउटादेखि चारवटासम्म गजल छन।
यसपछि भारतमा नेपाली गजलको परम्परा निकै वर्ष बाँझो रह्यो।बेला बेलामा पत्र-पत्रिकातिर गजलका नाममा सीप र ढङ्ग नपुर्याका रचनाहरू प्रकाशित हुँदैआएका देखिन्छन्। यता भारतबाट सम्भवत् पहिलो गजल-संग्रह २००१ सालमा प्रकाशित सञ्जीव छेत्री र सन्तोष गुप्ताको तरल मुटुहरू हो।
पुस्तकाकार र विभिन्न पत्र-पत्रिका फाट्ट-फुट्ट रूपमा गजल लेखिए। लेख्ने भारतभूमिका वर्तमान पीँढीका गजलकारहरूमा गोविन्दसिंह घतानी गोविन्दे,गोविन्द शाण्डिल्य,खुसेन्द्र राई, दीपक ठटाल जलन,वासुदेव पुलामी,अनिलकुमार छेत्री, सुवास श्रेष्ठ, वीरेन्द्र खँड्का,असीम सागर,मनोज बोगटी,राजा पुनियानी,कमल रेग्मी, लीलाबहादुर छेत्री गोठाले,बलराम सापकोटा, डिल्लीप्रसाद अधिकारी, सुरेन्द्र चामलिङ,मनोहर शर्मा अविनाश,पवन नामदुङ,ध्रुब चौहान, शैलेन्द्र समदर्शी, सरिता समदर्शी,सन्तोष गुप्ता, सञ्जीव छेत्री,महेश दाहाल,कर्ण विरह, युवराज घलेभाइ, प्रकाश राई बादल, नवीन पौड्याल, कमल भट्टराई भावुक,मोहन ठकुरी, सपन प्रधान, पदम पराजुली, सूरज रेसूरी.सूरज सुब्बा, मिलन बान्तवा, केवलचन्द्र लामा, नोर्ज्याङ स्याङदेन, जस योञ्जन प्यासी, धिरेन छेत्री,धिरेश आचार्य,रोशन राई चोट,अरूण साङपाङ, छुदेन काविमो,सुकुमार बराइली, विकाश वान्तवा, योगेन छेत्री,दीपेन्द्र आचार्य सुमी,आई.के सिह, नैना राई, ज्ञानेन्द्र सुब्बा, विक्रम राई, दीलिपराज राई, बुद्ध राई, सुरज सुब्बा, प्रदीप कँडेल विप्लव,सुकुमार बराइली, शरद् रावत,दिवाकर ठकुरी,दिवाकर आले आदि प्रमुख हुन्।
यता दार्जीलिङ-सिक्किमतिरबाट लगभग बीसवटा जति गजल-सङ्ग्रह प्रकाशित भएको पाइन्छ। एउटा उल्लेखयोग्य कुरो के छ भने सन् २००१ सालदेखि मात्र यतातिर गजल-सङ्ग्रह प्रकाशित हुनथालेको देखिन्छ।अहिलेसम्मको भारतबाट प्रकाशित नेपाली गजल-दीवान(सङ्ग्रहहरू)-
१. तरल मुटुहरू- संजीव छेत्री र सन्तोष गुप्त (२००१)
२.मेरा एकाउन्न गजल- खुसेन्द्र राई (२००५)
३.गजल गान्धार- गोविन्द शाण्डिल्य ( असमका,२००६)
४.जून पोखिएको रात- असीम सागर (२००७)
५.अस्तित्वका आवाजहरू- असीम सागर (२००८)
६.गजल जल- वीरेन्द्र खँड्का, अनिल छेत्री र सुवास श्रेष्ठ (२००८)
७.गजल दीप- वीरेन्द्र खँड्का र सुवास श्रेष्ठ (२००९)
८.गजल महक- लीलाबहादुर छेत्री,बलराम सापकोटा र बुद्ध राई (२००९)
९.गोविन्देका गजल- गोविन्दे- (२००९)
१०.गजल कानन- दीपक ठटाल जलन(२००९)
११.केही घाउ केही मलम- छुदेन काविमु (२००९)
१२.समुद्र रोएको साँझ- सुवास श्रेष्ठ (२०१०)
१३.कालो गुलाब- अरूण साङपाङ र सुरज सुब्बा (२०१०)
१४)शुरूआत(बालगजल)- शैलेन्द्र समदर्शी (२०१०)
१५.मनोराग- धिरेन संघर्ष (२०१०)
१६.मनचरी- मिलन बान्तवा(२०१०)
१७.ऋतुगीत- कमल रेग्मी (२०१०)
१८.कमलकोठी- कमल रेग्मी (२०११)
१९.सुनगाभाका स्वरहरू (कवितासंग्रहभित्र २४वटा गजल समावेश)- डिल्लीप्रसाद अधिकारी(२००९)
२०.स्वर्ग पुग्ने सपनाहरू (गजल वाचन सिडी अल्बम) -असीम सागर र अन्य (२००९)
२१.भक्कानिएका भावनाहरू कर्ण विरह २०११.
