18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मलेशियाको नेपाली लघुकथासंग्रह "मियो स्तुप" : डायास्पोराको एक आँखी झ्याल

कृति/समीक्षा कृष्ण बजगाईं January 13, 2014, 4:57 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

नेपाली डायास्पोराको परिधी वृहत्तर हुँदै गएको छ । विदेशमा स्थाई वसोवास गर्ने हुन् वा कामको शिलशिलामा पुगेका हुन सचेत र शिक्षित नेपाली डायास्पोराले नेपाली साहित्यको भण्डार श्रीवृद्धी गरिरहेका छन् । ब्यस्त र सिमित समय, कडा परिश्रमका बावजुद पनि बचेको समय नेपाली भाषा साहित्यमा लगाउनुका साथै थुपै्र साहित्यिक संघसंगठन मार्फत संगठित भएका छन् । जसको फलस्वरुप वर्षेनी डायास्पोराबाट दर्जनौँ साहित्यिक कृति र पत्रपत्रिका प्रकाशन हुने गरेका छन् । मलेशिया, अरब, हङकङ, अमेरिका, बेलायत, बेल्जियम, जापान आदि मुलुकका डायास्पोराले नेपाली साहित्यको भण्डारलाई बहुमुल्य कृति उपहार दिदै आएका छन् ।

विश्व साहित्य महासंघ मलेशिया शाखाबाट प्रकाशित प्रस्तुत ‘मियो स्तुप’ लघुकथा सङ्ग्रह नेपाली साहित्यको भण्डारमा बेग्लै महत्व बोकेर आएको छ । विदेशमा रहेका(खासगरी मलेशिया र कुनै समय मलेशियालाई कर्म भूमि बनाएका) विभिन्न लेखकका लघुकथाहरु समेटिएको नेपाली डायास्पोराबाट प्रकाशित नेपाली साहित्यमा यो पहिलो लघुकथा कृति हो । डायास्पोरामा लघुकथा लेखन फुटकर रुपमा भए पनि कृतिगत रुपमा कुवेतका स्रष्टा होम क्षेत्रीको लघुकथा सङ्ग्रह ‘मुक्ति’ र पहिले बेल्जियम हाल बेलायतमा रहेका स्रष्टा कृष्ण बजगाईंको ‘यन्त्रवत्’ र ‘रोडम्याप’ लघुकथा सङ्ग्रह मात्र प्रकाशित छन् ।

अति ब्यस्त समयमा रहेकाहरुलाई पढ्न उपयुक्त हुने छोटो, छरितो, तिक्ष्ण स्वादको साहित्यिक रचना र समयका कारण खासगरी डायास्पोराका पाठक तथा लेखकका लागि रुचिकर विधाको रुपमा देखापरेको छ । छोटो समयमा पढ्न सकिने, पढेपछि तिब्रगामी प्रभाव छाड्ने र कथाको अन्त्य प्रभावकारी हुने भएको र पाठकलाई यसको प्रभावपछि सम्म रहिरहने भएकोले लघुकथाको लोकप्रियता बढेको छ ।

डायास्पोराबाट प्रकाशित यो लघुकथा सङग्रहका लघुकथाकारहरुका साहित्यिक कृति प्रकाशन, सम्पादन, साहित्यिक संघसंस्थासँगको संलग्नता, लेखकिय क्षमता, निरन्तरता र लगनशिलतालाई हेर्दा निकट भविष्यमा मलेशियाबाट केही लघुकथाकारका छुट्टा छुट्टै कृति नेपाली साहित्य भण्डारले पाउने आशा गर्न सकिन्छ ।

