18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समसामयिक विषयवस्तुका उत्कृष्ट कथा सङ्ग्रहस:“भग्न आस्थाको खण्डहर”

कृति/समीक्षा रामकुमार पण्डित क्षेत्री June 9, 2014, 2:21 pm

आख्यान अन्र्तगतका उपन्यास, निबन्ध, कथा, बालसाहित्य आदिजस्ता विविध विषयमा कलम चलाएर नेपाली साहित्य आकासमा स्थापित स्वनामधन्य कथाकार हुन् विजय चालिसे । २००८ साल असारमा जन्मिएका चालिसेले २३ वर्षको उमेरमै छपाएको उपन्यासः“होटेल राँकीमा हत्या”ले साहित्य वृत्तमा सनसनी मच्चाएका व्यक्तित्वको कुनै सिङ्गो परिचय छैन । यहाँ उनको लामो परिचयले मात्रै पाना भर्नुको सट्टा “भग्न आस्थाको खण्डहर” कथा सङ्ग्रहको समीक्षात्मक परिचय पेश गरिनु न्यायोचित ठानिएको छ ।

कूल १८ वटा कथा सङ्ग्रहित यस पुस्तकका कथाहरु २०४५ साल देखि २०५६ सालसम्ममा विभिन्न साहित्यक पत्रिकाहरुमा छापिएका कथाहरु हुन् । ती मध्ये ११ वटा कथाहरु राजनीतिक विषयवस्तुले समेटिएका छन् भने ७ वटा कथाहरु समसामयिक सामाजिक विषयवस्तुसङ्ग सम्बन्धित छन् । अग्रपृष्ठमै कथा साहित्यका मूर्धन्य समालोचक डा. दयाराम श्रेष्ठ तथा समालोचक पुरुषोत्तम सुवेदीका मन्तव्य राखिएको छ । समालोचक द्धयले यस सङ्ग्रहलाई समकालिन, सामाजिक तथा राजनीतिक परिस्थीतिको कालजयी साहित्यक अभिलेख भनेर ठहर्याएका छन् । पुस्तकको अन्तिम आवरण ्रपृष्ठमा प्रा. मोहनराज शर्मा “त्रिविध”, प्रा. राजेन्द्र सुवेदी र घटराज भट्टराईहरुको टिप्पणीले यस पुस्तकलाई सशक्त कथाहरुको सङ्ग्रह भनेर प्रस्ट्याएका छन् ।

११ वटा राजनीतिक कथाहरुमा फरकफरक विषय वस्तुका कथाहरु समेटिएका छन् । जुन कथाहरुले रचनाकालका राजनीतिक फोहोरी खेल तथा राजनीतिक खलनायकका कथाहरु अभिव्यक्त गरेका छन् । २०४६ साल पछिको राजनैतिक घटनाक्रम तथा राजनेताहरुको चरित्रमा कुनै सुधार नपाइएकोले यी कथाहरु जीवन्त लाग्दछन् । २०४६ सालपछि बहुदलिय शासनकालमा सरकार बनाउन र ढाल्न जे जस्तो सुकै हरकत गर्न पछि नहट्ने जस्तो धिनलाग्दो खेल नेपालीले धेरै नै झेल्नु पर्यो । उक्त घटनाहरुलाई प्रतिबिम्बित गर्नेगरी प्रतिकात्मक रुपमा उत्कृष्ट कथा श्रृजना गरिएको छ “चर्किएको घर” शीर्षकमा । त्यस्तैगरी नेपाली नेताहरुले सत्ता नपाउन्जेली एकजुट हुने तर सत्ता पाएपछि आ–आफैँ फूटको शिकार भएर प्रतिगमनकारीले फाइदा लिने गरेको कथा हो ः“भग्न आस्थाको खण्डहर”। यसरी नै सत्तामा पुगेपछि सबै बिर्सिएर जनतालाई महङ्गी अत्याचार आदिले प्रहार गर्ने सरकार बिरुद्व नै जनताहरु जाइलागेको कथा हो “आगोको फिलुङ्गो” । अन्य कथाहरुको बारेमा एक वाक्यमा यसरी भन्दा उपयुक्त हुने छ ः–