२२.निर्दोषिका तामाङ स्मृतिका सौगातहरू (२०१२)
यी गजल-सङ्ग्रहबाहेक गजलसम्बन्धी यस्ता मुख्य कार्यक्रम सञ्चालन भएका हुन्-
१) गजल लेखन एकदिने कार्यशाला,कालिम्पोङ,२००७, संयोजक- असीम सागर
२) गजल गोष्ठी- सिलगडी देवकोटा सङ्घ,सिलगडी,२०१०.
३) गजल गोष्ठी-आकाशवाणी खरसाङ,२०११.
४) गजल गोष्ठी-खुला साहित्यिक गोष्ठी मञ्च,संयोजकद्वय-डा. रूद्रराज मास्के र कमल भण्डारी (२०११,सितम्बर)
५) दैनिक सुनचरी समाचारले लगभग छ-सात वर्ष जति प्रत्येक शुक्रबार गीत-गजल स्तम्भ प्रकाशित गरिरह्यो।
६) यताका केही युवा गजलकारले फेसबुक र वेबसाइटमा गजल हाली यसलाई व्यापकता दिएका छन्।
च) केही गजलकारहरूः
१)सञ्जीव छेत्रीः(जन्म ६ जुलाई,१९८१, सिटोङ) दार्जीलिङबाट जतिबेला एउटा पनि गजलसङग्रह थिएन, बेलाबेलामा फाटफूट रूपमा पत्र-पत्रिकामा मात्र गजल देखा पर्थे,त्यतिबेला सञ्जीव छेत्री र सन्तोष गुप्तको संयुक्त गजलसंग्रह तरल मुटुहरू २००१ मा प्रकाशित हुन्छ। संग्रहमा सञ्जीवका अठ्टाइसवटा गजल समावेश छन्।यो पहिलो सङ्ग्रहमा गजलसम्बन्धी नियमहरूको पालन केही मात्रामा कमजोरी भए तापनि समग्रमा स्तरीय नै छन्।माटो प्रेम, वैयक्तिक अनुभूति, चेलीप्रति स्नेहोद्गार जीवन र जगतप्रति आफनो विचार, नैतिक सन्देश,आशा-निराशा जस्ता कुराहरू उनका कथ्य हुन्।बहरको प्रयोग पाइन्दैन भने आङ्शिक काफिया र पूर्ण काफियाको प्रयोग पाइन्छ।
यही माटोको सुगन्ध पाउन हजारचोटि मर्छु म
मेरी आमाको लाज जोगाउन हजारचोटि मर्छु म।
२)सन्तोष गुप्ताः जन्म ७ फरवरी,१९८२ मङपू)- सञ्जीव छेत्रीसित मिली प्रकाशित तरल मुटुहरू गजल-संग्रहमा सन्तोष गुप्ताका जम्मा छब्बिसवटा गजल सङ्ग्रहीत छन्। उनका गजलमा प्रेमका सुकोमल भावना, गाँउ-प्रेम, विकृत राजनितीप्रति वितृष्णाजस्ता भावहरू पाइन्छन्। शिल्प पक्षमा भने आङ्शिक काफियाको सामान्य प्रयोग पाइन्छ। सिकारू अवस्थाको लेखन हुनाले केही कमजोरी देखा नपर्ने होइन।
३) डिल्लीप्रसाद अधिकारीः(जन्म १० फरवरी,१९७२,छुजाचेन,सिक्किम)- अधिकारीको कवितासङ्ग्रह सुनगाभाका स्वरहरू भित्र जम्मा चौबिसवटा गजलहरू पनि अलग्गै रूपमा समाविष्ट छन्। उनका गजलमा आलोचनात्मक यथार्थवाद, मुलुकको राजनैतिक व्यवस्थाप्रति व्यङ्ग्य र आक्रोश, प्रेमका सामान्य भावोद्गार,गाँउ-प्रेम,,समाजका हरेक पक्षमा रहेको आडम्बरी प्रथाप्रति व्यङ्ग्य,पर्यावरण प्रेम,वर्तमान शिक्षा व्यवस्थाप्रति असहमति, नेतागिरी र अवसरवादी विचारप्रति व्यङ्ग्य,कतै सचेतताको सन्देश जस्ता भाव पाइन्छन्। भाव- पक्षमा अधिकारी सचेत गजलकार हुन् भने गजल रचना विधानका नियम र शैली पक्षमा त्यति जम्न सकेका छैनन्। कतै आंशिक काफियाको प्रयोग छ भने रदीफ नै काफिया बन्नपुगेका छन्। गजलमा हुनुपर्ने जुन गेयात्मकता, सुमधुरता र आक्षरिक लयात्मकता छ त्स पक्षमा भने उनी सचेत नै देखिन्छन्। कति गजल त फजल बनेका छन् भने कुनै कुनै सफल छन्। जस्तै-
