समसामयिक भारतेली नेपाली साहित्य, सङ्गीत र दैनिक पत्रकारिता जगतसित अलिकति पनि चासो राख्ने जो कोहीका लागि पनि सुश्री सविता थापा ‘संकल्प’ कुनै अपरिचित र चिनाइरहनु पर्ने अब कुनै नौलो नाम होइन । आफ्नो छुट्टै किसिमको परिमार्जित शिल्पशैलीगत वैशिष्ट्यका कारण ठूलो डफ्फाभित्र पनि टाढ़ैबाट स्पष्ट चिनिने उदयमान प्रतिभाशाली नारी हस्ताक्षर हुन् । नव-युवा पुस्ताका एक अत्यन्त जाँगरिला, अति परिश्रमी र जुझारू प्रवृत्तिका साहित्य सर्जक सुश्री सविता ‘संकल्प’बाट नेपाली साहित्य बाटिकाले अघिबाटै खरानीभित्र लुकेको आगो ( सन् २००३ )र संकल्पका अशेष भावनाहरू (सन् २००३ ) जस्ता दुइवटा कविता सङ्ग्रहका साथै सन् २००६ मा गीति सङ्ग्रह सङ्गीताञ्ली र आफ्नै शब्द-रचना र गायनमा एउटा गीति-एल्बम उज्यालो खोज्दै मनहरू पनि प्राप्त गरिसकेको छ । दैनिक समाचार पत्रिकाका साथसाथै समसामयिक नेपाली साहित्यिक पत्र-पत्रिकाहरूमा उनका बग्रेतै कविता, गीत, , फ्रीचर लेख, संस्मरणात्मक लेख-निबन्धहरू प्रकाशित भइसकेका छन् ।यसका अतिरिक्त नेपाली साहित्य-संगीत क्षेत्रका विशिष्ट प्रतिभाहरूसित समय-समयमा लिइएको अन्तर्वार्ता, उनीहरूको व्यक्तित्त्व र कर्ममय जीवनबारे लेखिएका परिचयात्मक लेख, संस्मरणात्मक लेख-सङ्कलन, गीत, कविताहरूको सङ्कलन पनि प्रकाशन प्रतीक्षु रहेको बुझिन्छ । सुश्री ‘संकल्प’ दीगो (समसामयिक साहित्यिक पत्रिका) र कानिङ रोश- (मगर पत्रिका)का सह- सम्पादिका तथा आकाशवाणी खरसाङका नियमित वार्ताकार पनि हुन् । नव- पिँढ़ीका भरोशालाग्दो , लगनशील एवं दृढ़ संकल्पी युवा-लेखिका सुश्री सविता ‘संकल्प’का विभिन्न नेपाली दैनिक तथा समसामयिक साहित्यिक पत्र-पत्रिकाहरूमा समय-समयमा प्रकाशित परिचयात्मक एवं तथ्यमूलक थुप्रै फ्रीचर लेखहरूबाट केही काम लाग्दो, समय सान्दर्भिक जम्मा ३७ वटा लेखहरूमात्र यसमा सङ्कलन गरी भीड़भित्रको अजम्बरी अनुहार शीर्षक दिइ प्रकाशनमा ल्याइएको छ । नेपाली जाति र समाजमा पनि राष्ट्र-निर्माण तथा राष्ट्रिय-सांस्कृतिक मूल्यप्रति महत्त्वपूर्ण योगदान पुऱ्याउने विशिष्ट प्रतिभाहरू छन् तर हाम्रो नेपाली समाजबाट उनीहरूको समूचित मूल्याङ्कन हुन् त परै जावोस् आफ्नो परिचय समेत गुमाइ भीड़भित्र त्यसै हराइरहेका भेटिन्छन् । यस्ता प्रतिभाशाली व्यक्तित्वहरूलाई खोजी निकाली उनीहरूले आफ्नो समाज, भाषा-साहित्य , सङ्गीत , जातीय संस्कृतिप्रति पुऱ्याइ आएको अथक