प्रस्तुत लघुकथा सङ्ग्रहका अधिकांश लघुकथाहरु शब्द छनौट, विषय वस्तु र प्रस्तुतिका हिसाबले उत्कृष्ट छन् । समसामयीकता, विकृति, विसंगति उपर तिब्र प्रहार, विदेशमा रहेका नेपालीहरुको दुःख, पीडा र बाध्यतालाई कथामा उनेर प्रस्तुत गर्न लघुकथाकारहरु सफल भएका छन् । सङग्रहका केही लघुकथाहरु डायास्पोरिक परिवेशमा लेखिएका भएपनि अधिकांश लघुकथा नेपालकै सामाजिक र राजनैतिक दुरावस्था वरिपरि केन्द्रीत छन् । राजनैतिक परिवर्तन सँगै आएको सामाजिक विकृति, विचलन, पारिवारिक विखण्डन, स्वार्थीपनाका बारेमा लघुकथाकारहरुले तिखो प्रहार गरेका छन् । लघुकथाकारहरुले पथभ्रष्टहरुको पर्दाफाश, ढोँगीहरुको उत्तिकै उछित्तो काढ्ने काम गरेका छन् । सङ्ग्रहका केही लघुकथाहरु सन्देशमूलक छन् भने केही लघुकथाहरुमा जातिय चेतना र समावेशी स्वरहरु पनि पाईन्छ । नेपाली समाजमा परेको प्रविधि संस्कृतिका प्रभावलाई केही लघुकथाकारहरुले राम्ररी उठाएका छन् । यस सङ्ग्रहका लघुकथाकारहरुका विविध स्वाद र शैलीका लघुकथाले पाठकलाई पछिसम्म प्रभाव पारिरहने छ ।

मनि राई गोठालेले रोचक सन्देशमुलक लघुकथा लेखेका छन् । पाठकले कथा पढिसकेपछि के लेखे भनेर पुनः पढ्न बाध्य बनाउँछन् । ‘बोटानिका प्रेम’ लघुकथामा आधुनिक प्रेमलाई अमूर्तरुपमा प्रस्तुत गरेका छन् । ‘जल्लाद’ लघुकथामा भर्खर सेवानिवृत्त जल्लादलाई उसकी श्रीमतीले ब्यङ्ग्य गरेपछि आफ्नै अगाडि अर्को ब्यक्तिलाई वास्तविक जल्लादको रुपमा देख्दा उक्त ब्यक्तिको मनोदशा उतारेका छन् । ‘धनी मान्छे र चोर’ लघुकथामा पेशेवर चोरले एकदिन दयालु मानिसको डायरी चोर्दा उसको डायरीको पाना पढेपछि उसको आचरण र जीवन शैली बदलिएको कुरालाई प्रस्तुत गरेका छन् ।

तुलसी राई बिन्दुका लघुकथामा नेपाली समाज वरिपरिकै घटना र विदेशी भूमिका कुरा छन् । ‘पागल’ लघुकथामा समानताका कुरा गर्ने जनवादी विचार लिएकाहरु ठूला पदमा पुगेर पैसा कमाएपछि उचनीचको कुरा गर्दछन् भन्ने कुराको सजिव वर्णन छ । ‘विचित्र’ लघुकथा विदेशी परिवेशमा लेखिएको छ । विश्व युद्धको घाउलाई कथा मार्फत कलात्मक तथा सांकेतिकरुपमा प्रस्तुत गरेका छन् । ‘मुर्कुटासँग जम्का भेट’ लघुकथामा नेपाली समाजमा ब्याप्त अन्धविश्वासका कुरालाई उठाएका छन् । र त्यस्तो मुर्कुटा हुँदैन भन्ने कुरालाई प्रष्ट्याएका छन् । ‘ओ गड’ लघुकथामा मानिसको उपकार गर्न बिर्सेर ईश्वरमा मात्र विश्वास गर्ने ब्यक्तिलाई ब्यङग्य गरेका छन् ।