जस्तोसुकै भए पनि आफ्नो नाम प्यारो लाग्छ।
जहाँसुकै रहे पनि आफ्नो गाम प्यारो लाग्छ।
४)कमल रेग्मी (जन्मः ११ नोभेम्बर,१९७८, गैरीबास)- एकजना प्रतिभाशाली गजलकार हुन् कमल रेग्मी। अहिलेसम्म उनका दुईवटा गजल-सङ्ग्रह ऋतुगीत(१९१०) र कमलकोठी(२०११) प्रकाशित छन्। ऋतुगीतमा बहत्तरवटा र कमलकोठीमा अड्सठ्टीवटा गरी जम्मा एक शय चालिसवटा गजलहरू पाइसकेका छौँ। उनको ऋतुगीतका गजलहरू प्रेमपरक वा शृङ्गारिक चेतबाहेक युगीन विषयवस्तु, सांस्कृतिक, धार्मिक आस्था, राष्ट्रिय विडम्बना,उपभोक्तावादी संस्कृति, राजनैतिक विसंगति, विद्रूपता, अव्यवस्था, अराजकता, बेइमानी, सन्त्रास र समयका आवाजलाई वाणी दिन सक्षम छन्(भूमिकामा बासुदेव पुलामी)। यसरी उनी विषयवस्तु चयनमा कुशल देखिन्छन्। विश्व शान्तिको चाहना, मान्छेको पाखण्डीपनप्रति ठुङ मार्नु, जातीय स्वाभिमान पनि उनका गजलका विषय हुन्। जीवनका उकाली-ओराली, मोड-उपमोडलाई रेग्मीले मिठा अभिव्यक्तिमा स्वर दिएका छन्। कमलकोठी अझ तिख्खर बनेको छ। उनका गजलमा भावसचेतता र शैली सचेतताको सन्तुलन पाइन्छ। गजलमा आक्षरिक तय र सामान्य नियमहरीको पालन गरिएकै छ बहरको प्रयोग भने पाइन्न। जे होस् कमल रेग्मी एक सचेत, सशक्त र उम्दा गजलकार हुन् र उनको गजल-लेखन भविष्य उज्ज्वल छ।
आँधी चलेकै छ दीयो बलेकै छ
घोच्न वा सिलाउन सियो चलेकै छ।
••••• ••••• ••••• •••••
बेघर भई तिम्रो घरमा बास माग्न आ'को होइन
भोकै बस्न परेर गाँस खोस्न आ'को होइन।
५)धिरेन संघर्षः(जन्मः ११ नोभेम्बर,१९८९,पत्थरझोडा, गोरूबथान)- २००९ सालमा नै यो व्यथा नामक गीत-गजल सङ्ग्रह प्रकाशित गरिसक्ने धिरेनको गत वर्ष २०१० सालमा मनोराग गजलसङ्ग्रह प्रकाशित भएको छ। यसमा जम्मा अस्सीवटा गजल सङ्ग्रहीत छन् औ प्रत्येक गजल नै चार-चार शेरका छन्।उनी गजल-लेखनमा दक्ष देखिन्छन्। भाव पक्ष र शिल्प पक्षतर्फ पनि निकै सचेत र सिपालु छन्। मान्छेका नैतिकता, ईश्वरप्रति आस्था, प्रेममा धोका, मान्छका यान्त्रिक व्यवहारदेखि लिएर राजनैतिक व्यङ्ग्य इत्यादिदि कुराहरू पाइन्छन्। कतै स्वार्थी नेताप्रति ठुङ मारेका छन् भने कतै जीवन-दर्शनका अभिव्यक्ति र कतै क्रान्तिको विगुल छ. ठाँउ-ठाँउमा मिठा सूक्तिमय अभिव्यक्ति पनि छन्-
भाग्यमानी बन्छौ भने भाग्य आफै लेख्नुपर्छ
भविष्यका खुशी सारा आफैले देख्नुपर्छ।।
उनका गजलका एकाध ठाँउमा भाव खज्मजिएको,भाव मिलाउँदा शैली खस्किएको जस्ता केही कमजोरी नपाइने होइनन् यद्यपि आक्षरिक लय-विधानतर्फ भने उनी निकै सचेत देखिन्छन्।जे होस्, कलिलै उमेरमा पनि धिरेनले गजल-लेखनमा परिपक्वताको मार्ग पक्रेका छन् र उनको लेखनगत भविष्य उज्ज्वल नै देखिन्छ।