र अमूल्य योगदानको कदर गर्दै आफूले भ्याए सकेसम्मका सामग्रीहरूको उपयोग गरी प्रस्तुत लेखहरूलाई अद्यावधिक र समाजोपयोगी बनाउने ध्येय राखेको देखिन्छ । यस सङ्कलनमा सङ्कलित जम्मा ३७ वटा लेखहरूको प्रकृति र प्रवृत्ति अवलोकन गर्दा विविध क्षेत्र र विषयपरक रहेका देखिन्छन् । यसर्थ सङ्कलित यी लेखहरूलाई अध्ययन सुविधाका निम्ति निम्नप्रकार वर्गीकरण गरी अनुशीलन गर्न सकिन्छ-
१. सिर्जनात्मक कला(-कारिता) क्षेत्रका समर्पित प्रतिभाहरूबारे लेखिएका लेखहरू-
(क) साहित्य-सङ्गीत क्षेत्रका समर्पित प्रतिभाहरू (- यस अन्तर्गत बहुप्रतिभाकी धनी चन्द्रमित लक्सम, साहित्यिक परिधिभित्र व्यस्त हस्त लिपिकार पुरण थुलुङ, स्वर्णपदकले दायित्व अझ बढ़ेको ठान्छन् –रोदन, बाँसुरीको आरोह- अवरोहसित सुरज, आमाको उचित संस्कारले सन्तानको साँचो व्यक्तित्व बन्छ, प्रकृतिको स्वर र स्वीकृतिको ताल, आफ्नो प्रसिद्धि कायम राख्दै दार्जीलिङे मन्त्र व्याण्ड, पहाड़का चर्चित व्याण्डका गिटाररिस्ट र भोकोलिस्ट शीर्षक लेखहरूलाई राख्न सकिन्छ । )
(ख) नाट्याभिनय तथा नृत्य क्षेत्रका समर्पित प्रतिभाहरू-( यस अन्तर्गत निरन्तर साधनाका प्रतिफल-तेजेन्द्र गुरूङ , सपना साकार तुल्याउनमा अडिग योगेश, काम नपाएको भए अहिले फोटो मात्र हुन्थ्यो , वर्तमान नाटकहरूमा यथार्थ भन्ने कुरो हुन पर्छ – भरत प्रधान , नृत्य संसारमै बाँचिरहेका कलाकार कृष्णकुमार मुखिया, पुरानो इतिहास बोकेकी –बसन्ती शाह , नृत्यमा निपुण लक्ष्मी , जहाँ स्री उहीँ श्री सकरात्मक रूप दिन सफल-नृत्याङ्गना छेन्जो लो , कप्तान रामसिहं ठकुरीका साथ पाएका प्रतिभा –दीपक सुब्बा शीर्षक लेखहरूलाई राख्न सकिन्छ । )
२. समाज-सांस्कृतिक गतिविधिमा समर्पित प्रतिभाहरू-
(क) शैक्षिक-संस्कृति तथा आध्यात्मिक क्षेत्रका समर्पित प्रतिभाहरू-( यस अन्तर्गत शैक्षिक सेवामा समर्पित सिस्टर इडेल राई , संस्कार, संस्कृति र अनुशासनको सीमा ननाघेकी सीमा , त्याग र सेवाका प्रतिमूर्ति-उमेश सिंह , समाज सेवामा समर्पित-सी.बी. लोमजेल , आयुर्वेदिक सेवा कार्यमा समर्पित जीवनकुमार सिंह , बाल विद्यार्थीहरूको भविष्य निर्माणमा जुटेका मेजर पी. वाङदी , काम जस्तै कुरा गर कुरा जस्तै काममा लागिपरेका- गोपाल राई , आत्मबल र आत्मविश्वास आफूसित भए जीवन सफल हुन्छ- डा. सुकराज रसाइली , मनका धनी जोनाथन र क्यारेन लेभोट , अकबरी सुनलाई कसी लाउनुपर्दैन-युवा प्रवन्धक साई किशोर , पुण्य कमाउँदै पप्पु सर , समाज सेवामा समर्पित-अर्जुनकुमार सिंह , सञ्जीवनी परिवार अनि सीटी स्क्यान शीर्षक लेखहरूलाई राख्न सकिन्छ । )
