18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्य अनुशीलनको सन्दर्भमा

कृति/समीक्षा प्रा. निमा निची शेर्पा October 26, 2013, 4:23 pm

साहित्यको समालोचना हुन्छ। समालोचनाको साहित्य पनि हुन्छ। साहित्यको साहित्य हुन्छ। समालोचनाको समालोचना पनि हुन्छ। समालोचना परजीवि हुन्छ, सहजीवि हिन्छ र स्वजीवि हुन्छ। समालोचना उर्जा हुन्छ, घाँस हुन्छ, बाख्रा-बाघ हुन्छ। अर्थात् समकालीन समालोचना विविधतामय बाँच्छ। साहित्यलाई नदी मानेर सिर्जना र समालोचनालाई त्यसै नदीको दुई भँगाला मानेर चल्दा पनि समकालीन समालोचना विषममय नै बाँच्छ।

सन्दर्भतः नवीन पौड्यालका साहित्य अनुशीलन समालोचना सङ्ग्रहको शीर्षकबाट नै समालोचक पौड्यालको सिर्जनासापेक्ष समालोचनाप्रतिको प्रतिवद्धता स्वतः स्पष्ट बन्दछ। यद्यपि सङ्ग्रहमा तीनवटा सिर्जना निरपेक्ष समालोचना पनि समाहित छन्। यसै गरी सङ्ग्रह शीर्षकबाट साहित्य र समालोचना भिन्न-भिन्नै रचना हुन् अथवा भिन्ना-भिन्नै स्वायत्त क्षेत्र हुन् भन्ने कुराको बोधन हुँदछ। यद्यपि समालोचक पौड्यालले आफ्नो भनाई र एकाधिक समालोचनांशमा साहित्य र समालोचनालाई क्रमैले स्वायत्त विधा र तिनका अधीन उपविधा कै रूपमा आत्मसात गरेका छन्। यसप्रकारको समालोचकीय सम्भ्रमबाट सिङ्गो समालोचनात्मक लेखसङ्ग्रह नै सार्थकता र निरर्थकताको लिङ्गेपीङमा मच्चिन पुग्दछ। समालोचक पौड्यालले आफ्नो पूर्वप्रकाशित समालोचनात्मक लेख–सङ्ग्रह आख्यान-अनुशीलन(सन् २०११) बाट शीर्षकको प्रारूप सापटी चलाए तापनि दुई शीर्षकबीचको व्यतिरेकी निफन्न पाठक बाध्य बन्दछ।

साहित्य अनुशीलनमा मोठ बाह्रवटा समालोचनात्मक लेखा सङ्ग्रहित छन्। तीमध्ये पहिलो तीनवटा समालोचना सिर्जना निरपेक्ष स्वरूपका छन्। यसमा समालोचनाको विषय समालोचना नै बनेको छ। यसअन्तर्गत पहिलोमा सिग्मण्ड फ्रायड, अलफ्रेड एड्लर र कार्ल गुस्ताफ जुँगका मनोविश्लेषणात्मक सिद्धान्तका आधारबाट नेपाली समालोचना प्रणालीको अनुशीलन गरिएको छ भने दोस्रो र तेस्रोमा क्रमैले इन्द्रबहादुर राई र लक्खीदेवी सुन्दासका समालोचनात्मक प्रणालीको अनुशीलन गरिएको छ। रहल नौवटा समालोचनात्मक लेखहरू सिर्जना सापेक्ष स्वरूपका छन्। यसमध्येका पहिलो चारवटा समालोचनात्मक लेखहरू गीतसापेक्ष, दुइवटा गजलसापेक्ष, एउटा साहित्यिक गोष्ठीसापेक्ष र अन्तिम दुइवटा नियात्रा साहित्यसित सम्बन्धित छन्। यी लेखहरूले सिर्जनासितको अभिन्न, अविभाज्य र अन्योन्याश्रित सम्बन्धलाई नै आत्मसात गर्दछ। साहित्य अनुशीलनको सिर्जना सापेक्षता र जोन क्रो रयाजन्सम, एलेन टेट प्रभृत्ति नयाँ आलोचनाहरूको अतिशय भाषिक प्रतिबद्धता जस्तो स्वच्छन्द प्रकृतिका छन्।

