दार्जीलिङ चियाका निम्ति विश्वविख्यात स्थान हो। दार्जीलिङको निम्ति चिया गौरव हो, शान हो। दार्जीलिङ र चिया एकार्काका पर्याय हुन्। चिया प्राय़ः विश्वभरि नै पिइन्छ अनि दार्जीलिङको चिया प्रायः विश्वभरि पुग्दछ। चियाका पारखीहरूले दार्जीलिङ चियालाई अत्यन्त मिठो मान्दछन्। विश्व बजारमा यसको ठुलो नाम र दाम छ। कोलकाता र सिलगडीको अक्सन केन्द्रमा यसले ठुलो भाउ पाउँछ। विदेशी चिया कम्पनीहरूले अग्रिम राशी दिएर यसलाई मगाउँछन्। हारालुछ भएर बिक्री हुन्छ।
कम्पनीहरूलाई लाखौं मुनाफा दिने दार्जीलिङभित्रका श्रमिकहरूको अवस्था भने बलियो छैन। दैनिक रोजगारी दर बिक्री दर अनुसारको छैन। बल्लबल्ल लामो संघर्षपछि दैनिक दर छयानब्बे रूपियाँ कायम भएको छ। यतिका पैसाले अहिलेको युगमा एउटा परिवार धान्न मुस्किल पर्दछ। यसरी नै एक प्रकारले दुःखले नै कमाने जीवन चलिरहेको छ।
दाजीलिङको मूल चिह्नारी बोकेको चियाले नेपाली साहित्यमा कति महत्वका साथ स्थान पाएको छ, सो विचारनीय छ। नन्द हाङखिमको चियाबारी खण्डकाव्य, रामलाल अधिकारीको चियाबारी कविता संग्रह, बुद्धकुमार मोक्तानको कुल्लीको गीत खण्डकाव्य आदि केही प्रमुख कृति हामीले पाएका छौं। इन्द्रबहादुर राईको आज रमिता छ उपन्यासले चियाकमानको केही दिग्दर्शन गराएको छ। असीत राईको य़ञ्त्रणा, इन्द्र सुन्दासका जुनेली रेखा र सहारा उपन्यासका विषयवस्तु चियाकमानको अवस्था हुन्। केही गीतहरूमा पनि चिया कमानको प्रसङ्ग आएका छन्। यद्यपि यहाँबाट लेखिएका साहित्यमा चियाबारी त्यति फस्टिएको देखिन्न। जति चियाबारी विषयवस्तु हुनुपर्ने हो त्यति पाइन्नन्।
हालसालै दार्जीलिङका संगीतकार-गायक रमेश गुरूङ र शब्दकार सञ्जय बान्तवाको संयुक्त तत्परतामा चियाबारीका गीतहरू (भाग १) नाम गीति संगालो हामी समक्ष आइपुगेको छ। शायद यो संगालो नै विशुद्ध रूपमा निस्किएको चियाबारी केन्द्रित पहिलो हुनुपर्छ। हामी र हाम्रा पुर्खाको जीवनको अधिकांश भाग चियाको स्यारसुसारमा नै बितेको छ। यही नै जीवनको पर्याय बनेको छ। चियाको बोटले ढाकिएको मगमगाउने हरियो डाँड़ा पर्यटकका लागि रमणीय स्थान मात्र होइन तर ती चियाकमाने जनजीवनका निम्ति उज्यालो सपना पनि हो।