(ख) फोटो पत्रकारिता, पर्यटन तथा रूप-सौन्दर्य क्षेत्रका प्रतिभाहरू- ( यस अन्तर्गत फोटो पत्रकार- अर्जुन प्रधान, शिखर चुम्न सफल पासाङ तेन्जिङ शेर्पा , जापानिजहरूका साथी किशोर राई , सराह गुरूङ सफलताको शिखरमा , सुनकेशरी रानी बन्न पुगिन्- २००६का मिस फ्लास ब्याक , २००६को सेकेण्ड रनरअप मिस पाल्पासा प्रधान शीर्षक लेखहरूलाई राख्न सकिन्छ । )
सिर्जनात्मक कला(-कारिता) क्षेत्रका समर्पित प्रतिभाशाली व्यक्तित्वहरूबारे लेखिएका लेखहरुमध्ये दुई-चार वटा लेख साहित्य-सङ्गीत सम्बन्धित छन् भने केही नाट्याभिनय र नृत्यसित सम्बन्धित रहेको देखिन्छ । बहुप्रतिभाकी धनी चन्द्रमित लक्सम र साहित्यिक परिधिभित्र व्यस्त हस्त लिपिकार पुरण थुलुङ शीर्षक लेखमा साहित्य र सङ्गीत जगतकी चन्द्रमित लक्सम र हस्तलिखित पत्रिकामा विशेष चासो राख्ने श्री पुरण थुलुङज्यूको समाज र साहित्यप्रतिको योगदानबारे संक्षेपमा भए पनि परिचयात्मक मूल्याङ्कन प्रस्तुत गरिएको छ । श्रीमती चन्द्रमित लक्समको साहित्य र सङ्गीतप्रतिको अनवरत् साधना र योगदानको कदर गर्दै सुश्री ‘संकल्प’ लेख्नुहुन्छ- ‘उनले लेखेका अनि अशोक राईद्वारा सङ्गीतबद्ध साथै स्वरबद्ध गीत फूलको प्रीत नदेऊ मलाई , लैजाऊ कतै सम्हाल त्यस समय धेरै चर्चित भएका थिए भने आज पनि चर्चित नै छन् । उनले लेखेका गीतहरू अरूणा लामा, कुमार सुब्बा, प्रेमध्वज, लोचन भट्टराई, देवनारायण प्रधान, पवन गोले, डेजी बराइली, मणी गुरूङ, अमृता दर्नाल, छिमि अङ्मु, सोनु राई आदिले गाइसकेका छन् । सङ्गीतज्ञ गगन गुरूङ, कर्म योञ्जन, बसन्त छेत्री, अशोक राई आदिले उनको गीतमा सङ्गीत भरिसकेका छन् । ’ यसैक्रममा बार्नसवेग उच्च विद्यालयका एकजना कर्मनिष्ठ, आदर्श, सहयोगी, प्रेरणादायक सह-शिक्षक श्री पुरण थुलुङज्यूले साहित्यमा उस्तो कलम चलाएको नपाइए पनि सन् १९६०-७० को दशकमा सिगंला चियाकमानबाट निस्कने हस्तलिखित पत्रिका किरण-का रचनादिलाई सुहाउँदो चित्रकारिताले सजाउँदै सुन्दर हस्तलिपिमा पत्रिका प्रकाशन गराउनमा उहाँको महत्वपूर्ण योगदान रहेको हुन्थ्यो । पूर्ण साजसज्जाको साथमा ६८ पृष्ठ हस्तलिखित पत्रिका किरणका तत्कालिन सम्पादक दलमान डुक्पा तथा सह-सम्पादक एंव लिपिकार श्री पुरण थुलुङ स्वंय हुनुहुन्थ्यो । श्री थुलुङज्यू आफूले साहित्यमा कलम चलाउन कञ्जुस्याइ गरे पनि साहित्यमा गहिरो चासो राखी कलम चलाउने सबैलाई प्रेरणा-प्रोत्साहन र आफुले सकेसम्म सहयोग गर्नमा भने कहिले पनि कञ्जुस्याइ गरेको भने देखिएन । भारतीय नेपाली बाल-साहित्य लेखनमा अत्यन्त सक्रिय,अनवरत् साधनारत् बाल-साहित्य साधिका श्रीमती स्नेहलता राई , दृष्टान्तका निम्ति यो एउटै नाम लिए पनि पर्याप्त हुनेछ । आज भारतीय नेपाली बाल-साहित्य सर्जकहरूको नाम लिन परे श्रीमती स्नेहलता राईको नाममा हामीले पहिलो औंला नै भाँच्नु पर्ने हुन्छ ।
साङ्गीतिक पक्ष वा विषयक्षेत्रलाई लिएर लेखिएका परिचयात्मक लेखहरूमा आमाको उचित संस्कारले सन्तानको साँचो व्यक्तित्व बन्छ-शीर्षक लेखमा तेस्रो इण्डियन आइडल प्रशान्त तामाङको साङ्गीतिक यात्राबारे प्रसङ्ग उल्लेख गरिएको छ । प्रकृतिको स्वर र स्वीकृतिको ताल-शीर्षक लेखमा अमूल भ्वाइस अफ् इण्डिया प्रतियोगितामा आफ्नो उत्कृष्ट गायिकीद्वारा श्रोताहरूको मन जित्ने नवोदित गायिका सुश्री प्रकृति गिरी र उनकै सहोदर दिदी तबला वादक सुश्री स्वीकृति गिरीको साङ्गीतिक साधनाबारे संक्षेपमा भए पनि चर्चा गरिएको छ । सङ्ग्रहका सबैभन्दा उत्कृष्ट लेख पनि यसैलाई मान्न सकिन्छ । यसै क्रममा शास्त्रीय गायनका प्रशिक्षक रोदन शाह, बाँसुरी वादक सुरज गजमेर, चर्चित व्याण्डका गिटाररिस्ट र भोकोलिस्ट विशाल योञ्जन साथै दार्जीलिङे मन्त्र व्याण्डका नवोदित कलाकार तथा सङ्गीत साधकहरूको साङ्गीतिक साधना-यात्राबारे संक्षेपमा भए पनि उल्लेख गरिएको छ । नाट्याभिनय क्षेत्रमा दार्जीलिङका नाटक लेखक तथा नाट्यकलाकारहरूको योगदान अति महत्वपूर्ण रहेको देखिन्छ । अतः नाट्याभिनय क्षेत्रमा अनवरत रूपमा लागेका हाम्रा समाज र जातिका उदयीमान प्रतिभाहरूलाई लिई लेखिएका परिचयात्मक लेखहरूमा सपना साकार तुल्याउनमा अडिग योगेश, काम नपाएको भए अहिलो फोटो मात्र हुन्थ्यो , वर्तमान नाटकहरूमा यथार्थ भन्ने कुरो हुन पर्छ – भरत प्रधान, कप्तान रामसिहं ठकुरीका साथ पाएका प्रतिभा –दीपक सुब्बा प्रभृति मुख्य छन् । यी परिचयात्मक लेखहरूमा अभिनय कलाकार योगेश छेत्री, हाँस्य-कलाकार देवराज शेर्पा, खलनायक ( बाँच्न चाहने चलचित्रका खलनायक नीर ) भरत प्रधान , अभिनेता दीपक सुब्बा प्रभृति नाट्यकलाकारका नाट्य अभिनय यात्राबारे थोरैमा पनि धेरै कुरो प्रकाश पारिएको छ । प्रसिद्ध हाँस्य नाटक सुनको औंठीका