एउटा शुन्य परिवेश चिरेर
नेपाली माटोको अक्षता पैरी
सिंगापुरको सपना बाड्दै
ठेक्का लिएका हैनौ घर संहाल्ने ?
आज किन त ठेकेदार साप् !
तिम्रै आँखा अगाडी तिम्रो सिंगापुर
डोरी चुडिएको चङ्गा झै,
कानुनको टुहुरो बनी
मृत्युदिवस मनाइरहँदा पनि
तिमी सङ्लो उत्सवको
रातो चुरा पोते र बनारसी साडी पहिरिई,
करौडौँ जलेका छातिमाथि
पाइतालाको ‘शंखे’ ‘चक्रे’ डाम विच्छ्याउदै
निर्धक्क ! खुलेआम !
मारूनी नाच नाचिरहेछौ,
आज किन त ठेकेदार साप् ?
कुहिरोभित्र लत्पतिएकाको पंक्षी झै,
लत्पतिरहेछ सिङ्गो सुदूरपश्चिम !
आश्वासनको दूधे जञ्जिरभित्र
र पिउन विवश छ सिङ्गो पहाड !
मेरो देश र आमाको छातिमाथि
फुटेको ज्वालामुखीसँगै
उत्पादित धुवाका मुस्लाहरू !
आज किन त ठेकेदार साप् ?
तिम्रो शररार्थीय दिल्ली भ्रमणले,
तिम्रो कुर्सीको वजिलो लचकताले
यी नपुत्पुताएका झुप्रामुनी
एक अञ्जुली खोले फत्काउन सक्दैन ?
आज किन त ठेकेदार साप्?
धर्तीमा पसिना बन्दकी सुकाई
तिम्रो मुखमा अन्न ठोसिदिने,
तिम्रा पेटका पुजारीहरूलाई
पैसा बेच्दापनि एकबोरा मल ठेल्न सक्दैनौ ?
आज किन त ठेकेदार साप् ?
गृह कलहको रणाको मच्चाई,
धूरी र घरलाई भाग लगाई,
मुनाफाको दरबार कल्पेर
आफूलाई ‘क’ वर्गको ठेकेदार बोल्दै
लाजको कात्रोभित्र गुट्मुट्याईरहेछौ ?
आज किन त ठेकेदार साप् ?
सुनारपानी-९, रामेछाप, हाल: धोवीघाट