गनेन्द्र विवशले आफ्ना लघुकथामा जातिय चेतनाका कुरा उठाएका छन् । र विदेश जानेका परिवारको विखन्डनको चित्र प्रस्तुत गरेका छन् । ‘विन्ति’ लघुकथामा आफ्नो जातिको(लिम्बू) संस्कृतिको संरक्षणको कुरा उठाएका छन् । ‘अतित’ लघुकथामा विदेशमा तरुनी र रक्सिमा भुल्ने र पछि केही नभएपछि स्वदेशमा फर्कनेहरुको पीडादायी कथा लेखेका छन् । ‘तुहिएको अवस्था’ लघुकथामा विदेश गएकाहरुका श्रीमती परपुरुषसँगै मोजमस्ती लाग्ने गरेका केही नेपालीहरुको वास्तविक कथा लेखेका छन् ।

पदम चिन्तित नेपालका कथामा विदेशमा अज्ञानतावश नेपालीले भोग्नु पर्ने दुर्घटना र नेपाली समाजका विसंगतिलाई उठाएका छन् । ‘विडम्वना’ लघुकथामा सानो लापरवाहीका कारण कसरी नेपाली कामदारहरु विदेशमा दुर्घटनामा पर्दछन् भन्ने शब्दचित्र प्रस्तुत गरेका छन् । ‘श्रद्धा कि श्राद्ध’ लघुकथामा नेपाली समाजको ढोँगी संस्कृतिमाथि प्रहार गरेका छन् । ‘हर्के’ लघुकथामा धनी र गरिवबीचको पीडालाई प्रस्तुत गरेका छन् ।

रुवेन पुन मगरका लघुकथा नेपाली परिवेशका छन् । ‘आधुनिक युग र ढुंगे युग’ लघुकथामा आधुनिकताको नाममा सजातिय र सगोत्रीमा विबाह गर्ने परम्पराको तित्र्र विरोध गर्दै वैज्ञानिक तर्क प्रस्तुत गरेका छन् । ‘सपना कि साँचो’ कथा सांकेतिकरुपमा नरिवल र बाँदरलाई नेपाली राजनीतिसँग जोडेर दह्रो ब्यङ्ग्य पस्केका छन् । ‘टोक्ने कुकुर’ शिर्षक लघुकथामा शिक्षक जस्तो प्रवुद्ध बर्गले अशिक्षित जस्तो ब्यवहार देखाएकोमा चिन्ता प्रकट गरेका छन् ।

राज अविरल यात्रीले समसामयीक विषयवस्तुमा केन्द्रित भएर लघुकथा लेखेका छन् । ‘विवादित मन’ शिर्षक लघुकथामा सँधै चर्चाको सेरोफेरोमा आउन अनेक हत्कण्डा अपनाउने र नारी शक्तिको दुरुपयोग गर्ने नारी चरित्रको चित्रण गरेका छन् । ‘पिठ्युँको भरिया’ शिर्षक लघुकथामा सन्तानको शिक्षा, खानपीनको चिन्ता गर्दै रातदिन दुःखले खट्ने आमाको कारुणीक शब्दचित्र प्रस्तुत गरेका छन् । ‘फटाह बन् छोरा’ लघुकथामा नीजी काम छाडेर सामाजिक कार्य गर्दागर्दै सन्तान गुमाएकी आमाको पीडालाई प्रस्तुत गरेका छन् । ‘ब्यापार’ शिर्षकको लघुकथामा ठगहरुको ब्यापारका बारेमा यथार्थ चित्रण गरेका छन् ।

अतित लिङ्देन सुब्बाले विदेशमा कामको शिलशिलामा गएकाहरुले स्वदेश वा विदेशमा उ आफै र उसका परिवारहरुले भोग्नु पर्ने पीडाका बारेमा कुरा उठाएका छन् । ‘विश्वासको परिणाम’ लघुकथामा नेपाली नारी विदेशमा लुटिएको ब्यथाको शब्द चित्र छ । ‘पीडित सागर’ लघुकथामा विदेश गएका श्रीमान्का परपुरुषसँग सल्कने पत्नीहरुको कथालाई प्रस्तुत गरेका छन् । ‘बृटिस लाहुरे’ लघुकथामा ज्यानको बाजी लगाएर कहिल्यै नदेखेको, नभेटेको ब्यक्तिलाई शत्रु मानी लड्नु पर्ने बाध्यतालाई देखाएका छन् ।