साहित्य अनुशीलनमा व्यवहृत समालोचना पद्धतिहरू अनेक छन्, कुनै एक छैनन् अर्थात् एकमा अनेक छन्। अनुपातका दृष्टिले प्रभावपरकता र स्तरीयताका दृष्टिले ऐतिहासिकता अनुपातका मुख्य छन्। पूर्वीय र पाश्चात्य पद्धतिहरूको मिश्रित र सन्दर्भानुकूल स्वच्छन्द प्रयोग छ यसमा। अनुशील्य विषयको द्वैतभावमध्ये सकारात्मक, सुन्दर, नैतिक, अनुकूल पक्षहरूको अनुशीलनले बढी महत्व पाएको छ य़समा। समालोचनाहरू प्रायः सबै सोलोडोलो नभएर भाग र प्रभागहरूमा विभाजित छन्। विभाजन नीति कतै वैज्ञानिक र शोधपरक छन् भने कतै स्वच्छन्द प्रकृतिका छन्।विभाजन व्यवस्था कहीँ स्पष्ट र प्रत्यक्ष छन् भने कहीँ अस्पष्ट र परोक्ष अवस्थामा छन्। व्याकरणिक शुद्धता, छोटा-छरिता वाक्यविन्यास, न्यून आलङ्कारिकता विश्लेषणात्मक, सरलता र सहजता साहित्य अनुशीलनका भाषा-शैलीगत विशेषता हुन्।

उपादेयताका दृष्टिले साहित्य अनुशीलन विशेषतः गीत, गजल र नियात्रा क्षेत्रको विशद् अध्ययनको निम्ति निर्भरयोग्य र विरल सन्दर्भ-स्रोत बनेको छ। भारतीय नेपाली साहित्यमा यी क्षेत्रहरूको कालक्रमिक विकास, परम्परा र प्रवृत्तिको तथ्यानुपरक अनुशीलन छ यसमा। साहित्यउत्प्रेरक सामुहिक र नियमित गतिविघधिहरूको खोजपरक अनुशीलनले यस संग्रहको उपादेयतालाई अझ बढाएको छ। जिन्दगीको लयान्तर, गीत फुल्ने ठाउँ, विदेशतिर रिङ्दै जाँदा, गजल जस्ता ताजा, झर्रा र उम्दा सिर्जनाहरूले समालोचनाको टलक पाएको सम्भवतः साहित्य अनुशीलनमा नै प्रथमचोटि हो।

समालोचकले कृतिको द्वैतभाव हेर्दा गहिराईबाट हेर्छ तर प्राज्ञिक तवरबाट हेर्छ। समावलोकनकारले पनि प्राज्ञवस्थाबाट कृतिको द्वैतभाव हेर्छ तर सरसर्ती हेर्छ। अनुशीलकको निम्ति प्राज्ञवस्थामा आसिन हुनु अनिवार्य छैन तर हेराइमा गहिराईचाँहि हुनपर्छ। गहिराई तर सँधै गहिराईतिरको यात्रामा हुन्छ। त्यही गहिराईतिरको यात्रा नै गहिराईको सार्थकता हो। साहित्य अनुशीलनमा पनि गहिराई छ। गहिराईमा प्राज्ञिकता र स्वच्छता जुनसुकै भए तापनि यस क्षेत्रमा अनुय़ीलक नवीन पौड्यालको हात बसिसकेको छ। अघि आख्यान अनुशीलन पाएका थियौं, अहिले साहित्य अनुशीलन। साधु। साधु।। साधु।

दार्जीलिङ सरकारी महाविद्यालय, दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।