६)मिलन बान्तवा- अहिलेका एक होनहार र प्रतिभाशाली गजलकार हुन् मिलन बान्तवा। दुईव़टा कवितासङ्ग्रहपछि मनचरी नामको एउटा उत्कृष्ट गजलसङ्ग्रह (२०१०) प्रकाशित गरेका छन्। उनले आफ्नो भनाइमा मनचरीका गजलहरूमा बहर प्रयोग नगरी काफिया र रदीफ मात्र पाइन्छ भनी स्वीकार गरेका छन्।यद्यपि उनका गजलमा बहर नपाइए तापनि लयात्मकता,प्राञ्जलता, सहजता पाइन्छन्। सामाजिक विकृति र कुव्यवस्थाप्रति विद्रोह,आलोचनात्मक यथार्थवाद,नैतिक सन्देश,मुलुकको राजनैतिक अराजकताप्रतिकठोर व्यङ्ग्य, देशप्रेम,आत्मचिन्तन, माटोप्रेम,दुःख-सुखात्मक अनुभूति,नेतागिरीप्रति आक्रोश, कर्मवादी चिन्तन, चियाबारीको आर्थिक शोषणप्रति असन्तुष्टी, जीवनवादी चिन्तन, पर्यावरण प्रेम, माया-प्रीतिका सामान्य भावोद्गार, जातीय संस्कृति मोह इत्यादि कुराहरू उनका गजल-विषय हुन्। कुनै कुनै गजल त निकै सूक्तिमय बनेका छन्।जस्तै-
शानसित जिउन पाउने कहिले हाम्रो माटो हुन्छ?
शिखरसम्म पुग्न पाउने कहिले राम्रो बाटो हुन्छ?
७) असीम सागरः(वास्तविक नाम फत्तेमान श्रेष्ठ)- नेपालका असीम सागर केही वर्ष कालिम्पोङ बस्ता गजल-लेखनलाई अघि बढाउन निकै सहयोग दिएका छन्। गजल लेख्नु, अरूलाई लेख्न सिकाउनु, प्रेरणा दिनु जस्ता काम गरी कालिम्पोङलाई गजलमय परिवेश बनाउन उत्प्रेरक बनेका हुन्।असीम सागरका दुईवटा गजलसङ्ग्रह प्रकाशित छन्- जून पोखिएको रात(२००७) र अस्तित्वका आवाजहरू (२००८)।उनको एउटा गजल-वाचन सिडी स्वर्ग पुग्ने सपनाहरू पनि पाइन्छ। कालिम्पोङको बसिबियाँलो भेला, साझा साहित्य मञ्च भेला र अन्यत्रका साहित्यिक समागममा उनको मिठो र रसिलो गजल-वाचनले सबैलाई मन्त्रमुग्ध पार्ने गर्थे। जून पोखिएको रात सङ्ग्रहमा जम्मा अठासीवटा गजल समावेश छन्।यसमा प्रेम प्रीतिका रागात्मक अनुभूति, जीवनमा आइपर्ने आशा,-निराशा, सङ्घर्ष, जातीय स्वाभिमान,नैतिक सन्देश, सामाजिक चिन्तन आदिलाई उनले प्रस्तुत गरेका छन्। अस्तित्वका आवाजहरू गजलसङ्ग्रहमा दोस्रो चरणको गोर्खाल्याण्ड आन्दोलनको समर्थन र भावनात्मक सहयोगका निम्ति रचिएको पाइन्छ।पाठक र श्रोतामा पर्ने सम्प्रेषणका पक्षमा उनका गजल सफल छन्। गजलमा हुनपर्ने काफिया र सबै पक्षलाई उनले पक्रन सकेका छन्।
८) गोविन्देः (वास्तविक नाम गोविन्दसिंह घतानी, जन्म-वि. सं २००३,महानदी खरसाङ) –संगीतकारका रूपमा रहेका गोविन्दे गजलमा पनि रमाएका छन् र आफ्नो साङ्गीतिक प्रतिभालाई गजल सिर्जनातिर पनि बाँडेका छन्। यसैले पनि उनका गजलमा गीतको प्रभाव परेको देखिन्छ। सन् २००८सालमा गजलसङ्ग्रह गोविन्देका गजलमा जम्मा चौरहत्तरवटा गजल समावेश छन्। उनका गजलको मील आलम्बन सुरा र सुन्दरी नै हुन्। सौन्दर्योपासनाको स्रोतविन्दु सुन्दरीलोई मानेर सत्य सम्धान गर्नु गोविन्देका गजलको उपास्य हुन्।(डा. दिवाकर प्रधान,गोविन्देका गजल,भूमिकामा)।