दिलिप सागर राईले आफ्नो लघुकथामा विदेशमा रहेका नेपाली कामदारहरुको आचरणलाई कथा मार्फत उतारेका छन् । ‘वाराङग्’ नामक लघुकथामा रक्सीको नशामा हुँदा गरेको गलत कार्य र त्यस बापतको सजायका बारेमा उल्लेख गरेका छन् । ‘संयोग’ लघुकथामा विदेश जान पाउनु सबै भाग्यको खेल हो भन्ने कुरा सत्य घटना जोडेर बताएका छन् । ‘यो मनको बाँध’ शिर्षक लघुकथामा घरमा तरुनी स्वास्नी छाडेर विदेश जाने, उतै रमाउने तर घरमा सम्पर्क नगर्ने र श्रीमती अर्कैसँग पोइल जाने हाम्रै समाजको वास्तविक कथालाई प्रस्तुत गरेका छन् ।

जे बि राई रुमानीका कथामा नेपाली परिवेश र मलेशियाको कथालाई उठाएका छन् । ‘इगो’ शिर्षक लघुकथामा विशुद्ध साहित्य लेख्ने र लेखनको अलावा ब्यापार गर्नेबीचको भिन्नतालाई देखाएका छन् । ‘कारण’ लघुकथामा एक अर्काको कुरा काट्ने मलेशियन मानिसहरु पछि आफ्नो विशेष गुणका कारण मित्र भएको कुरा उठाएका छन् । ‘कलियुगकी सीता’ कुमारी आमाले जन्माएको सन्तान र त्यसबाट उत्पन्न प्रतिकृयालाई कथा मार्फत उतारेका छन् ।

मनोज विरालीले आफ्ना लघुकथामा स्वदेश तथा विदेशका ताजा घटनालाई उठाएका छन् । ‘छुट’ कथामा बेश्यालयमा मोलमलाई गर्ने ग्राहकको कथा उतारेका छन् । ‘बलात्कार’ लघुकथामा महिला माथि हुने बलात्कार जस्ता अमानविय घटना उतार्दै केही महिना अघि भारतको दिल्लीको घटनाको यथार्थ चित्रण गरेका छन् । ‘सलाम गोर्खाली’ भन्ने लघुकथामा विदेशमा भेटिएकी नेपाली मूलकी केटीको प्रसंग र विदेशमा हुने नेपाली साहित्यिक कार्यक्रममा भाग लिन हिँडेको केटाको प्रसंगले विदेशमा रहेका नेपालीहरुको भाषा साहित्यको मोहलाई छर्लङग देखाएका छन् ।

भरत अधिकारीका लघुकथा विदेश र स्वदेशको सेरोफेरोमा घुमेको छ । ‘घुर्की’ लघुकथामा विदेश जाने श्रीमान् र घरकि कचकचे श्रीमतीको कथा प्रस्तुत गरेका छन् । ‘खरिदार भक्ते’ लघुकथामा आफ्नै मेहनतको बलले खरिदारको जागिर पाउने भक्तबहादुरको कथा लेखिएको छ । ‘आरोप’ लघुकथा नेपाली समाजमा विद्यमान रहेको बोक्सी जस्तो अन्धविश्वास परम्परामाथि तिब्र प्रहार गरिएको सन्देशमूलक कथा छ ।