हाँस्य-कलाकार/अभिनेता देवराज शेर्पाले यस नाटकका अतिरिक्त मुखुण्डो, हाम्रो कथा, रातको प्रथम प्रहर, दार्जीलिङ बाइ नाइट, मृगतृष्णा, मैले काम पाँए, अन्तिम दृश्य, हाँस्दै जल्नुपर्छ, जिब्रो, आमा, फ्रम डेजी विथ लभ, चरित्र, पर्सनल डाइरी, साहुकी लाटी स्वास्नी, सङ्घर्ष, मङ्गनी प्रभृति नाटकहरूमा सफलतापूर्वक अभिनय गरिसकेका छन् । युवा लेखिका सुश्री ‘संकल्प’ श्री देवराज शेर्पाज्यूले नाटक क्षेत्रमा पुऱ्याएको महत्वपूर्ण योगदानको कदर गर्दै अत्यन्त रमाइलो र नौलो तरिकाले मूल्याङ्कन गर्दै यसप्रकार आव्हान समेत गर्नुहुन्छ- ‘उनी भीड़भित्रै लुकिरहन चाहन्छन् , दर्शकहरूको भीड़मा रमाउने व्यक्ति आफ्नो वास्तविक व्यक्तित्वलाई जनता समक्ष प्रस्तुत गर्न हिच्किचाउँछन् । तर आज यस मञ्चमा खुलस्त रूपमा प्रस्तुत हुनुभएका हाँस्य- कलाकार देवराज शेर्पाको सफलीभूत अभिनयलाई श्रद्धा अनि सम्मान गर्दै ९७३३१८०५२८ मा बधाई एंव शुभकामना व्यक्त गर्नु हाम्रो कर्तव्य हाइन र ! लौ त डायल गर्नुहोस् ।’ यसैक्रममा आफ्नो सपना साकार तुल्याउनमा सफल योगेश छेत्रीको नाट्याभिनय यात्राबारे सुश्री ‘संकल्प’ यस प्रकार लेख्नुहुन्छ -‘ योगेशले गीति-एल्बम चाँदनी रात , मेरो माया, मुटुको धड़कन, हाम्रो मिलन, चलचित्र मिशन अफ् सिक्किम, अनि लक्ष्य ( डक्युमेन्टरी फिल्म ) अझ अन्य धेरै एल्बमहरूमा अभिनय गरेर आज प्रसिद्धिको माइलखुट्टीमा उभिन पुगेका छन् । हिम्मतहारा युवावर्गको लहरमा योगेश पटक्क परेनन् । भविष्यपथलाई सार्थक तुल्याउन योगेशले जुन घोर परिस्थिति, समस्या र सङ्घर्षहरूको तपस्या गरे , वास्तवमा ती सबै ईश्वरीय परीक्षा थियो ।’
नाट्याभिनय झैं नृत्य क्षेत्रमा समर्पित प्रतिभाशाली कलाकारहरूमा तेजेन्द्र गुरूङ , कृष्णकुमार मुखिया, बसन्ती शाह , लक्ष्मी थामी , छेन्जो लो आदिबारे परिचयात्मक टिप्पणीका साथै नृत्य क्षेत्रमा उनीहरूले पुऱ्याएको योगदानको समेत संक्षेपमा मूल्याङ्कन गरिएको छ । यी नृत्य कलाकारहरू हाम्रा जाति समाज र संस्कृतिका सांस्कृतिक निधि हुन्, जातीय सम्पत्ति हुन्, जातीय गौरव पनि हुन् । नृत्यकार तेजेन्द्र गुरूङको सन्दर्भमा सुश्री ‘संकल्प’ लेख्नुहुन्छ-‘ गुरूङको यस्तो गरिमामय योगदानलाई टाढा-टाढाकाहरूले चिनेका छन् तर के हामी उनका आँगनकाले चिनेकै छौं के त ? नृत्यकार तेजेन्द्र गुरूङ हाम्रा जातिका सम्पत्ति हुन् । जातीय संस्कृति बचाँउने गौरव र धरोहर हुन् । ’