उनका गजलमा विषयगत विविधता पाइन्छ। प्रणय,मिलन,विछोड,व्यथा र विरहका चुरो विषयलाई उनले मदिरा,नशा, मधुशाला र एकान्तका आघात जस्ता कुरा भावाभिव्यक्तिमा देखाएका छन्। यस अतिरिक्त उनका गजलमा माया-प्रीतिका कुराबाहेक आफु बाणचेको समाज, परिवेश विभिन्न स्थितिलाई पनि व्यङ्ग्यात्मक ढभ्गले बोध गराउने प्रयास गरेका छन्।(जस योञ्जन प्यासी,गोविन्देका गजल गुनगुनाउँदा,पृष्ठ फ)। यद्यपि उनका गजलमा आक्षरिक गेयात्मकता प्रवल रूपमा र गजलका काफिया प्रयोगमा भने केही कमजोरी पाइन्छन्। यसमा गजलभन्दा गीत-पक्ष टडकारो रूपमा देखिन्छन्।
९) सुबास श्रेष्ठ(जन्म- १२ डि. १९८५,अलगडा)- नेपाली गजल क्षेत्रमा सुबास श्रेष्ठ एक उदीय नाम हो। अहिलेसम्म हामीले उनका एकल र संयुक्त गरी जम्मा तीनवटा गजल-जल, गजल-दीप र समुद्र रोएको साँझ गजलसङ्ग्रह पाइसकेका छौँ। खासमा भन्नु नै भने यता भारतको अहिलेको युवा पुस्ताका गजलकारहरूमा सुबास मात्र बहरमा लेख्न सकेका छन्। उनका प्रायः गजल नै बहरबद्ध छन्। समुद्र रोएको साँझ उनको सबैभन्दा उत्कृष्ठ सङ्ग्रह हो।य़समा बाउन्नवटा,गजल-दीपमा चालिसवटा र गजल-जलमा तेइसवटा गरी जम्मा एकशय पन्ध्रवटा गजल सङ्ग्रहीत रूपमा पाइसकेका छौं।उनले वार्णिक तथा आक्षरिक दुवै लय र कतै कतै लोक लयमा गजल रचना गरेका छन्। उनको समुद्र रोएको साँझ गजलसङ्ग्रहका पन्ध्रवटा जति रचनामा हजज, मुतकारिब, मुतकारिब मुरब्बा सोलिम, मतदारिक, वाफिर, मुजारे,रमल इत्यादि तथा चौधवटा रचनामा संस्कजका भुजङ्गप्रयात,स्रग्विणी,शशिवदना, तोटक,चम्पकमाला पञ्चचामर इत्यादि छन्द तथा नौवटा गजलमा बहर र छन्दको मिश्रित प्रयोग गरी आफ्नो रचना-कौशल र सशक्त कवित्व दर्साएका छन्।छन्द र बहरको निर्वाह मात्र नभई भाव पक्ष पनि प्रबल छन्।उनका गजलमा यौवनका मिठा भाव-तरङ्ग, जीवनका विविध अनुभव, आध्यात्मिक चेतना, मनका विरह-व्यथा,प्रेमका अनुभूति इत्यादि कुराहरू विषयवस्तुका रूपमा पाइन्छन्।उनका अधिकाङ्श गजलमा काफिया-प्रयोगमा सचेतता पाइन्छ। बहर भएका बाहेक उनका अन्य गजलमा आक्षरिक लयलाई ध्यान राखिएको पाइन्छ।
जब चित्त शुद्ध हुन्छन् सब थान एक हुन्छन्
जब कर्म धर्म हुन्छन् सब मान एक हुन्छन्।
१०)अनिल छेत्री (जन्मः२ अक्टोबर,१९८६,निम्बोङ,कालिम्पोङ)- संयुक्त गजलसङ्ग्रह गजल-जल(प्र.२००७)मा अनिल कुमार छेत्रीका तेइसवटा गजल समावेश छन्। उनका गजलहरूमा माटोप्रेम, जातिप्रेम, जीवनमा आइपरेका उकाली-ओराली, नारीलाई जागरणको निम्ति प्रेरणा, माया-प्रीतिका अन्तरङ भावना, राष्ट्रप्रेम जस्ता विषयलाई कथ्य बनाएका छऩ्। उनको गजल-लेखन परिमार्जित, सबल र सशक्त छ। बहर नपाइए तापनि आक्षरिक लयात्मकता, मिठा सूक्तिमयता पाइन्छ।उनले प्राय़ः गजलमा पूर्ण काफियाको प्रयोग गरेका छन्।
पुरूषप्रधान समाजभित्र झुक्नु हुन्न चेली तिमी