कमानमा खटेर जीवन बितिसक्दा पनि त्यहाँ बसेका श्रमिकहरूका आफ्नो घर-घरेडी, पट्टा –पुर्जा छैन। बाजे-बराजुदेखि बसेको थलो डेरा मात्र भय़ो तर आफ्नो घर भएको छैन। जमीन आफ्नो नाममा छैन। यसका निम्ति निकै लामो समयदेखि संघर्ष गर्दैआए तापनि सिद्ध भएको छैन। प्रस्तुत गीति-सङ्गालोमा इतिहास चेतना, समाजशास्त्रीय चेतना, प्रगतिशील चेतना, सौन्दर्यशास्त्रीय चेतना, जातीय चेतना र जागरण चेतना इत्यादि भावहरू कथ्यका रूपमा पाइन्छन्। आठवटा गीतका अलगअलग भाव छरिएका छन्। दार्जिलिङका पहाड़को थुम्का-थुम्कामा चियाको हरियालीपन, कतै पाथीभरा आकारका मनोरम चियाबारीको बिम्बलाई सजीव रूपमा उतारिएको छ।
गरीबको दालै गलेन भन्ने गीतमा चियाकमानेका गरीबी अवस्था, इतिहास चेतना, सर्वहारावर्गको आवाजलाई अभिव्यक्ति दिइएको छ। मजदूर वर्गले न्यायको निम्ति सङ्घर्ष गर्दा गोली खाएको कुरा उल्लेख गरिएको। सन् १९५५ सालको मार्गरेट्स् होप चियाकमानमा चलेको गोलीकाण्डको इतिहासको उत्खनन् गरिएको छ। यस काण्डले मजदुर आन्दोलनलाई ठुलो टेवा दिएको थियो।
दार्जीलिङे जनजीवनमा चियापत्ती टिपाइ एउटा अभिन्न कुरा हो। पत्ती टिपाइसित सपना बुनिएको हुन्छ। आफ्ना छोरा-छोरीलाई पढाइ-बढाइ त्यही कमानकै मेनेजर भएको, अन्य अफिसमा बाबु भएको सपना देख्नु स्वाभाविक हुन्छ। दुई पात एक सुइरोमा जीवन अल्झिएको हुन्छ।
चियाकमानमा नै जुनी बितिसक्यो तर त्यहाँको पट्टा हातमा परेको छैन। आफ्नो नाममा जग्गा-जमीन छैन। मालिकलाई श्रमिकहरूले पत्ती टिपेर सम्पन्नताको उपहार दिन्छन् तर ती श्रमिकहरूको अवस्था नै सुध्रिएको छैन। बाबु-बाजेको पालादेखि जस्तो थियो, उस्तै छ।
गरीबको दालै गलेन, लुटी खानेको नामै आएन।
कैले आँधी कैले हुरी घाम-पानी बराबरी
चियाबारीको
किपट सोधे दार्जीलिङ भन्नु
बसाइ सरी कमान आएको नभन्नु।
सुन फल्छ भन्थे नुन टिप्न गाह्रो भो। भन्ने गीत
प्रस्तुत सङ्ग्रहका आधारमा गीत लेखन क्षेत्रमा सञ्जय बान्तवाले लोभलाग्दो गरी शब्द संयोजन गरेका छन्। गीतमा हुनुपर्ने माधुर्य, कोमलता, एकोन्मुखता, आह्लादकारिता, एकालापीयता, आनुषांगिक आनन्द आदिको निर्वाह गरेका छन्। लेखिएका सबै गीत हुँदैनन्। गीतमा उपर्युक्त गुण हुनुपर्छ। कविताभन्दा गीत भिन्नै हुन्छ। अथच गीतको मर्मलाई छोएर सञ्जय बानत्वाले आफुलाई सफल गीतकारका रूपमा उभ्याएका छन्। कैले आँधी कैले कैले हुरी घामपानी बराबरी
चियाबारीको मान्छेलाई सुख दुःख सराबरी।
गीतकार बान्तवा गीतका शब्दमा रञ्जकता भर्न निपुण देखिन्छन्। गीतमा मुखसुखलाई सर्वोपरि मानिन्छ। त्यसैकारण गीतमा शाब्दिक तहमा कतै मानक रूप नभएर विचलन देखिऩ्छ। भएको गएको भन्ने ठाँउमा भाको गाको जस्ता कथ्य शब्दहरू देख्न पाइन्छ। कर्णप्रियता पनि गीतमा अनिवार्य हुनुपर्दछ।