पञ्च विस्मृतका कथा विदेशी परिवेशका छन् । ‘च्याट मेनिया’ आधुनिक प्रविधिसँग परिचित नेपाली युवाहरुको च्याट तथा सामाजिक सञ्जालमा ब्यस्त हुँदाको परिणामका बारेमा राम्रो चित्रण गरेका छन् । ‘एकाएक करोडपति’ लघुकथामा नक्कली समाचारको भ्रममा परेर पुरस्कार पाएको सपना देख्ने युवाहरुको मनोदशालाई प्रष्ट्याएका छन् । ‘चिरा’ लघुकथामा विदेश गएर पनि पैसा कमाउन नसक्ने लाछी श्रीमान् प्रति श्रीमतीले घोर निराशा ब्यक्त गर्दै श्रीमती आफै विदेश हिँडेको रोचक कथा लेखेका छन् ।

जहरसिंह तामाङ्गका लघुकथामा नेपालको राजनीति र विदेशका कुरालाई उठाएका छन् । ‘पार्टीको झण्डा बोक्दाको फल’ शिर्षक लघुकथामा पार्टीमा लागेर दुःख पाएका आम नेपालीको मार्मिक कथालाई लेखेका छन् । ‘कम्पनीले चर्चा पाएको कुरो’ लघुकथामा कामदारबाट अझ बढी काम लिने मालिकको चातुर्य कलाको बारेमा कुरा उठाएका छन् । ‘चोर भन्दा चण्डाल’ लघुकथामा कामदारको रुपमा भित्रिएर पछि नेपालीहरुलाई नै ठग्दै एजेन्ट बन्न पुगेकाहरुको मनोवृत्ति उतारेका छन् ।

गणेश खड्काका लघुकथाले समसामयिक राजनीति उपर तिब्र प्रहार गरेका छन् । ‘महिला अधिकार’ लघुकथामा आधुनिकता र महिला अधिकारको नाममा आएको विकृति र बहु विबाहलाई तिखो प्रहार गरेका छन् । ‘जनमुक्ति’ लघुकथामा राजनीति र जनमुक्ति जस्ता लोकप्रिय नाराको भ्रममा परेकाहरुको वास्तविक कथा लेखेका छन् । ‘थप्पड नम्वर तीन’ नेपालका राजनेताहरुले केही समय अघि पाएको थप्पडको प्रसंग उठाएका छन् । ‘वर्थ डे गिफ्ट’ शिर्षक लघुकथामा विदेशमा केटा फसाएर पैसा धुत्न सिपालु केटीहरुको चर्चा गरेका छन् । ‘अंशबण्डा’ लघुकथामा अंशबण्डा नमिल्दा संविधान शभा भंग भएको प्रसंगलाई कथा मार्फत उतारेका छन् ।

सोम सुवेदीका लघुकथा नेपाली समाजका वरिपरि घुमेका छन् । ‘घमण्ड’ शिर्षकको लघुकथामा प्रेम, असमान विबाह र पछि विछोड भएको हाम्रै अगाडिका कुरालाई कथा मार्फत प्रस्तुत गरेका छन् । ‘जीवनदान’ लघुकथामा दलितको रगतले कथित उच्च जात भनिनेले जीवनदान पाएको कुरा कथामा ल्याएका छन् । ‘पश्चताप’ लघुकथामा आफ्नो बाआमालाई सेवा सुसार नगर्नेलाई पछि उसका छोराछोरीले पनि उस्तै ब्यवाहर गर्दछन् भन्ने देखाएका छन् ।

नन्द शंकरले आफ्नो लघुकथामा नेपाल तथा विदेशी परिवेशका कुरा लेखेका छन् । ‘पागल’ शिर्षक लघुकथामा रात्री क्लव गएर पैसा धुत्ने शिपालु केटीहरुको नक्कली मायजालमा फस्ने युवाको कथा छ । ‘निराशा’ लघुकथामा नेताहरुको आश्वासन र विश्वासमा परेर अल्मलिएका जनताको कथाब्यथा छ । ‘गुणगान’ लघुकथामा फटाह मानिस पछि गाउँमा स्कूल खोलेर समाजसेवी भएको नाटकिय प्रसंग उठाएका छन् ।