स्वतन्त्रता प्राप्तीको लागि आफ्नै एक्लो सन्तान गुमाएर पनि सन्तोषको श्वास फेर्न सक्ने वीर योद्वाको कथा, निर्दो र निर्दोष प्राणीलाई आतङ्ककारी बनाएर प्राण हरेको कथा, पहिलेको पञ्च नै अहिलेको नेता बन्छ भन्ने कथा, आफ्नो राजनीतिक पार्टी बलियो र राम्रो देखाउन आफू नसुध्र्रिकन अर्को प्रतिद्वन्दी पार्टीको नराम्रो कुरा मात्रै खोतलेर देखाउने कथा, दशगजामा विदेशीले बाँँधेको बाँधका कारण स्वदेशीले भोग्नु परेको वाढीको पीडालाई यो देशका नेताले मुख खोल्न नसकेको कथा, चाकडी र चाप्लुसीका कथाहरुले समसामयिक राजनीतिक घटनाहरुलाई छर्लङ्ग पारेका छन् ।

अन्य सातवटा कथाहरुले सामाजिक कुरीति र अन्यायलाई निशाना बनाएका छन् । गरीव सुकुमबासीहरलाई सामन्ती धनीहरुले अत्याचार गरेका कथा, गरीव फेरी लाउने जोगीको कथा, इमानदार भएर समाजमा बाँच्न गाह्रो भएको कथा, हिमाली भेगका कुनै जाती विशेष महिलाले वहुपति स्वीकार गर्नु पर्दा भोग्न पुगेको मानसिक पीडाको कथा, अरुको भाग्य जाँच्ने ज्योतिषीले आफ्नै भाग्य बुझ्न नसकेको कथा ,पियनको भत्ता नबढ्ने तर ठूला उच्च ओहदाका मानिसले वैठक वसेर भत्ता तुरुन्तै बढाउने विषयवस्तुले भरिएको कथा तथा सीतालाई बिम्ब बनाएर नारी जातीले पुरुषबाट भोग्नु परेको अन्यायका कथाहरुले समेटिएका छन् ।

यसरी सबै कथाहरुले प्रगतिवादलाई गल्र्याम्म अङ्कमाल गरेको पाइन्छ । समाजमा हुने गरेका अन्याय, कुरीति, बेथीति, आदिलाई कथाहरुले विभिन्न पात्रहरुको माध्यमबाट प्रतिकात्मक रुपमा प्रष्ट्याएका छन् । समाजका समस्याहरुलाई समाधान गर्ने सूत्रहरु बताएर कथा सङ्ग्रह परिवर्तनवादी सोचमा सगरमाथाकै शिखर चुम्न सफल भएको छ । कथा शिल्प तथा कथा कौशल अब्बल दर्जाको रहेका छन् । अझ यस कथा सङ्ग्रहले आफूलाई उत्कृष्ट राजनीतिक कथा सङ्ग्रहको रुपमा उभ्याएको छ । फोहोरी राजनीति र कपटी राजनीतिज्ञलाई तह लाउन जनता स्वयं जाग्नलाई प्रेरित गरिरहेका छन् । सामाजिक तथा राजनीतिक प्रगति नै राष्ट््को समुन्नति हो भनेर प्रष्टिएको छ । जसले राजनीतिक कथा सम्बन्धी जिज्ञासा भएका अनुसन्धाता, लेखक तथा पाठकलाई यस पुस्तकले पूर्ण सन्टुष्टी दिने सामाथ्र्य राख्दछ । बरिष्ठ समालोचक डा दयाराम श्रेष्ठले मन्तब्यमा भने जस्तै यस सङ्ग्रहले नेपालको राजनीतिक तथा सामाजिक इतिहाँसलाई लिपिबद्द गरेको छ ।

साङ्ग्रिला प्रकाशन ,काठमाडौँले प्रकाशन गरेको १०६ पृष्ठे यस पुस्तकको मूल्य रु ६० ।– रहेको छ । गोरखापत्र संस्थानको छापाखाना धर्मपथमा मुद्रित भए पनि ठाउँठाउँमा मुद्रा राक्षसबाट प्रताडित भएको पाइन्छ । जे भएता पनि यो कथा सङ्ग्रह पठनीय र सङ्ग्रहणीय छ ।

सिमलटार ,काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।