छन्द: स्रग्धरा
अग्ला छन् शैल सेता सगरमय बनी गर्व गर्दै उभेका ।
देखिन्छन् वीर योद्धाजनसरि छहरा गान गर्दै बहेका ॥
हेर्दा संसारलाई नयनभर छटा दिन्छ सन्झ्याल मेरो ।
सारा सौन्दर्य बोकी जगततलभरि फुल्छ नेपाल मेरो ॥ १ ॥
सारङ्गी बोल्छ मीठो धुन पवन भरी टाकुरा-टाकुरामा ।
आफ्नै नेपाल बोल्छन् भ्रमरहरु सधैँ पुष्पका आँकुरामा ॥
पढ्दा संसारलाई सुकृति प्रकृतिको देश यो देश लाग्ने ।
हेर्दा आकाशजस्तै मनमयल सबै तस्रँदै दूर भाग्ने ॥ २ ॥
चाँदीझैँ झल्मलिन्छन् रविकिरण मिली शैलशोभा हिमाद्रि ।
सिँच्दै पाखापखेरा सरसर सरिता डुल्दछन् लेकबेसी ॥
बग्छन् सीमाहरुमा अविरल गतिमा नित्य मेची र काली ।
हाँस्दै संसार डुल्ने मुसुमुसु वनितातुल्य घुम्टो उचाली ॥ ३ ॥
राता पाखा गुराँसेवन र कुसुमले देखिने चैतमास ।
माया साटी सहेली वन-उपवनमा खेल्दछन् साथ-साथ ॥
झम्झम् झङ्कार गर्दै झरझर झरना झर्दछन् झर्झराई ।
फर्फर्फर् फर्फरिन्छन् फररर वनमा पालुवा फर्फराई ॥ ४ ॥
मोतीका हारजस्तै पलपल पसिना पोखिदिन्छन् किसान ।
बिसर्ी पीडा मनैका सहजसित तिनै गर्दछन् अन्नदान ॥
खेल्छन् राम्रै बयेली लहलह हरिया फाँटमा धान-बाला ।
हेर्दै आनन्द जाग्ने मुटुभरि ममता छर्न खोज्ने विशाल ॥ ५ ॥
नाच्छिन् नेपालभित्रै छमछम हँसिली पार्वती छम्छमाई ।
धर्तीमा वास खोज्छन् सुरमुनि र सबै स्वर्गका देव आई ॥
जन्मी नेपालभित्रै जगभर छरिए शान्तिका दूत बुद्ध ।
नामै सुन्दा उनैको तन-मन सबको हुन्छ रे शुद्ध-बुद्ध ॥ ६ ॥
बोक्छन् नेपाललाई जन-जन मनले जोसिँदै पाखुरामा ।
स्वर्गैलाई भुलाई वरपर रमिता हेर्छ यात्री धरामा ॥
खुल्छन् भाका बिहानीपख मधुरमझैँ कोयलीका गलामा ।
हाँस्छिन् सारै मजाले मन सुमन गरी नित्य नेपालआमा ॥ ७ ॥
शान्तिनगर - ५, झापा, हाल: कोटेश्वर काठमाडौँ
(रातोबङ्गला स्कुलद्वारा २०६२ सालको भानुजयन्तीका अवसरमा आयोजित राष्ट्रव्यापी छन्दकविता-लेखन प्रतियोगितामा तृतीय स्थान प्राप्त । )