घरभित्र आगो मात्र फुक्नु हुन्न चेली तिमी।
११)वीरेन्द्र खँड्का(जन्म ७ मार्च,१९८६,कालिम्पोङ)- वीरेन्द्र खँड्का पनि नय़ाँ पींढीका एक सशक्त राम्रा गजलकार हुन्। उनका गजल-जल मा तेइसवटा र गजल-दीप-मा चालिसवटा गरी जम्मा त्रिसट्ठीवटा गजल सङ्ग्रहीत छन्। उनका गजल पनि आक्षरिक लयमा आबद्ध छन्। गाँउ प्रेम, जीवनका उकाली ओरालीको अनुभव र अनुभूति, जातीय भावनाका राग, जवानीका भाव-तरङ्ग,सांस्कृतिक चेतना,राजनैतिक चेतना,वर्गीय चेतना र माया- पिरतीका भाव नै उनका गजलका विषय हुन्।उनले बहर प्रयोग नगरे तापनि गजलका सामान्य काफिया र लयलाई समात्न सक्षम छन्।
पर्दैन जरै खोल्नु हातमा आरा दिए पुग्छ
बैरा ती कानलाई ठुलो नारा दिए पुग्छ।
१२) शैलेन्द्र समदर्शीः(जन्म-२ अक्टोबर,१९८५, महानदी)- अहिलेका गजल-लेखन पुस्ताका नेतृत्व पंक्तिकै एक सशक्त प्रतिभा हुन् शैलेन्द्र समदर्शी। उनका गजल समालोचनात्मक लेख पनि बेला-बेलामा प्रकाशित हुन्छन्। उनको शुरूआत नामक बाल-गजलसङ्ग्रह प्रकाशित छ। कलिला बाल मष्तिस्कमा मिठा मिठा गजलको माध्यमबाट बालोपयोगी अर्ती-उपदेश, ज्ञान-गुनका कुरा, शिक्षाप्रति आकर्षण, बोट-बिरूवा संरक्षण, बालसुलभ कल्पना जस्ता कुराहरू सिकाएका छन्। सबै गजल नै मिठा सूक्तिमय, आक्षरिक लयात्मक छन्। यसमा जम्मा उन्नाइसवटा गजलहरू छन्।
१३) छुदेन काबिमोः कालिम्पोङका पत्रकार छुदेन काबिमो एक दक्ष गजलकार पुन्। उनको केही घाउ कोही मलम नामक एउटा गजलसङग्रह प्रकाशित छ. यसमा जम्मा चालीसवटा गजलहरू समावेश छन्। उनका गजलहरू ऱूप र भाव पक्षमा सबल र सफल छन्। जातीय अस्मिताका कुरा, जन अधिकार,प्रेमका अनेक पक्षका अनुभूति, सामाजिक विसंगतिप्रति व्यङ्ग्य जस्ता विविध कुरालाई विषयवस्तु बनाएका छन्।उनले पूर्ण काफिया र आङ्शिक काफियाको प्रयोग गरेका छन्। बहर चाँहि उनले पनि प्रयोग गरेका छैनन्।
१४)कर्ण विरह (जन्मः७ अक्टोबर,१९८७)- एक दक्ष गजलकार हुन् कर्ण विरह। उनका ५८ वटा गजलहरूको सङ्ग्रह हो भक्कानिएका भावनाहरू (प्र.२०११)।उनका गजलमा चिया श्रमिकको अवस्था,वर्ग चेतना, जातीय, जातीय अस्तित्व चेतना, जीवनबारे दर्शन र चिन्तन,,नैतिक सन्देश,,बेरोजगारी समस्याबाट उब्जेका नैराश्य, माया-प्रीतिका कोमल भावना, गाँउ-प्रेम,मिथकीय प्रयोग र बाँच्दाका तिता-मिठा अनुभवलाई आफ्नो विषय बनाएका छन्। उनका प्राय़ः गजलमा आक्षरिक लयात्मकता, काफिया-रदीफको कुशल प्रयोग,कोमल वर्ण प्रयोग जस्ता विशेषताहरू देखिन्छन्।
१५) अरूण साङपाङ( जन्मः३० अगस्ट,१९८८, अलगडा)-साङपाङ एक होनहार प्रतिभाशाली गजलकार हुन्। सूरज सुब्बासित मिली उनले कालो गुलाब गजलसङ्ग्रह प्रकाशित गरेका छन्।यसमा उनका पचासवटा गजल छन्। उनका गजलमा आत्माभिव्यञ्जना, जीवनप्रति सकारात्मक दृष्टिकोण, प्रेम अनुराग,नैतिक सन्देश, माटो-प्रेम, सत्कर्मप्रति आग्रह, जाति-प्रेम, वर्तमानको माटाको आन्दोलनप्रति समर्थन र सुझाउ, जीवनका विविध अनुभव इत्यादि विषयहरू सहज, सरल र कुशलतासँग अभिव्यक्त गरेका छन्।बहरको पालन नगरे तापनि आक्षरिक लयविधान र काफियाको सामान्य प्रयोग गरेका छन्।