भीम स्नेहीका कथा विदेशी परिवेशका छन् । ‘समाचार’ शिर्षक कथामा विदेशमा कामदारको रुपमा पुगेर गलत धन्दामा लाग्ने युवतीको कथा छ । ‘हतार हतार’ लघुकथामा विदेशमा काम गर्न आएका युवायुवतीहरु परपुरुष तथा परस्त्रीसँग अवैध सम्बन्ध राख्ने कुरालाई उठाएका छन् । ‘देशको माया’ शिर्षक लघुकथामा स्वदेशको मायाले विदेश पुगेकाहरुको स्वदेश फिर्ता भएको नाटकिय कथा लेखेका छन् ।

मौलाश्री लिम्बूका कथा नेपाली समाज वरिपरि घुमेका छन् । ‘कर्तब्य’ शिर्षकको लघुकथामा बिरामी पिताजीलाई छाडेर छोराछोरीको स्कूलको कार्यक्रममा पुग्ने स्वार्थी पुत्रको बारेमा चर्चा गरेका छन् । ‘दैदस्तुर’ लघुकथामा तराईमा प्रचलित दाईजो प्रथालाई ब्यङ्ग्य हानेका छन् । ‘भूमिका’ लघुकथामा बुढा बाबु हलो जोत्ने अनि छोरा चाहीँ गाउँ टोलमा युवाहरुको भूमिकाका बारेमा भाषण ठोक्दै हिँड्ने प्रसंग रोचक तरिकाले उठाएका छन् ।

दीलदुःखी जन्तरेको ‘नाटक’ शिर्षकको लघुकथाले विदेशमा काम गर्न गएकाहरुको पैसा धुत्न अनेक नाटक गर्न शिपालु केटीहरुको चरित्रलाई उदाङगो पारेर देखाएका छन् ।

टंक चन्दका सबै लघुकथा नेपाली समाजकै कुरा उठाएका छन् । ‘स्वप्न दोष’ लघुकथामा स्वप्नको कुरा वास्तविकतामा परिणत भएको एउटा संयोगलाई कथामा उनेका छन् । ‘अन्तिम कुरा’ लघुकथामा युवती जिस्काउने केटाहरुलाई केटीहरुले दिएको भरपुर जवाफको कथा छ । ‘हाम्रो घर’ लघुकथामा पुरानो प्रेमीकासँगको नाटकिय भेटलाई कथाको विषयवस्तु बनाएका छन् ।

दीपदर्शनले आफ्नो लघुकथामा नेपाली समाजमा देखिएको स्वार्थीपन र अराजकताको बारेमा कलम चलाएका छन् । ‘मितज्यूको पिटाई’ लघुकथामा सुखदुःखका साथी मित भए पनि सरकारी आदेशको सिलसिलामा नूनको सोझो गर्नु पर्दा सम्बन्धलाई बिर्सनु पर्ने बाध्यता कथामा उतारेका छन् । ‘पछुतो’ विदेशमा लोग्नेले दुःख गरेर कमाएको सम्पत्ति र घरकी स्वास्नी अर्कैसँग भागेर बेपत्ता भएको कुरालाई उठाएका छन् । ‘अपराधी’ लघुकथामा पैसाको लागि साथीको हत्या गर्ने छोरालाई आमाले माफी नदिएको आदर्शवादी कुरा लेखेका छन् ।

जीतमान राई सविनले लघुकथामा स्वदेशी नेपालीहरुको पीडा र विदेशबाट फर्कनेको कथा उतारेका छन् । ‘योग्यता’ शिर्षक लघुकथामा शिप नभएको तर शैक्षिक प्रमाणपत्र भएको ब्यक्तिले बाँच्नको लागि बाध्यतावश अपनाएको पेशाका बारेमा लेखेका छन् । ‘साहित्यकार’ लघुकथामा लेखन क्षमता नभएको तर हल्लाखल्ला र पैसाले रातारात लेखक भएकाहरुलाई तिब्र ब्यङ्ग्य हानेका छन् । ‘सपना’ लघुकथामा दलालको झुटा आश्वासनमा पैसा कमाउन विदेश पुगेकी युवतीको कारुणीक ब्यथा छ ।