समाज-सांस्कृतिक एंव आध्यात्मिक क्षेत्रमा समर्पित प्रतिभाहरूको परिचय गराउन हेतु लेखिएका केही लोभलाग्दा फीचर लेखहरूमा समाज सेवी -सी.बी. लोमजेल ,शैक्षिक सेवामा समर्पित सिस्टर इडेल राई , उच्च संस्कार एवं अनुशासनकी प्रतिमा सीमा ठकुरी , त्याग र सेवाका प्रतिमूर्ति-उमेश सिंह , समाज सेवी -सी.बी. लोमजेल , आयुर्वेदविद् जीवनकुमार सिंह , सामाजिक चेतनाका चीर मसाल मेजर पी. वाङदी ,समाज चिन्तक गोपाल राई , आत्मबल र आत्मविश्वासका पुजारी डा. सुकराज रसाइली , मनका धनी समाजसेवी जोनाथन र क्यारेन लेभोट , युवा प्रवन्धक साई किशोर , पुण्य कर्मका महायोगी तथा आध्यात्मिक चिन्तक पप्पु (पप्पुसिंह दर्नाल ) सर , समाज सेवामा समर्पित-अर्जुनकुमार सिंह जस्ता योग्य समाज सेवक तथा आध्यात्मिक चिन्तकहरूले पुऱ्याएको अथक योगदानबारे पनि यथासक्य प्रकाश पारिएको छ। युवा प्रतिभा सुश्री सविता ‘संकल्प’ज्यू समाज सेवामा समर्पित-अर्जुनकुमार सिंह – लेखमा उद्धृत गर्नुभएको लोभलाग्दो, ग्रहण योग्य एवं प्रेरणादायी उद्धरण ‘सेवाको न त कुनै परिभाषा हुन्छ, न कुनै संविधान नै बनिएको हुन्छ । मानव जीवनमा यदि कसैले शान्ति चाहन्छ भने आफूले स्वेच्छापूर्वक निःस्वार्थ सेवा गर्नुपर्छ।’- भन्ने विचारसित पूर्णत परिचित बनेको देखिन्छ ।
युवा प्रतिभा सुश्री सविता ‘संकल्प’का प्रस्तुत सङ्ग्रहमा सङ्कलित लामा छोटा गरी जम्मा ३७ वटा लोभलाग्दा परिचयात्मक लेखहरूको वस्तु र शिल्प संरचनागत स्वरूप अवलोकन गर्दा आजको समय सापेक्ष तथा पाठकाभिमुखी रहेको प्रष्ट देखिन्छ । सङ्कलित अधिकांश लेखहरू सकरात्मक सोचले भरिपूर्ण परिपूर्ण एवं सामाजिक सरोकारले स्पर्शित र मर्यादित समेत बन्न पुगेका छन् । यी परिचयात्मक लेखहरूमा पनि स्थानीय परिवेश यथार्थ, स्वजातीय चेतना र अस्मिता सामाजिक-सांस्कृतिक सन्दर्भको युगानुकूल प्रस्तुति पाइन्छ । अन्तमा तेरिज कसेर भन्नु हो भने नेपाली साहित्य लेखन ( विशेष गरी कविता, गीत, फ्रीचर लेख, अन्तर्वार्ता, संस्मरण आदि ) एवं दैनिक पत्रकारिता क्षेत्रमा युवा प्रतिभा सुश्री सविता थापा‘संकल्प’को समाज सेवा एवं साहित्य-सङ्गीतप्रतिको दृढ़ संकल्पी समर्पित सेवा भावना तथा अनवरत् साधना हाम्रो निम्ति सदा अनुसरणीय मात्र नभइ अनुकरणीय पनि भएको छ । इर्ष्या गर्न लायक काम भएकोले सदा स्तुत्य पनि छ ।
सह-प्राध्यापक, स्नातकोत्तर नेपाली विभाग
दार्जीलिङ राजकीय महाविद्यालय, दार्जीलिङ