१६. निर्दोषिका तामाङ (जन्म १९९२, गोरूबथान)- नारी गजलकारहरूको न्यनतालाई केही हदसम्म भएपनि पहिलो गजल सङ्ग्रह स्मृतिका सौगातहरू यस वर्ष (२०१२) मा लिएर देखा परेकी छन् निर्दोषिका तामाङ। यस सह्ग्रहमा जम्मा ६२ वटा गजल सह्ग्रहीत छन्। यसमा गाँउ प्रेम, जातीय चेतना, मातृप्रेम, युग चेतना, प्रेमानुराग र प्रेमपीड़ा, बेरोजगारी चेतना, जीवन-दर्शनका केही अनुभव, नशालु पदार्थ सेवन गर्ने युवापीँढ़ीप्रति बिरोधजन्य व्यङ्ग जस्ता विषयवस्तु समेटिएका छन्। संरचना पक्षमा उनका गल सशक्त छन्। उनले आफ्लो हृदयका रागात्मक अनुभूतिलाई सहजै र स्वाभाविक रूपमा अभिव्यक्ति दिएकी छन्। गजलका शब्द-शय्या, शब्द छनोटमा कुशलता, भाव कुँदाइमा सघनता र अर्थगत अभिव्यक्तिमा सशक्तता उनका गजलका वैशिष्ट्य हुन्। गजलमा नियम पनि पूर्ण रूपले परिपालन छैन तर गजलमा मुख्य गरी हुनुपर्ने काफिया पालन भने गरिएको देखिन्छ।
अहिले शैलेन्द्र समदर्शीको सम्पादकत्वमा गजल-लय नामक गजल-पत्रिका प्रकाशित- सञ्चालित भइरहेछ। यसको माध्यमबाट धेरैजना युवा गजल-सर्जकहरू लगातार वृद्धि भइरहेछन्।प्रवेशाङ्कमा यसले माटो-अङ्क निकाल्यो भने हालसम्म तीन अङ्क आइसकेको छ।
छ) भारतबाट प्रकाशित नेपाली गजलको सामान्य प्रवृत्तिः
१) भारतीय गजल-लेखनका नयाँ पुस्ताका सर्जकका भावधारा प्रायः प्रायः मिल्दो नै देखिन्छ। प्रायःजसो सबैका गजलमा जातिप्रेम, चेतना, माटोप्रेम, मुलुकको भ्रष्टतन्त्रप्रति व्यङ्ग र असहमति,सामाजिक, सांस्कृतिक पक्षमा आएको ह्रासोन्मुख स्थितिबारे चिन्ता व्यक्त जस्ता कुराहरू पाइन्छन्।
२) प्रायः गजलमा भारतमा हामी अति अल्पसंख्यक रूपमा हुनाले हाम्रो आस्तित्विक सुरक्षाका निम्ति कुनै छुट्टै प्रशासनिक इकाईको चाहनाका भावहरू पाइन्छ।
३) प्रेमका सामान्य उद्गार, नैतिक सन्देश,युवापुस्तामा आएको बेरोजगारी समस्या औ त्यसबाट उब्जेको नैराश्य, कुण्ठा, असन्तुष्टी जस्ता भावहरू सामान्य रूपमा पाइन्छन्। यसका साथै सामाजिक, राजनैतिक, कुव्यवस्थापनप्रति ब्यङ्ग्य पक्ष प्रायः सबैमा पाइन्छ।
४) यताका गजलमा गजल-लेखनका नयाँ-नयाँ प्रविधि,तकनिकी विस्तार, शिल्प सचेतता,सम्प्रेषण क्षमता,लेखनगत सुधार,को बढ्दै जाँदैछ।गजल सिद्धान्तका अँग्रेजी, हिन्दी भाषाका र नेपालबाट प्रकाशित गजलसम्बन्धित सैद्धान्तिक पुस्तक, अनेक पत्र-पत्रिका र पुस्तकमा फुटकर लेख अध्ययनबाट हाम्रा गजलकारहरूले लाभ उठाउन पाएका छन्। यसका साथै इन्टरनेट सञ्जालका माध्यमबाट पनि सहायता पाउन सकिन्छ।