दान राई झरीले आफ्नो लघुकथामा नेपाल र विदेशको उत्तिकै चर्चा गरेका छन् । ‘मायाको ईज्जत’ शिर्षक लघुकथामा प्रेमीकालाई भेट्न मध्यरात उनको घर पुग्ने युवालाई भेट्ने समय यो हैन भनेर फिर्ता पठाउने सुझबुझ भएकी युवतीको कथा छ । ‘सपना’ शिर्षक लघुकथामा विदेशमा बस्ने नेपालीहरुले चाडवाडमा आफ्नो घर परिवार सपनामा पनि सम्झिरहने पीडालाई कथामा उतारेका छन् । ‘विदाई’ लघुकथामा विदेशमा रहेका नेपालीहरुको एकआपसमा रहने मित्रवत् ब्यावहारको एउटा पाटोलाई देखाएका छन् ।

भोजराज गैरेका लघुकथा नारीलाई मुख्य पात्र बनाएर त्यसकै वरिपरि कथा घुमाएका छन् । ‘मनकी रानी’ लघुकथामा फिल्मकी हिरोइन जस्तै घरकी श्रीमती खोज्ने दिग्भ्रमित युवाको कथा छ । ‘खुशी’ लघुकथामा खुशीका लागि अरुबाट सन्तान जन्माउने नारीको बाध्यतालाई कथामा उतारेका छन् । ‘देखाउने र चपाउने दाँत’ शिर्षकको लघुकथामा नारीहरुलाई धोका दिने पथभ्रष्ट नेताहरुको पर्दाफाश गरेका छन् ।

जीवन देवान गाउँलेले आफ्ना लघुकथामा विदेशमा रहेका नेपालीहरुको वास्तविक चित्र उतारेका छन् । यीनका लघुकथाहरु सन्देशमूलक छन् । ‘चप्पल’ शिर्षकको लघुकथा मलेशिया हिँडेको श्रीमान्लाई श्रीमतीले दिएको विशेष उपहार अरु केही नभएर उनको आफ्नै चप्पल भएको कुरालाई बडो रोचक ढंगले प्रस्तुत गरेका छन् । ‘बौरिएको सपना’ शिर्षकको लघुकथामा विश्वयुद्धका बेलामा मलेशियामा युद्ध लडेका वीर गोर्खालीहरुको बहादुरी सम्झने र त्यस्तै सन्तान उनै गोर्खालीबाट जन्माउन चाहाने नारीको ईच्छालाई प्रस्तुत गरेका छन् । ‘एक थोक’ लघुकथामा विदेशमा रहेका नेपाली कामदारहरु दिनभरको थकान पछि पनि रातभर फोन तथा च्याटमा ब्यस्त हुने र भोलिपल्ट फेरी काममा दौढधुप गर्ने वास्तविकतालाई कथा मार्फत उठाएका छन् ।

अन्तमा, यस लघुकथा सङ्ग्रहको प्रकाशनले डायोस्पोराको लघुकथा विधामा नयाँ क्षितिज देखा परेको छ । यस सङ्ग्रहको प्रकाशनले डायास्पोरामा अरु नयाँ लघुकथाकारहरुलाई पाठक माझ ल्याउने निश्चित छ । यस महत्वपूर्ण कार्य सम्पन्न गर्ने सम्बन्धित सबै धन्यवादका पात्र छन् । उनीहरुको यस कार्यको मुल्यांकन नेपाली डायास्पोरा साहित्यले अवश्य गर्ने छ ।

लन्डन, बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।