५) यता दार्जीलिङ –सिक्किमबाट प्रकाशित हुने दैनिक समाचार-पत्र तथा पत्रिकामा गजलले धेरै ओगटेको पाइन्छ।
६) यस क्षेत्रबाट गजल लेख्ने क्रम दिनानुदिन बढिरहेछ। विशेषगरि युवा सर्जकहरू यसतर्फ बढी आकर्षित देखिन्छन्।
७) यताका केही गजलकारका गजलमा बहर प्रयोग पनि पाइन्छ। सुबास श्रेष्ठ, वीरेन्द्र खँड्का, शैलेन्द्र समदर्शीका गजलमा बहरको निर्वाह पाइन्छ।
८) दुई-चारजना बाहेक अधिकाङ्श गजलकारका रचनामा बहर प्रयोग नपाइए तापनि गीतात्मकता (मुसिकियत), काफिया-रदीफको सफल प्रयोग, आक्षरिक लयात्मकता पालन गरिएको पाइन्छ।
९) केही गजलकार भने गजलसम्बन्धी सामान्य जानकारीसमेत नराखी अन्त्यानुप्रास मात्र मिलाइ गजलको नाम दिएर लेखेको नपाइने होइन।
१०) यताका गजल-गायन भने त्यति भएको पाइन्न। यदि गजललाई जीवन्तता दिनु हो भने गायन अपरिहार्य छ। यसतर्फ कमी रहेको देखिन्छ।
११) बालगजल क्षेत्रमा पनि यहाँका गजलहरू अघि बढेका छन्।शैलेन्द्र समदर्शी र सुवास श्रेष्ठ यसतर्फ सरिक छन्।
१२) नेपाली गजल कुनै गजल-घरानामा आबद्ध छैनन्। आफ्नै स्वतन्त्र लय, भाव-भंगीमा छन्।
१३) तखल्लुस प्रयोगतर्फ त्यति ध्यान गएको देखिन्न। गोविन्देले केही गजलमा यसको प्रयोग गरेका छन् भने सुवास श्रेष्ठ, कमल रेग्मी र वीरेन्द्र खँड्काले थोरै मात्रामा र अन्यले प्रयोग नगरेको पाइन्छ।
१४) यतातिरका गजल समालोचना पनि भर्खरै फस्टिँदो अवस्थामा देखिन्छ। विशेषगरि गजलसङ्ग्रहका भूमिकाले यस दिशातर्फ निकै सघाउ पुगेको देखिन्छ। अहिलेघरि डा. दिवाकर प्रधान, डा. जस योञ्जन, मिलन बान्तवा, शैलेन्द्र समदर्शी,असीम सागर,सुवास श्रेष्ठ, बासुदेव पुलामी आदि गजल समालोचनातिर सक्रिय छन्।
१५) यहाँका गजलमा प्रतीक, बिम्ब, अलङ्कार यथा प्रयोगका साथै मिथक र कसै-कसैले लेखक-नाम र आख्यानको पात्र-नामको उल्लेख पनि गरेका छन्।
१६) यहाँका गजलमा नेपाली लोकलयमा पनि कतिले गजल लेखेको पाइन्छ।
भारतमा हामी गोर्खाको आस्तित्विक चेतना र परिचय संकटको समस्याप्रति संवेदनशील भई आफ्नो भावोद्गार बढी मात्रामा परिलक्षित भएको पाउँछौं। हुन पनि प्रायः एउटै सामाजिक स्थिति,ऱाजनैतिक, आर्थिक, भौगोलिक परिवेशका कारणले लेखनको विषयवस्तुगत साम्यता, भावनात्मक तादात्म्यता आउनु स्वाभाविक ठहर्छ।यद्यपि भाव, भाषा,संवेदना,चिन्तन, प्रस्तुति,शैली आदि भने आ-आफ्ना नै पाइन्छ।जे होस्, यहाँको गजल लेखनको भविष्य उज्ज्वल नै देखिन्छ।
सहयोग लिएका पुस्तकहरूः
१)डा कृष्णहरि बराल; गजल : सिद्धान्त र परम्परा;काठ. साझा प्रकाशन;२०६४।
२)देवी पन्थी ; गजल सिद्धान्त र समालोचना;काठ. साझा प्रकाशन;२०६४।
३)कृष्ण गौतम; नेपालीमा गजलसाहित्य,पृष्ठभूमि, परम्परा र मूल्याङ्कन (गरिमा,समालोचना विशेषाङ्क, पूर्णाङ्क १३७, वैशाख,२०५१,प्र. सम्पा. डा तुलसीप्रसाद भट्टराई)